[स्मरण] बालसखा दल र धनमानसिंह

बालसखाले आकस्मिक रूपमा भइपरी आउने प्राकृतिक विपत्तिका बेला राहत, चन्दा संकलन र वितरण पनि गथ्र्यो ।

- शिव रेग्मी

आमबालबालिकाले जस्तो मैले धुलौटो या खरीपाटीमा कखरा सिक्न पाइनँ । पिताजीले चण्डीरुद्री, सरस्वती स्तोत्र, गणेश स्तोत्र पाठ गर्नु हुँदा पहिला–पहिला सुनेर अलिअलि सिकेँ र अलि पछि आफैँ अक्षर खुट्याएर लेखपढ गर्न सक्ने भएँ । त्यसैले मैले आफ्नै प्रयत्न र रुचिले अध्ययन आरम्भ गरेको हुँ । यसरी मेरो प्राथमिक शिक्षा घरमै भयो ।

००७ पछि बालसखा दल नामक एउटा संस्था खोलिएको थियो, धोबीचौरमा । त्यसको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिकाको पुरानो भवन, जुद्धसडकपारि थियो । बालसखा दलको मुख्य उद्देश्य आर्थिक विपन्न परिवारका बालकलाई नि:शुल्क शिक्षा प्रदान गर्नु थियो । यसबाहेक आकस्मिक रूपमा भइपरी आउने प्राकृतिक विपत्तिका बेला राहत, चन्दा संकलन र वितरण पनि गथ्र्यो ।

००८ मा नौ वर्षको उमेरमा बालसखा दल स्कुलमा कक्षा १ मा भर्ना भएँ र प्रथम भएँ । अनि, मलाई त्यतिबेला खुब नाम चलेको जुद्धोदय हाई स्कुलमा भर्ना गर्न लगियो । यद्यपि, म पढाइमा राम्रै थिएँ तर त्यहाँका प्रधानाध्यापक मुकुन्द रेग्मीले भने, ‘ कक्षा ४ को कोटा पूरा भइसक्यो, टेस्ट पास गर्न सक्छौ भने ५ मा भर्ना गर्न सकिन्छ ।’

अब एकैचोटि कक्षा ५ मा भर्तीका लागि के–के प्रश्न सोध्ने हुन् भन्ने कुराले पिरोल्यो मलाई । उनले ‘मेरो घरपछाडिको बगैँचामा मेरी बहिनी गट्टा खेलिरहेकी छन्’ भन्ने वाक्यांशलाई अंग्रेजीमा अनुवाद गर्न लगाए । मैले अगाडि र गट्टालाई अंग्रेजीमा के भनेँ थाहा छैन । तर, म कक्षा ५ मा भर्ना हुन योग्य ठहरिएँ ।

बालसखा दलका संस्थापक थिए, धनमानसिंह परियार । उनी दार्जीलिङतिरबाट आएका थिए । ००७ मा बीए पास गरेका मानिस पाइनु सौभाग्य मानिन्थ्यो । परियारले उसैबेला कोलकाताबाट बीए, बीटी गरेका थिए । त्यहाँ पढ्दा उनलाई यस्ता सामाजिक संस्थाहरूको अनुभव हुँदो हो । दलितप्रतिको विभेद सँगसँगै आर्थिक अवस्थाको कमजोरीका कारण उनले जीवनमा हन्डर खाएका हुँदा हुन् । त्यसैले काठमाडौँमा आएर उनले बालसखा दल खोले र त्यस अन्तर्गत यसै नामले गरिब परिवारका लागि स्कुल पनि सञ्चालन गरे । त्यसैबेला धोबीचौरको पाटीका साथै पुतलीसडक र जुद्धसडकमा गरी यस्ता १०/१२ वटै स्कुल सञ्चालित थिए ।

धनमानसिंहकी बहिनी कमला परियार टाइपिङमा पोख्त थिइन् । राहुल सांकृत्यायनले टाइपिस्ट बनाएर लगेर पछि पत्नी बनाए । उनी कमला सांकृत्यायनका नामले प्रसिद्ध भइन् ।

बालसखा दल स्कुलमा छात्रहरूलाई मात्र पढाइन्थ्यो । शिक्षा नि:शुल्क थियो । अतिरिक्त क्रियाकलापमा पनि बालसखा दल खुब सक्रिय थियो । दलको नाम दिइए पनि यो कुनै राजनीतिक दल थिएन । दलले स्थापनालगत्तै बालसखा नामक मासिक पत्रिका पनि प्रकाशन गरेको थियो । यसमा सम्पादक थिए, उनै धनमानसिंह ।

धेरै समयपछि मैले उनको योगदानको कदर गर्दै गुरुदक्षिणाका रूपमा ‘मेरा श्रद्धेय गुरु’ शीर्षकमा एउटा लेख लेखेँ र साझा प्रकाशनको मासिक पत्रिका गरिमामा प्रकाशनार्थ पठाएँ । त्यसपछि मैले आफ्नो त्यो लेखका लागि धेरै अंक गरिमा किनेँ । तर, त्यसमा आफ्नो लेख पाइनँ । झन्डै तीन–चार महिनै त्यो लेख प्रकाशित भएन । अनि, मैले सम्पादक गोपाल पराजुलीलाई त्यसको कारण सोधेँ । उनले एक जना सञ्चालकले मेरो लेखमाथि प्रतिबन्ध लगाएको भन्ने स्पष्टीकरण दिए । ती सञ्चालकले दलित मानिसमाथि यति प्रशंसा गरेको लेख गरिमामा छाप्नु उचित हुँदैन भनेछन् ।

मैले कडा शब्दमा प्रतिवाद गरेपछि बाध्य भएर गरिमाले त्यो लेख छाप्यो । म अहिले ती व्यक्तिको नाम भनेर तिनको मुख अमिलो पार्न चाहन्नँ । तर, त्यसपछि तिनीसँग बोल्नै छाडेँ ।

एसएलसी सकेर म त्यही स्कुलमा पढाउन थालेँ र प्रधानाध्यापकसम्म भएँ । पछि त्यसलाई बाल विकास स्कुल नामकरण गरियो । ०१७ मा राजनीतिक दल प्रतिबन्धित भएपछि ती परियार गुरु पलायन भएर कोलकातामा बस्न पुगेका थिए । पछि राजा महेन्द्रले उनलाई फर्काएर ल्याए र राष्ट्रिय पञ्चायतको सदस्यसम्म बनाए । त्यस्ता परोपकारी, शिक्षासेवी गुरुबारेको लेख ‘परियार’ थरकै कारणले प्रतिबन्ध लगाउन खोजेकामा भने मलाई अहिले पनि दु:ख लाग्छ ।

प्र स्तुति : रमण घिमिरे

प्रकाशित: जेष्ठ २, २०७५

ट्याग: सस्मरण