मीनको समय

- विभु लुइटेल

क्यामेरा बोकेर कुद्न थालेको तीन दशक नाघिसक्दा पनि मीन बज्राचार्य, ५२, को ऊर्जा दुरुस्तै छ । सर्वसाधारण मात्र नभएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ‘आइकन’ उनका क्यामेरामा कैद भइसकेका छन् ।

उनले खिचेको हिलारी क्लिन्टनको तस्बिरले एकताका खुबै चर्चा बटुल्यो । स्वयं हिलारीले उक्त तस्बिरमा हस्ताक्षर गरेर उनलाई पठाइन् । खुलेर हाँसिरहेका पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरको तस्बिरको प्रशंसा स्वयं कार्टरले पनि गरे । गणेशमान सिंहका विभिन्न मुद्राका तस्बिरले उनको फोटोग्राफी करिअरलाई उचाइ दियो ।

मीनको पहिलो एकल फोटो प्रदर्शनी सन् १९९५ मा काठमाडौँमा भएको थियो । त्यसको उद्घाटन गरेका थिए, टोनी हेगनले । त्यसपछि उनका दर्जनौँ फोटो प्रदर्शनी भए । जापान, बंगलादेश, पाकिस्तान, जर्मनी, अस्ट्रेलियालगायतका देशमा आयोजित फोटो प्रदर्शनीमा उनले खिचेका तस्बिर सर्वाधिक रुचाइनेमा परे ।

अहिले गोदावरी, ललितपुरस्थित ‘द ब्रिट’मा मीनको एकल फोटो प्रदर्शनी चल्दैछ । २० जेठसम्म चल्ने प्रदर्शनीमा उनले खिचेका ‘मुड्स् एन्ड मोमेन्ट्स्’ मा केन्द्रित ८७ तस्बिर छन् ।

प्रकाशित: जेष्ठ १०, २०७५

ट्याग: चित्रपट