महेशविक्रम शाहको सामाजिक सर्कस [पुस्तक समीक्षा : भूइँखाट]

किताब : भुइँखाट | लेखक : महेशविक्रम शाह | प्रकाशक : फाइनप्रिन्ट | पृष्ठ : १६५ | मूल्य : ३०८ रुपियाँ

- राजकुमार बानियाँ

‘फिचर राइटर’को हूलमूलमा महेशविक्रम शाहले पाउने उम्दा दर्जा हो, ‘फिक्सन राइटर’ । सातौँ कथाकिताब भूइँखाटमा आइपुग्दा त झन् लेखक स्वयं ‘ फिक्सनालाइज्ड’ भइसकेको भान हुन्छ । उनी संसारमा कथाबाहेक केही पनि देख्दैनन् । अरूलाई त पात्र बनाइदिन्छन् नै, आफू पनि पात्र बन्छन् । आफ्नो कथा अरूसँग र अरूको कथा आफूसँग मिसाउँछन् ।

‘तिम्रो घरमा को मर्‍यो ?’

‘कोही मरेको छैन हजुर ।’

‘कोही नमरी राहत लिन आएको ?’

‘मर्नेवाला छ हजुर ।’

‘मान्छे नमरी राहत दिन मिल्दैन ।’

‘तेरो बाबु मर्‍यो भने राहत लिन आउनू ।’

बच्चु राउतको कथा ‘शीतलहर’मा राहतको राजनीति मात्र होइन, मानवताविरुद्धको अट्टहास छ । राहत मान्छे मरेपछि मात्रै पाइने हो या मान्छेलाई मर्नबाट बचाउन दिइने हो ?

कथा यत्तिमै सकिँदैन, राहतका सामान, २५ हजार रुपियाँ, कुखुराको मासु र भोड्काका निम्ति भित्र सुतेको बूढा बिरामी बालाई बाहिर सारिदियो बच्चुले । गर्न नहुने काम त पापी शीतलहरले गरिदियो ।

१२ पृष्ठको यो कथाले १२ सय भोल्टको करेन्ट छाडिदिन्छ । अतिरिक्त संवेदनासहित उभिएको छ, कथा ।

पहिलो कथा ‘भूइँखाट’ प्रतीकात्मक लाग्छ । भूइँखाट अर्थात् वैकल्पिक ओछ्यान । विकल्प समस्या मात्र होइन, कहिलेकाहीँ समाधान पनि बनिदिँदो रहेछ । जोईपोइबीचको सातदिने शीतयुद्ध कसरी युद्धविराममा परिणत भयो भन्ने थाहा पाउन कथा पढ्नैपर्छ । यौनकथाजस्तो लागे पनि यसमा पोर्नोग्राफिक झलक भेटिँदैन । बरू दैहिक सर्कसको नरम संकेत मात्र मिल्छ ।

‘मध्यरातमा म्यानहटन’ अघोषित रेडलाइटकी एक एसियाली अधबैँसे नगरवधुको कहानी हो । स्वदेश फर्कने खर्च जोहोका लागि देहव्यापारमा लागेकी उसको जीवन कहालीलाग्दो छ । कुनै ग्राहकले आँखा नलगाएपछि मालिकलाई नै प्रस्ताव गर्छे– २५ डलर ।

‘सिंहदरबार’मा १० वर्षपछि काठमाडौँ आइपुगेको युद्ध–अभिघातले विक्षिप्त छापामार लडाकूको व्यथा छ भने ‘निना’ ट्वाय ब्याय बनाएर कुनै पुरुषलाई स्टोरमा त कसैलाई गार्बेजमा थन्काउन चाहने उत्तराधुनिक नारीको कथा ।

‘टेपरी गाउँ’मा राप्तीको बाढीको विनाशलीला छ भने ‘थाक्पा’मा हिमाली गोठालाको जिन्दगी । ‘प्रभुको सालिक’ पढ्दा एसपको फेवल पढेजस्तो लाग्छ । ‘गुलाफ’ले गम्भीर सामाजिक समस्या उठाएको छ, आखिर छोरीहरू किन असुरक्षित छन् ? ‘रु. दस लाख’ र ‘पचास बिडा पान’ गरिबीका दुर्दान्त चित्र हुन् । ‘नवाबगन्ज’, ‘बडा डन’ ‘सुपारी’ आदि कथा तराई–मधेसका राजनीतिक र आपराधिक अभिलेख हुन् । यिनमा अपराधलाई राजनीतिक जामा दिने विरोधाभास अनि समाजको खोक्रोपन र भ्रष्टीकरण उदांगो पारिएको छ । ‘बिजुलीदेवी’ गाउँमा बिजुली आएपछिको महिला मनोदशामा आधारित सामाजिक कटाक्ष हो ।

महेशविक्रमका कथाको सर्वकालिक विशेषता कल्पना या आदर्शभन्दा पनि सामाजिक यथार्थकै गहिरो प्रस्तुति हो । विभिन्न पात्रको संवाद र मनोवादमार्फत सामाजिक समस्याको प्रस्फुटन हो । आजको जीवन, समाज र समयको धड्कन छाम्ने प्रयत्न हो । उनको कथाकारिताको परिधि दृष्टिग्राह्य वा इन्द्रियगोचर वस्तुजगत् नै हो । उनी संवेदना, भावुकता, विडम्बना र कारुणिकतालाई तटस्थताका साथ प्रस्तुत गर्छन् ।

उनी सुदूरको गाउँदेखि स्वप्नभूमिको सहरसम्मका निम्न र मध्यम वर्गको वास्तविकता कथामा ल्याउँछन् । र, आञ्चलिकतालाई महत्त्व दिन्छन् । दु:खलाई झन् दर्दिलो बनाइदिन्छन् । उनको कथामा नभेटिने पक्षचाहिँ ‘सेन्स अफ ह्युमर’ हो । प्रेम र सौन्दर्यका कथा पनि खासै रोमान्टिक लाग्दैनन् । सामाजिक यथार्थमा मनोविज्ञानको तीव्र धार मिसाएकाले उनका कथा मानसिक संकट देखाउन सफल छन् ।

कतिपयको आरोप के छ भने महेशविक्रम शाह प्रयोगधर्मी कथाकार होइनन्, स्वैरकल्पनालाई औजार नै मान्दैनन् । ‘युरी र इन्डियानो’, ‘गोल्डफिस’, ‘मिस्टर एनोड र मिसेज क्याथोड’ आदि मानवेत्तर पात्र खडा गरेर उनले यसलाई अस्वीकार गर्न चाहेका देखिन्छन् । ती कथाले सामाजिक यथार्थको बोझ हलुका गराइदिएका त छन् तर ‘भूइँखाट’, ‘शीतलहर’, ‘बिजुलीदेवी’, ‘ मध्यरातमा म्यानहटन’ आदि छोटाछरिता कथा गहकिला हुन सकेका छैनन् । सारमा अनेक सामाजिक विरोधाभासको पुञ्ज हो, भूइँखाट ।

राणाकालका सिक्का चल्दैनन् । तर, साहित्य चलेको चल्यै छ । यसको अर्थ साहित्यमा फेसन चाहिँदैन भन्ने होइन । त्यो पनि चाहिएला । तर, आधारभूत रूपमा साहित्य सनातन नै छ । यति हुँदाहुँदै पनि लेखकले केही बुँदामा ख्याल गरे हुन्छ– साहित्य कथानक मात्र होइन, कथावाचनको शैली पनि हो । भाषिक अभिव्यञ्जना र शैलीगत मिठासले तिनलाई अझै सुस्वादु बनाइदिन्छन् । चर्को भाषिक नियमबद्धताले उति सौन्दर्य सिर्जना गर्न सकिँदैन । व्याकरणिक विचलनको ‘ लाइसेन्स’ सायद स्रष्टाले त्यसकै लागि पाएका हुन् । महेशविक्रम शाहले ‘फिक्सन राइटर’ बन्ने घनचक्करमा त्यसलाई भुलेका पनि हुन सक्छन् । अलिकति सम्झाइदिनु समीक्षकको पनि ठेक्का हुँदो हो ।

प्रकाशित: वैशाख २६, २०७५

ट्याग: किताब