आवरण टिप्पणी» फेरि उही जनवादी केन्द्रीयता

ओलीले पहिलोपल्ट प्रधानमन्त्रीबाट राजीनामा दिने क्रममा बोलेका शब्द–शब्द केलाउने र लगत्तै प्रधानमन्त्री भएका प्रचण्डले दिएको जवाफ सुन्ने हो भने अचम्म लाग्छ– कसरी मिले होलान् यी दुई विपरीत राजनीतिक जीवहरू ?

- बसन्त बस्नेत

उनीहरूको व्यक्तिगत इतिहास कहिल्यै मिलेको थिएन । कम्युनिस्ट भन्दै रहे पनि उनीहरूको ‘सिद्धान्त’ कहिल्यै मिलेन । उनीहरूको स्वभाव मिल्दैन, कार्यशैली मिल्दैन । नमिल्ने सूची लामो छ, मिल्ने सूची छोटो । तर, इतिहासको आवश्यकता या परिस्थितिको बाध्यता– केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षका लागि छुट्याइएको कुर्सीमा सँगसँगै बस्न आइपुगेका छन् ।

३ जेठमा नेकपा घोषणाको भोलिपल्ट अखबारहरूले दिएको शीर्षक करिब एकै थियो– इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी । प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीको भनाइमा– टेम्पो होइन, जेटविमानजत्रो पार्टी ।

जेट उडाउन दुई जना चालक चाहिने भएकाले दुई अध्यक्ष राख्नुपरेको ओलीको तर्कलाई सोही दिन जारी ६ बुँदे पार्टी एकीकरण संयुक्त घोषणा दस्तावेजको चौथो बुँदाले काट्छ, जहाँ ‘जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त’ अवलम्बन गरिने उल्लेख छ । सोभियत भूमिमा लेनिनले अपनाएको त्यो संगठन सिद्धान्त, जहाँ व्यवहारत: पोलिटब्युरोको सर्वशक्तिमान महासचिवमा केन्द्रीकृत अख्तियारका सामु सिंगो पार्टी कमजोर देखियो, जनता निर्बल भए । लेनिनको त्यो प्रस्थापना अनुसार, व्यक्ति संगठनको मातहत हुनेछ । निर्णयपूर्व छलफलको स्वतन्त्रता हुनेछ । निर्णयपछि अल्पमत बहुमतको अधीनस्थ हुनेछ । तल्ला कमिटी माथिल्ला कमिटीको अधीनस्थ हुनेछन् । माथिल्ला कमिटी पोलिटब्युरोको ।

परिणाममा त्यस्तो भएन । जनताको सम्प्रभुता कम्युनिस्ट पार्टीले प्रयोग गर्‍यो । कम्युनिस्ट पार्टीको सम्प्रभुता शक्तिमान महासचिवले । रुसी कम्युनिस्ट पार्टीका महासचिवका रूपमा स्टालिनले सन् १९२२ देखि नमरुन्जेल ३० वर्ष अधिनायकी चलाए । लेनिनको त्यही वैचारिक जगमाथि उदाएका स्टालिनका अनेकानेक सनकलाई आसेपासेहरूले सैद्धान्तिक लेप लगाउँदै गए । यसरी कालान्तरमा कम्युनिस्ट व्यवस्थाका नाममा अधिनायकवाद भित्रिएको थियो । आशा गरौँ, लोकतान्त्रिक मूल्य–मान्यतामा पटक–पटक प्रतिबद्धता जनाएका दुई अध्यक्षले यो र अनेकौँ त्रासद इतिहास दोहोरिन दिने छैनन् । तर, आचार–व्यवहार नमिल्ने, अनि शक्ति अभ्यासमा तीव्र रुचि हुने यी दुईले स्वभाव र विचारको यो विरोधाभास कसरी हल गर्ने हुन् ? राजनीति अध्येताका लागि शोधको विषय पक्कै हुनेछ । हामी देख्दैछौँ– उदार लोकतन्त्रको वृक्ष सुक्दै गएको वैश्विक हावाले हाम्रा घरछिमेकतिर उसैगरी छोइरहेको छ । अमेरिका, रुस, बेलायत, इटाली, पोल्यान्ड, हंगेरी, टर्की, भारतलगायत कैयन् देशमा चुनावमार्फत अनुदारवाद अनुमोदित भएको छ । मध्यमार्गी विचारको पैरवी गर्ने नेताहरूलाई असान्दर्भिक ठहर्‍याउने प्रयास भएको छ । यस्तोमा यहाँ फेरि जनवादी केन्द्रीयताको नारा ब्युँताइँदैछ । परनिन्दक नभई भविष्यमुखी भएर सोचौँ, जनवादी केन्द्रीयताको जगमा उदाउने राष्ट्रवादी समाजवाद कस्तो होला ? त्यसमा नागरिक सम्प्रभुता बलियो होला कि कमजोर ?

विगतको नमीठो

माओवादीले सशस्त्र युद्ध चलाउँदै गर्दा ओलीले जति तिखो विरोध सायदै कसैले गर्‍यो । दुई वर्षअघि आफूले प्रधानमन्त्री बनाएका ओलीलाई हटाएर कांग्रेससँग आलोपालो सत्ता–सहमति गरेलगत्तै प्रचण्डले हामीलाई दिएको एउटा अन्तर्वार्तामा सिलिगुडीको युद्धकालीन एक भेटको प्रसंग उप्काएका थिए । ओलीको भनाइ उद्धृत गर्दै उनले सुनाएका थिए, ‘नाम सुन्दै अलि जण्ड स्वभावको हुनुहोला भन्ने लागेको थियो, तपाईं त अर्कै किसिमको मान्छे हुनुहुँदो रहेछ ।’

त्यसपछि उनीहरूबीच बेलाबखत कुराकानी त भयो, तर २५ जेठ ०७२ को १६ बुँदे संविधान–सहमति नहुन्जेल खासै हार्दिकता विकास हुन सकेन । उनले साउन ०७३ को त्यसै अन्तर्वार्तामा ओली आत्मकेन्द्रित र ‘इगोसेन्ट्रिक’ नेता भएकाले उनीसँग हनिमुन सहकार्य अब सकिएको घोषणा गरेका थिए । ओलीले पहिलोपल्ट प्रधानमन्त्रीबाट राजीनामा दिने क्रममा बोलेका शब्द–शब्द केलाउने र लगत्तै प्रधानमन्त्री भएका प्रचण्डले दिएको जवाफ सुन्ने हो भने अचम्म लाग्छ– कसरी मिले होलान् यी दुई विपरीत राजनीतिक जीवहरू ?

अनि त्यसपछिका दर्जनौँ वाक्युद्धहरू । ओली–प्रचण्ड मिलाउने एक उत्प्रेरकले केही महिनाअघि यो पंक्तिकारलाई सुनाए अनुसार दुई नेता एक ठाउँ बस्ने सम्भावना शून्य भइसकेको थियो । उनी र केही साथीहरू मिलेर जेनतेन मनाए । त्यस अनुसार ०७३ को हिउँदमा निर्धारित समयभित्रै प्रचण्ड कोटेश्वरको एउटा घरमा पुगे । ओलीले अबेर गरिदिए । प्रचण्डले दिक्दारी दर्शाए, ‘एक जनामात्रै गम्भीर भएर हुँदैन, त्यसैले तपाईंहरू यो जिद्दीमा नलाग्नुहोस् ।’ यति भनेर उनी त्यो कोठासँगैको बाथरुम छिरे । त्यही बेला ओली आइपुगे र सोफामा बस्न खोजे । ती उत्प्रेरकले रोक्दै भने, ‘पल्लोमा बसौँ कमरेड । त्यसमा प्रचण्डजी बस्नुभएको छ ।’

ओलीले कटाक्ष गरिहाले, ‘ए, रक्तरञ्जित सोफा पो रहेछ । कसो बसिहालेको !’ प्रचण्डले ओली–वाणी भित्रैबाट सुनिहाले । बाथरुमबाट निस्कँदा उनको अनुहार कालो थियो । स्रोतका अनुसार, त्यसपछि दुई नेताले एक–अर्कालाई हेर्दै नहेरी कुराका लागि कुरा गरेजस्तो गरे अनि चिया पिएर छुटिहाले ।

यस्ता दृष्टान्त गनेर सकिन्न । पहिलो संविधानसभा चुनावका बेला ओली हराउन उनको गृहजिल्ला झापामै गएर प्रचण्डले दिएको भाषण सुन्यो भने सबै गालीजन्य शब्दहरू फिका हुन्छन् । एकताको लक्ष्य राखेर १७ असोज ०७४ मा चुनावी गठबन्धन गरे पनि राजनीतिवेत्ताहरूले एकीकरणसम्म पुग्नेमा काफी सन्देह गरेका थिए । उसमाथि सत्तारोहणको सय दिन नपुग्दै ओलीका एकछत्र शासनशैली, प्रचण्डसँग व्यक्तित्व टकराव अनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमण क्रममा यो तिक्तता उत्कर्षमा पुग्यो । अब यो एकता करिब टर्न लागेको टिप्पणी गर्नेमा राजनीतिक जानकार मात्रै होइन, स्वयं दुई पार्टीका दोस्रो तहका नेताहरू नै थिए । केही दिनअघिका अखबारमा ती अक्षर आलै छन् ।

पानीढलो

‘लभ–हेट रिलेसन’ का अनगन्ती शृंखलाबीच दुई नेताले ०१९ मा छुटेर गएको नेकपाका अलग धारहरूलाई जोड्ने ऐतिहासिक संकल्प गरेका छन् । वाम बहुसंख्याको मिल्नैपर्ने दबाबबाट उनीहरू फर्कने ठाउँ थिएन । राजनीतिक स्थिरताको जगमा नेपालले अब लिने भनिएको आर्थिक फड्कोका लागि यो एकता पानीढलो बन्न सक्छ । आखिर आधाभन्दा बढी मतदाताले दिएको जनादेश यही आकांक्षा परिपूर्तिका लागि हो । तर, त्यसका लागि अध्यक्षको कार्यकारी कुर्सीमा बसेका दुई महत्त्वाकांक्षी नेताले आफ्ना आकांक्षा र परिस्थितिको सीमाबीच कसरी सन्तुलन मिलाउँछन्, हेर्न बाँकी छ । एमालेलाई थाहै छ, प्रचण्ड मनमोहन अधिकारी होइनन्, जसलाई सेरेमोनियल भूमिकामा खुम्च्याउन सकियोस् । अनि, माओवादीलाई पनि राम्रै हेक्का छ, ओली अरू नेताजस्ता समन्वयकारी होइनन् । एक साता पनि बितेको छैन, हामीले माओवादी मन्त्रीहरूको टिप्पणी सुन्यौँ– प्रधानमन्त्रीज्यूको कार्यशैली निकै फरक रहेछ । हामीलाई त प्रचण्डको व्यवहार गर्ने शैली मन परेको थियो ।

सम्बन्धमा तुलना गर्नेहरू अक्सर दु:खी हुन्छन् । राष्ट्रवाद र समृद्धिको हावा चलाएरै सबैलाई त्यतै बहाउन सफल ओली संक्रमणकालीन समयका सर्वदलीय सहमति त के, आफ्नै पार्टीभित्र पनि धेरै पुछताछ गरिरहनुपर्ने आवश्यकता ठान्दैनन् । विगतमा एमाले नेताहरू भन्थे, ‘सल्लाह गर्ने बानी छैन, निर्णय सुनाउने हो उहाँले ।’ यस्तोमा प्रचण्ड–ओली सहयात्रा पक्कै चिताएजति सहज हुने छैन । ‘अधिकार प्रयोग’ का विषयलाई लिएर निकट दिनमै दुई शीर्षहरूबीच किचलो उत्पन्न भयो भने अनौठो मान्नुपर्ने छैन ।

अन्त्यमा, विचार–सिद्धान्तको कुरा, जो पहिलेका दिनमा सुरुमै छलफल हुने गर्थे । माओवादी विचारधाराको अध्याय टुंग्याएर अब प्रचण्ड ‘समाजवादी’ मात्रै हुनेवाला छन् । बढी से बढी, ओलीले भन्ने गरेको पोलिटिकल कम्युनिस्ट हुने हो । अर्थात्, कम्युनिस्ट नहुनका लागि माओवादी अब कम्युनिस्ट हुने हो । यति हुँदाहुँदै फेरि किन जनवादी केन्द्रीयता ? सायद यसको जवाफ दुवै नेताले खोज्नुपर्ने खाँचो देखेनन् । अनि, ‘जनताको जनवाद’ ल्याउने वाचाले स्पष्टता खोजेको छ । राजनीति जान्नेहरूको स्वाभाविक जिज्ञासा हुन सक्छ– जनवाद भनेकै जनताको हुन्छ, त्यसमा किन ‘जनता’ को थप्नुपर्‍यो ? भविष्यमा यसको जवाफ खोज्ने प्रयास पक्कै होला ।

३ जेठको सहमतिपत्रमा नेकपाले जनआधारित कार्यकर्ता पार्टी बनाउने उल्लेख गरेको छ । सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको कुरा गरेको छ । आन्दोलन र युद्धका महत्त्वाकांक्षी ट्रयाक रेकर्ड बनाई आएका नेताहरूका लागि यो शब्दावली लेखिएजस्तो सजिलो छैन । औपचारिक घोषणा नगरे पनि माओवादीले आफ्नो माओवादलाई यो बिन्दुमा पक्कै बिसाएको छ । नवगठित नेकपाले छाड्न नसकेको लेनिनलाई हो । लेनिन, जोसँग मानव इतिहासमै पहिलोपल्ट समाजवादी क्रान्ति सफल पारेको विरासत थियो । लेनिन, जोसँग गर्व गर्नलायक इतिहास थियो, ‘लेनिनवाद’को अधिनायकवादी सिद्धान्त होइन ।

प्रकाशित: जेष्ठ ८, २०७५