[नोटबुक] मिस एमाले कि मिस नेपाल ?

- विभु लुइटेल

शृंखला खतिवडा मिस नेपाल वल्र्ड– २०१८ घोषित भएको दुई दिनपछि उनीसँग नेपालकै कार्यालयमा अन्तर्वार्ता लिने अवसर जुर्‍यो । अहिले भने उनका दर्जनौँ अन्तर्वार्ता विभिन्न सञ्चार माध्यममा आइसकेका छन् । सबैमा एउटा प्रश्नचाहिँ दोहोरिने गर्छ– तपाईं नेताकी छोरी भएर जितेको भन्छन् नि ? सबैजसो प्रश्नमा उनी एकैखाले जवाफ दिन्छिन्, “मैले मिस नेपालको उपाधिका लागि निकै परिश्रम गरेकी छु । देशमा कति नेता छन्, कति सांसद छन् । नेताका सन्तान हुँदैमा मिस नेपाल हुने भए त उनीहरुले पनि जित्नुपर्ने हो ।” भन्नेले जे भनून्, म भने शृंखलालाई यस उपाधिका लागि योग्य पात्र मान्छु । धेरैले उनको पारिवारिक पृष्ठभूमि मात्र देखे । मिस नेपाल हुनुपूर्व नै उनले गरेका सामाजिक कार्य कमैले देखे । भूकम्पपछि सिन्धुपाल्चोकका २ सय २५ घरका नक्सा बनाउन उनले देखाएको क्रियाशीलता निकै प्रशंसायोग्य छ । त्यसको चर्चा भने कमैले गर्छन् ।

शृंखलाका बुबा विरोध खतिवडा मकवानपुरबाट संघीय संसद्मा निर्वाचित एमाले सांसद हुन् भने आमा समानुपातिक सांसद । नेताका छोराछोरी नेता नै हुनुपर्छ भन्ने छैन । जीवनमा आफू के गर्ने, के बन्ने भनी निर्णय लिने शृंखला स्वयं हुन् । यसमा उनले कसैको राय–परामर्श लिन आवश्यक छैन । कुनै राजनीतिक पार्टीसँग अनुमति पनि लिनुपर्दैन । उनले मिस नेपालमा नआई जीवनमा अरु केही गर्ने सोचेको भए पनि व्यक्तिगत निर्णय हुन्थ्यो । सायद हामी क्लिकबेटबाट दर्शक तथा पाठक बढाउने मानसिकताबाट ग्रस्त छौँ र यस्ता विरोधाभास प्रश्न तेस्र्याइदिन्छौँ ।

अनावश्यक नियम कहिलेसम्म ?

देशकै सबैभन्दा ठूलो तथा पुरानो त्रिभुवन विश्वविद्यालय अपरिपक्व निर्णयपछि लागू गरिएका नियमका कारण समय–समयमा विवादमा आइरहन्छ । त्रिविका कुनै आंगिक क्याम्पसमा दसभन्दा कम विद्यार्थी भर्ना हुन खोजेमा त्यस शैक्षिक सत्रका लागि उक्त क्याम्पसले भर्ना नै रोक्ने नियम ल्यायो । यसबाट त्रिविलाई त फाइदा होला तर विद्यार्थी भने अनावश्यक मारमा पर्ने निश्चित छ ।

‘रिसर्च युनिभर्सिटी’को अवधारणा विश्वव्यापी छ । यस्ता विश्वविद्यालयले प्राध्यापन तथा अनुसन्धानमा दक्ष जनशक्ति नियुक्त गरी तिनलाई गहन अनुसन्धान गर्ने वातावरण सिर्जना गरिदिन्छन् । सामान्यभन्दा अनुसन्धानमुखी विश्वविद्यालयबाट आर्जन गरिएका डिग्रीको महफ्व अधिक हुने गर्छ । त्रिविले यो अवधारणा लागू गरी हरेक संकायलाई प्रभावकारी ढंगले अघि बढाउँदै लैजानुपर्ने हो । तर, यसको क्षेत्र यस्तै झिनामसिना नियम कार्यान्वयन गर्नमा मात्रै सीमित देखिएको छ ।

र, यहाँका पदाधिकारी तथा कर्मचारी केवल व्यक्तिगत स्वार्थमा रमाइरहेका छन् ।

पुराना कलाकारलाई चुनौती

आमिर खानको सेक्रेट सुपरस्टार फिल्म सबैले रुचाए । गाउन चाहने तर उपयुक्त अवसरबाट वञ्चित एक किशोरी युट्युबका सहायताले कसरी सबैकी प्रिय गायिका हुन पुग्छिन् भनी चलचित्रमा देखाइएको छ । नेपालमा पनि यस्ता गायकको संख्या बढ्दै गइरहेको छ । सुविधासम्पन्न रेकर्डिङ स्टुडियोमा सबैको पहुँच छैन । तर, ठूलो कलाकार बन्ने सपना भने धेरैले देखेका हुन्छन् ।

युट्युबमार्फत युवा जमातमा राम्रो प्रभाव पार्न सफल यी कलाकारमा एक गुण समान पाइयो– यी गीतका शब्द पनि आफैँ लेख्छन्, तिनमा संगीत पनि आफैँ भर्छन् । आफ्ना बहुआयामिक प्रतिभा अगाडि ल्याउन यिनलाई युट्युबले सजिलो पारिदिएको छ ।

यसरी अगाडि आएका कलाकार पुराना र स्थापित कलाकारका लागि भने चुनौती बन्दै गएको देख्न सकिन्छ । देश–विदेशमा आयोजना गरिने विभिन्न कार्यक्रममा यिनको माग बढ्दो छ । यस्ता कार्यक्रममा सहभागी भएबापत पाउने पारिश्रमिक आफ्नो ठाउँमा छँदैछ ।

युट्युबका माध्यमबाट पनि उनीहरु पर्याप्त आय आर्जन गरिरहेका छन् । नयाँ उदीयमान कलाकारका लागि यसभन्दा सुखद पक्ष अरु के हुन सक्ला ?

प्रकाशित: वैशाख २६, २०७५

ट्याग: नोटबुक