[तीन किताब] मेरो अफबिट आलमारी

- अर्चना थापा

मेरो बोलीचालीमा हिन्दी लबज किन आउँछ भने भारतमा बसेँ लामो समय । मेरो त कामै किताब पढ्ने र रेडियो सुन्ने भइदियो । यता नआउन्जेल नेपाली पढ्नु पनि परेन, लेख्नु पनि परेन । दुईवर्षे बीएड, एमए, एमफिल र पीएचडी अंग्रेजीमा गरेँ । त्यसपछि मात्रै नेपालीमा लेख्न थालेकी हुँ । तर, संस्कृतमा स्नातक गरेकीले खासै अप्ठ्यारो भएन ।

त्यो संस्कृत–मोह थिएन, बरू अंक–मोह होला । संस्कृतमा गणितमा जस्तै नम्बर आउँथ्यो । त्यही पृष्ठभूमिका कारण ‘लिटेरेरी एक्टिभिजम’ गर्न सकेकी छु । अधिकांश नेपाली शब्द पितृसत्ताका उपज भएकाले मैले कठपुतलीलाई कठपुतला र पोइलालाई जोइलामा बदलिदिएँ । अहिलेको जमानामा अर्बपति–खर्बपति मात्र किन ?

म प्राय: आफ्नो विचारलाई चुनौती दिने खाले किताब खोज्छु । कालान्तरमा त्यसले मलाई नै मद्दत गर्छ । म चाहन्छु– सहमति, विमति र चुनौती सँगसँगै आऊन् । एकचोटि पढेर थन्काइने किताब मेरो र्‍याक (आलमारी)मा हुन्नन् । मलाई घरीघरी पढेर फुटाल्नैपर्ने किताब चाहिन्छ ।

म आफूले नपढेका किताबको समीक्षा पनि पढ्दिनँ । तर, पढ्न थालेपछि अधुरै छाड्दिनँ । केही त होला भनेर अन्त्यसम्म धाउँछु । समकालीन नेपाली साहित्य पढेर म खासै खुसी हुन्न । आफूले खोजेको खुराक पाएको भए त कठपुतला लेख्ने नै थिइनँ । र, आफ्नो किताब कसैले रातभरि पढेर सकेँ भन्यो भने साह्रै दु:खी हुन्छु ।

कठपुतला लेखिसकेपछि मैले पढेँ, अन्तर्यात्रा : निर्मल वर्मा । निर्मल वर्माका रचना–आलोचनाको ठेली । यी कथाहरू मभन्दा पहिले जन्मेका रहेछन् । सन् १९६५ मै उनले कथा–साहित्यको संवाद, पात्रचित्रण, कथानक आदिका घेरा तोडेका रहेछन् ।

पाठकलाई सोच्ने खुला ठाउँ छ । संवाद छैन कथामा । भए पनि कथासँग कुनै साइनो छैन । पात्र चित्रण पनि छैन, पात्रको नाम पनि छैन । कहाँको प्लट भन्ने पनि थाहा छैन । कथाहरू एउटा क्षणको फोटो वा प्रभावजस्तो मात्र लाग्छन् । बेग्लै इम्प्रेसन बोकेका छन् हरेक कथाले । कथाकारको पाइला पछ्याउने भन्दा पनि आफैँ बुझ्ने कोसिस गर्छ पाठकले ।

अर्को किताब छ, अ लाइफ हिस्ट्री अफ राहुल सांकृत्यायन । युनिभर्सिटी अफ भियनाकी नेपाली प्राध्यापक अल्का आत्रेय चुँडालको त्यो पुस्तक अक्सफोर्ड प्रेसले छापेको रहेछ । यसमा राहुलको नेपाल–सम्बन्ध के थियो ? यहाँबाट कसरी तिब्बततिर जान्थे  ? एकपटक उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मानसिक सन्तुलन खलबलिएकाले राँची लैजानुपर्ने कुरा लेखिदिएछन् । त्यसमा चित्त दुखाएर देवकोटाले रातारात कविता लेखेछन्, ‘जरुर साथी म पागल ।’ भोलिपल्ट त्यो कविता सुनाउँदा उनको रिस मरिसकेको थियो रे !

किताब पढ्दाखेरि थुप्रै प्रश्न आउँछन् मेरो दिमागमा । राहुलले तिब्बतबाट थुप्रै ग्रन्थ लगेर भारत पुर्‍याएका रहेछन् । नेपालमा आउँदा बौद्ध गुम्बामा बस्दा रहेछन् । यहाँबाट उनले कति ग्रन्थ लगे होलान् ? त्यसरी ग्रन्थ लैजान मिल्छ कि मिल्दैन ? चोरिएका मूर्तिको फिर्तीजस्तै ती ग्रन्थ फर्केलान् ? अल्काको किताबमा ऐतिहासिक पक्ष मात्रै छन् तर आलोचनात्मक पक्ष छैन ।

उनकी नेपाली श्रीमती कमला सांकृत्यायन पहिले राहुलकी टाइपिस्ट रहिछन् । भारतीय र रसियन महिलासँग विवाह गरिसकेका उनले धेरै कान्छी उमेरकी कमलासँग कसरी घरजम गरे ? कमला र छोरीसँग भेटे पनि महिलाका कुरा छैनन् किताबमा । कहिले आर्य समाजी, कहिले बौद्धमार्गी हुन सक्ने राहुलबारे नेपालबाहिर बसेर गरिएको यो शोध सामान्य होइन ।

मलाई पुरानो अवधारणामा काम गर्न मन लाग्दैन भन्ने थाहा पाएकी विदेशी प्रोफेसर साथीले एउटा कविताकृति पठाइदिएकी थिइन्, एटलस अफ द पोयटिक कन्टिनेन्ट (पाथवेज टू इकोलोजिकल सिटिजन) । साँच्चै मैले खोजेजस्तै मानसिक मानचित्रबारे लेखिएका कविता रहेछन् । हामी धेरैजसो एकअर्कालाई बुझाउन म यताको हुँ, तँ उताको होस् भनेर कृत्रिम पर्खाल ठड्याउँछौँ । यी कविताले यो र त्यो, म र तँबीच जोड्ने साँघुको काम गर्छन् ।

हाम्रो परिभाषामा यस्तो त कविता नै होइन । जस्तो : ‘माई ल्यान्ड’ शीर्षकको कविता खाली छ । यसको अर्थ महिलाको भूमि नै छैन भनिएको हुन सक्छ । कवितासँगै मानसिक चित्र पनि कोरिएको छ । शब्द पर्याप्त नहुँदा लाक्षणिकता वा सांकेतिक चिह्न उपयोग हुन्छन् । यो कविताकृति शैली स्याक्स (महिला) र उल्फग्याङ जुमडिक (पुरुष)ले लेखेका हुन् । तर, कुन कविता कसले लेखेको भन्ने थाहै हुन्न ।

प्रकाशित: जेष्ठ १, २०७५

ट्याग: किताब