[स्मरण] गणेशमानका बद्रीमाउ

बिहान उठेदेखि राती नसुतेसम्म जति समाजसेवामा खटिन्थे, त्यति नै मापसेमा पनि निर्लिप्त देखिन्थे बद्रीमाउ । सधैँ अर्ध–होसमा भएजस्तो देखिए पनि उनको काम कहिल्यै तलमाथि हुँदैनथ्यो ।

- शिव रेग्मी

उनको खास नाम बद्रीमान मानन्धर थियो तर ‘बद्रीमाउ’ का उपनामले चिनिन्थे क्षेत्रपाटी इलाकामा । नेपाली कांग्रेसका पनि ‘माउ’मै गनिन्थे त्यतिखेर । गणेशमान सिंहले अह्राउपह्राउ गर्ने मुख्य व्यक्ति । अर्थात्, गणेशमानका दाहिने हात । उमेरमा गणेशमान सिंहभन्दा केही कान्छा ।

तिनताका क्षेत्रपाटीकै घरमा बस्थे गणेशमान । त्यो घर बहादुरशमशेरबाट राजा त्रिभुवनले गणेशमानलाई किनिदिएका हुन् । हट्टाकट्टा शरीरका बद्रीमाउ एकछिन पनि चुप लागेर बस्दैनथे । टोलको सुरक्षा र समाजसेवामा रातदिन खटिन्थे । क्षेत्रपाटीको धोबीचौर संरक्षण पनि उनैले गरेका हुन् । नत्र मानिसले मिचेर आफ्नो नाममा लालपुर्जा निकालिसक्थे ।

आजजस्तो शुद्ध पानीको त कल्पनै थिएन, त्यतिखेर । धोबीचौरमा वीरशमशेरले जडान गरिदिएको वीर–धाराको पानी खाएर बेलाबेला धोबीहरू बिरामी पर्थे । झाडापखालाको सिकार भइरहन्थे । त्यसबेलाको मुख्य रोग भनेकै झाडाबान्ता थियो ।

परोपकारी भावनाले ओतप्रोत थिए बद्रीमाउ । उनले यस्ता बिरामीको उपचारका लागि घरमै सानो चिकित्सालय पनि खोलेका थिए । पत्नी चञ्चला वीर अस्पतालकी नर्स थिइन् । त्यसैले पनि उपचारमा उनलाई सहयोग प्राप्त हुन्थ्यो ।

जातपात र छुताछूत मान्दैनथे उनी । मैले नै कतिपटक देखेको छु– पानी नचल्ने धोबी या अरू तल्लो जातका कुनै मानिस सिकिस्त हुँदा आफ्नै काँधमा हालेर चिकित्सालय पुर्‍याउँथे र उपचार गरिदिन्थे । जतिसुकै फोहोरी मानिसलाई पनि काँध हाल्थे । यसरी उनले धेरै गरिब–गुरुवाको ज्यान बचाएका छन् ।

अहिलेको ‘क्षेत्रपाटी नि:शुल्क चिकित्सालय’ बद्रीमाउको त्यही सानो चिकित्सालयको विकसित रूप हो । उनी जीवित रहुन्जेल त्यो चिकित्सालय नि:शुल्कै सञ्चालित थियो, अहिले चाहिँ नसक्नेलाई मात्रै नि:शुल्क छ ।

बालसखा दलका धनमानसिंह परियार पनि आफ्नो गर्दनको हड्डी खिइने रोग (स्पोन्डालाइटिस) को उपचार बद्रीमाउको त्यही चिकित्सालयमै गराउँथे । सायद उनी साक्षर मात्र थिए । तर, बालसखा दल स्कुल सञ्चालनमा उनको महत्त्वपूर्ण भूमिका थियो । बालबालिकालाई शिक्षा दिनुपर्छ भन्ने कुरामा उनको सधैँ जोड रहन्थ्यो ।

०१५ मा गणेशमान निर्माण, सञ्चार तथा यातायात मन्त्री भएपछि उनले टोल–छिमेकमा झनै सक्रिय भएर सेवा गरे । घर–घरमा पुगेर के असुविधा छ भनेर सोध्थे र त्यसको निराकरण गरिदिन गणेशमानकहाँ पुग्थे । गणेशमान पनि उनका कुनै कुरामा आलटाल गर्दैनथे । साँच्चै भन्ने हो भने उनले सल्टाउन नसक्ने कुनै समस्या नै हुँदैनथ्यो ।

म त्यतिबेला ठमेलको एउटा घरमा डेरा गरी बस्थेँ । मेरो घरडेरामा धारो थिएन । एक दिन उनीसँग अकस्मात भेट भयो । केही केहीबेर राजनीतिका कुरा चले । त्यसपछि उनैले सोधे, “तपाईंको घरमा पानीको धारा छ ?”

त्यतिबेला घरमा धारो हुनु धेरै ठूलो उपलब्धि मानिन्थ्यो । मेरो डेरामा पनि धारो थिएन । डेरामा बस्ने व्यक्तिलाई धारोको कुरा त्यति महत्त्वपूर्ण थिएन । धारो त चाहिएको थियो तर डेरावालले भनेर धारो आउने कुरामा मलाई विश्वासै थिएन । मैले भनेँ, “म डेरामा बस्ने मानिसलाई कहाँ धारोको कुरा गर्नुभएको ?” अनि उनी कड्किए । उनले भने, “डेरामा बस्नेले पानी खानुपर्दैन ? डेरामा बस्नेको घरमा धारो हुनुहुँदैन भन्ने कहाँ लेखिएको छ ? तपाईं चुप लाग्नूस्, म धारो हालिदिन्छु ।”

 

हुन पनि उनलाई मैले मादक पदार्थ सेवन नगरेको अवस्थामा कहिल्यै देखिनँ ।उनको हकमा वास: अर्थात् रक्सी मादक पदार्थ होइन, काम गर्न स्फुर्ति दिने अचुक औषधिजस्तो थियो ।

बोली लरबरिएको र मातेको मानिसको कसरी विश्वास गर्ने ? मैले उनको कुरालाई त्यति गम्भीर रूपमा पनि लिइनँ । तर, उनले एक–दुई दिनमै मेरो डेरामै धारो जडान गरिदिए । अचम्म ! बद्रीमाउ वचनका पक्का रहेछन् ।

बालसखा दलबाट ०१६ मा बाल विकास दल नामकरण भएपछि त्यस स्कुलमा शिक्षकका रूपमा जागिर खान जाँदा मलाई सहयोग गर्ने व्यक्ति तिनै बद्रीमाउ थिए । पछि उनी क्षेत्रपाटीको वडाध्यक्षसम्म भए । तर, जीवनको उत्तरार्धतिर उनी मानसिक रूपमा निकै खस्किसकेका थिए ।

बिहान उठेदेखि राती नसुतेसम्म जति समाजसेवामा खटिन्थे, त्यति नै मापसेमा पनि निर्लिप्त देखिन्थे बद्रीमाउ । सधैँ अर्ध–होसमा भएजस्तो देखिए पनि उनको काम कहिल्यै तलमाथि हुँदैनथ्यो ।

हुन पनि उनलाई मैले मादक पदार्थ सेवन नगरेको अवस्थामा कहिल्यै देखिनँ । उनको हकमा वास: अर्थात् रक्सी मादक पदार्थ होइन, काम गर्न स्फुर्ति दिने अचुक औषधिजस्तो थियो । रक्सी पिएर सबै मानिस बिग्रिँदैनन् भन्ने उदाहरण थिए, बद्रीमाउ । पुरानो ‘छत्रपाटी’लाई यो आधुनिक क्षेत्रपाटी बनाउनमा पनि उनको योगदान महत्त्वपूर्ण छ ।

उनी आफ्नो घरमा डेरा दिएबापत नाम मात्रको भाडा लिन्थे– जहिले सक्यो, त्यही बेला तिर्दा हुने । एक किसिमले नि:शुल्कजस्तै । अहिले सबैको नाम त सम्झिन्नँ । तर, धनमानसिंह परियार, बालचन्द्र शर्मा र कवि भीमदर्शन रोका उनकै घरमा डेरा बसेको मलाई सम्झना छ ।

–प्रस्तुति : रमण घिमिरे

प्रकाशित: जेष्ठ ११, २०७५