त्यो समयका विरोधाभास [पुस्तक समीक्षा : त्यो समय]

पुस्तक : त्यो समय | लेखक: शारदा शर्मा | प्रकाशक : सांग्रिला पुस्तक | पृष्ठ : ३५२ |मूल्य : ५४५ रुपियाँ

- अर्चना थापा

प्रत्येक वर्ष साहित्य बजारमा थुप्रै आत्मकथा र संस्मरण आउँछन् । केहीले मात्र पाठकको मनमा ठाउँ बनाउँछन् । धेरै त चुपचाप आउँछन्, हराउँछन् । शारदा शर्माको भर्खरै प्रकाशित संस्मरण त्यो समय पठनीय छ । यसले पाठकमा बहसको वातावरण बनाउँदै छ । सन् २००४ देखि २००६ सम्म शर्माले दिल्लीस्थित इन्टरनेसनल प्लान्ड पेरेन्टहुड फेडरेसन नामक अन्तर्राष्ट्रिय संस्थामा काम गर्दा देखे–भोगेका घटना र तत्कालीन नेपालको निरंकुश राजनीतिक माहोलमा नरहरि आचार्य जेल परेका विषयलाई दिल्लीबाट काठमाडौँ फर्केर हेरेको समय हो, त्यो समय

पछि दिल्लीस्थित कार्यालयका लागि नेपालमै बसेर काम गर्दा क्षेत्रीय र केन्द्रीय कार्यालयभित्रको खिचलो, ‘कुलीन’हरूले स्वयंसेवक भएर काम गर्दा कर्मचारीको उछितो काढेको र नरहरिजीसित जोडिएका राजनीतिक घटनाक्रमले निम्त्याएको व्यक्तिगत र पारिवारिक जीवनको शब्दचित्र छ, संस्मरणमा । निश्चित समय–घेराको संस्मरण पढ्दा लाग्छ, दुई व्यक्ति र दुई देशका समानान्तर समयचित्र समेटिएको छ । लेखकले प्रत्यक्ष भोगेका घटना र अनुभूति छन् ।

ज्ञानेन्द्रको ‘कू’, कांग्रेसभित्र नरहरिजीको अडान र ०६४ को संविधानसभा चुनावका प्रसंगको समानान्तर शब्दचित्र भेटिन्छ, पुस्तकमा । डायरी शैलीमा लिपिबद्ध त्यो समय व्यक्तिगत र राजनीतिक समयाभिलेख मात्र होइन, त्यसमा लेखकको संवेदना, अन्तरसंवाद, अन्तद्र्वन्द्व, अन्तर्दृष्टि, आत्मसमीक्षा, आत्मचिन्तन, मनोविश्लेषण र भावपूर्ण समय/समाख्या पनि हो ।

लेखकीय स्वीकारोक्ति छ, ‘यो पुस्तकको मुख्य पात्र मै हुँ ।’ तर, बेलाबेला आत्मकथाको केन्द्रबाट ‘म’लाई विस्थापित गर्दै उनले नरहरिजीलाई मूलपात्रका रूपमा प्रतिस्थापित गर्छिन् । र, उनका राजनीतिक मुद्दाको पक्षमा सादृश्य तर्क प्रस्तुत गर्छिन् । राजनीतिमा सक्रिय सहभागिता नरहेको दाबी छ उनको । नरहरिजीका राजनीतिक विषयमा आंशिक असहमति राखे पनि आफ्नो कथाभित्र स्वैच्छिक सहायक पात्र बनेर लेखक उनलाई सघाउन निमित्त नायक पनि बन्छिन् । संविधानसभाको चुनावका बेला नरहरिजीलाई पार्टीभित्रैबाट असहयोग हुने जस्तो लाग्दा उनी बालुवाटार पुगेर गिरिजाप्रसादसित सोध्छिन्,

‘हजुरले नरहरिजीलाई हराउन लाग्नुभएको भनेर निकै हल्ला छ बाहिर । बडो चिन्ता लागेर आएकी हुँ । रातभरि सुत्न सकिनँ ।’ नरहरिजीसित आबद्ध राजनीतिक प्रसंगमा सक्रिय सचेतक भूमिका खेल्छिन्, शारदा शर्मा ।

आत्मकथाको सत्य एकपक्षीय भएको हुनाले प्राय: लेखकको इमानदारीप्रति प्रश्न उठ्ने गर्छ । साथै, आत्मलेखनलाई आत्ममहिमाको आक्षेप पनि लाग्छ । त्यो समयकी लेखक आफ्नो अनुभव, पात्र र पाठकप्रति न्याय हुनुपर्छ भन्ने कुरामा हदै सजग छन् । सात वर्षदेखि घरको आर्थिक जिम्मेवारी बोकेको तथ्य, अन्तर्मुखी स्वभाव, परदेसिनु पर्दाको पीडा, कम्प्युटर प्रोग्रामको सीमित ज्ञान र पुरुषका कुत्सित चेष्टा र दृष्टि अनुभव पढ्दा लाग्छ, नारी अनुभवकेन्द्रित फरक खालका ज्ञानमीमांसाबारे बृहत् रूपमा छलफल गर्न सकिने वातावरणलाई यस संस्मरणले सघाउ पुर्‍याएको छ । मतदाताले नेतासित अपेक्षा गरेको प्रसंगमा उनी निर्धक्क लेख्छिन्, ‘मान्छेलाई एक–दुईपल्ट नदेख्दा, नमस्ते नफर्काउँदा त राम्रो लाग्दैन । यही मान्छेसँग ३० वर्ष सँगै बस्दा मलाई कति गाह्रो भयो होला ? ऊ मलाई पनि देख्दैनथ्यो, अझै देख्दैन कतिपय अवस्थामा ।’

आजको समयमा आफ्नो मनका कुरा कति महिलाले खुलेर लेख्न सक्छन् होला ? नरहरिजीको चुनावी यात्राको घरदैलो कार्यक्रम दौरान आफूलाई उम्मेदवारकी पत्नीका रूपमा चिनाउँदै गर्दा एउटा पाठकले लेखकको स्वतन्त्र परिचयलाई सम्मान गर्दै भनेको कुराले लाग्छ, स्वतन्त्र नारी परिचयका आधार समाजमा विस्तारै सहज बन्दैछन् ।

राष्ट्र निर्माणका गाथा प्राय: महिला योगदानबारे मौन छन् । तर, नरहरिजीको चुनावी अभियान दौरान कांग्रेसी महिला र्‍यालीको सहयोगलाई लेखक खुलेर प्रशंसा गर्छिन् । महिला बढी खट्छन्, तिनले आफूले दिएको वचनको मान राख्छन् र विषयलाई टुंगोमा नपुर्‍याई विश्राम लिँदैनन् । त्यस्तै भुटानको ‘रिन्यू’ नामक सामाजिक संस्थामा रानीको पकड, ग्रस न्यासनल ह्याप्पिनेसलाई प्रतिप्रश्न गर्ने आलोचनात्मक दृष्टिकोण, नेपालमा शरणार्थी जीवन बिताउन बाध्य भुटानी नागरिकप्रतिको संवेदनशीलता र भुटानी नागरिकले पाउने चार किसिमका नागरिकताका कुरा रोचक र जानकारीमूलक छन् ।

विरोधाभासरहित छैन त्यो समय । गिरिजाप्रसादसित पटक–पटक भेटेको प्रसंग,  कोइरालासितको सान्निध्य र ‘माया’मिश्रित अनुभूतिका प्रसंगमा विरोधाभास र अन्तर्विरोध देखिन्छ । कोइराला कांग्रेस सभापति र प्रधानमन्त्री हुँदा लेखकले काठमाडौँ र दिल्लीमा उनीसित भेट्छिन् । ‘सबै गरेर दुई–अढाई लाख नेपाली रुपियाँ कमाउने’ लेखकले दिल्लीको ताज होटलको बन्द–कोठाभित्र २० हजार रुपियाँ लिँदा दिएको स्पष्टीकरण कमजोर लाग्छ । उनी लेख्छिन्, ‘हजुरबाजस्तो उमेरको मान्छेले बारम्बार दिँदा इन्कार गर्न सकिनँ ।’

कोइरालासित बन्द–कोठाभित्र भेट्दा लेखकलाई संकोच लाग्छ । ‘मजस्तो सामान्य मान्छेलाई समय दिन त्यत्रा ठूला नेताहरूलाई बाहिर पठाउँदा तिनले के भन्ठाने होलान् ?’ प्रश्न उठ्छ– राजनीतिमा प्रत्यक्ष संलग्नता नरहे पनि किन नेताहरू उनलाई भेट्न चाहन्छन् ? के अरू नेता–पत्नीहरूलाई पनि ठूला नेता भेट्नुपर्ने बाध्यता हुन्छ ? दिल्लीको सांग्रिला होटलमा उपस्थित पार्टी–कार्यकर्ता र शुभचिन्तकलाई बाहिर निकालेर कोइरालाले लेखकलाई भन्छन्, ‘म तपाईंलाई धेरै माया गर्छु । म कति माया गर्छु भन्ने थाहै छैन तपाईंलाई !’

पढ्दा स्पष्ट हुन्छ, दुवै प्रसंगमा लेखकमाथि दुव्र्यवहार भएको छ ।

श्रद्धेय मानिएका नेताका कथित लम्पट व्यवहार र कोइरालाबारे लेखकले दिएको तर्क कमजोर लाग्छ । 

स्नेह, माया, कामिता र हार्दिकताजस्ता अभिव्यक्ति प्रेमका बहुल स्वरूप हुन् । र, वयस्क सहमतिमा जे–जस्तो रूप भए पनि जायज हुन्छ । कोठाभित्र लेखकको हात, कपाल सुम्सुम्याइरहेका कोइरालाको अवाञ्छित निकटता अप्रिय लागे पनि लेखकले विरोध गर्न नसक्ने अवस्थालगत्तै जोडिएर अर्काे प्रसंग आउँछ, ‘सन्त मानेका नेता किसनुजीले सोल्टीको पार्टीमा शर्मालाई अँगालो हालेर पछाडिबाट कम्मरको मासु बेस्सरी चिमोट्दै भनेको ‘ए कहिलेकाहीँ त हामीलाई पनि यसो मौका दिनूस् न ।’

पढ्दा स्पष्ट हुन्छ, दुवै प्रसंगमा लेखकमाथि दुव्र्यवहार भएको छ । श्रद्धेय मानिएका नेताका कथित लम्पट व्यवहार र कोइरालाबारे लेखकले दिएको तर्क कमजोर लाग्छ । उनको ‘माया गर्ने तरिका नै पो यस्तो हो कि ?’ र, ‘यो वृद्ध मान्छे आँट, सक्रियता र ऊर्जाका कारण सधैँ मेरो आदरणीय रह्यो ।’ के मनले आदरणीय मानेका व्यक्तिका अवाञ्छित निकटता स्वीकार्य हुन्छन् ? आजको समयमा जनताले पुजेका सन्त–महात्माहरू, मिरामेक्सका चर्चित हार्वे विन्सटाइन, एनबीसी टीभीका प्रख्यात म्याट लाउर, सुप्रसिद्ध कलाकार बिल कोस्बीजस्ता आदरणीय मानेका व्यक्तिले गरेका प्रमाणित यौन अपराध र यौन दुव्र्यवहारबारे विश्वमा खुलेर भत्र्सना भइरहेको समयमा शब्दशिल्पी लेखकको सन्तुलित/सौम्य तर्क खल्लो लाग्छ ।

कोलकाताको सोनागाछी एरियाको यौनधन्धा र यौनकर्मीका बाध्यात्मक स्थिति पढ्दा आङ सिरिंग हुन्छ । एउटा नेपाली यौनकर्मी लेखकलाई भन्छे, ‘हामी यहाँ बजारमा नबस्दा हौँ त तिमीहरू भलाद्मी र असल बनेर कहाँ निर्धक्क हिँड्न पाउँथ्यौ ? सडकमै दिउँसै बलात्कार गर्थे यी पुरुषले तिमीलाई । घरका पत्नी तिमी, बजारका पत्नी हामी । तिमीहरू पट्टी बाँधिएका कुकुर, हामी यहाँ पट्टी नबाँधिएका कुकुर । तिमी र हामीमा यति नै त हो फरक ।’

लेखक भन्छिन्, ‘एक हिसाबले ठीकै भन्छिन् उनी ।’ प्रश्न उठ्छ, कसरी ठीक ? के विवाहित महिलाका हकमा रहेको कानुनी अधिकार र संरक्षणको सुविधा यौनकर्मीसित छ र ? केही सजग यौनकर्मी आफ्नो शरीरको स्वामित्वबारे अरूभन्दा बढी सचेत होलान् । तर, सोनागाछीका यौनकर्मीको ‘एजेन्सी’ र आर्थिक पक्षबारे थप अध्ययनबिनाको रोमान्टिसाइज सहमति कति उचित होला ?

लेखकको दिल्ली बसाइ दौरान लेख्न सुरु गरेको डायरी कम पुस्तक पढ्दा लाग्छ– डिस्टोपियन समयचक्रभित्र अल्झेको छ, त्यो समय । केही असान्दर्भिक प्रसंग नराख्दा हुन्थ्यो । जस्तै, अनिरुद्ध गौतम दिल्लीमा, जुलाईको तातो दिल्ली र पुरञ्जन दिल्लीमा । थुप्रै प्रश्नहरू उठ्छन्, तिथि र गतेमा एकरूपता किन नराखेको होला ? के कांग्रेस पार्टीभित्र गणतन्त्र र संविधानसभाको पक्षधर नरहरिजी मात्रै हुन् ? साथै, नेपालको तत्कालीन राजनीतिको एकपक्षीय प्रस्तुतिले थप बहसको आधार तयार पारेको छ ।

समग्रमा, चार वर्षको दौरान लेखकको जीवनलाई छोएर गएको समयबारे सुचिन्तन, विचिन्तन, परचिन्तन र प्रतिचिन्तन हो, त्यो समय । हजारौँ वर्षदेखि आफ्नो सत्यताका लागि अग्निपरीक्षा दिन बाध्य महिलापक्षीय सत्यता र इमानदारीलाई समाजले सजिलै स्वीकार गर्ने वातावरण अझै छैन । जे–जस्तो प्रतिकूल वातावरण भए पनि नेपाली महिलाका आत्मकथाले देवत्वकरण गरेका व्यक्तिको मुखौटा फुकाल्न थालेको केही समय भयो, पश्चिममा चलेको ‘मीटू’ आन्दोलनको लहर चल्नुभन्दा पहिलादेखि नै ।

गौरा प्रसाईंको आत्मकथा मेरा जीवनका पानापछि शारदा भुसालले आत्मकथा धरातलमा जनताका नेताद्वारा खेपेका कथित यौन हिंसा र यौन दुव्र्यवहारका अनुभव लेखिन् । तर, उनीमाथि मानसिक सन्तुलन गुमाएको सार्वजनिक आरोप लाग्यो । देवत्वकरण गरेका व्यक्तिहरूको फरक अनुहार उजागर गर्दा शारदा शर्मामाथि पनि आक्षेप लाग्दैन भन्न सकिँदैन । एउटा कुरा निश्चित छ, त्यो समयले महिलाका अनुभव र सत्यलाई चारित्रिक लाञ्छनाको डर र दण्डबाट मुक्त हुँदै मौनताबाट बाहिरिन प्रेरणा भने अवश्य दिन्छ ।

प्रकाशित: जेष्ठ १०, २०७५