निर्माणको गतिसँगै आर्थिक वृद्धि

- विजयराज खनाल

चालू आवमा मुलुकको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ । यो वृद्धिमा निर्माण, उत्पादन र रियलस्टेटबाट राम्रो योगदान रहने देखिएको छ । क्षेत्रगत आधारमा निर्माण, उत्पादन र रियल इस्टेटको वृद्धिदर उच्च छ । यी क्षेत्रमा क्रमश: १०.६४, ८.०४ र ५.२४ प्रतिशतको दरमा वृद्धि हुने भएको हो । 

मुलुकले भूकम्पपछि पुन:निर्माणमा तीव्रता दिएसँगै यी क्षेत्रमा उच्च वृद्धि देखिएको हो । ठूला विकास आयोजना, निर्माणबाहेक बैंकहरूले समेत आवास तथा गैरआवास निर्माणका लागि गत वर्षभन्दा १० प्रतिशत लगानी बढाएर २ खर्ब १० करोड पुर्‍याएका छन् । त्यस्तै, सिमेन्ट, ढुंगा, फलाम तथा स्टिल उद्योगमा बैंकहरूको लगानी एक खर्ब २७ अर्ब पुगेको छ । भूकम्पका कारण क्षति भएका ९ लाख ९६ हजार घरमध्ये एक लाख १९ हजार निजी घर निर्माण भइसकेका छन् भने चार लाख ३० हजार घर निर्माण भइरहेको पुन:निर्माण प्राधिकरणको तथ्यांक छ ।

त्यस्तै, तीन हजार विद्यालय, पाँच सय ८६ स्वास्थ्य संस्था र करिब एक सय सांस्कृतिक सम्पदाको पुन:निर्माण भएको छ । यसले बजारमा बालुवा, गिटी, इँट्टा, सिमेन्ट, रडलगायतको मात्रै नभई रंगको माग पनि बढेको छ ।

हाल इन्जिनियरको सल्लाहमा भूकम्पप्रतिरोधी घर बनाउनुपर्ने प्रावधानले पनि डन्डी, स्टिलको बजार बढेको छ । भूकम्पपछिको पहिलो वर्षमा करिब ४० प्रतिशतसम्म बढेको यसको व्यापार वृद्धि अहिले १० प्रतिशतमा संकुचित रहेको छ ।

पुन:निर्माणको काम अगाडि बढिरहँदा नेपालमै उत्पादित सिमेन्टले पनि माग धान्ने अवस्था बनिरहेको छ । केही वर्षअघिसम्म भारतीय बजारबाट सिमेन्ट आयात गर्नुपर्ने बाध्यता हाल कम भइरहेको छ ।  गत आव ०७३/७४ मा नेपालमा तयारी सिमेन्टको आयात ३९ प्रतिशतले घटेर एक अर्ब १४ करोड रुपियाँमा सीमित भएको छ । बढ्दो सिमेन्ट उत्पादनसँगै नेपाल आत्मनिर्भर हुँदै गएको छ । “हामी सन् २०१९ सम्म सिमेन्टमा आत्मनिर्भर हुन सक्छौँ,” नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाको कथन छ ।

हाल नेपालमा ८० लाख मेट्रिक टन सिमेन्टको माग छ । यसको करिब ६०/७० प्रतिशत माग स्वदेशी उद्योगले धानिरहेका छन् । सन् २०१९ सम्ममा नेपालले करिब एक करोड मेट्रिक टन सिमेन्ट उत्पादन हुने प्रक्षेपण संघको छ ।

नेपालमा सिमेन्ट उत्पादनका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने क्लिंकर भने आयात हुने गरेको छ । गत आवमा देशमा २४ अर्ब रुपियाँको क्लिंकर भित्रिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा एक सय ५३ प्रतिशतले वृद्धि भएको हो ।

मुलुकभर रहेका करिब ५० सिमेन्ट उद्योगमध्ये सातभन्दा बढी उद्योगले अहिले आपैँm चुनढुंगा र सिमेन्ट उत्पादन गरिरहेका छन् । वैदेशिक लगानीसहित सञ्चालनमा आउन लागेको होङसी शिवम् सिमेन्ट उद्योगलगायतले चुनढुंगाको समेत आपूर्ति गर्ने लक्ष्य लिएका छन् । धादिङ, मकवानपुर, चितवन, दाङलगायतका क्षेत्रमा चुनढुंगा खानी छन् । नेपालमा हाल उत्खनन भइरहेकामध्ये ४९ वटा खानी चुनढुंगाका छन् ।

निर्माण क्षेत्रमा सुधार भइरहँदा रंगको बजार पनि वार्षिक १५ प्रतिशतले बढिरहेको छ । हाल नेपालमा रंगको वार्षिक कारोबार सात अर्ब रुपियाँ पुगेको छ । कम्पनी रजिस्टारको कार्यालयमा हाल एक सय ३६ भन्दा बढी रंग उत्पादन कम्पनी दर्ता छन् ।

रंगको खपत आन्तरिक बजारमा उच्च देखिए पनि केही उत्पादन विदेश निर्यातका लागि  सिफारिसमा पर्न थालेका छन् । उद्योग विभागले आव ०७२/७३ मा एसियन पेन्ट्स कम्पनीबाट उत्पादित प्राइमरलाई विदेश निर्यात गर्न सकिने प्राथमिकता प्राप्त वस्तुको सूचीमा समेत राखेको थियो । भारतबाट मात्रै वार्षिक दुई अर्ब ३२ करोड रुपियाँको इनामेल र रंग आयात गरिरहेको नेपाललाई यसमा आत्मनिर्भर हुन भने समय लाग्छ ।

प्रकाशित: जेष्ठ ९, २०७५

ट्याग: अर्थ