रागिनीले रोजेका तीन किताब

मेरा निम्ति किताब ज्ञानको अखण्ड भण्डार हो । चाहे आख्यान होस्, चाहे गैरआख्यान । दुवैको आ–आफ्नो मजा छ । किताब नभए ज्ञान हुन्थेन । यसले आत्मशान्ति र खुसी दिन्छ मलाई ।

- रागिनी उपाध्याय

जीवनको रंगलाई समेट्न पनि म किताब पढिरहेकी हुन्छु । जीवन भनेको रंगैरंगको समन्वय रहेछ । साहित्य, कला र संगीत एउटै रूखका हाँगाबिगाजस्तो लाग्छ मलाई । कलामा रंगको महत्त्व हुन्छ, किताबमा शब्दको । फरक यत्ति नै हो ।

मेरा लागि पेन्टिङ एक प्रकारको उपासना हो । यसमा साहित्यको प्रभाव पटक्कै नहुने होइन । कसैमा धेरै हुन्छ, कसैमा थोरै । विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘कर्णेलको घोडा’ र उपन्यास सुम्निमामाथि पेन्टिङ बनाएकी छु । साहित्यलाई रंग र रेखामार्फत अभिव्यक्त गरेकी छु सायद ।

साहित्यमाथि चित्र बनाउँदाको खुसी के भने, सन् १९७९ मा नाफामा मेरो प्रदर्शनी चलिरहँदा विश्वेश्वरप्रसाद कोइराला चाबहिलबाट हिँड्दै आए । उनले बालकृष्ण समलाई पनि तानेर ल्याएछन् । त्यसको तीन महिनामै समको निधन भइहाल्यो । सन् १९८६ मा गरिएको प्रदर्शनीमा रानी ऐश्वर्य आएकी थिइन् । साहित्यिक व्यक्तित्वप्रति मेरो औधि सम्मान छ ।

मेरा निम्ति किताब ज्ञानको अखण्ड भण्डार हो । चाहे आख्यान होस्, चाहे गैरआख्यान । दुवैको आ–आफ्नो मजा छ । किताब नभए ज्ञान हुन्थेन । यसले आत्मशान्ति र खुसी दिन्छ मलाई । कुनै किताब चर्चित छ भने खोजेर पढ्छु । पहिले–पहिले साँझ पर्‍यो कि किताब हुन्थ्यो मेरो हातमा । हिजोआज पेन्टिङ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र पारिवारिक जिम्मेवारीका कारण त्यति फुर्सद हुँदैन । पेन्टिङसम्बन्धी किताबचाहिँ खासै भेट्दिनँ । क्लासिकल किताब पढ्दा कताकता ऊर्जा मिलेको अनुभूति हुन्छ।

केही किताबले मेरो जवानीमा मात्र होइन, जिन्दगीमै स्पर्श गरेका छन् ।

साहित्यमा म विश्वेश्वरप्रसाद कोइराला, प्रेमचन्द, अमृता प्रितम र शेक्सपियरको डाइहार्ट फ्यान हुँ । कोइराला मलाई किन मन पर्छन् भने उनले नारी मनोविज्ञानलाई राम्ररी उधिनेका छन् । मेरो विचारमा उनको कथा ‘कर्णेलको घोडा’ एउटा मास्टरपिस हो । त्यसमार्फत उनले नारीको बोल्ड यौन मनोविज्ञान प्रस्तुत गरेका छन् । राणाकालीन समाजमा त्यस्तो कथा लेखिएको पाउँदा म अचम्मित हुन्छु ।

त्यो कथा दोषी चस्मा संग्रहमा छ सायद । कति वर्ष पहिले पढेको त्यो कथाले मलाई अझै पनि आकर्षण गरिरहेको छ । मनमस्तिष्कमा जहिल्यै बसिरहेको छ । नारी मनोभावनालाई बुझेर लेखिएको त्यो कथा समाजको एउटा ऐना हो । कथाले के भन्छ भने नारी र पुरुष भिन्न होइनन्, उनीहरूको मनोभावना एउटै हो । कर्णेलकी श्रीमतीले घोडाप्रति कामवासनाको नजरले हेरेको प्रसंग छ कथामा । कर्णेल्नी नेपाली समाजकी महिला होइनन् भन्ने पनि सुन्छु । तर, त्यो युगौँदेखिको मानव मनभित्र दबिएर बसेको यौन कुण्ठाको कथार्सिस हो ।

मेरो जीवनमा प्रभाव पारेको दोस्रो किताबचाहिँ नाटक हो, रोमियो एन्ड जुलियट । प्राचीन रोमाञ्चक इटालियन प्रेम कहानी छ यसमा । रोमियो र जुलियट एक पार्टीका दौरान एकअर्काको प्रेममा पर्छन् । तर, दुवै परिवार एकअर्कालाई चरम घृणा गर्छन् । तैपनि, उनीहरू लुकीचोरी विवाह गर्छन् । दुर्भाग्यवश † विवाहको पहिलो रात नै रोमियोको भाइ डुएलको हत्या हुन्छ । दुई प्रेमीले दुई परिवारको झगडा मिलाउनका लागि ज्यानसमेत दिन्छन् । यो नाटक दु:खान्त नाटक हो । यस्तै चीजले त शेक्सपियर बने ।

मलाई मन परेको अर्को आख्यान हो, कफन । प्रेमचन्दको कथा ‘कफन’ले जीवनको वास्तविकता देखाएको छ । मानिसहरू जिउँदो छउन्जेल आफ्नै आमाबाबुलाई पनि वास्ता गर्दैनन् । तर, मरेपछि समाजलाई देखाउनका लागि ढोंग गरेर बस्छन् । कथामा दलित समाजको भयावह जीवन परिस्थितिको चित्र छ । प्रेमचन्दकै जीवनको अन्तिम कथामा मानव मनका अनेक दृश्य र चेतनाका अनेक आयाम देखिन्छन् । सामाजिक कुरीति र आर्थिक उत्पीडनको परिवेश पनि । कथामा घीसू र माधव (पिता–पुत्र)को संवेदनहीनता र भावनात्मक क्रूरताको पराकाष्ठा छ । जिउने–मर्नेभन्दा पनि पेट भर्ने चिन्ताले सताएको छ उनीहरूलाई । भगवान्भन्दा पहिले आत्माको प्रसन्नता जरुरी रहेछ ।

प्रकाशित: वैशाख २६, २०७५

ट्याग: किताब