दिकेशको ग्याजेट मोह

- विभु लुइटेल

नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्रा नयाँ–नयाँ ग्याजेटका सोखिन हुन् । अन्तर्राष्ट्रिय बजारमा आएका हरेक नयाँ ग्याजेट खरिद गर्छन् उनी । सामसुङ ग्यालेक्सी एस–९ प्लस र नोट–८ प्रयोग गर्छन् । उनी उच्च गुणस्तरीय तस्बिर खिच्न एस–९ फोन र व्यवसायका क्रममा दिनहुँ गर्नुपर्ने कामका रेकर्ड राख्न नोट–८ प्रयोग गर्ने बताउँछन् । 

“म घडी पनि स्मार्ट नै प्रयोग गर्छु । यस्ता घडी पारम्परिक घडीभन्दा निकै सुविधायुक्त हुन्छन्,” उनी भन्छन् । अहिले उनले प्रयोग गरिरहेको घडी सामसुङको गियर एस–३ फ्रन्टियर हो । समय हेर्न मात्र नभएर यसका अनेक प्रयोजन छन् । दैनिक हिँड्डुल गर्दा चालिएका पाइला, हृदयको गति आदिको अभिलेख राख्न यस्तो घडी प्रयोग गरिरहेको बताउँछन् उनी । यसका अतिरिक्त फोनकल तथा म्यासेज आदान–प्रदान गर्न, टाइमर सेट गर्न र फोन हराएका बेला खोज्न पनि यो घडी उपयुक्त रहेको ठान्छन् ।

मल्होत्राको अर्को प्रिय ग्याजेटमा डीजेआई स्पार्क ड्रोन पनि पर्ने गर्छ । फ्लाइट कन्ट्रोल अप्सन्स र गुणस्तरीय फोटो खिच्ने विशेषता रहेका कारण आफ्नो रोजाइमा परेको उनी बताउँछन् । यसबाहेक एको डट पनि उनले अत्यधिक प्रयोग गर्ने ग्याजेटमध्येमा पर्छ । आवाजका माध्यमबाट आदेश लिएर काम गर्न सकिने र हात खाली नहुँदा पनि कसैलाई फोन र म्यासेज गर्न, गीत बजाउन र विद्युतीय उपकरण नियन्त्रण गर्न फलदायी रहेको ठान्छन् उनी । आफूले प्रयोग गर्ने अधिकांश ग्याजेट चार्ज गर्न वायरलेस चार्जर प्रयोग गर्छन् । तारयुक्त चार्जरले भन्दा छिटो चार्ज गर्ने हुँदा यस्तो वायरलेस चार्जर रोजाइमा परेको बताउँछन् ।

संयोजन : विभु 

प्रकाशित: वैशाख ३१, २०७५