[नोटबुक] ‘रोयल’ टोपी !

- गोकर्ण गौतम

सेलिब्रिटी पाइलट हुन्, विजय लामा । फेसबुकमा बेलाबेला घतलाग्दा कुरा पोस्टिन्छन्, सयौँ लाइक, कमेन्ट र सेयरका धनी हुन्छन् । ८ वैशाखमा सिनियर पाइलट रवीन्द्र श्रेष्ठको उच्च प्रशंसा गर्दै लामाले सामूहिक तस्बिर पोस्ट गरे । सबै पाइलट नेपाल एयरलाइन्स कर्पोरेसन (एनएसी) को पोसाकमै छन् । अरुले लगाएको ‘ह्याट’मा लेखिएको छ, ‘एनएसी’ । तर, लामाको ‘ह्याट’मा ‘एनएसी’को अगाडि ‘आर’ पनि छ । अर्थात् रोयल नेपाल एयरलाइन्स कर्पोरेसन ।

प्रश्न उठ्यो, ‘रोयल’लाई बिदाबारी गरिएको त एक दशक बितिसक्यो । तैपनि, नेपाल सरकारका कर्मचारी लामाको शिरमा उही टोपी । ‘उहाँ राजतन्त्रवादी पर्नुभो होला,’ एक फेसबुकेले लेखे पनि । लामाको कन्पारो तातेछ क्यारे ! तात्तातै जवाफ फर्काए, ‘म कुनै तन्त्रवादी होइन, सिर्फ नेपाली । ... अन्तर्राष्ट्रिय कल साइन होस् या आईएटीए या कुनै ठाउँमा अझै आरएनएसी नै छ । अब के गर्ने ?’

लामाले भनेजस्तै उड्डयनका अनेक नियम होलान् तर तिनलाई सच्याउन पहल गर्ने कि पुरानै टोपी धरेर हिँड्ने ? बाँकी पाइलटले ‘ एनएसी’मै उडाउँदा हुने, तपाईंले मात्र ‘रोयल’–मोह राख्नुपर्ने कारण के हो विजयजी ?  

गुडाउने होइन, उडाउने

बल्खुबाट हेटौँडा जम्माजम्मी ८० किलोमिटर हो । घच्चीको बाटो हुन्थ्यो भने अढाई घन्टामै पुगिन्थ्यो । तर, बाटो छ– खपिनसक्नु कच्ची । साढे चार घन्टामा पुग्दा भाग्यमानी ठान्नुपर्छ । फेरि बाहै्रमास बाटोमा केही न केही आपत् आइलागेको हुन्छ । भनेका बेला पुग्नु त उही खप्परै बलियो हुनुपर्छ ।

गत माघ पहिलो साता हेटौँडा हुइँकिँदा आतंककै सामना गर्नुपर्‍यो, त्यो पनि चालकबाटै । यो रुट यात्रा गरेकालाई भन्नैपर्दैन, बाटो कति साँघुरो छ, कति खल्ट्याङखुल्टुङ हुन्छ । त्यसमाथि चालक सन्काहा पर्‍यो भने यात्रुको होसहवास उड्दैन त ? अन्दाजी ३५ वर्षे गहुँगोरो वर्णका ती चालकको स्टेरिङ घुमाइ र ब्रेक हनाइ देख्दा लाग्थ्यो, यात्रुको सातो उडाउने ठेक्कै लिएका छन् ।

सुमोभित्र ‘दर्दे डिस्को...’ घन्काएर हामीलाई ओठमुख सुक्ने गरी दर्द दिइरहेका थिए । अति भएपछि एउटी दिदीले डराउँदै सानो स्वरमा भनिन्, ‘भाइ विस्तार चलाउनू न । डर लाग्यो ।’ उनले त्यो पीडालाई एक कानले सुनेर अर्कोले उडाइदिएजस्तै गरे र भने, ‘यहाँ चलाउनेलाई डर लाग्या छैन । सिटमा बस्नेलाई के डर ? मस्त सुत्नूस् । हेटौँडा पुगेपछि म आफैँ ब्युँझाइदिउँला ।’

देउरालीको उकालो छिचोल्दा सुमो पटक–पटक गुल्टिनबाट बच्यो । केही भनुँ, भड्खालोमा हुत्याइदेलान् भन्ने भय । बिन्दास चालक साहेबले भद्दा मजाक गरे, ‘खासमा म पाइलट हुनुपर्ने हो तर ड्राइभर भएँ । त्यसैले सुमो गुडाउन होइन, उडाउन मज्जा लाग्छ ।’

यस्ता (कु)चालकलाई न कुनै कारबाही हुन्छ, न त यात्रुमा विरोध गर्ने हिम्मत नै । सिर्फ सुमो चलिरहन्छ । यात्रुको सातो उडिरहन्छ ।

सिनेमा–सिन्डीकेट

तीन सय रूपियाँ टक्र्याएर क्यूएफएक्स चेन अन्तर्गतको कुमारीमा फिल्म हेर्न जानूस्, पर्दा धमिलो हुन्छ, अझ बीचैबाट कैँचीले उधारेजस्तो छ । साउन्ड उस्तै कमसल । यस्तो कन्तबिजोग सहन नसकी प्याडम्यान हेरिरहँदा बीचमै ‘बाईबाई’ गरेर निस्कनुपर्‍यो ।

अझ हलवालाले नै के भन्छन् भने काठमाडौँका मल्टिप्लेक्समा अंग्रेजी फिल्म चलाउँदा उच्चस्तरको एसी चलाइन्छ तर नेपाली फिल्म चलाउँदा कामचलाउ । यिनै हलले अंग्रेजी र हिन्दी फिल्मलाई ठेलमठेल सो दिन्छन्, त्यो पनि प्राइम टाइममा । नेपाली फिल्मलाई सकेसम्म पेल्छन् ।

सेयर बाँडफाँट उस्तै अवैज्ञानिक छ । पहिलो हप्ता कर कटाएर हलवाला र निर्माताले ५०–५० प्रतिशत पाउँछन् । दोस्रो हप्ताबाट निर्माताले पाउने सेयर ओरालो झर्दै जान्छ, बिनाकारण । मानौँ कि, सिनेमा बौद्धिक उत्पादन होइन । कुनै मालसामान हो । त्यसैले दोस्रो हप्ताबाट ‘सेकेन्ड ह्यान्ड’ हुँदै जान्छ र निर्माताको भाग कट्टी हुन्छ ।

निर्माता पनि के कम, फिल्मले २० लाख व्यापार गर्दा ५० लाखको ढोल पिटाउँछन् । आत्मरति उस्तै । नयाँ वर्ष, दसैँ, तिहारजस्ता धेरै बिदा हुने र हलमा भीड लाग्ने बेला ठालू र हाट्टहुट्ट पार्ने निर्माताको हालीमुहाली हुन्छ । अरु आए ‘सहिद’ बनाइन्छ । तर, तीमध्ये अधिकांश निर्मातालाई देशमा कति हल छन् र आफ्नो फिल्म कति हलमा चलिरहेको छ ? पत्तै हुन्न । वितरकको ओठे–हिसाबमा भर परेर हावामा उडिरहेका हुन्छन् । भोलि सक्कली हिसाब आउँदा त ‘बाबाजीका ठुल्लु !’ वितरणमा त्यस्तै सिन्डीकेट छ । तर, सधैँ गुपचुप–गुपचुप, नयाँ मुर्गा फसाउनु जो छ ।

प्रधानमन्त्री केपी ओली नारा लगाउँदैछन्, ‘नो सिन्डीकेट ।’ ओली टिमको ध्यान सिनेमाको सिन्डीकेटतिर कहिले पुग्ला ?

प्रकाशित: जेष्ठ २, २०७५

ट्याग: नोटबुक