सत्रको शान

- सुरेशराज न्यौपाने

नयाँदिल्ली–विश्व क्रिकेटको दिशा र भावी स्वरूपबारे छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र बीआईसीसीका पदाधिकारीको बैठक नयाँदिल्लीमा चल्दै थियो, २७ वैशाखमा । त्यसको ठीक अघिल्लो दिन आईसीसीले बेलायतको लर्डस्मा १७ जेठमा हुने वेस्ट इन्डिजविरुद्धको २०–२० मैत्री खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी विश्व–११ को टिममा समावेश गरेको खुसखबरी दिइसकेको थियो ।

क्रिकेटको मक्का मानिने लर्डस्, त्यसमाथि अन्तर्राष्ट्रिय स्तरमै नाम कमाएका खेलाडीको जमघट । यति महत्त्वपूर्ण प्रतियोगितामा खेल्न पाउनु क्रिकेटरका लागि सपना नै हो, त्यो पनि १७ वर्षकै उमेरमा । सन्दीप त्यस्तो अवसर पाउने पहिलो नेपाली खेलाडी बन्न सफल भएका छन् । उनको टिममा इअन मोर्गन, शाहिद अफ्रिदी, दिनेश कार्तिक, शोहेब मलिक, हार्दिक पाण्डेजस्ता नाम चलेका खेलाडी रहनेछन् ।

‘लर्डस्का बारेमा म के भन्न सक्छु र ? क्रिकेटको घर, क्रिकेटको सम्पूर्ण इतिहास । एउटा क्रिकेटरको स्वप्न मैदान,’ सन्दीपको यो ट्वीटले कुनै पनि क्रिकेटरका लागि लर्ड्समा खेल्न पाउनुको महत्त्व कति रहेछ भन्ने दर्शाउँछ ।

त्यसो त नेपाली युवा क्रिकेटर सन्दीपको चर्चा आईपीएलको अनुबन्ध र प्रदर्शनले यसअघि नै चुलिइसकेको थियो । गत जनवरीमा दिल्ली डेयर डेभिल्स्सँग आईपीएलको चालू सिजनका लागि अनुबन्ध भएसँगै सारा नेपालीको ध्यान उनैमाथि केन्द्रित थियो । आईपीएलको अक्सनमा सहभागी ५ सय ७८ खेलाडीको सूचीमा २ सय ७६ नम्बरमा रहेका सन्दीपलाई दिल्लीले नै २० लाख भारुमा अनुबन्ध गर्ने निर्णय गरेको थियो ।

दिल्लीको उक्त निर्णयसँगै विश्वकै महँगो खेल प्रतियोगितामा दरिएको आईपीएलमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी पनि बने सन्दीप । आईपीएल अनुबन्धले उनको चर्चा नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेटमा पनि आकासियो । क्लार्कलगायत थुप्रै चर्चित खेलाडीले नेपालको पहिलो खेलाडीका रूपमा प्रशंसा गर्दै सन्दीपका लागि मात्र नभएर नेपालकै क्रिकेटका लागि यो ऐतिहासिक अवसर भएको टिप्पणी गरे ।

भारतीय अंग्रेजी दैनिक द हिन्दुका वरिष्ठ खेल पत्रकार राकेश राव एउटा युवा खेलाडीका लागि आईपीएलमा अनुबन्ध हुनु नै ठूलो मौका भएको बताउँछन् । भन्छन्, “यो त सपना साकार भएको हो, सन्दीप र पूरै नेपालका लागि । विश्वका नामी खेलाडीको यो मेलामा नाम दर्ज गराउन पाउनु नै ठूलो अवसर हो ।”

सन्दीपको खेल–जीवनलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउन उनको व्यक्तिगत मिहिनेतका अलावा अस्ट्रेलियन पूर्वक्रिकेटर माइकल क्लार्कको भूमिका पनि महत्त्वपूर्ण छ । क्लार्कलाई सन्दीपको गुरुका रूपमा समेत हेरिएको छ । सन्दीप र क्लार्कबीचको सम्बन्ध दुई वर्षअघि गाँसिएको हो । मे २०१६ मा हङकङमा भएको २०–२० ब्लिज प्रतियोगितामा क्लार्क र सन्दीपले एउटै टिमबाट खेलेका थिए । त्यही खेलबाट सन्दीप क्लार्कको आँखामा परे ।

क्लार्कले १६ वर्षीय सन्दीपलाई आफ्नो एकेडेमीमा तालिमका लागि मात्र बोलाएनन्, स्थानीय सिड्नी ग्रेड क्रिकेट लिगमा खेल्ने अवसर पनि दिलाए । क्लार्ककै कप्तानीमा वेस्टन सवअर्ब क्रिकेट क्लबबाट खेलेर उनले मात्र १७ रन दिँदै एक विकेट लिएर कसिलो बलिङ गरेका थिए । त्यतिबेला नै क्लार्कले सन्दीपको प्रतिभा पहिचान गरिसकेका थिए । संयोग नै भन्नुपर्छ, अस्ट्रेलियन पूर्वकप्तान रिक्की पोन्टिङ डेयर डेभिल्सको प्रमुख प्रशिक्षक बनाइए । क्लार्ककै सिफारिसमा पोन्टिङले डेयर डेभिल्सका लागि ट्रायल दिन सन्दीपलाई बोलाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आईपीएलमा अनुबन्धपछि चर्चा चुलिए पनि उनीमाथि आईसीसीजस्ता संस्थाले तीन वर्षअघिदेखि नै आँखा लगाउन थालेका थिए । दुई वर्षअघि १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आयरल्यान्डविरुद्ध ह्याट्रिक लिएपछि उनी थप चर्चित बनेका थिए । त्यसपछि आईसीसीले ०७२ फागुनमा सार्वजनिक गरेको क्रिकेटका ‘फ्युचर्स स्टार्स’ को ११ खेलाडीको सूचीमा समेत उनलाई समेटिएको थियो । उनले १९ वर्षमुनिको विश्वकपको डेब्यु २०१६ मा बंगलादेशमा गरेका थिए भने राष्ट्रिय टोलीका लागि सेप्टेम्बर २०१६ मा नामिबियाविरुद्ध पहिलो पटक मैदान उत्रिएका थिए ।

चितवन स्थायी घर भएका सन्दीपमाथि पहिलो नजर नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक पुबुदु दासानायकेको परेको थियो । पुबुदुले उनलाई सीधै काठमाडौँ बोलाए । र, सुरु भयो– सन्दीपको औपचारिक क्रिकेट करिअर । पछिल्ला केही वर्षलाई फर्केर हेर्ने हो भने सन्दीपका यस्ता उपलब्धि तथा सफलता एकअर्काका पर्याय बन्न थालेका छन् । उनको औंलाका जादु थप निखारिँदै गएका छन् ।

सन् २०१६ को अन्डर–१९ आईसीसी विश्वकपमा उनले १६ विकेट लिएका थिए । त्यसको केही महिनापछि जुलाई २०१६ मा लर्डस्मा भएको नेपाल र मेलबर्न क्रिकेट क्लब (एमसीसी) बीचको मैत्री खेलमा पनि उनले खेल्ने मौका पाए । गत फेब्रुअरीमा नामिबियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा १७ विकेट लिएर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा नेपाल उप–विजेता बनेको थियो ।

त्यत्तिमै रोकिएनन् सन्दीप । त्यसलगत्तै भएको विश्वकप छनोट प्रतियोगितामा पनि उनले १३ विकेट लिए । विश्वकपका लागि छनोट हुन नसके पनि प्रतियोगितामा आठौँ स्थानमा रहन सफल भई नेपालले सन् २०२२ सम्म एकदिवसीय मान्यता पायो । उनी आईपीएलमै मात्र सीमित छैनन्, साउन तेस्रो साताबाट सुरु हुने क्यारेबियन प्रिमियर लिगमा समेत अनुबन्ध भइसकेका छन् । उनलाई लिगको टिम सेन्ट किट्स एन्ड नेविस पेट्रोय्ट्सले ५ हजार डलरमा अनुबन्ध गरेको हो । सन्दीपले यस वर्षको युवा खेलाडीको पुरस्कारसमेत जितेका छन् ।

आईपीएलमा अनुबन्ध भएपछि उनले खेल्न पाउने हुन्/होइनन् भन्ने कुरा सर्वत्र चासोका रूपमा हेरिएको थियो । पाए पनि कस्तो खेल्ने हुन् भन्ने जिज्ञासा थियो । अन्तत: करिब डेढमहिने पर्खाइपछि दिल्ली डेयर डेभिल्स्ले आफ्नो १२औँ म्याचमा सन्दीपलाई मैदानमा उतार्‍यो । साथै, आईपीएलमा खेल्न पाउने सबैभन्दा कम उमेरका विदेशी खेलाडीको सूचीमा उनी दोस्रो नम्बरमा परेका छन् ।

गृहमैदान नयाँदिल्लीको फिरोज साह कोट्ला मैदानमा रोयल च्यालेन्जर बैंग्लोर (आरसीबी) विरुद्धको म्याचमा पहिले ब्याटिङ गर्दै दिल्लीले १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य डिफेन्ड गर्न दिल्लीका कप्तान श्रेयस ऐय्यरले सन्दीपलाई नै बलिङ आक्रमणको सुरुआत गर्न दिए । जबकि, उनकै टिममा पनि ट्रेन्ट बोल्ट, अमित मिश्राजस्ता विश्वकै धारिला बलर थिए । आफूमाथि अपेक्षा र विश्वास गर्नेहरूलाई सन्दीपले निराश बनाएनन् ।

पहिलो ओभरबाटै कसिलो बलिङ गरेका सन्दीपले आफ्नो दोस्रो स्पेल फाल्ने क्रममा ओभरको चौथो बलमा आरसीबीका ओपनर पार्थिव पटेललाई एलबीडब्लुको पासोमा पार्न सफल भए । उनको त्यो सफलताले रंगशालामा उपस्थित करिब ३० हजार घरेलु दर्शक त झुमे नै, प्रत्यक्ष प्रसारण हेरिरहेका नेपालीलाई अकल्पनीय खुसी दिलायो । पूरै म्याचमा उनले ४ ओभर फाल्दै १ विकेट लिएर २५ रन मात्र दिएका थिए ।

ब्याटिङ क्रिजमा विराट कोहली र एबी डिभिलियर्सजस्ता विस्फोटक र विलक्षण ब्याट्सम्यानलाई पनि उनले त्यति चलमलाउन दिएनन्, जुन उनीजस्ता युवा खेलाडीबाट कमै मात्र अपेक्षा गरिन्छ । बलिङ आक्रमणको सुरुआत गर्न पाएको अवसरबारे म्याचपछि सन्दीपको प्रतिक्रिया थियो, ‘कुनै पनि अन्तर्राष्ट्रिय म्याचमा अहिलेसम्म बलिङ सुरुआत गर्ने मौका पाएको थिइनँ । यस हिसाबले पनि मेरा लागि झनै ठूलो अवसर थियो, त्यो पनि विश्वका उत्कृष्ट ब्याट्सम्यान भएका आरसीबीजस्तो टिमका विरुद्ध । त्यसैले म सुरुदेखि नै निकै एक्साइटेड थिएँ ।’

उनको बलिङलाई नेपाली मात्र नभएर पूरै क्रिकेट जगत्ले नै नजिकबाट हेरिरहेको थियो । तिनैमध्येका एक थिए, भारतीय पूर्वक्रिकेटर मनिन्दर सिंह । उनी पनि सन्दीपको प्रशंसा गर्न चुकेनन् । उनले भने, “१७ वर्षको उमेरमा यति ठूलो खेलमा धेरै बलरको हातबाट बल नै फुस्कँदैन । तर, सन्दीपको बलिङ स्टाइल, लाइनअप र एक्सन गज्जबको रहेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा उनी कुनै पनि दबाबमा थिएन । यसले पनि उनमा विश्वस्तरीय खेलाडी बन्ने क्षमता रहेको पुष्टि हुन्छ ।”

उक्त म्याचमा दिल्ली पराजित भए पनि सन्दीपका लागि ऐतिहासिक बन्न पुग्यो । टिमका लागि उत्कृष्ट बलिङ गरेबापत म्याचपछिको पत्रकार सम्मेलनमा पनि दिल्लीले सन्दीपलाई नै अवसर दिएको थियो । पत्रकार सम्मेलनमा उनले दिएको जवाफ र देखाएको आत्मविश्वास साँच्चिकै हेर्न लायक थियो । उनी अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभवी खेलाडीसरह प्रस्तुत भए ।

पत्रकार, लेखक तथा अनुभवी क्रिकेट कमेन्टेटर सुशील दोशी भने अवसरसँगै सन्दीपको काँधमा अरू पनि जिम्मेवारी थपिएको बताउँछन् । हिन्दी भाषामा कमेन्ट्री गर्ने पहिलो व्यक्ति दोशीले हालसम्म ९ वटा विश्वकप, ८५ वटा टेस्ट र ४ सयभन्दा बढी वन डेका लागि कमेन्ट्री गरिसकेका छन् । आफ्नो खेलको स्तरलाई कायम गर्दै अरूका लागि पनि रोलमोडल बन्नुपर्ने दोशीको भनाइ छ ।

धेरै युवा खेलाडीमा एकाएक पाएको चर्चाले बाटो बिराउने जोखिम रहने हुँदा सन्दीपले आफूलाई सधैँ खेलप्रति समर्पित गर्नुपर्ने र गतिला मानिसको मात्र संगत गर्नुपर्ने सुझाव दिन्छन्, दोशी । यसबाहेक क्रिकेट एसोसिएसन र सरकार पनि यो अवसर सदुपयोग गर्न उत्तिकै जिम्मेवार बन्नुपर्ने दोशीको धारणा छ ।

दोशीले भनेजस्तै नेपाली क्रिकेटका प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने काम पनि सन्दीपले गरेका छन् । साथै, नयाँ प्रतिभाका लागि अवसरको ढोका पनि खोलिदिएका छन् । अब मात्र खाँचो छ, नयाँ प्रतिभाको पहिचान र खोजीको । त्यसका लागि नेपाल क्रिकेट संघ र सरकारले नै जिम्मेवारी लिनुपर्नेछ । तर, नेपालमा क्रिकेट विकासको जिम्मा पाएको क्यान आफैँ केही वर्षदेखि आन्तरिक राजनीति र झगडामा मुछिँदै आएको छ । न कुनै पूर्वाधार विकास भएको छ, न त प्रस्ट योजना नै बनेको छ । सुरु भएका पूर्वाधारका काम पनि अलपत्र नै छन् । यस्तो प्रतिकूल परिस्थितिकै बीच नेपाली क्रिकेटले सन्दीपजस्तो प्रतिभा पाएको छ । यस्ता प्रतिभाको हेरचाह र संरक्षण सही तवरमा हुनु जरुरी छ ।

भारतीय पूर्वक्रिकेटर मनिन्दर सिंह खेलाडीलाई जोगाउन नसक्ने मुलुकले खेलमा कहिल्यै पनि प्रगति गर्न नसक्ने बताउँछन् । भन्छन्, “सबै प्रतिकूलताबाट जोगाएर सन्दीपलाई खेल्ने वातावरण तयार गर्नु एसोसिएसन र सरकारको जिम्मेवारी हो, तब मात्र क्रिकेटको विकास सम्भव छ ।”

‘शेन वार्न र कुम्बलेको संगत गरून्’

– सुशील दोशी, कमेन्टेटर

सन्दीपको खेललाई मैले नजिकबाट हेरेँ । उनको लाइन र लेन्थ गज्जबको रहेछ । उनको बलिङमा दम छ । हाई एक्सन र भेराइटी छ । विराट कोहलीजस्ता खेलाडीलाई पनि दबाबमा राख्न सफल भए । ठूला प्रतियोगिता खेल्दै गएपछि थप उनमा निखार आउनेछ । उनको खेलले नेपालका अन्य प्रतिभालाई पक्कै पनि प्रेरणा दिएको हुनुपर्छ । कुनै पनि देशको खेल क्षेत्रको विकासमा नायक हुुनैपर्छ । जसरी भारतमा सुनिल गावस्कर, कपिल देव, सचिन तेन्दुल्कर र महेन्द्रसिंह धोनी छन्, त्यसैगरी सन्दीप नेपालका लागि हिरो हुन् । उनलाई गलत हातमा जान दिनुहुँदैन ।

सन्दीपलाई अब धेरैले सल्लाह दिन थाल्नेछन्, यो–यो नगर भनेर । उनले जो साँच्चिकै सल्लाह दिन्छन्, तिनको कुरा मात्र सुन्नुपर्छ । अन्यथा पूरा करिअर बिग्रन सक्छ । त्यस्ता थुप्रै उदाहरण छन् । एउटा स्पिनरका रूपमा उनले शेन वार्न, अनिल कुम्बलेहरूको संगत गर्नैपर्छ, उनीहरूका कुरा सुन्नुपर्छ । मलाई विश्वास छ, उनीहरू पनि सन्दीपजस्ता प्रतिभालाई सल्लाह दिन पाउँदा खुसी नै हुनेछन् । किनकि, उनीहरू खेलाडी मात्र होइनन्, असल मानिस पनि हुन् ।

सन्दीपमा प्रशस्त प्रतिभा छ । अब उनलाई अनुभवको खाँचो छ । अनुभव, सल्लाह, संगत, खेलप्रतिको ध्यानजस्ता कुराले उनको खेल–जीवनको दिशा निर्देश गर्नेछन् । एकाएक सेलिब्रिटी बने भन्ने भ्रम पनि सिर्जना हुने गर्छ । क्रिकेटको चकाचौँधले गर्दा यही उपलब्धि रहेछ भन्ने भयो भनेचाहिँ त्यो दुर्भाग्य हुनेछ । त्यसैले उनका साथी कस्ता छन्, प्रशिक्षक को हो ? फिजिकल फिटनेसमा कत्तिको ध्यान दिन्छन् ? आफ्नो खेलमा कत्तिको लगनशील छन् भन्नेमा उनको भविष्य निर्भर छ ।

सन्दीपजस्तो प्रतिभालाई जोगाउने जिम्मा सम्बन्धित क्रिकेट एसोसिएसनको हो । किनकि, उनको खेलबाट अन्य प्रतिभाहरू अगाडि आउनेछन् । अरूलाई पनि क्रिकेटमा लाग्न प्रेरणा मिल्नेछ । पहल गर्ने हो भने उनलाई विश्वस्तरीय तालिमको अभाव हुने छैन । अहिले त प्रतिभा छ भने जस्तोसुकै ठाउँ र पृष्ठभूमिको मान्छे पनि रातारात स्टार बन्न सक्छ । त्यसैले सन्दीपको मिहिनेत र क्रिकेट एसोसिएसनको दूरदर्शितामै नेपाली क्रिकेटको भविष्य अडेको छ ।

‘दुर्लभ प्रतिभा’

–मनिन्दर सिंह, भारतीय पूर्वराष्ट्रिय खेलाडी

सन्दीपको रनअप र फलोअप देखेर म फ्यान नै भएँ । एक्सन पनि त्यत्तिकै सुन्दर । नेपालबाट आएको एउटा खेलाडीले आईपीएलजस्तो प्रतियोगितामा खेल्दा पनि कुनै दबाब महसुस नगर्नु आफैँमा ठूलो कुरा हो । सामान्यतया: ठूला प्रतियोगितामा भर्खरका खेलाडीको हातबाट बल नै फुस्कँदैन । तर, उनमा गज्जबको आत्मविश्वास देखियो । त्यसैले उनले निकै मिहिनेत गरेको देखाउँछ ।

१७ वर्षको उमेरमा यो स्तरको खेल हुनुले उनको भविष्य निकै उज्ज्वल रहेको प्रस्ट छ । रोचक त के भने, मैले पनि अन्तर्राष्ट्रिय क्रिकेटको सुरुआत १७ वर्षमै गरेको थिएँ । नेपालका लागि सन्दीप भगवान्ले दिएको एउटा सुनौलो उपहार हो । यस्तो प्रतिभा दुर्लभ हुन्छ । यस्तै मिहिनेत गरिरहे भने क्रिकेटमा उनको भविष्य निकै उज्ज्वल छ । कुनै पनि बेला मिहिनेत गर्न पुग्यो भन्ने सोच उनमा आउनु हुँदैन । त्यो दिनदेखि प्राय:को खेल सिद्धिन्छ ।

अब उनले अहिलेको भन्दा दस गुणा मिहिनेत गर्नुपर्छ । शिखरमा पुग्नु ठूलो होइन, त्यसभन्दा महत्त्वपूर्ण त्यहाँ टिकिरहनुमा छ । कुनै पनि देशले हिरो खोजिरहेको हुन्छ । जनताले जहिले पनि हिरो खोज्छन् र त्यही हिरोलाई पछ्याउँछन् । सन्दीपमा हिरो बनिरहन्छु भन्ने सोच हुनुपर्छ । अनि, बल्ल क्रिकेटमा भविष्य देख्नेहरूले उनको अनुसरण गर्नेछन् । यस हिसाबले हेर्दा उनी जिम्मेवार पनि बन्नुपर्छ ।

कुनै पनि क्षण मिहिनेत र लगनबाट पछाडि हट्नुहुन्न सन्दीपले । जहिल्यै पनि शतप्रतिशत दिने कोसिस गर्नुपर्छ । र, यो कुरा उनलाई पक्कै थाहा भइसकेको छ । उनको खेलबाट पनि त्यो प्रस्ट हुन्छ । जेहोस्, अहिलेलाई नेपाल र नेपालीले एउटा क्रिकेट हिरो पाएका छन्, बधाइ ।

प्रकाशित: जेष्ठ ६, २०७५

ट्याग: क्रिकेट