कमजोर सत्यकथा [पुस्तक समीक्षा : नथिया]

पुस्तक : नथिया | उपन्यासकार : सरस्वती प्रतीक्षा | प्रकाशक : बुकहिल | पृष्ठ : २८२ | मूल्य : ४२५ रुपियाँ

- जनक नेपाल

वि सं ०७४ अन्त्यमा पुस्तक बजार तात्ने गरी चर्चामा आयो, नथिया । चर्चासँगै कवि तथा निबन्धकार सरस्वती प्रतीक्षाको परिचय उपन्यासकारमा बदलियो । वादी बस्तीमै पुगेर सोधखोजपछि लेखिएको नथियाको चर्चा मूलत: उनीहरूले बाध्यतावश अँगालेको देह व्यापारमा केन्द्रित छ ।

पहिलो उपन्यासमा प्रतीक्षाले धेरै मिहिनेत गरेकी छन् । लेखन शैली मिठो छ । छोटा र अर्थपूर्ण वाक्य रुचिकर लाग्छन् । यो दाङ पक्रैयाको वादी बस्तीको कथा हो । कुरूप चन्द्रीका र देब्रेकान्छाकी सुन्दर छोरी हुन्, सामली । वादी छोरीहरूको कुमारीत्वको मोलतोल, नथिया उतार र पारिवारिक स्वीकृतिमा हुने बलात्कार, त्यसले दिएको पीडा, बाध्यात्मक यौन व्यवसाय, प्रेम र विवाहका उल्झनलाई सामलीमार्फत उपन्यासमा उतारिएको छ । दुखानीको जंगलमा प्रोफेसर दिवाकरसितको प्रेम उत्कर्षपछि सामलीले गरेको शान्त विद्रोहलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । विवाहका लागि आएका दिवाकरलाई सामली पत्र लेख्छिन्, ‘दिवाकर ! प्रेम र बिहा फरक–फरक कुरा हुन् । यसैले मु हजुरसँग बिहा गर्न सक्दोनइ । हजुरसँगको प्रेमलाई सधैँ जीवित राख्न पन मु हजुरलाई छोडीकन जाँदै छु । मुसँग हजुरले दिनुभयाको नथिया छ । मेरो नाकमा यो नथिया रहुन्ज्याल मु हजुरकै सत्मा बस्न्याछु ।’

उपन्यासमा थुप्रै प्रश्न उठाइएको छ । पुरुष, इतिहास, संस्कृति, समाज र परम्पराप्रति उठाइएका ती अनेक प्रश्नभन्दा सामलीले जयनेपाललाई सोधेको प्रश्न सबैभन्दा खास अनि सशक्त लाग्छ । यसलाई उपन्यासको मूल प्रश्न भन्दा पनि हुन्छ । सामली सोध्छिन्, ‘यही समाजले हामीलाई वेश्या भनीकन थुक्दो छ, गाली गर्दो छ, घृणा गर्दो छ । तर, वेश्याको काम छाडीकन अर्को कुनै काम गर्नबाट हामीलाई वञ्चित गरीकन किन यही धन्दामै धकेल्दो छ फेरि ?’

भाषामा स्थानीय लबजलाई जस्ताको तस्तै उतार्न खोजिएको छ । तर, टपक्क टिप्न नसक्दा अमिल्दो, नसुहाउँदो र थुप्रै ठाउँमा भाषा यता न उताको भएको छ । प्रोफेसर दिवाकर र सामलीको कथाले पनि पाठकलाई खासै तान्दैन । तीभन्दा सशक्त पात्रलाई छाडेर लेखिका वादी समुदायको इतिहास खोतल्ने नाममा कमजोर प्रेमकथाको सहारा लिन पुगेकी छन् । लेखिकाले नथियाका ९५ प्रतिशत पात्र र घटना सत्य लेखेको दाबी गरेकी छन् । यदि त्यसो हो भने उनले सत्यमध्येको पनि कमजोर कथा रोजिन् ।

प्रतीक्षाले पूर्वीय र पाश्चात्य संस्कृतिका यौन मनोरञ्जनका इतिहास खोतल्न खोजेकी छन् । किंवदन्तीहरू उतारेकी छन् । ती पठनीय त छन् तर तिनले उपन्यासको मूलकथालाई पटक–पटक विषयान्तर गरिरहन्छन् । वादीकै इतिहास खोतल्ने क्रममा एउटा पत्यारलाग्दो तथ्य भने छुटाएकी छन् । वादी समुदायको उद्गमस्थल भारतको राजस्थान मानिन्छ । चौधौँ शताब्दीमा हिन्दु–मुस्लिम धार्मिक दंगापछि फिरन्ते बिडी समुदाय उत्तर प्रदेश आयो, त्यहाँ उनीहरूलाई बिडिया भनियो । भाग्दै नेपाल छिरेको अर्को समूह सल्यानका राजा–रजौटालाई मनोरञ्जन दिन थाल्यो । बिडीबाट अपभ्रंश भएको त्यही समुदायलाई नेपालमा वादी भन्न थालियो ।

लेखिकाले नखोजेको वा नभेटेको पाटो वादी समुदाय मातृ सत्तात्मक हुन्, जहाँ अविवाहित छोरीलाई यौन स्वतन्त्रता दिइएको हुन्छ । त्यो स्वतन्त्रता कालान्तरमा पेट भर्ने र गरिबी छोप्ने पेसा बन्यो, बेग्लै कुरा । वादी समुदायमा पनि अविवाहित छोरी र एकलले मात्र यौन पेसा अँगाल्थे । तर, उपन्यासमा यौन व्यवसायलाई यसरी सामान्यीकरण गरिएको छ कि चन्द्रिकाजस्ता कुरूपबाहेक अरू सबै महिलाले धन्दा गर्थे । राज्य–रजौटा उन्मूलनपछि वादीहरू सल्यान छाडेर रोजीरोटी खोज्दै अन्यत्र सरे । जग्गा–जमिन थिएन । रोजगारीको अर्को विकल्प भएन । अनि, छोरीको यौन स्वतन्त्रताको दुरुपयोग गर्दै व्यवसाय सुरु गरे । त्यो झन्डै चार दशक मात्र चल्यो । त्यसपछि वादी होइन, यौन व्यवसायमा अरू समुदायको संलग्नता बढेको छ । तर, कलंकको टीका भने वादीको निधारमा मात्र होइन, नथियामा पनि टल्किएको छ ।

साहित्यमा वादीका कथा नआएका होइनन् । ०४७ मा ऋतु आशीकले वादी समुदायबारे पहिलो उपन्यास अर्जुनखोलाको तीर लेखे । बस्तीमा पुगेरै उक्त उपन्यास विमोचन गरिएको थियो । कथाकार सनत रेग्मीका दुई कथा रूपबजारचिन्ता वादी महिलामै केन्द्रित छन् । नयनराज पाण्डेको उपन्यास उलारमा टाँगा चालकको वादी महिलासँगको प्रेमकथा उतारिएको छ । नथियाकै सेरोफेरोमा विवेक ओझाको उपन्यास ऐलानी बजारमा आएको छ ।

पुरुष सत्ता, हैकम र हुकुमका विरुद्ध नथियामा धेरै कोणबाट थुप्रै शब्द खर्चिएको छ । उपन्यासको मूल कथाले सशक्त र विद्रोही नारी पात्रको माग गर्छ, जुन यसमा भेटिँदैन । नथिया उतार्नुअघि होस् वा छोरीलाई पढ्न पठाएर सामलीले सामान्य परिवर्तनको रेखा कोर्न खोजेकी छन् । दिवाकरसितको प्रेमपछि विवाह र प्रेमबारे नयाँ परिभाषा दिन खोजेकी छन् । अरू पात्र निरीहजस्तै लाग्छन् । सबैभन्दा महत्त्वपूर्ण पक्ष उपन्यासले कुनै नयाँ बाटो देखाउन सकेको छैन । त्यसैले यो धेरै चर्चा कमाएको एउटा औसत उपन्यास हो ।

प्रकाशित: जेष्ठ २, २०७५

ट्याग: किताब