आवरण कथा» बाईबाई माओवाद

- माधव बस्नेत

सशस्त्र युद्ध सकिएको १२ वर्ष नाघिसक्दासम्म पार्टी कार्यालयका तस्बिर र साइनबोर्डमा बाँचिरहेका माओत्से तुङको अब वैचारिक अन्त्य भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र ३ जेठ ०७५ को मदन–आश्रित दिवससँगै नेकपामा परिणत भएसँगै आफ्नो मार्गदर्शक सिद्धान्तबाट माओवाद हटाइदिएको छ, अनि ब्यानरबाट माओको नाम र तस्बिर । स्मरण रहोस्, प्रचण्डलाई संशोधनवादी मान्दै उनीबाट छुटेर गएका मोहन वैद्य ‘किरण’ले पनि यसअघि नै आफ्नो पार्टीको नामबाट माओवाद हटाइसकेका छन् । आफूलाई वैद्यभन्दा अझ क्रान्तिकारी दाबी गर्ने विप्लव समूहले समेत फागुन ०७३ मै माओवादी नाम झिकिसक्यो । अनि, माओवादी युद्धका ‘आर्किटेक्ट’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि ९ असोज ०७२ मै माओवादी विचारशिविर भत्किन लागेको भन्दै रातो स्टिकर टाँसेर बाहिरिए । अर्थात्, अब नेपालमा औपचारिक रूपमा माओवादी पार्टी छैन ।

फागुन ०५१ मा नेकपा एकता केन्द्रबाट विभाजित समूहले आफ्नो पार्टीको नाम नेकपा माओवादी राखेको थियो । तर, आफूले विगतमा संसद्वादी बुर्जुवा पार्टी आरोपित गर्दै आएको एमालेसँग एकीकरणसँगै प्रचण्ड माक्र्सवाद–लेनिनवाद मात्रै स्वीकार गर्न तयार भए । र, ४४ वर्षपछि अन्तत: माओवादलाई औपचारिक रूपमै तिलान्जली दिए  ।

माघ–फागुन ०५७ भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट माओवादीले मार्गदर्शक सिद्धान्तमा माओवादमाथि प्रचण्डपथसमेत थपेको थियो । २९ पुस ०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रसँग एकीकरण गर्दा माओवादीले प्रचण्डपथ छाड्यो भने एमालेसँग एकता गर्दा माओवाद ।

त्यसो त सिद्धान्त परित्याग गरेको सीधै घोषणा गर्दा अनेकन लान्छना लाग्ने भएकाले एकीकृत पार्टीको महाधिवेशन नहुँदासम्म माओवादलाई बहसमा लैजाने ‘देखावटी’ समझदारी भएको छ । यो माओवादी केन्द्रको मूलधारका लागि नाक जोगाउने सजिलो उपाय हो ।

“माओवादी केन्द्रले माओवाद छाडेकै हो, यसमा कुनै शंकै छैन,” एमालेतिरका एक नेकपा केन्द्रीय सदस्य भन्छन्, “किनभने हालको एमालेले औपचारिक रूपमा ०३९ बाटै माओवादलाई परित्याग गरिसकेको छ । त्यसैले महाधिवेशनसम्मको दुई वर्ष त के ! दसौँ वर्ष बहसमा लगे पनि माओवादमा फर्कन सम्भव छैन ।”

हुन पनि एकीकृत पार्टीको स्थायी समिति, केन्द्रीय समिति र महाधिवेशनमा प्रतिनिधिसमेत एमालेकै बहुमत हुने भएकाले तत्तत् निकायमा माओवाद पारित नहुने निश्चित छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका शब्दमा एकीकृत कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्तबाट माओवाद हटेको छ । तर, छलफल–बहसबाट भने हटिनसकेको उनको दाबी छ ।

“महाधिवेशनमा पुग्दासम्म माओ विचार, माओवाद वा माओका योगदानलाई कसरी आत्मसात् गर्ने, त्यसबाट नेपाली क्रान्तिले कसरी फाइदा लिने भन्ने विषयमा निर्णय हुन्छ,” श्रेष्ठ भन्छन्, “लामो इतिहास बोकेको माओवाद छलफलमै भएकाले निर्णय नहुँदासम्म यसै भयो भन्नु हतारो हुन्छ । तर, तत्कालको मार्गदर्शक सिद्धान्त माओवाद होइन, माक्र्सवाद–लेनिनवाद हो ।”

माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेरै माओवादीले १० वर्षे सशस्त्र गरेको जगजाहेरै छ । यसक्रममा माओवादीले ‘बुर्जुवा शिक्षा वहिष्कार गरौँ, माओवादको विश्वविद्यालयमा अध्ययन गरौँ’ भनेर विद्यालय/विश्वविद्यालय तहमा अध्ययन गरिरहेका हजारौँ युवा विद्यार्थीलाई पूर्णकालीन बनायो । माओवादको विश्वविद्यालयमा भर्ती हुन भन्दै ‘एक घर, एक पूर्णकालीन कार्यकर्ता’ को नारा नै अघि सार्‍यो ।

माओवादको बहसमा पटक–पटक सहभागी भएका नेपाल कम्युनिस्ट पार्टीका नेता हेमराज भण्डारी १० वर्षे सशस्त्र विद्रोहकालीन मार्गदर्शक सिद्धान्तलाई थाती राखेको बताउँछन् । “महाधिवेशनसम्म पुग्दा माओवाद नै नभने पनि माओको नाम कसरी सम्झने भनेर एउटा निष्कर्ष निस्किएला । तत्काललाई मार्गदर्शक सिद्धान्त बाईबाई गरिएकै हो,” भण्डारीको कथन छ, “माओवाद छाडेरै भए पनि उस्तै दर्शन, विचार, संगठन भएका दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता हुनु ठूलो उपलब्धि हो ।”

माओवादको कुण्डली

नेकपा (माओवादी)ले माओवादलाई मार्ग निर्देशक सिद्धान्त बनाउन गरेको दुई लाइन संघर्ष, कलह, कारबाही, निष्कासनको फेहरिस्त लामै छ । माओवादलाई अंगीकार गर्न त्यस पार्टीभित्र भएका कहानी बुझ्न झन्डै तीन दशकको इतिहास खोतल्नुपर्ने हुन्छ । औपचारिक रूपमा ०५१ मा नेकपा (माओवादी) नाम जुराइए पनि ३० भदौ ०३१ मा भारतस्थित बनारसको श्रीकृष्ण धर्मशालामा भएको चौथो महाधिवेशनदेखि नै त्यस पार्टीले आफ्नो पथप्रदर्शक सिद्धान्त माओ विचारधारालाई बनाउँदै आएको थियो । मंसिर ०४१ मा भारतको अयोध्यामा भएको पाँचौँ महाधिवेशनमा त माओ विचारधारा मात्र नभएर माओवाद नै भन्नुपर्ने प्रस्ताव पेस भएको थियो । तथापि, महाधिवेशनबाट अन्तिममा पथप्रदर्शक सिद्धान्त माओ विचारधारा नै पारित गरियो ।

अयोध्या महाधिवेशन भएको एक वर्ष पनि नपुग्दै माओ विचारधारा र दीर्घकालीन जनयुद्ध अंगीकार गर्न आनाकानी गरेको भन्दै वैद्य, प्रचण्ड, सीपी गजुरेल, रामबहादुर थापालगायतले मोहनविक्रम सिंहको समूहलाई कारबाहीको घोषणा गरेका थिए । अनि, माओवादको परीक्षण गर्ने भनेर चैत ०४३ मा काठमाडौँ, ललितपुरका केही प्रहरी बुथमाथि हमला गरे । यो घटना सेक्टर काण्डका नामले चिनिन्छ ।

मंसिर पहिलो साता ०४८ मा प्रचण्ड नेतृत्वको नेकपा (मशाल), निर्मल लामा नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन), रूपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन, हरिबोल गजुरेल नेतृत्वको विद्रोही (मसाल) र स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी (जनमुखी)बीच पार्टी एकता भई महाधिवेशन भयो ।

चितवनको माडीमा १७ दिनसम्म चलेको उक्त महाधिवेशनमा देशभित्रका ६३ जिल्ला, प्रवास, विभिन्न विभाग, क्षेत्रसमेत गरी २ सय २२ जना प्रतिनिधि र ४९ जना पर्यवेक्षकको सहभागिता थियो । महाधिवेशन स्थलमा माओ विचारधारा वा माओवादसम्बन्धी चर्को मतभेद भएको थियो । मशालका महामन्त्रीका रूपमा प्रचण्डले आधार इलाकासहितको दीर्घकालीन जनयुद्ध हुनुपर्ने र माओ विचारधारालाई माओवाद भन्नुपर्ने प्रस्ताव राखेका थिए । त्यसलाई मोहन वैद्य, सीपी गजुरेल, रामबहादुर थापा, देव गुरुङहरूको त समर्थन थियो नै, विद्रोही मसालका बाबुराम भट्टराई, सर्वहारावादी श्रमिक संगठनका फणीन्द्र आचार्यलगायतले समेत समर्थन गरेका थिए । प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा २ सय २२ मध्ये माओवादका पक्षमा १ सय ८८ मत पर्‍यो । माओवाद पारित भएपछि अल्पमत पक्षका निर्मल लामा, रुपलाल विश्वकर्मालगायत सन्तुष्ट हुन सकेनन । माओवाद राख्ने वा नराख्ने विषयमा सुरु विवाद ०५१ मा आइपुग्दा पार्टी विभाजनसम्मै पुग्यो ।

फागुन ०५१ मा चितवनमा सम्पन्न तेस्रो विस्तारित बैठकबाट प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा एकता केन्द्रको बहुमतले पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी राखेको थियो । यससँगै माओवाद स्वीकार गर्न नमानेको र दीर्घकालीन जनयुद्धको विपक्षमा रहेको भन्दै निर्मल लामा, नारायणकाजी श्रेष्ठहरूलाई कारबाही गरिएको थियो । १२ वर्षअघि ०६३ मा युद्धबाट शान्तिमा आउँदाको नेकपा (माओवादी) लगत्तै पुरानो एकता केन्द्रसँग मिलेर एनेकपा माओवादी, अनि दुई वर्षअघि मोहन वैद्य समूहका वैद्यबाहेकका नेतासँग मिलेर माओवादी केन्द्र बन्न पुग्यो ।

अहिले पार्टी एकतामा माओवादी केन्द्र माओवादबाट पछि हटेकोमा विप्लव समूह भने उत्साहित देखिएको छ । अब माओवादी रुझानका बाँकी नेता–कार्यकर्ता पनि आफ्नै समूहमा आउने त्यस समूहको आकलन छ । विप्लव समूहका नेता गुणराज लोहनीका भनाइमा माओवादी केन्द्रले एमालेसँग एकता गरेपछि तीनथरी नेता–कार्यकर्ता असन्तुष्ट छन् । पहिलो, विचारमा स्पष्ट भएका, दोस्रो, ‘जनयुद्ध’ मा त्याग, बलिदान, समर्पण गरेका र तेस्रो, पद नपाएकाहरू छन् । एकीकृत पार्टीका भण्डारीचाहिँ राजनीतिक, वैचारिक वा घोषित रूपमा देखिने गरी ठूलो असन्तुष्टि नदेखिएको बताउँछन् । भन्छन्, “आन्तरिक रूपमा फाट्टफुट्ट असन्तुष्टि हुन सक्छ । तर, खासै ठूलो असन्तुष्टि छैन ।”

के हो माओवाद ?

‘हाम्रो यो योजना क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टता अनुसार ‘गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्ध’ का रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना र अपराजेय माक्र्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।’

फागुन ०५१ मा आफ्नो नाम नेकपा (माओवादी) राखेपछि ‘जनयुद्धको ऐतिहासिक पहलका लागि गरिएका सैद्धान्तिक प्रतिबद्धताहरू’ को पहिलो नम्बर बुँदामै प्रचण्डले यस्तो उल्लेख गरेका थिए, जसलाई त्यस पार्टीका नेताहरूले एक मतले पारित गरे । यससँगै माओवादीले सैद्धान्तिक तथा वैचारिक तयारी, संगठनात्मक तयारी, भौतिक तथा प्राविधिक तयारी र प्रतिरोध तयारी गरी चार तयारीलाई तीव्र बनाएका थिए । यस अर्थमा माओवाद भनेको क्रान्तिकारी हिंसामार्फत राज्यसत्ता कब्जा गर्न प्रतिपादित दर्शन हो ।

नेपालको उत्तरी छिमेकी चीनमा माओत्से तुङले सन् १९२७ देखि राज्यसत्ता कब्जा गर्न सशस्त्र संघर्ष सुरु गरेका थिए, जुन १९४९ सेप्टेम्बरसम्म कायम रह्यो । १९४९ मा माओले सशस्त्र संघर्षकै माध्यमबाट चीनमा सत्ता कब्जा गरे । त्यसक्रममा उनले ठूल्ठूला हिंसात्मक अभियान चलाएका थिए । र, यो अभियान चलाउने क्रममा विभिन्न योजना/सिद्धान्त अघि सारेका थिए । चीनमा माओले अघि सारेको त्यही बाटोबाट नेपालमा पनि सत्ता कब्जा गर्नुपर्छ भन्ने मान्यतालाई प्रचण्ड नेतृत्वको पार्टीले अंगीकार गर्‍यो । र, त्यसलाई माओवाद नाम दिइयो । चीनमा स्वयं माओले अघि सारेको सिद्धान्त, विचार, योजना, कार्यक्रमलाई त्यहाँ कहिल्यै माओवाद भनिएन ।

हिंसात्मक युद्धमा विश्वास राख्ने, ‘हिट एन्ड रन’का आधारमा छापामार आक्रमण गर्ने, खासगरी किसानलाई साथमा लिएर गाउँले सहरलाई घेर्ने रणनीतिमा आधारित भएर आधार इलाका निर्माण र स्थानीय सत्ता कब्जा गर्दै दीर्घकालीन जनयुद्धलाई क्रान्तिको आधारभूत कार्यनीति, रणनीति स्वीकार गर्नु नै माओवाद हो ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको लामो समय नबित्दै रुसपन्थी र चीनपन्थीबीच वैचारिक मतभेद सुरु भएको थियो । जसमध्ये चीनपन्थीहरू दीर्घकालीन जनयुद्धबाट मात्र राज्यसत्ता कब्जा गर्न सकिन्छ भन्ने विश्वासमा थिए । चीनमा माओले अघि सारेको सशस्त्र द्वन्द्वबाटै प्रभावित भएर ०२८ मा त्यहाँका कम्युनिस्ट युवाहरूले झापा संघर्ष सुरु गरेका थिए, जसलाई उनीहरूले दुई वर्षमै परित्याग गरे ।

प्रचण्ड नेतृत्वको पार्टीले माओवाद स्थापित गर्नुअघि मोहनविक्रम सिंहदेखि निर्मल लामासम्मले त्यसलाई माओ विचारधारा भन्ने गरेका थिए । तर, माओ विचारधारा मात्र भन्दा माओले गरेको योगदान अपुग हुने भन्दै प्रचण्डहरूले आफ्नो मार्गदर्शक सिद्धान्तलाई माओवाद भन्न/लेख्न थाले । यहाँ माओवाद भन्न थाल्नुअघि पेरुमा गोन्जालोले माओवाद भन्न थालेका थिए । र, त्यहाँ चीनमा माओले गरे जसरी नै सशस्त्र संघर्ष गरेका थिए । तर, पेरुको राजधानी लिमा मात्र कब्जा गर्न बाँकी रहँदा गोन्जालो पक्राउ परे । हाल उनी जेलमै छन् । नेपालको दक्षिण छिमेकी भारतमा पनि चारु मजुमदार, कानु सन्यालहरूले माओबाटै प्रभावित भएर सुरु गरेको नक्सलवादी युद्ध अहिले भारतको ठूलो भू–भागमा फैलिइरहेको छ ।

नेपालमा पनि प्रचण्डहरूले माक्र्सवाद–लेनिनवाद मात्र मान्नेहरू सच्चा कम्युनिस्ट हुन नसक्ने जिकिर गर्ने गरेका थिए । सच्चा कम्युनिस्ट हुन माओवादसमेत मान्नुपर्ने र दीर्घकालीन जनयुद्धको अस्त्र अपनाउनैपर्ने उनीहरूको दाबी थियो । अन्तत: पार्टीभित्र लामो बहससमेत नगरी आफैँले देवत्वकरण गर्दै आएको त्यही माओवादलाई एकाएक परित्याग गरियो ।

आवरण तस्बिर (सशस्त्र युद्धताका ‘प्रचण्ड’ । उनी त्यसबेला नेकपा माओवादीका अध्यक्ष र जनमुक्ति सेनाका सुप्रिम कमान्डर थिए ।)

प्रकाशित: जेष्ठ ८, २०७५

ट्याग: राजनीति