[झटारो] सरकारलाई प्रवेश निषेध !

- लक्ष्मण गाम्नागे

तीन दशकसम्मको अनवरत प्रयासपछि यसपालि सरकारले न्वारानदेखिको बल निकालेर यातायात क्षेत्रको ‘सिन्डीकेट साम्राज्य’ समाप्त पार्‍यो । यातायात साम्राज्यका राजा–रजौटाहरूले सरकारसँग घुँडा टेकेकोप्रति हामी अरू साम्राज्यका राजा–रजौटाहरू खेद व्यक्त गर्दछौँ । र, सरकारको विस्तारवादी नीतिप्रति घोर आपत्ति प्रकट गर्दछौँ । सरकारका केही मन्त्रीहरू अरू क्षेत्रका सिन्डीकेट साम्राज्यलाई पनि यसैगरी तह लगाउँछौँ भन्दै हौसिएको समाचार सुनिँदैछ । यस्तो सोच कल्पनामा पनि नराखे हुन्छ, हामी सम्पूर्ण सिन्डीकेट साम्राज्यका राजा–रजौटाहरू सरकारलाई ठाडो चुनौती दिन चाहन्छौँ, हाम्रो साम्राज्यतिर देब्रे आँखाले पनि नहेर्नू । हेरेमा परिणाम राम्रो हुने छैन ।

हाम्रो साम्राज्यको अथाह क्षेत्रफलबारे सरकारलाई थाहै छ । कहाँ–कहाँ मात्र तैँले धावा बोल्न सक्लास् ! अस्पताल, मल, फलफूल, स्कुल, कलेज, रोजगारी, बेरोजगारी, बैंक, ब्याज, प्याज, सुन, लसुन, तेल, खेल, खानी, पानी, लुगा, जुत्ता, खोला किनार, सरकारी वन, चुरेको पहाड, खोलाको बगर, आकाश, जमिन, भन्सार, कर । सिन्डीकेट साम्राज्यले नगाँजेको क्षेत्र कुनै छ ? मोटर हिँड्ने सडक हाम्रो कब्जामा । पैदल हिँड्ने पेटी हाम्रो राज्याधिकारमा । ल हेर ! यी राजमार्ग र नदी, खोलानालाका सरकारी किनारामा हाम्रा लाखौँ घर–टहरा, हाम्रा पेसा, व्यवसायहरू । ल हेरौँ त कसले छुँदो रहेछ हामीलाई ! यस्तो चक्रव्यूहमा पस्ने आँट कसरी गर्दो रहेछ सरकारले ! देखा त सरकार तेरो पाइन !

कस्ता–कस्ता अभेद्य किल्लाहरू छन् हामीसँग । हामी हाम्रो किल्लामा छिर्नै दिँदैनौँ सरकारलाई । हाम्रा आफ्नै संविधान छन्, कानुन छन्, नियम छन् । हाम्रा आफ्नै जासुसहरू छन्, एजेन्टहरू छन्, घुसपैठियाहरू छन् । त्यहीँ संसद्मा छन्, प्रशासनमा छन् । प्रहरीमा, अदालतमा, वकालतमा छन् । सरकारभित्रै छन् हाम्रा सञ्चालकहरू, संरक्षकहरू, भूमिगत सल्लाहकारहरू । सडकदेखि सदनसम्मै हाम्रो साम्राज्य छ । ल हेरौँ त, कसरी भत्काउन सक्छस् हाम्रो साम्राज्य !

भन्सारको जालो तैँले तोड्नै सक्दैनस् । सुन तस्करीको चक्रव्यूहमा तँलाई नै हुलेर हामी अभिमन्यू बनाइदिन्छौँ । तँलाई तिरिमिरीझ्याँइ पार्ने तेरै कर्मचारी, शिक्षक, प्राध्यापकका संघ–संगठनका सिन्डीकेटहरू छन् । बाइसे–चौबीसे राज्य भन्थे उहिले, अहिले बाइस सय–चौबीस सयभन्दा बढी सिन्डीकेट राज्यहरू चलाएका छौँ हामीले । सरकारले हाम्रा साम्राज्यमा हस्तक्षेप गर्न खोज्यो भने अरिंगालको गोलोझैँ हाम्रा राज्यका सेनाहरू सरकारविरुद्ध खनिनेछन्, जसरी विगतमा खनिने गर्थे र सरकारलाई हरेक पटक घुँडा टेकाएरै छाड्थे । सरकारले पृथ्वीनारायण हुने सपना नदेखे हुन्छ ।

यातायात साम्राज्यजस्तै कमजोर ठानेर हाम्रा महाशक्तिशाली मेडिकल साम्राज्य, शिक्षा साम्राज्य, बैंकिङ साम्राज्य, ट्रेड युनियन साम्राज्यहरूमा झुक्किएर पनि धावा नबोल्नू । नत्र आफैँ फन्दामा परेर अकालमै आयु सकिएला ! तरकारी साम्राज्यमा हमला गर्न खोज्दा सरकारी सेना–मेनाहरूलाई तरकारी नै तरकारीले हानेर लखेटेको बिर्सेको छैन होला । हाम्रो व्यापार साम्राज्यमा चेकजाँच गर्न खोज्दा केही वर्षअघि न्युरोडबाट तिनीहरूलाई युद्धबन्दी बनाएर सटरमा थुनेर नांगेझार पारेर लखेटेको घटना भुलेको छैन होला । नभुल्नू त्यस्ता विगतका घटना र नआउनू हाम्रो साम्राज्यमा । शान्तिपूर्ण तरिकाले राज्य गरेर बसिरहेको अवस्थामा हाम्रो शान्ति भंग गर्ने दुष्प्रयास नगर्नू । हामीलाई यातायात व्यवसायीजस्तो कमजोर र घुँडाटेकुवा सम्झेर आक्रमण गर्ने दुस्साहस गरेमा नराम्रो परिणाम भोग्नुपर्ला ! सावधान ! सरकारलाई हाम्रो साम्राज्यमा प्रवेश निषेध छ ।

प्रकाशित: वैशाख ३०, २०७५

ट्याग: व्यंग्य