झगडापछिको दोस्ती

नरेन्द्र मोदी काठमाडौँतिर लागेपछि जनकपुर सुनसान भयो । तर, सीधा पटनाबाट जनकपुर आउने कुराको गुञ्जन नेपाली राजनीतिमा लामो समयसम्म रहिरहनेछ ।

- सुरेन्द्र लाभ

जनकपुर मोदीमय बन्यो । जन–जन तरंगित भए । उत्साह गजबको देखियो यहाँ । केही साताअघिदेखि नै हर्षोल्लासको वातावरण व्याप्त थियो यहाँको धरामा । प्रकृतिले ठूलै हुरी–बतास ल्याउँदा पनि उत्साहमा कुनै किसिमको कमी आएन । र, आज रंगभूमिमा जनसागर स्पष्ट रूपमा देखियो ।

किन यति उत्साह जनकपुरमा अथवा प्रदेश २ मा ? प्रश्न उठ्नु अस्वाभाविक होइन । तर, यसको सही उत्तर लम्पसारवादको चस्माबाट पाउन सकिन्न । सही उत्तरका लागि राम–सीताको वैवाहिक सम्बन्धलाई सम्झनुपर्ने हुन्छ । पौराणिक–सांस्कृतिक सम्बन्धलाई बुझ्नुपर्ने हुन्छ । भाषा र सामाजिक माधुर्यको मर्मलाई आत्मसात् गर्नुपर्ने हुन्छ । यिनै भावनालाई प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अभिव्यक्ति दिए । नरेन्द्र मोदी काठमाडौँतिर लागेपछि जनकपुर सुनसान भयो । तर, सीधा पटनाबाट जनकपुर आउने कुराको गुञ्जन नेपाली राजनीतिमा लामो समयसम्म रहिरहनेछ ।

भारत पनि गजबको देश छ । एउटै देशका तीन नाम छन्– भारत, इन्डिया र हिन्दुस्तान । भारतकै विद्वान्हरूले भन्ने गर्छन्– इन्डिया सहरमा छ, भारत गाउँमा । अहिले मोदी कहाँबाट आए ? भन्न सकिन्छ, अहिले मोदी हिन्दुस्तानबाट आए । मोदीको भाषणबाट पनि यो प्रमाणित हुन्छ । चाहे जानकी मन्दिरमा दिइएको संक्षिप्त भाषण होस् या रंगभूमिमा दिइएको भावुक र विस्तृत अभिव्यक्ति । जानकी मन्दिरको प्रांगणबाट जनकपुर–अयोध्या बस सेवालाई दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर शुभारम्भ गरे । रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा रामायण–सर्किटसँगै बुद्ध–सर्किट र जैन–सर्किटको विषय उठान गर्न पनि भ्याए मोदीले ।

मोदीको सम्पूर्ण अभिव्यक्तिमाथि गहिरिएर विचार गर्ने हो भने उनको दिमागमा कतै न कतै भारतमा अर्को वर्ष हुने निर्वाचन पनि नाचिरहेको अनुभूति हुन्छ । बिहार र उत्तरप्रदेशको चर्चा सन्दर्भ मिलाएर गरे । सन्दर्भ मिलाउन उनी ओस्ताज छन् । भाषण–कलामा जादुगरजस्तै हुन् उनी । ठूलै आभा विश्वभर छ, उनको । कसैकसैले यसलाई मोदी म्याजिक पनि भन्ने गरेका छन् । रंगभूमिमा पनि देखियो त्यो । आज नेपालका मिडिया मात्र होइन, भारत र विश्वका महत्त्वपूर्ण मिडियाले जनकपुरबाट मोदीको सन्देश प्रसारित गरे । मोदीभक्तहरू पक्कै पनि आह्लादित भएकै हुनुपर्छ । प्रारम्भमा मोदीले मैथिलीमा बोले र मैथिली संस्कृतिको प्रशंसा पनि गरे । यसबाट नेपालको मैथिली क्षेत्र मात्र होइन, बिहारको मैथिली क्षेत्र पनि गद्गद नहुने कुरै छैन । बनारस र अयोध्याको चर्चा गर्दा उत्तर प्रदेशका हिन्दु मतदाता पनि खुसी हुने नै भए । उनले नेपालीमा पनि बोले । नेपाल त खुसी भई नै हाल्यो, भारतको नेपालीभाषी क्षेत्र पनि प्रभावित भयो । शेष हिन्दीमा बोले । यसबाट यता र उताका भोजपुरी र हिन्दी क्षेत्र खुसी हुने भए ।

मोदीको सीधा जनकपुर आगमन र राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियाको घनीभूत उपस्थितिले जनकपुर नै चर्चाको शिखरमा पुगेको छ । पर्यटनमा प्रचार–प्रसारको ठूलो भूमिका हुन्छ । जनकपुरलाई यो अवसर जुरिहाल्यो । जनकपुरले आन्तरिक र बाह्य पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने सम्भावना छ । तर, यसका लागि नगरको सौन्दर्य, सरसफाइ र आतिथ्य सत्कारभाव हुनु आवश्यक छ । होटल सस्तो हुनु जरुरी छ । जनकपुर आउने जोकोहीको गुनासो छ, यहाँका होटल धेरै महँगा छन् । यस्ता विषयको व्यवस्थापन समयमै गर्न सकिएन भने जनकपुरले लामो अवधिका लागि आफ्नो विकासको ढोका बन्द गर्नेछ । अर्को, मोदीले जनकपुर क्षेत्रको विकासका लागि सय करोड रुपियाँको घोषणा गरे । हुन त यसको विस्तृत विवरण आउन बाँकी छ । अहिले यत्ति मात्र भन्न सकिन्छ– योजना छिट्टै सुरु होस्, समयमा अन्त्य होस् र भ्रष्टाचार नहोस् ।

झगडापछिको दोस्ती अद्भुत हुँदोरहेछ । त्यसको अनुभूति पनि सहजै गर्न सकिन्थ्यो भ्रमणमा । नेपाली र भारतीय शासकबीचको सम्बन्ध ३६ को भइसकेकामा आज ६३ अथवा ३३ को छ । दुवै प्रधानमन्त्री जानकी मन्दिर परिसरमा बारम्बार हात मिलाउँथे, एक–अर्कालाई हेर्दै मुस्कुराउँथे । मोदीले ओलीलाई ‘भाइसाब’सम्म भन्न भ्याए । र, ओलीले ‘मोदी रंग’कै कुर्ता लगाएर ‘ए दोस्ती हम नहीं तोडेंगे...’जस्तो सन्देश दिन खोजेको पनि देखियो ।

प्रकाशित: वैशाख ३०, २०७५

ट्याग: विचार