समाजवाद कि समृद्धि ?

- केशव दाहाल

समृद्धिको समयमा समाजवादको कुरा गर्नु जोखिम मानिन्छ । यद्यपि, अहिले भने यो जोखिम मोलौँ । एक मित्रबाट प्रसंग सुरु गर्छु । उनी मनोहर मुस्तफा, बंगलादेशी हुन् । ढाकामा बस्छन् र आर्थिक न्यायका मुद्दामा अध्ययन/अनुसन्धान गर्छन् । समाजवादप्रति उनको गहिरो लगाव छ । त्यसैले नेपालको समाजवादी आन्दोलनका बारेमा मलाई सोध्छन् । कहिले इमेलमा, कहिले भेटमा । उनका प्रश्न हुने गर्छन्– नेपालमा समाजवादको भविष्य के छ ? के नेपाल दक्षिण एसियाकै पहिलो समाजवादी मुलुक बन्ला ? तर, मसँग उनका प्रश्नको कुनै गतिलो जवाफ छैन । पछिल्लो पटक मैले उनलाई लेखेँ, ‘हाम्रो समाजवाद रक्सौलको रेल चढेर काठमाडौँतिर आउँदैछ ।’ मैले उनलाई बुझाउन चाहेँ कि हाम्रा वामपन्थीहरू आज समाजवादमा भन्दा धेरै समृद्धिमा विश्वास गर्छन् । सबैतिर यसैको बहस छ, यसैको सपना छ । त्यसैले त रक्सौलबाट आउने रेलमा समाजवादको भन्दा समृद्धिको ‘ कन्टेन्ट’ धेरै छ । पछिल्लो पटक उनले भने, ‘समृद्धि आफैँमा पुँजीवादी कार्यक्रम हो । वामपन्थीहरू समाजवादी हुनु नै राम्रो ।’

कुनै बेला नेपालमा ‘समाजवाद’को कुरा गर्नु निकै लोकप्रिय मानिन्थ्यो । त्यसैले कांग्रेस, कम्युनिस्टदेखि सामाजिक अभियन्ताहरू सबै समाजवादी । बेलाबेला घनश्याम भुसालहरू समाजवादमाथि संवाद चलाउँथे र बोल्नलाई प्रदीप गिरिहरू बोलाइन्थे । यस्ता संवाद कहिले साना कोठामा हुन्थे, कहिले सभाहलमा त कहिले खुला स्थानमा । त्यसो त नेपालको संविधान (०७२)मै ‘समाजवाद’ उल्लिखित छ । तर, दुर्भाग्य ! जब ‘समाजवाद’ संवैधानिक बन्यो, यसलाई सबैले छाडिदिए । त्यसयता व्यापक रूपमा ‘समृद्धि’को परिचर्चा थालियो । यस्तो लाग्छ– अहिले मान्छे समृद्धिको सम्मोहनमा छन् । किन यस्तो भयो ? किन हाम्रा बडेबडे कमरेडहरू समाजवाद छाडेर समृद्धितिर लागे ? वामपन्थीहरूको लक्ष्य समृद्धि हो कि समाजवाद ? ठीक यही बिन्दुबाट समाजवाद र समृद्धिमाथि केही परिचर्चा गरौँ ।

समृद्धि के हो ?

क्याम्ब्रिज डिक्सनरीको आशय छ, समृद्धि यस्तो अवस्था हो, जहाँ जनता सफल हुन्छन् । उनीहरूसँग पैसा हुन्छ । यसका लागि उत्पादन वृद्धि र रोजगारी सिर्जना हुनुपर्छ । क्याम्ब्रिजले जनता कसलाई भन्यो, त्यो महत्त्वपूर्ण हो ? किनभने, राजनीतिमा जनताको परिभाषा पक्षपातपूर्ण छ । कम्युनिस्टहरूले भन्ने जनता र पुँजीवादीहरूले भन्ने जनताको आशयबारे धेरै भन्नैपर्दैन । अक्सफोर्ड डिक्सनरी भन्छ, समृद्ध राज्य भनेको शान्ति र समृद्धिसहितको राज्य हो । प्रोफेसर सिमोन एन् पेटेन थ्योरी आफ प्रस्पेरिटीमा भन्छन्– समृद्धिका दुई आयाम छन् । पहिलो, सम्पत्ति आर्जनबाट प्राप्त हुने समृद्धि । दोस्रो, परम्परागत सम्पत्तिको उपयोगबाट प्राप्त हुने समृद्धि । द इकोनोमिस्टमा प्रकाशित समृद्धिसम्बन्धी लेखहरू हेर्दा लाग्छ, गार्हस्थ्य उत्पादन नै समृद्धिको मुख्य सूचक हो । पश्चिमा विद्वान्हरू मूलत: आर्थिक सबलतालाई समृद्धि ठान्छन् ।

के यति मात्र समृद्धि हो  ? नेपाली शब्दकोशमा समृद्धिलाई सौभाग्य, कुशल, यश, प्रताप, विजय, सफलता आदि भनिएको छ, जसको अर्थ हुन्छ– सफल बन, यश प्राप्त गर, विजयी बन आदि । निश्चय नै राजनीतिमा प्रयोग हुने शब्दको अर्थ र आशय प्रयोगकर्ताको मनोविज्ञान र समयमा भर पर्छ । हामीले समृद्धिलाई कसरी बुझेका छौँ ? कसरी बुझाइएको छ ? यो महत्त्वपूर्ण पक्ष हो । वस्तुत: आमबुझाइले नै शब्दलाई जीवन दिन्छन् । त्यहीबाट शब्दहरूले अपिल गर्छन् र परिणाम आउँछ । यसरी हेर्दा हामीले समृद्धिलाई विकासको चमत्कारी अवस्था ठानेका छौँ । यसको ‘न्यारेटिभ’ पनि त्यसरी नै स्थापित गरिएको छ । जस्तो कि, ठूला उद्योग खोल, रेल ल्याऊ, नेपाली झन्डासहित पानीजहाज चलाऊ, धेरैभन्दा धेरै कमाऊ । घरघरमा ग्यास पाइप । आफ्नै अन्तरिक्ष केन्द्र । मानौँ कि ठूलो युद्ध होस् र हामीले जितौँ । अमेरिकामा बाढी आओस् र सहयोग गर्न पाऊँ । हाम्रो राजनीतिले निर्माण गरेको समृद्धिको पछिल्लो चित्र यही हो ।

जब समृद्धिलाई अतिशय विकासको अवस्था मानिन्छ, त्यहीँबाट श्रमको दोहन सुरु हुन्छ । कमाऊ र फेरि पनि कमाऊ । जस्तो कि, कमाउनुबाहेक जीवनको अर्थ, उपादेयता र महत्त्व नै छैन । ठूलठूला परियोजनाबाहेक राज्यको कुनै स्वार्थ छैन । यसरी हेर्दा समृद्धिको ‘ प्रोजेक्ट’ मूलत: ‘पुँजीवादी प्रोजेक्ट’ हो । यसले पैसाका लागि मान्छेलाई उत्प्रेरित गर्छ । राज्यको हकमा पनि यही हो । यसर्थ नै यान्त्रिक समृद्धिलाई समाजवादीहरू आलोचना गर्छन् । उनीहरूको तर्क छ, समृद्धि वितरणसँग सम्बन्धित व्यवस्था होइन । होसियारीपूर्वक काम गरिएन भने समृद्धिले सामाजिक न्याय पनि दिँदैन । त्यसैले प्रश्न गरिँदैछ कि कसको समृद्धि ? यो निकै जायज प्रश्न हो ।

समाजवाद के हो ?

समाजवादको परिभाषा दिनु आवश्यक छैन । यो निकै चर्चित शब्दावली र राजनीतिक प्रणाली हो । विश्वमा समाजवादको बहस आजको होइन । माक्र्सबाट हेर्दा यो बहसले झन्डै दुई सय वर्ष छिचोल्दै छ । रवर्ट ओवेनबाट हेर्दा झन्डै २ सय ५० वर्ष । त्यसबेलादेखि आजसम्म नील नदीमा धेरै पानी बगिसक्यो । वाग्मती किनारमा समाजवादको बहस सुरु भएको पनि ७० वर्ष नाघ्यो । रोचक कुरा, विश्व राजनीतिमा ‘समाजवाद’का अनेकौँ प्रवृत्ति र धार देखापरे । चीनमा भन्ने गरिएको समाजवाद र नेपालका माओवादीको समाजवाद एउटै रहेन । नेपालमै कांग्रेसको समाजवाद र एमालेको समाजवाद उस्तै होइन । युरोपियनको समाजवाद र क्यारेबियनको समाजवाद अलग हो । तर, सबैखाले समाजवादले दिने साझा अर्थ हो, सामाजिक न्याय । हामी वर्गीय समानता र सामाजिक न्यायमा विश्वास गर्छौं भन्नेहरू आफूलाई समाजवादी भन्न रुचाउँछन् ।

सामाजिक न्यायलाई स्थापित गर्ने संसारभर विभिन्न प्रणाली छन् । तर, समाज र यसको आधार तहलाई न्याय दिनुपर्छ भन्ने विश्वव्यापी सत्यलाई समाजवादले स्थापित गरेको छ । समाजवादीहरू ठान्छन्, न्याय मूलत: राज्यको दायित्व हो । यद्यपि, समाजवाद अझ बृहत्तर बन्दैछ । समाजवादमाथि नयाँ पुस्ताले बहस गरिरहेको छ । यस्तो बहसले आधुनिक, समुन्नत समाजवादी राज्यको परिकल्पना गर्छ । पछिल्लो समाजवादी अवधारणाले भन्छ, व्यक्तिको स्वतन्त्रता र सामाजिक दायित्वलाई सन्तुलित गर्ने व्यवस्था नै समाजवाद हो । यो राज्यको नियन्त्रणबाट होइन, बरू राज्यको नियमन र उत्प्रेरणाबाट बन्छ, जसमा जनताको प्रत्यक्ष संलग्नता रहन्छ । जनताले बनाउने समाजवाद सर्वहारा वर्गीय हुँदैन, मानवीय हुन्छ । त्यो यस्तो राज्य हो, जो समृद्ध मात्र हुँदैन, अझ न्यायपूर्ण हुन्छ । विश्लेषक भन्छन्– समाजवाद समृद्धिभन्दा उन्नत व्यवस्था हो । समृद्धिमा जब न्याय थपिन्छ, त्यो समाजवाद हुन्छ । अन्यथा समृद्धिको मात्र कुरा गर्नु पुँजीवादलाई आह्वान गर्नु हो । के नेपालका वामपन्थीहरू समृद्धिका नाममा विकासको ‘कर्पोरेट मोडेल’ स्थापित गर्न चाहन्छन् ?

समृद्धि कि समाजवाद ?

प्रश्न आउँछ, हामीले के रोज्ने ? समृद्धि र समाजवाद दुवै रोज्ने । किनभने, मान्छे सोच्छन्, समृद्धिबिना समाजवाद सम्भव छैन । समाजवादबिना समृद्धि सम्भव छैन । तर, सबै समृद्धि समाजवादतिर जाँदैनन् । समृद्धि र समाजवादले सबै बेलामा एकअर्कोलाई ‘ कम्प्लिमेन्ट’ गर्दैनन् । यिनीहरूबीच टकराव पनि हुन्छ, जसबाट भनेजस्तो नतिजा नआउन सक्छ । विश्वमा धेरै देश समृद्ध छन् । तर, ती समाजवादी होइनन् । जस्तो कि, अरब मुलुक समृद्ध छन् । तर, त्यहाँ विभेद बढी छ । महिला दोस्रो दर्जामा छन् । मानव अधिकार र लोकतन्त्र कमजोर छ । धनी र गरिबबीचको असमानता तीव्र छ । धार्मिक अन्धता छ । अमेरिका समृद्ध छ । तर, त्यो समाजवादी मुलुक होइन । कतिपय देशहरू त्यति धेरै धनी छैनन् । तर, सामाजिक न्याय, लोकतन्त्र र मानव अधिकार बलियो छ । किनभने, ती समाजवादी छन् । हामी कस्तो बन्ने ? मूल प्रश्न यही हो ।

समृद्धि र समाजवादको अर्थबोध गर्न अर्को घटना पनि सहयोगी हुन्छ । हाम्रा प्रधानमन्त्रीले भर्खरै भारत भ्रमण गरे । भ्रमणमा उनको प्राथमिकता के थियो ? निश्चय नै विकास र समृद्धि । अत: उनले रेल, सडक, पानीजहाजको कुरा गरे । तर, हाम्रा प्रधानमन्त्रीले नेपाली कामदारको पारिश्रमिक, बिमा, जीवन सुरक्षाको कुरा किन उठाएनन् ? हाम्रा प्रधानमन्त्रीको ध्यान सिमानामा हुने बाढी र डुबानतिर किन गएन ? भारतीयले सीमा मिचेर सुकुम्बासी बनाएका नेपाली किसानको कुरा किन आएन ? हाम्रा प्रधानमन्त्रीले कोसी ब्यारेज बनाउँदा डुबानमा परेका जमिनको मुआब्जा र क्षतिपूर्तिको कुरा किन गरेनन् ? किनभने, हाम्रा प्रधानमन्त्रीको मुख्य ध्यान समृद्धिमा छ । त्यसैले रेलको कुरा गरियो । यदि उनी समाजवाद र सामाजिक न्याय चाहन्थे भने कुरा अर्कै हुने थियो ।

पुँजीवादी र समाजवादीबीच थप केही विवाद छन् । पुँजीवादी आरोप लगाउँछन्, समाजवादीहरू (पुरानो समाजवाद) राज्यको नियन्त्रणमा विश्वास गर्छन् । त्यसैले उनीहरू समृद्धिको विपक्षमा छन् । समृद्धि व्यापक स्वतन्त्रताको परिणाम हो । यता समाजवादी प्रश्न गर्छन् कि त्यो कसको स्वतन्त्रता हो ? समाजवादीको मत हुने गर्छ, समृद्धिको कुनै मन हुँदैन । भौतिक चमकदमक मात्र हुन्छ । अत: समृद्धिले आत्मिक सुख र सामाजिक न्याय दिँदैन । समृद्धिले बजारको स्वतन्त्रतालाई प्रवद्र्धन गर्छ र मान्छेलाई मेसिन बनाउँछ । बलिया र निर्धाबीच उही खेलको नियमभित्र प्रतिस्पर्धा हुन्छ भने को हार्छ ? यसैले नयाँ पुस्ताका समाजवादीहरू न्यायपूर्ण विकास, मानवता र स्वतन्त्रताको पक्षमा छन् । यो यान्त्रिक समृद्धिभन्दा धेरै नै माथिल्लो कुरा हो ।

त्यसो भए वामपन्थीहरू समाजवादी हुनु नै राम्रो हो ? यदि हामी समृद्धिको कुरा गर्छौं भने ठीकै छ । तर, त्यो न्यायपूर्ण हुनुपर्छ । न्यायको, भुइँको पटक्कै कुरा नगर्ने, आधार तहका दु:ख नबुझ्ने र ठूलठूला उडन्ते कुरा गर्ने ‘समृद्धि’ पुँजीवादी सपना हो । भनिन्छ, ‘समृद्धि मूलत: उच्चतम आर्थिक वृद्धिसँग सम्बन्धित छ । समाजवाद उच्चतम सामाजिक न्यायसँग सम्बन्धित हुन्छ ।’ हामी के चाहन्छौँ ? निश्चय नै सम्पूर्ण न्याय, विकासको समतापूर्ण वितरण र समाजवाद । अन्यथा समृद्धिको बेलगाम घोडादौडले हाम्रा वामपन्थीलाई बिगार्नेछ । वामपन्थी बिग्रिए भने के हुन्छ­न् ? त्यो समयले नै बताउला ।

प्रकाशित: वैशाख ३१, २०७५