उल्लू सफारी

फिरन्ता शैलीमै हुम्लामा वनचौँरी खोज्दा पाँच दिनसम्म हिउँमा थुनिए । मुस्ताङमा चिरकालिज खोज्दा भीरबाट खसे । चितुवाका लागि थापिएको पासो भत्काउँदा सिकलेसमा गाउँलेले झन्डै मारेनन् । मुस्ताङका खर्कहरूमा १० महिना बसे ।

- राजकुमार बानियाँ

पहिलो राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कार पाए, संरक्षणकर्मी राजु आचार्य, ४७, ले । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यसै वर्ष दिन थालेको १ लाख १ हजार १ सय ५ रुपियाँ थैलीको पुरस्कार चितवनका रेन्जर लक्ष्मण रायसँगै पाउनुलाई राजुले तीन दशकको सम्मानका रूपमा लिएका छन् ।

खासमा फ्रेन्ड्स अफ नेचर अर्थात् प्रकृतिका साथीहरू नामक गैरसरकारी संस्थाका कार्यकारी निर्देशक हुन्, राजु । वन्यजन्तु संरक्षण क्षेत्रमा यसको नाम–काम विशेष छ । अफिस छ, काठमाडौँको तीनकुनेमा । १३ वर्षे संस्थाको अफिस खोलेको भने तीन वर्ष मात्रै भयो । “धेरैजसोको धन्दा पहिले अफिस खोल्ने, पर्दा हाल्ने र सोफा राख्ने हुन्छ,” उनी भन्छन्, “तर, मेरा निम्ति अफिस भनेकै फिल्ड हो ।”

उनलाई थाहा छ– बेलायतका नामी ओबीसी (ओरिएन्टल बर्ड क्लब) र रुफर्ड स्मल ग्रान्टको पनि अफिस छैन । सबै अनलाइनबाटै काम चलाइरहेका छन् । तर, यहाँ यत्रो नाम चलेको संस्थाको अफिसै छैन भन्ने अवगालबाट बच्न नखोली धर पाएनन् ।

त्यसो त अफिसका बोस पनि उनै हुन्, पियन पनि उनै । सितिमिति अफिसमा भेटिँदैनन् । घर पोखरामा छ । फिल्ड कहिले कता, कहिले कता । कहिलेकाहीँ ‘यो ट्राभल एजेन्सी हो ?’ भनेर फोनमै सोध्दा पनि उनी दंगै पर्छन् ।

सन् २००५ मा राजधानीको स्किम कलेजबाट वातावरण व्यवस्थापनमा स्नातक गर्दा उनले त्यसको खासै ‘स्कोप’ देखेका थिएनन् । ‘बूढा विद्यार्थी’ राजुले साथीहरूसँग प्रस्ताव गरे– अब जागिर पाइँदैन । जागिर खाने ठाउँ आफैँ बनाउनुपर्छ साथी हो ।

राजु सहित नौ जना ताते र तयार भयो, प्रकृतिका साथीहरू । राजुका सूत्र थिए– अरू नभएको थलोमा जाने र अरू नहिँडेको बाटो समात्ने । अब बाघ, गैँडा, हात्ती र हिउँचितुवा होइन, बिलकुलै नयाँ प्रजाति र अरू नगएको थलो खोज्ने ।

प्रकृतिका साथीहरू पहिलो खेपमै उपल्लो हुम्लाको लिमी गए । राजु उल्लूतिर लागे, अरू साथी कोही ध्वाँसे चितुवा, कोही वन कुकुर र हिमाली भालुमा सल्किए । “वन्यजन्तु र समाजशास्त्रीय अनुसन्धानका लागि भर्जिन ल्यान्ड रहेछ, उपल्लो हुम्ला,” उनी सम्झिन्छन्, “जीवनमा एकपल्ट पुग्नुपर्ने ठाउँ ।”

सरकार र डब्लूडब्लूएफ (वल्र्डवाइड फन्ड फर नेचर कन्जरभेसन) ले मात्रै गरिरहेको क्यामेरा ट्रयापको कामसमेत गर्‍यो, उनको संस्थाले । संखुवासभामा १ सय ७८ वर्षपछि सुनौलो बिरालो भेटायो । संस्थाले नयाँ पुस्ताका संरक्षणकर्मीलाई नि:शुल्क वन्यजन्तुसम्बन्धी १९ दिने तालिम दिन थाल्यो । प्राणीशास्त्र पढेका विद्यार्थीले एउटा चरा पनि नचिन्ने स्थिति चिर्न राजुले ल्याए– ६ दिने सैद्धान्तिक र १३ दिने फिल्ड अवधारणा ।

संस्थाले बर्सेनि १० जनालाई कठोर वन्यजन्तु तालिम दिन्छ । त्यो तालिम पाउन सजिलो छैन । सोर्सफोर्स लगाउने सुरुमै ‘रिङआउट’ हुन्छन् । यसरी वन्यजन्तु अनुसन्धानमा ६६ उदीयमान संरक्षणकर्मी जन्मिइसकेका छन् ।

राजुको तालिम जंगी शैलीकै हुन्छ । प्रशिक्षार्थी बिहान ६ बजेदेखि राती १२ बजेसम्म लदाइन्छन् । कसैका लागि कालापानीको जस्तो त्यो सजाय जीवनभरि काम लाग्छ । “संस्थाको प्रतिप्रशिक्षार्थी ७५ देखि ८० हजार रुपियाँ खर्च हुन्छ,” उनी भन्छन्, “यसपालिबाट शुल्क लिन थालेका छौँ, तीन हजार रुपियाँ ।”

संरक्षणकर्मी रोशन शेरचन प्रकृतिका साथीहरूलाई फिल्ड बायोलोजिस्टका लागि भरपर्दो खुला विश्वविद्यालय मान्छन् । “पछिल्लो पुस्ताका संरक्षणकर्मीका लागि यो सबैभन्दा भरपर्दो प्लेटफर्म हो,” शेरचन भन्छन्, “यसबाट तालिम पाएका प्रशिक्षार्थी समुदायमा आधारित भएर संरक्षणमा अझ कर्मठ र पारंगत हुन्छन् ।”

संस्थाको जीवनमा कतिपय जोडिए, कतिपय तोडिए । राजु भने प्रकृतिका साथीहरूको भेट्नो समातेर बसिरहे । डब्लूडब्लूएफ, बीसीएन (बर्ड कन्जरभेसन नेपाल), विनरक इन्टरनेसनल आदिका अफरमा आकर्षित भएनन् ।

पोखरा, कुँडहरका बासिन्दा भए पनि राजु भारतको देहरादूनमा जन्मेछन् । उनका बुबा भारतीय सेनामा थिए । मध्यप्रदेशको जवलपुरस्थित सरकारी स्कुलमा ५ कक्षा पढेर पोखरा आउँदा उनलाई एबीसीडी पनि आउँदैनथ्यो । उता कक्षा ६ पछि मात्रै एबीसीडी पढाइन्थ्यो, यता ४ कक्षामै ।

एसएलसीपछि पोखराकै वनविज्ञान (फरेस्ट्री) क्याम्पस पढे उनले । फरेस्ट्री उनको भन्दा पनि आर्मी बाको छनोट रहेछ । “पहिले–पहिले दसैँमा आशीर्वाद दिँदा डाक्टर भएस्, इन्जिनियर भएस्, डीएफओ भएस्, पैसा कमाएस् भनिन्थ्यो,” उनी हाँस्छन्, “फरेस्ट्री पढे सजिलै जागिर पाइन्छ भन्ने मनोविज्ञान थियो होला ।”

त्यतिबेलासम्म उनको रुचि साहित्यमा थियो । कक्षा ९ पढ्दा दुई थान उपन्यास लेखिसकेका रहेछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा रेन्जरको जागिर खान थालेपछि त्यो क्रम टुट्यो । जानेर या नजानेर, उनी जता गए पनि वन्यजन्तु र रूखमै ठोक्किए । कस्ता फुर्तिला रेन्जर भने फलानो वनमा डढेलो लाग्दा आगो निभाउन दौडे, ढिस्कानो गाउँमा मृग मारिँदा मान्छे समाउन हिँडे ।

गाउँलेको निसानामा पथ्र्यो, त्यही बबुरो रेन्जर । “हाकिम साबहरू यो र त्यो विकास दिन्छु मात्रै भन्ने,” उनी सुनाउँछन्, “रूख काटे किन काटिस् ? चरा मारे किन मारिस् ? डढेलो लगायो, किन लगाइस् भन्ने त त्यही रेन्जर ।”

सिकलेसको गुरुङ समाजमा सामूहिक सिकारको चलन थियो भने वन्यजन्तु जोगाउने जिम्मा राजुको । त्यसका लागि ठाउँ–ठाउँमा सुराकी खटाउँथे । तिनैमार्फत गाउँका सबैजसो सूचना पाउँथे । दिनैपिच्छे कालिज, रतुवा मृग, डाँफेको सिकारबारे बैठक हुन्थ्यो ।

सिकलेसमा नामुद सिकारी रहेछन्, मेजा गुरुङ । क्याराभान फिल्मका निर्देशक एरिक भ्यालीले उनको मेजमानी खाएको थाहा पाए राजुले । मेजा कस्ता सिकारी भने पाहुनालाई ‘आज के खाने’ भनेर सोध्ने अनि श्रीमतीलाई ‘तोरीको तेल तता, मसला पिँध’ भनेर जंगलतिर लाग्ने ।

तिनलाई पनि चारपटक कारबाही गरे राजुले । रतुवा, घोरल र थारहरू मारेको अभियोगमा ६ महिना थुना परेर निस्के । एक्यापमा गड्याङगुडुङ भएपछि उनको सरुवा भयो जोमसोम । त्यसको खुसीयालीमा मेजाले बियर पार्टी गरेछन् । मृग मारेकामा आफूले कारबाही गरेका एक जनालाई त आफ्नै घरमा डेरा बसेको पाए उनले ।

सानो काँटीको तर नियम कडा भएको यी रेन्जर समुदायमा कति भिजेका थिए भने लोमान्थाङ (मुस्ताङ)की कार्यालय प्रमुख मञ्जुश्री थापाले एकपटक सम्झाइछन्, ‘तिम्रो पब्लिक रिलेसन धेरै भयो । अलिक कम गर ।’ त्यतिबेला ननिको लागे पनि अहिले उनलाई ठीकै लाग्छ त्यो कुरा ।

सन् २००० मा यूएनडीपीको परियोजना अन्तर्गत घान्द्रुक गएका वन्यजन्तु विशेषज्ञ करणबहादुर शाह, चरा विशेषज्ञ राजेन्द्रनरसिंह सुवालसँगको भेट नै उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बनिदियो । एक्यापका रेन्जरहरूलाई सोधियो– स्तनधारीमा को जाने ? सर्पमा को जाने ? चरामा को जाने ?

चरामा हात उठाए राजुले । संरक्षणकर्मी सोम आलेले भनिहाले, ‘लौ राजु भाइ चरामा ।’ त्यतिबेलासम्म उनी गिद्ध, काग, भँगेरा र परेवाबाहेक केही पनि चिन्थेनन् । सुवालको साथ लागेर डेढ महिना टेलिस्कोपमा चरा हेर्न पाए । चरा हेर्दाहेर्दै लोखर्के पनि देखियो ।

३५ सय रुपियाँ तलब थियो, १५–१६ सय हालेर दूरबिन किने । चरासम्बन्धी किताब किने । किताबका पाना पल्टाउँदै एक–डेढ घन्टा लगाएर चरा चिनेपछि जिन्दगीभरि बिर्सेनन् । चरामा कति एकोहोरिए भने अहिले ‘उल्लू सर’का रूपमा प्रख्यात छन् ।

उनलाई कतिखेर उदेक लाग्छ भने कतिपयले प्वाक्कै भनिदिन्छन्, ‘डलरको खेती गरेको छस् है । कमाउनु कमाइस् ।’ उनी भनिदिन्छन्, ‘उल्लूमा के कमाउनू ? दुर्लभ सूचीमा पनि छैन, संरक्षित सूचीमा पनि छैन ।’

जर्मनीमा पढ्न बसेका बेला उनले एकाएक सम्झेछन्, उल्लूलाई । वल्र्ड आउल ट्रस्टले फिलिपिन्समा काम गर्दो रहेछ । उनले नेपालमा सहकार्यको प्रस्ताव पठाए । जवाफ आयो– तिमी स्वयंसेवी भएर काम गर्छौ  ? उल्लूको अवैतनिक राष्ट्रिय प्रतिनिधि भएर फर्के राजु ।

एयरपोर्टमा ओर्लिनासाथ राजुमाथि जोक भयो– अहो ! विदेश पढेर के–के न भयो भनेको त उल्लूको प्रतिनिधि भएर आएछ । उल्लूलाई समाजले कसरी हेर्छ भन्ने कुराले बेस्सरी छोयो उनलाई । र, स्कुल–स्कुलमा चेतना शिविर र चित्र प्रतियोगिता गराए ।

ट्रस्टले दूरबिन र ५ लाख ८० हजार रुपियाँ पनि पठाइदियो । उनले मनाङ र मुस्ताङका १४ ठाउँमा गएर उल्लूको अध्ययन गरे । “परियोजनाले त्यसलाई उत्कृष्ट प्रतिवेदन भन्यो । तर, त्यसपछि कहिल्यै पैसा दिएन,” उनी हाँस्छन्, “तिमीलाई सहयोग गर्न सकेनौँ मात्रै भनिरह्यो ।”

“आँखामा तीनवटा परेला हुने यो चरा भेटिनु वातावरण बिरामी नभएको सूचक हो,” राजु भन्छन्, “चार महिनामा उल्लूको एउटा परिवारले तीन हजार मुसा खाएर किसानलाई सघाउँछ ।”

पैसा पाइयोस्, नपाइयोस्, उनले उल्लूको काम छाडेनन् । ध्वाँसे चितुवाको काममा जाँदा पनि छाडेनन्, धादिङमा रूख नाप्दा पनि । त्यस क्रममा उनले थाहा पाए– उल्लू त तीनदेखि २२ लाख रुपियाँसम्ममा तस्करी हुँदो रहेछ ।

तस्कर र दलालको अभिनय गरेर उनले त्यसको अवैध व्यापारको सञ्जाल तोडे । अहिलेसम्म अवैध रूपमा घरमा पालिएका ५० लाटोकोसेरो छुटाउन सफल भएका छन् उनी । पोखराको पचभैयाको चिडियाखानामा लगेर राखिएकामध्ये दुई–तीनवटा मरे ।

प्रकृतिका साथीहरूले ३० जिल्लामा गरेको अध्ययनमा बर्सेनि दुई हजार लाटोकोसेरो तथा हुचिल मारिने गरेको पाइएको छ । नेपालमा यसको संख्या यकिन नभए पनि २१ प्रजाति छन् । दिउँसो आराम गर्ने यो पक्षीलाई लक्ष्मीको वाहन मानिएको छ ।

तन्त्रमन्त्र, लक्ष्मीपूजामा बलि, होमियोप्याथी र यौनवद्र्धक औषधि बनाउने आदि नाममा यसको तस्करी हुँदो रहेछ । उल्लूको चर्चा वेददेखि कुरान र बाइबलसम्म छ । लाटोकोसेरो, हाप्सिलो, हुन्द्रुङ, हाहा, हुचिल आदि अनेक नाम छन् उल्लूका । सानो उल्लू लाटोकोसेरो हो भने ठूलो हुचिल ।

“आँखामा तीनवटा परेला हुने यो चरा भेटिनु वातावरण बिरामी नभएको सूचक हो,” राजु भन्छन्, “चार महिनामा उल्लूको एउटा परिवारले तीन हजार मुसा खाएर किसानलाई सघाउँछ ।”

लाटोकोसेरो कि बाठोकोसेरो ? नेपालका लाटोकोसेराहरू, चरा : एक जानकारीचिरकालिज किताबका लेखक राजुले संस्कृति, संरक्षण र स्थानीय खेलको सम्मिश्रण हुने गरी बर्सेनि तीनदिने लाटोकोसेरो र हुचिल महोत्सव गर्दै आएका छन् । धादिङको सान्कोष गाउँ, चितवनको मंगलपुर, नवलपरासीको अमलटारी, गोरखाको बारपाक, कास्कीको सिकलेस, कपिलवस्तुको जगदीशपुर र दोलखाको जिरीमा यसको सातौँ संस्करण सम्पन्न भएका छन् ।

समुदायमा मिलेर घाइते तथा अलपत्र अवस्थाका लाटोकोसेरोको पुन:स्थापना केन्द्र स्थापना गर्न राजु नौ महिना भौँतारिए । उनको फाइल राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागमा थन्किएको वर्षौं भइसक्यो । तर, उल्लूको निरन्तर सफारीमा राजुलाई अमेरिकाको होस्टन नेचर सेन्टरले विश्वकै उत्कृष्ट लाटोकोसेरो संरक्षक घोषणा गर्‍यो ।

“त्यो कार्यक्रममा सहभागी भएपछि मात्र मलाई त्यसको उचाइ थाहा भयो, यस्तो गडगडाहट ताली बजाए कि रोकिँदै रोकिएन,” सन् २०१४ मा ‘वल्र्ड आउल हल अफ फेम स्पेसल अवार्ड’ पाएका राजु भन्छन्, “त्यतिबेलासम्म मलाई कसैले चिन्दैनथे । बुबाको करले पहिलो पटक मिडियामा आएँ । उल्लूमा काम गर्ने मान्छेका रूपमा मलाई सम्झनु नै लाख हो ।”

उनको जीवन खोलाजस्तै छ– कहिले सोझो, कहिले घुमाउरो, कहिले बांगोटिंगो । कहिले भूमिगत, कहिले खुला । टफ जर्नी, रफ वेदरजस्तो । 

व्यावसायिक जीवनलाई उनी ‘ब्ल्याक एन्ड ह्वाइट’मै हेर्छन् । को शत्रु, को मित्र ? उनको निर्णय पनि ‘एक्ट्रिम’ नै छ । कि ‘एस्’ कि ‘ नो’ । ‘एस्’ र ‘नो’बीचमा केही पनि छैन । नियमलाई एकदमै माया गर्ने राजुलाई बाटो काट्न पनि जेब्राक्रस नै चाहिन्छ, एक्लै हुनु किन नपरोस् ।

रमाइलो के भने, गीत जति सुने पनि शब्द सम्झना हुँदैन राजुलाई । त्यसैले संसारका कुनै भाषाका गीत भए पुग्छ उनलाई । किताबचाहिँ दुई–तीन वर्षमा एउटा मात्रै पढ्छन् । उनले पढेको पछिल्लो किताब सहपाठी कमलजंग कुँवरको गैँडालाई चार वर्ष रहेछ ।

“धेरै पहिले राम्रो छ मामा, तपाईंको किताब भन्दिएको थिएँ,” उनी हँसाउँछन्, “किताबचाहिँ वर्षौंपछि मात्र पढेँ ।” वनविज्ञान क्याम्पस पढ्दा उनलाई सबैले भान्जा भन्दा रहेछन् ।

राजुलाई बूढो विद्यार्थी किन भनिएको भने उनको आईएस्सी र बीएस्सीबीच ११ वर्षे अन्तराल छ । एक्यापमा जागिरे छँदाको चार वर्ष मुस्ताङ बसे । गिद्ध र ब्वाँसोको अध्ययन त्यहीँ गरेका हुन् ।

उनको जीवन खोलाजस्तै छ– कहिले सोझो, कहिले घुमाउरो, कहिले बांगोटिंगो । कहिले भूमिगत, कहिले खुला । टफ जर्नी, रफ वेदरजस्तो । राजेन्द्रनरसिंह सुवाल, करणबहादुर शाह र अक्सफोर्ड पढेका साथी यादव घिमिरे उनका उत्प्रेरणाका स्रोत हुन् ।

जंगल जाँदा उनलाई घरको सम्झनाले खासै सताउँदैन । “बिहेबारी गरेर छोरा भए पनि मलाई मुस्ताङबाट पोखरा फर्कन पनि नौ महिना लाग्थ्यो,” उनी सम्झिन्छन्, “यो मान्छे यस्तै जंगली हो भनेर परिवारले मलाई धेरै छुट दिएको छ ।”

एक छोरा र एक छोरीका पितालाई लामो समय जंगल जान नपाउँदा उकुसमुकुस हुन्छ । फिल्डको फिरन्ते जीवनमा उनी मानसिक र शारीरिक रूपमै स्वस्थ हुन्छन् । फिरन्ता शैलीमै हुम्लामा वनचौँरी खोज्दा पाँच दिनसम्म हिउँमा थुनिए । मुस्ताङमा चिरकालिज खोज्दा भीरबाट खसे । चितुवाका लागि थापिएको पासो भत्काउँदा सिकलेसमा गाउँलेले झन्डै मारेनन् । मुस्ताङका खर्कहरूमा १० महिना बसे ।

यी ‘उल्लू सर’ले ब्वाँसो, कालिज, गिद्ध, वनचौँरी, वनगधा, ध्वाँसे चितुवा, चितुवा, हिउँचितुवा आदिका विषयमा समेत प्रशस्त अध्ययन–अनुसन्धान गरेका छन् । “म झन्डै ५० जिल्ला घुमेँ । उपल्लो धादिङदेखि गोरखाको मान्बुसम्म सातदिने पैदल यात्रामा कतै वन्यजन्तु देखिएनन्,” उनी प्रश्न गर्छन्, “वन्यजन्तुबिनाको प्रकृति मृतसरह हुन्छ । कामै नगरी हरियो बोर्ड झुन्ड्याउनेहरू त्यता कहिले पुग्छन् ?”

नेपालमा वातावरण व्यवस्थापन, जर्मनीमा दिगो वन व्यवस्थापन र बेलायतमा कृषि वन गरी तीन विषयमा एमएस्सी गरेका राजुलाई नामअगाडि ‘डा’ गाँस्ने रहर कहिल्यै भएन ।

स्कोरपियोमा होइन, स्कुटरमा हिँड्छन् राजु । यो नै उनको असली परिचय हो । ‘हाइरार्की मेन्टेन’भन्दा उनको ध्यान ‘एक्सन’मा छ । कहिले कपाल र दाह्री पालेका हुन्छन्, कहिले दाह्री र कपाल दुवै फालेका हुन्छन् । जे पाले पनि, जे फाले पनि उनको सरोकार वन्यजन्तु र प्रकृति नै हो । फरक कति भने राजुसँग स्कुटर छ, कार्यक्रम पनि छ । अरूसँग स्कोरपियो छ तर कार्यक्रम छैन ।

प्रकाशित: जेष्ठ १, २०७५

ट्याग: प्रोफाइल