लोटस जेम अर्थात् कमलमणि

उनले आफ्नो नामलाई अंग्रेजीमा अनुवाद गरेर ‘लोटस जेम’ बनाए र यसैका नाममा युगवाणीमा कविता छापियो पनि । यही नाममा कविताहरू छापिँदै गए र कवि लोटस जेमका नामले उनी प्रसिद्ध भए ।

- रमण घिमिरे

निम्तो–पत्र या इमेल–निम्तोका भरमा कुनै कार्यक्रममा नजाँदा कसै–कसैले उनलाई घमन्डी पनि भन्थे । उनको मान्यता थियो– यदि त्यहाँ उपस्थिति साँच्चिकै अनिवार्य छ भने मौखिक पनि बोलाउनुपर्छ । उनी मोबाइल बोक्थे । तर, नजिककालाई बाहेक आफ्नो नम्बर दिँदैनथे । मदन पुरस्कार पुस्तकालयमै फोन गरेर उनलाई निम्त्याउनुपथ्र्यो । यसको स्पष्टीकरणमा अंग्रेजीको एक पंक्ति भन्थे, ‘आई वान्ट टू फिल निडेड ।’ यस प्रसंगमा उनी आफूलाई ‘इगोइस्ट’को संज्ञा पनि दिन्थे ।

कमल दीक्षित । मदन पुरस्कार गुठीका अध्यक्ष, मदन पुरस्कार पुस्तकालयका प्रमुख । अर्को कुरा उनी कुनै समारोहमा उपस्थित भएर मञ्चमा बस्न पनि रुचाउँदैनथे । “मानिसहरू मलाई चाकमा कमिलाले चिलेको व्यक्ति भन्थे । हो, म एक ठाउँमा एक घन्टाभन्दा बढी बस्नै सक्तिनँ ।” मसँगको साक्षात्कारमा उनले भनेका थिए, “म हम्मेसी कुनै कार्यक्रममा सभापति, प्रमुख अतिथि हुन पनि मन पराउँदिनँ ।”

उनको अर्को बानी अचम्मको थियो, एक ठाउँमा धेरै बेर बसिरहन नसक्ने । ‘मुखले बोलाएका’ ठाउँमा पनि उनी धेरै बेर टिक्दैनथे । अलि पछाडिकै मेच छानेर बस्थे र एकछिनपछि सुटुक्क निस्किहाल्थे । कसैले मन्तव्य दिइरहेको छ र उनलाई मन परेन भने छेउको मानिससँग टिप्पणी गरिहाल्थे, ‘लौ यसले के बोलेको ?’ उनी साइड–टक गर्नमा पनि कहलिएका थिए ।

अर्को अचम्म उनले ‘कुनै पुरस्कार पनि नथाप्ने’ घोषणा नै गरेका थिए । मैले उनीसँग जिज्ञासा राखेको थिएँ, “अनि किन बालचन्द्र पुरस्कार, गोपाल पाण्डे पुरस्कार, प्रज्ञा पुरस्कार लिनुभयो त ?” उनले तर्क दिएका थिए, “म मदन पुरस्कार गुठीको सचिव हुँदाका कुरा हुन् यी । त्यतिबेला मैले बालचन्द्र र गोपाल पाण्डेका नामका पुरस्कार थापेँ । जब गुठीको अध्यक्ष भएँ, त्यसपछि मैले कुनै सम्मान–पुरस्कार थापिनँ ।” तर, उनले गुठीको अध्यक्ष हुँदा पनि प्रज्ञा पुरस्कार थापेका थिए । अनि, कसरी कुरा मिल्यो त ?

खासमा यस पुरस्कारमा नाम घोषणा गरिएपछि उनी अप्ठ्यारोमा परेछन् । राजाको जल्दोबल्दो समयमा राजाकै हातबाट दिइने सम्मान लिन्नँ भन्ने सामथ्र्य थिएन उनमा । लिन्नँ भन्दा अपमानजस्तो पनि हुने । त्यसैले उनले बाध्य भएर त्यो स्वीकारेका थिए रे ! तर, त्यसबापत पाएको एक लाख रुपियाँको चेकमा अर्को एक लाखको चेक खामेर रमा शर्माको शिक्षा परिषद्लाई हस्तान्तरण गरिदिए रे !  पुरस्कारको एक कन्चो पनि घरमा भित्र्याएनन् ।

पुरस्कार नलिने सन्दर्भमा पनि उनको आफ्नै मान्यता थियो । आफू गुठीको अध्यक्ष भएपछि उनको काम अरूलाई पुरस्कार दिने मात्र हो, अरूबाट पुरस्कार लिने होइन भन्ने मान्यता बनाए । पुरस्कारै नलिने मानिस झन् दोसल्ला मात्र ओढाउन बोलाउँदा कस्तो मनस्थितिमा हुन्थे होला !

अर्को अचम्मको प्रसंग छ । भाषा–साहित्यका मानिस, त्यसमा पनि आर्थिक अवस्थाका कारण कतै जागिर खानु नपर्ने व्यक्ति । साल्ट ट्रेडिङ, नेपाल बैंक लिमिटेड, विराटनगर जुट मिलमा पनि संलग्न थिए । एकपटक उनको साल्ट ट्रेडिङ कम्पनीप्रतिको आबद्धताप्रति पारसमणि प्रधानले काठमाडौँको एउटा समारोहमा भाषण नै दिएछन्, “हाम्रा कमलमणि दीक्षित कमल बन्नुपर्नेमा नुन–तेलको व्यापारमा लागेर नोक्सान भएको छ ।” यसमा उनले तर्क दिएका थिए, रानी जगदम्बाको सेवामा समर्पित भएकाले रानीको स्वार्थरक्षार्थ ‘प्रोक्सी’ भएर यस्ता संस्थामा काम गर्नु कर्तव्य थियो । उनी थप तर्क गर्थे, त्यहाँ जाँदा भाषा–साहित्यको काममा कुनै व्यवधान पनि हुँदैनथ्यो ।

उनी सञ्चालक मात्र थिए, त्यसैले एक–दुई महिनामा एकपटक हुने बैठकको उपस्थिति पुस्तिकामा ल्याप्चे लगाउनेबाहेक उनको अर्को कुनै भूमिका थिएन । रानी जगदम्बाको सम्पूर्ण सम्पत्तिको हेरचाह गर्नु परम धर्म थियो । त्यसमा उनी कहिल्यै चुक्तैनथे । भन्थे पनि, “यो कमल दीक्षित मदन पुरस्कारको हर्ताकर्ताका रूपमा आज जसरी चर्चित छ, रानी जगदम्बाको सेवामा नआएको भए बढीमा सरकारको सचिवसम्म हुन्थ्यो होला । तर, यो कमल दीक्षित कदापि हुने थिएन ।”

कमल दीक्षित भन्ने लेखक जन्मिनुको कारण नै ‘रानीसाहेब’ थिइन् । रानीसाहेबका कारण मदन पुरस्कार पुस्तकालय जन्म्यो । त्यो पुस्तकालय नभएको भए यो कमल दीक्षित जन्मिने थिएन । उनी आफ्ना विभिन्न अवतारका कुरा बताउँथे । केदारमणि दीक्षितले कमललाई जन्माए । साहित्यकार कमललाई बनारसका काशीबहादुर श्रेष्ठले जन्माए । मदनशमशेर जन्मेको हुनाले भारत उत्तरप्रदेश, बलरामपुरकी राजपुत कन्यासँग मदनको विवाह भयो । अनि, तिनै मदनशमशेर नमरेका भए मदन पुरस्कारको जन्म हुँदैनथ्यो । मदन पुरस्कार गुठी नजन्मेको भए मदन पुरस्कार पुस्तकालय जन्मिने थिएन । र, यो पुस्तकालय नजन्मिएको भए कमल दीक्षित जन्मिने थिएन । यो कमल दीक्षितको स्वीकारोक्ति थियो ।

उनकै शब्दमा, रानी जगदम्बालाई बल्छी हानेर जन्मेको थियो मदन पुरस्कार गुठी । उनी कलकत्तामा काम गर्थे । त्यहाँबाट जगदम्बाको निर्देशनमा उनी काठमाडौँ आउँदा दस हजार भारु थियो । त्यस रकमले उनले आफ्नी आमाका नाममा ‘विद्यादेवी दीक्षित’ पुरस्कार घोषणा गरे । यस पुरस्कारको खुब ‘तारिफ’ गरेर गोरखापत्रले सम्पादकीय नै छापिदियो । अनि, त्यो सम्पादकीय उनका पिताले ‘रानीसाहेब’लाई वाचेर सुनाए र भने, “कमलकी आमाको नाममा एउटा सानो पुरस्कार राख्दा त यति धेरै प्रशंसा भयो भने हजुरले जर्साहेब (मदनशमशेर)लाई अमर बनाउन अलि ठूलो राशिको पुरस्कार राखिदिए कत्रो ठूलो पुण्य कार्य होला !”

कमल दीक्षितका भनाइमा यो मदन पुरस्कारका लागि रानीसाहेबलाई बल्छी हानिएको थियो । बल्छीमा ठूलै माछो पर्‍यो । रानीसाहेबले आफ्नो सेफको चाबी खोलेर तीन लाख भारु उनको हातमा थपक्कै राखिदिइन् । यो विसं २०११ को कुरा थियो । ०१२ मा मदन पुरस्कार गुठीको स्थापना भयो र ०१३ मा पुरस्कार घोषणा भयो । बाबु–छोराको संयुक्त प्रयासमा स्थापित मदन पुरस्कारले अहिले ठ्याक्कै ६२ वर्ष पूरा गरेको छ ।

मदन पुरस्कार दिएर उनले धेरै ताली पाए । तर, गाली पनि कम बेहोरेनन् । नपाउनेले गरेको गालीलाई स्वाभाविक ठान्थे र एक कानले सुनेर अर्को कानले उडाइदिन्थे । डायमनशमशेर राणाको सेतो बाघले पुरस्कार नपाउँदाचाहिँ उनी आफैँ चिन्तित भए भने साहित्यिक जमातबाट नमज्जैले खप्की खाए । धेरैका कटु वचन सुने । तर, आफूले चाहेर पनि त्यस वर्ष सेतो बाघलाई पुरस्कृत गर्न सकेनन् । यसमा धेरैपछि यही उपन्यासलाई खगेन्द्र नेपालीले आफ्नो आवाजमा वाचन गरी प्रकाशित गरिएको सेतो बाघ सीडी विमोचन समारोहमा पनि उनले यो लाचारी व्यक्त गरेका थिए । तर, के थियो त यस्तो बाध्यता, जसका कारण मदन पुरस्कार गुठीको म सर्वज्ञ हुँ भन्ने पनि व्यक्ति असमर्थ भए ?

त्यसबेला अधिकांश सञ्चालक–सदस्यहरू कट्टर पञ्चायत समर्थक थिए । उनीहरूले यस किताबलाई मदन पुरस्कार दिइयो भने दरबार रिसाउँछ भन्ने निहुँ झिकेछन् । पञ्चायती व्यवस्थाको चकचकीको समयमा राजाका कुरा आउँदा सतर्क हुनु स्वाभाविक थियो । दरबार रिसाउँथ्यो–रिसाउँदैथ्यो, थाहा छैन । तर, ती पञ्च–सञ्चालकले दरबारमा यो कुरा पुर्‍याउँथे । अनि, उनले बाध्य भएर सेतो बाघलाई पुरस्कारको सूचीबाट हटाए र उनीहरूले भनेकै पुस्तकमा मोहर लगाए । उनको विचारमा तारिणीप्रसाद कोइरालाको सर्पदंशलाई पनि पुरस्कृत गरि नुपथ्र्यो । यस्तै ‘राजनीतिक अड्को’ले पुरस्कृत गर्न सकेनन् । एउटा क्यानेडियन लेखकको सही शब्दले मदन पुरस्कार पाउँदा पनि उनले धेरै आलोचना खेप्नुपर्‍यो । तर, त्यसमा चाहिँ उनी विचलित भएनन् ।

मदन पुरस्कार र मदन पुरस्कार पुस्तकालयबाहेक उनको अर्को रम्ने ठाउँ थिएन । बिहान उठेर पुस्तकालयमा छिर्थे र आएका पुस्तकहरू आपैँm दर्ता गर्थे । यसबीचमा रातो बंगला स्कुलमा गएर नेपाली छन्द सिकाउँथे । पछिल्लो समय उनको मुख्य दैनन्दिनी यही थियो ।

धेरैले भन्थे, कमल दीक्षित किन प्रज्ञा–प्रतिष्ठानमा जाँदैनन् ? या किन उनलाई त्यहाँ लगिँदैन । एकपटकको भेटमा उनीसँग यसबारे पनि खुलस्त कुराकानी भएको थियो । मलाई सुनाएका थिए, उनलाई त्यहाँको उपकुलपतिका लागि धेरै पटक प्रस्ताव गरिएको थियो, जतिबेला राजा कुलपति हुन्थे (पछि प्रधानमन्त्री पनि कुलपति भए) । तर, उनी जान मानेनन् ।

त्यसमा उनले केही आफ्ना अप्ठ्याराहरू बताएका थिए । त्यसका लागि पुरस्कार गुठी, पुस्तकालयको काम छाड्नुपथ्र्यो । त्यो असम्भव थियो । त्यसभन्दा पनि गाँठी कारणचाहिँ उनी गुठी र पुस्तकालयका हर्ताकर्ता थिए । कसैले हेप्न सक्तैनथे । उनले सोचेको कुरा मुखबाट निस्किनासाथ तामेल हुन्थ्यो । तर, प्रज्ञा–प्रतिष्ठानमा जति नै ठूलो पद पाए पनि अरूको अह्रौटे भएर काम गर्नुपर्ने हुन्थ्यो । उनको ‘हुकुम’ चल्नेवाला थिएन । “शब्द खराब प्रयोग गरेँ हुँला तर मलाई प्रस्ताव लिएर आउने व्यक्तिहरूलाई म त्यहाँ जाँदा मेरो डिमोसन हुन्छ भनिदिएँ,” उनले त्यसबेला मसँग भनेका थिए, “मभन्दा कता हो कता ठूला विद्वान् मदनमणि दीक्षितले त त्यहाँ गएर काम गर्न सक्नुभएन । उल्टै बदनाम भएर निस्किनुभयो भने म त चार महिना पनि त्यहाँ टिक्दिनथेँ ।”

चाहेको भए, उपकुलपति त के मन्त्री पद पनि पाउँथे होला, बढीमा ६ महिनासम्म भन्थे उनी । “बनारसका मेरै सहपाठी परशुनारायण चौधरीलाई कसरी थन्क्याइयो, सबैलाई थाहा भएकै कुरा हो । तारापिण्डजस्तो झिलिक्क भएर सिद्धिन किन जाने ? ०१२ सालदेखि आजसम्म म मदन पुरस्कार गुठीमा छु । यति लामो समयसम्म एउटै व्यक्ति एउटै पदमा बसिरहँदा यो हिले–पोखरी भयो कि कमलपोखरी भयो ? त्यो थाहा छैन । तर, त्यसबेलादेखि यसबेलासम्म त्यहाँ मेरो निर्णय चल्छ ।”

प्रसंगवश कुनै बेला उनीसँग ‘मणि’ र ‘दीक्षित’को चर्चा पनि चलेको थियो । कुनै युगमा उनका पुर्खा जुम्लाका भट्ट थिए रे ! त्यहाँका राजाका छोरा पढाएर आचार्य पदवी पाए । त्यहाँबाट लमजुङ र गोरखा हुँदै मल्लकालमा हालको नागार्जुनमुन्तिर आएपछि शिरोमणि आचार्यको जन्म भयो । पछि शिरोमणि ठूला विद्वान् भए ।

शिरोमणिले विसं १९५६ मा राणाजीकै लगानीमा अनेकौँ ब्राह्मणहरू सम्मिलित एउटा महायज्ञ लगाएछन् । त्यो यति सफल भयो कि त्यसको प्रभावबाट उनी ‘दीक्षित’को उपाधिले विभूषित भए । त्यसपछि उनले आफ्नो नाम शिरोमणि आचार्यका पछाडि ‘दीक्षित’ गाँस्न थाले । अनि, उनका सन्तानहरूले राणाको सिको गरे । जसरी राणाहरूले आफ्नो नामको पछाडि जंगबहादुर राणालाई अमर बनाउन ‘जबरा’ झुन्ड्याए, त्यसरी नै शिरोमणि आचार्य दीक्षितका सन्तानहरूले पनि ‘मणि’ र ‘दीक्षित’ लाई झुन्ड्याउन थाले ।

उनका बाजे रामनाथ आचार्यबाट राममणि आचार्य दीक्षित हुन पुगे, उनका माइला बाजे भरतप्रसाद आचार्यबाट भरतमणि आचार्य दीक्षित हुन पुगे । पछि–पछि त्यसलाई पनि छोट्याएर ‘मणि’का पछाडि आदी मात्र लेख्न थाले । तर, कमलमणि आचार्य दीक्षितले पहिलो पल्ट नामका पछाडि झुन्डिएका लामा उपनामहरूलाई छोट्याएर ‘कमल दीक्षित’ मात्र लेख्न थाले । यसले उनलाई धेरै समयसम्म आफ्ना बन्धु–बान्धवहरूको किचकिच सुन्नुपर्‍यो । तर, उनले त्यसपछि आजीवन आफूलाई कमल दीक्षितकै नामले चिनाए ।

उनले कवि हुनलाई पनि नाम छोट्याएका थिए । उनी बनासरमा पढ्दा त्यहाँबाट युगवाणी पत्रिका निस्किन्थ्यो । त्यस समय त्यो पत्रिका औधि लोकप्रिय थियो । त्यसमा आफ्नो कविता छपाउन उनलाई हुटहुटी जाग्यो । युवावस्थाको हुटहुटी न हो, जागेपछि जाग्यो–जाग्यो । तर, त्यो त नेपाली कांग्रेसद्वारा सञ्चालित पत्रिका थियो । त्यसमा कमलमणि दीक्षितको नामबाट कविता छापियो भने सर्वस्व नै हुन सक्थ्यो । तर, कविता पनि छपाउनु नै थियो । अनि, उनले एउटा जुक्ति निकाले– नाम बदल्ने । त्यसबेला अनेकौँ उपनामले कविता छपाउने चलन थियो । उनले पनि आफ्नो नामलाई अंग्रेजीमा अनुवाद गरेर ‘लोटस जेम’ बनाए र यसैका नाममा युगवाणीमा कविता छापियो पनि ।

यही नाममा कविताहरू छापिँदै गए र कवि लोटस जेमका नामले उनी प्रसिद्ध भए । पछि ०३८ तिर कृष्णप्रसाद भट्टराई मदन र जगदम्बाश्री पुरस्कार समारोहका प्रमुख अतिथि भएर आएका थिए । त्यसबेला भट्टराईले आफ्नो भाषणमै ‘लोटस जेम’ भनेर सम्बोधन गर्दा उनलाई त्यस युगको एउटा न्यानो स्मृतिले चिमोटेको थियो ।

कमल दीक्षित सधैँ हतारोमा हुन्थे । दसतिरको जिम्मेवारीको बोझ काँधमा बोकेर हिँडेका उनी एउटा कार्यक्रममा पस्थे र अर्को कार्यक्रम भ्याउन हतारिहाल्थे । बोल्दा पनि छिटछिटो बोल्थे, “म अलि हतारे स्वभावको छु, बोल्दा पनि छिटो बोल्छु । बुझ्नुभएन भने सोध्नूस् है !” घरमा भेट्न बोलाए भने पनि ‘ल के सोध्नु छ सोधिहाल्नूस्, मलाई बाहिर निस्किनु छ’ भन्थे । कुनै मञ्चमा बोल्नुपर्‍यो भने पनि थोरै बोल्थे र हडबडाउँदै बोल्थे ।

धर्तीबाट जाने बेलामा पनि उनी हतारमै गए । हुन त उमेरको उत्तरार्धमै टेकेर गए । तर, एक महिनाअघि मात्र उनलाई भेट्दा आफूलाई अलिअलि दमले सताए पनि मुटु अब ठीक छ भनेका थिए । उनका हजारौँ शुभचिन्तक साहित्यकार–भाषासेवीहरूले उनी बितेको सुइँको नै पाएनन् । र, उनको महायात्रामा सामेल हुन पाएननन् । तर, जीवनभर हतारमा यात्रा गरेका यी प्रतिभाले मदन पुरस्कार गुठी र पुस्तकालयका माध्यमले हतारमा गर्नै नसकिने उपलब्धि दिएर गए ।

प्रकाशित: वैशाख २६, २०७५