दस्तखत–ए–करिश्मा

- कुमार नगरकोटी

मलामीगृहको बेन्चमा एक्लै बसेकी छे करिश्मा मानन्धर । यौवन र सौन्दर्यकी दूत । मेसेन्जर अफ युथ एन्ड ब्युटी । उसको हातमा कलेजी रंगको डायरी छ । त्यो मेरै डायरी हो, जहाँ जीवित छँदा मैले लेखेका कविता, दैनिकी र पेन्सिल स्केचहरु छन् । अभिनेत्री डायरीका पानाहरु पल्टाइरहेकी छे । त्यहीँ छ, उसको अंग्रेजी दस्तखत ।

त्यो डायरीमा उसले कहिले दस्तखत गरेकी थिई ?

आफ्नो मृत्युको मलाई कुनै खेद छैन । तर, करिश्माको मुहार किन त्यति अँधेरो ? योचाहिँ खेदजनक छ । उज्यालो मुहारमा ग्रहण लाग्नु ज्यादै दु:खद छ । यस्तो लाग्दैछ, करिश्माको करिस्मेटिक मुहारमा कुनै स्वाँठ मेकअप आर्टिस्टले भएभरको उदासीनता पोतिदिएको छ । तपार्इंसित पिस्तोल छ, पिस्तोल ? त्यो मेकअप म्यानलाई खोज्नूस् र उसको खोपडी गोलीले उडाइदिनूस् । करिश्माको मुहारमा शोक, निराशा र उदासीनता पोत्ने त्यो स्वाँठलाललाई यो धर्तीमा बस्ने कुनै अधिकार छैन ।

०५१ को एक निद्रालु दिनमा डिल्लीबजारको उकालोमा यी अभिनेत्रीसित मेरो पहिलो र अन्तिम भेट भएको थियो । तिनताका म फर्निचर पसलको सेल्सम्यान थिएँ । सडकपारिको फुटपाथमा करिश्मा कसैलाई पर्खिबसेकी थिई । तर, कसलाई पर्खिबसेकी ? राजेश हमाल, भुवन केसी, सरोज खनाल कि विनोद मानन्धर ? या मार्टिन स्कोर्सिज, वुडी एलेन, स्टिभन स्पिलबर्ग या स्टान्ली कुब्रिकजस्ता फिल्म निर्देशकहरू, जसले उसलाई आफ्नो आगामी फिल्ममा कास्ट गरुन् !

करिश्माको विम्ब मेरो मनमा त्यसैगरी बसेको छ : फुटपाथमा कसैलाई पर्खिबसेकी नायिका । सायद ऊ आफ्नो अतीतलाई कुरिबसेकी थिई, जसले उसलाई सिनेमाको मायानगरीमा एक्लै संघर्ष गर्न छाडिदिएको थियो । सडकपारि ऊ थिई, वारि म । पसलमा अन्य सेल्सम्यानहरुमाझ करिश्मा चर्चा हुन थालेपछि मैले भनेँ, “हिरोइनसित कुरा गर्ने कसैको आँट छ ?” सबै तैँ चुप मै चुप भइगए । पारस चौधरीले भन्यो, “तपैँको चैँ आँट छ ? करिश्मासित कुरा गर्न सक्नुभो भने सय रुप्याँ दिउँला । बाजी थाप्ने हो ?”

आफ्नो मनप्रिय नायिकाका निम्ति केवल सय रुपियाँ ? यो त हद भयो । भनेँ, “त्यस्तो जीवन्त सौन्दर्यको यस्तो भद्दा मजाक ! एक महिनाको तलब बाजी थापौँ । मञ्जुर ?” चौधरीको अहंकारले भन्यो, “लौ मञ्जुर ।”

रित्तो हात के जानू ? कलेजी रंगको डायरी बोकी नायिकासामु गएँ र विनम्रतापूर्वक भनेँ, “अटोग्राफ प्लिज ।” उसले डायरी हातमा लिई अंग्रेजीमा सिग्नेचर गरिदिई । म धन्य भएँ । के सोचेर हो कुन्नि ? भनी, “एसएलसी गर्‍या छौ ?” गर्‍या छु भनेँ । लगभग पाँच मिनेट यताउतिका कुरा भए, हस्ताक्षरका लागि धन्यवाद दिएँ र फर्किहालेँ ।

त्यो निद्रालु दिनमा एसएलसीजनित अप्रत्यासित प्रश्नले मलाई लामो कालसम्म पछ्याइरह्यो । ऊ प्रसिद्धि र चर्चाको शिखरमा थिई । एक दिन शिखरबाटै भुर्र उडी अमेरिकातिर अलप भई । मैले उसलाई बिर्सें । म मात्र किन ? सिल्भर स्क्रिनमा करिश्माको कलकलाउँदो बैँस, अभिनयको छटा–ए–अन्दाज हेर्दै काललाई आफ्नो जवानी अर्पण गर्ने सिंगो जमातले उसलाई बिस्र्यो ।

२० वर्षको लामो अन्तरालपछि उसको खबर आयो । करिश्माले भनेको सुनेँ, “म स्कुल जान्छु, एसएलसी पास गर्छु ।” मैले आफ्नो जवाफ भेटेजस्तो लाग्यो । एउटा गीतले भन्छ, “सुन साइँली, चालीस कटे’सी रमाउँला ।” मलाई लाग्यो, ४० कटे’सी करिश्मा रमाउने भई । सिनेमाको ग्ल्यामरस संसारले ४० वर्षसम्म उसलाई रमाउने फुर्सद नै कहाँ दियो र !

करिश्मालाई फुटपाथमा एक्लै छाडिगएको अतीत अन्तत: टुप्लुक्क आइपुग्यो । सुन्छु, अचेल अतीतका मुलायम औँलाहरु समाती करिश्मा स्कुल जान्छे । ऊ असल अभिनेत्री थिई । अब उसलाई असल मान्छे बन्नु छ । असल शिष्य नै असल मनुष्य बन्ने हो । जगतको यही इच्छा छ । सदावहार नवयौवनालाई दिवंगत नगरकोटीको अनेक शुभेच्छा छ ।

प्रकाशित: जेष्ठ ९, २०७५

ट्याग: पर्सोनाज