सन्दीप लामिछानेसँग विशेष वार्ता : ‘तपाईं जति ठूलो लिग खेल्नुस्, देशभन्दा ठूलो त्यो हुन्न ।’

- विनोद पाण्डे र गोकर्ण गौतम

इन्डियन प्रिमियर लिग (आईपीएल) को पछिल्ला तीन खेलको प्रदर्शनले सुपरस्टार बनाइदियो सन्दीप लामिछाने, १७, लाई । विश्व क्रिकेटको सबैभन्दा महङ्गो र ग्ल्यामरस लिग आईपीएल खेल्ने पहिलो नेपाली यी खेलाडीलाई अहिले ‘इन्डोर्समेन्ट’ का लागि भ्याईनभ्याई छ । अर्को साता आईसीसी विश्व ११ बाट लर्डस मैदानमा वेस्ट इन्डिजविरूद्ध खेल्न लागेका उनै सन्दीपसँग विनोद पाण्डेगोकर्ण गौतमले गरेको कुराकानी :

अघिल्ला वर्षमा आइपीएल टिभीमा हेर्नुहुन्थ्यो । यस पटक दिल्ली डेयरडेभिल्समा छानिनु त भयो तर सुरुका ११ म्याच खेल्न पाउनु भएन । कस्तो लागेको थियो ?

–हामीमा एउटा समस्या छ, अवसर कुर्नुभन्दा छिटो उत्साही हुन्छौं । ११ म्याच पनि मेरा लागि सिकाइ प्रक्रिया नै थियो । टिममा दुई जना लेग स्पिनर थिए, त्यसमाथि म विदेशी खेलाडी परें । त्यसैले छिटो खेल्न पाइन्छ भन्ने आशा गर्न सकिन्नथ्यो । म्याच दौरान केही हुनैपथ्र्यो । अर्थात् मैले मौका पाउन टिमले कि जितेको हुनुपथ्र्यो, कि हारेकै हुनुपथ्र्यो । दुखद कुरा, हामीले हार्‍यौं । तैपनी मैले अवसर पाएँ । टिभीमा हेरिरहेको चर्चित प्रतियोगिता खेल्न पाउनु आफैंमा निकै सुखद उपलब्धि हो ।

स्टेडियम र टिभीमा हेर्दा के अन्तर हुँदोरहेछ ?

–टिभीमा दश सेकेन्ड ढिला हुन्छ (हाँस्दै) । अरु त उस्तै हो । हरेक खेलाडीको त्यहाँ खेल्ने चाह हुन्छ । सिनियर नेपाली खेलाडीले पनि खेल्न पाएको भए, म जति खुशी सायदै अरु कोही हुन्थ्यो ।

२–३ वटा म्याचमा त ‘डगआउट’ भन्दा बाहिरै हुनुहुन्थ्यो, हैन ?

–घरेलु मैदानमा हुँदाचाहिँ २५ जनालाई लैजान पाउँछ टिमले । ‘अवे’ म्याचमा स्टेडियममा १६ खेलाडी मात्र जान पाउँछन् । सोही कारण त्यस्तो बेलामा टिमसँगैं गए पनि कहिले होटलमा बसेर टिभीमा हेरिन्थ्यो, कहिले स्टेडियमभित्रै टिमसँग ।

पहिलो पटक खेल्ने निधो भएपछि तपाईंमा ‘नभर्सनेस’ ज्यादा थियो की, ‘एक्साईटमेन्ट’?

–इमानदारिताका साथ भन्छु, दुवै थिएन । किनभने, मैले नेपालका लागि क्रिकेट खेलिसकेको थिएँ । देशका लागि खेल्दाको दबाब वा गर्व जे भन्नुस्, त्यो अन्य अरु कुनै खालको खेल खेल्दा हुँदैन । पहिलो खेलका लागि मैदानमा छिर्दा सकारात्मक ऊर्जा र सोच आइरहेको थियो । ढिला भए पनि मौका मिल्यो । अति आत्मविश्वास पनि थिएन । रन कम दिने की विकेट लिने, त्यो सोचमा गएको थिएँ । टिमको योजना अनुसार बलिङ गरें । सबैको समीकरण मिलेकाले मलाई सहज भयो ।

पहिलो खेलमा प्रशिक्षक र कप्तानले तपाईका लागि कस्तो योजना बनाएका थिए ?

–हाम्रो टिम एक दिन अगाडि नै तय भइसकेको हुन्छ, तर आइसिसिको आचारसंहिता अनुसार कसैले पनि सार्वजनिक गर्न मिल्दैन । परिवारलाई समेत भोलीको म्याचमा परेको भन्न पाइन्न । एक दिन  अगाडि नै मलाई नयाँ बल लिएर फाल्न भनिएको थियो । त्यस अगाडि कहिल्यै पावरप्लेमा बलिङ गरेको थिइनँ । पहिलो ओभर गरें, राम्रो भयो । आत्मविश्वास बढ्यो । पावरप्लेमा रन रोक्यो भने अन्तिममा विकेट आउँछ, सुरुमा विकेट आयो भने अन्तिममा रन रोकिन्छ । दुवैमा एउटै हुन्छ तर मैले पहिलो ओभरमा राम्रो गरेपछि अर्को ओभरमा विकेट लिनु भनिएको थियो । आयो पनि । सबै हिसाबले सन्तुष्टि मिल्यो ।

पहिले खेल्न पाउनु भएन । खेलेपछि उत्कृष्ट प्रदर्शन गर्नुभयो । त्यसपछि टिमभित्र व्यवहारमा परिवर्तन हुनेरहेछ ?

–त्यस्तो महसुस भएन । टिमभित्र जुन खेलाडी जस्तो छ, त्यस्तै भइराखोस् भन्ने चाहना हुँदोरहेछ । सबैले मेरो प्रशंसा गरे, किनभने मैले राम्रो गरेको थिएँ । व्यवहारमा खास फरक आएन ।

प्रशिक्षक र कप्तानको प्रतिक्रिया चाहिँ ?

–पहिलो खेलमै मबाट त्यो तहको प्रदर्शन हुन्छ भन्ने आश गर्नुभएको थिएन, होला । त्यसैले खुशी हुनुहुन्थ्यो ।

नेपाली क्रिकेटप्रतिको अन्तर्राष्ट्रिय खेलाडीको बुझाइ कस्तो पाउनुभयो ?

–इमानदारीका साथ भन्दा, रसिद खान आउनुभन्दा पहिले कसैले पनि अनुमान गरेको थिएन, अफगानिस्तानमा पनि त्यस्तो होला भनेर । मुजीब रहमान, मोहम्मद नाबी जस्ता खेलाडी आएपछि धेरैले अफगानिस्तानको क्रिकेटबारे बुझे । तर रहमान घाइते भएर भएर पुरै खेल्न पाएनन् । देशका बारेमा खेलाडीकै माध्यमबाट त्यसैगरी थाहा हुने हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको सबैलाई थाहै छ । उनीहरुले मलाई भेट्नासाथ बधाई दिएका थिए । अब चाहीं हामीले कस्तो खेलिरहेका छौं भन्ने बाहिरी देशका खेलाडीले नियालिरहेका हुन्छन् ।

आईपीएल यात्राबाट तपाईले खास के सिक्नुभयो ?

–नेपाली टिमबाट म कहिल्यै बाहिर भएको थिइनँ, त्यसैले नौलो ठाउँमा आफूलाई सम्हालें । त्यहाँबाट जुन नयाँ कुरा सिक्न पाइन्छ, त्यसलाई आफूभित्र राखेको छु । मैदानमा देखाउँदै जान्छु । मुख्य, परिपक्व हुन सिकियो ।

कतिपय सामान्य व्यक्तिले क्षमता भएर पनि अवसर पाउँदैनन् । तपाईंसँग क्षमता थियो, छोटै समयमा महत्वपूर्ण अवसर पनि पाउनुभयो । यसको ‘रिदम’ कसरी मिल्यो भन्ने लाग्छ ?

–मलाई लाग्छ, तपाईं जति ठूलो लिग खेल्नुस्, देशभन्दा ठूलो त्यो हुन्न । तर, देशका लागि खेलिसकेको खेलाडी कोही पनि सामान्य होइन । नेपालका लागि दुई वर्ष खेल्दा राम्रो गरेकाले नै मलाई आइपीएलमा पुर्‍याएको हो । अरुले त्यहाँ गएर सिक्न पाइन्छ भन्ने सोच्छन् । तर, म केही सिकेरै मात्र त्यहाँ पुगेको हो । त्यत्तिकै होइन ।

यसको मलतब सबैभन्दा गाह्रो चाहिँ राष्ट्रिय टिममा पर्नु हो ?

–नेपालको राष्ट्रिय टिमभन्दा पनि नेपाललाई प्रतिनिधित्व गरेर त्यो दबाब नियन्त्रण गर्न मुस्किल हुन्छ । जित्ने, हार्ने भन्दा गर्वको कुरा हो । आईपीएलमा खेल्दा पनि मलाई सधैं नेपालको प्रतिनिधित्व गरिरहेको महसुस हुन्थ्यो ।

तपाईंको आईपीएल प्रवेशले नेपाली क्रिकेटलाई के फाइदा पुग्यो ?

–म फर्कंदा एयरपोर्टमा थुप्रै शुभेच्छुकलाई देखेँ । त्यो अवसर र यो अपार माया पाएँ । एउटा मान्छेका लागि यति सब हुन सक्छ भने टिमले कति गर्न सक्ला ? अरुले पनि खेल्न पाए भने हाम्रो क्रिकेट बोर्डका पदाधिकारीलाई दबाब जान्छ, खेल र खेलाडीका लागि केही गर्न । क्रिकेटलाई खेलमा मात्र सिमित नराखी करिअर नै बनाउनु पर्छ । घरेलु क्रिकेटलाई अझ ‘भाइब्रेन्ट’ बनाउनुपर्छ । क्रिकेटको भविष्य उज्ज्वल हुनु भनेको हाम्रो भविष्य पनि उज्ज्वल हुनु हो । म सँगसँगै अरु दुई–तीन नेपाली खेलाडी भइदिएको भए पछिसम्मका लागि सजिलो हुन्थ्यो । तैपनि यसपटक तीनवटा खेल खेल्न पाएँ, राम्रो गरें, यसले हौसला दिएको छ । अर्को वर्ष अरु नेपाली खेलाडीले पनि आईपीएल खेल्ने छन् । सबैको एउटै लक्ष्य हो, क्रिकेटलाई  अगाडि बढाउने ।

एयरपोर्टमा तपाईंको जुन स्तरको स्वागत भयो, त्यो अपेक्षा थियो ?

–राम्रै होला भन्ने आशा चाहिँ थियो तर त्यति भव्य होला भन्ने सोचेको थिइनँ । कहिलेकाहीं व्यस्तताले भनेजति समय दिन पाइन्न । यसको मतलब ‘एटिट्युड’ होइन । त्यस्तो माया मैले मात्र होइन, अरु क्रिकेटर पनि पाउनुपर्छ ।

हामीकहाँ के भइदियो भने क्रिकेटले रफ्तार लिन्थ्यो भन्ने लाग्छ ?

–चारपाँच वर्षदेखि क्रिकेटको राष्ट्रिय प्रतियोगिता भएको छैन । म आफैंले राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । पहिले क्षेत्रीय खेल हुन्थ्यो, अहिले त्यो पनि छैन । मलाई लाग्छ, खेलाडीलाई घर जाने भन्दा क्रिकेटमै कसरी व्यस्त राखेर पोख्त बनाउने भन्ने बन्दोबस्त गर्नुपर्छ । अर्कोतिर, हामीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पनि पायौं । तर धेरै  अगाडि बढ्न एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको ट्यागलाई उपयोग गर्नतिर सोच्नुपर्छ । ट्वान्टी–२० मात्र खेल्न थाल्यौं भने खेल कहिले सुर्धन्न । एकदिवसीयमा धैर्य हुन्छ । त्यसैले घरेलु खेल एकदमै धेरै हुनुपर्छ ।

दिल्ली डेयरडेभिल्ससँग तीन वर्षको सम्झौता छ तपाईको । बाँकी दुई वर्षलाई कसरी लिनुभएको छ ?

–यो त ठूलो अवसर हो । हरेक खेल राम्रो गरें भने के होला, नराम्रो गर्दा के होला भन्ने भोक त भइहाल्छ । आइपीएलमा सधैं नेपालको गौरव कायम राख्नु छ । फेरि तीनै वर्ष दिल्लीमै हुनुपर्छ/भइराखिन्छ भन्ने पनि होइन । यदि कुनै खेलाडीले राम्रो प्रदर्शन गर्न सकेन भने टिमले हटाउन सक्छ । त्यसपछि ती खेलाडीको ‘अक्सन’ हुन्छ । तीन वर्ष दिल्लीका लागि खेलेपछि अर्को टिममा जान पाइन्छ । त्यसका लागि आफू वा अरु टिमले प्रस्ताव राख्न पाउँछ ।

सबैले तपार्इंको प्रदर्शनलाई उत्कृष्ट भनिरहेका छन् तर तपाईं आफैं आफ्नो खेल कसरी मुल्यांकन गर्नुहुन्छ ?

–पहिलो चरणमा त्यति गर्नु राम्रो नै हो । पावरप्लेमा मैले कहिल्यै बलिङ गरेको थिइनँ । त्यहाँ पावरप्लेमा गर्दा पनि राम्रो भयो । अरु पनि मिलिरहयो । सबैको साथ र विश्वास पाए । परिणाम ठिक आयो ।

तपाईंको नजरमा असाधारण हो कि राम्रो मात्र ?

–राम्रो मात्र । असाधारण हुन त हरेक म्याचमा ४–५ विकेट लिनुपथ्र्यो (हाँस्दै) ।

(सन्दीपसँग अन्तर्वार्ताको पूर्ण भाग आगामी १३ जेठ आइतबार प्रकाशित हुने नेपाल म्यागजिनमा हेर्नुहोला ।)

­­­

प्रकाशित: जेष्ठ ९, २०७५