प्लास्टिकको पृथ्वी

म लर्खराउँदै निकुञ्जको सूचनापाटी अगाडि पुगेँ र पढ्न लागेँ : प्लास्टिक कप गल्न २ सय ५० वर्ष लाग्छ । केही दिनअघि नेपाल र भारतका प्रधानमन्त्रीहरूले आ–आफ्ना सहयोगीसहित गरेको द्विपक्षीय वार्ताकक्षमा प्लास्टिक पानीको बोतल राखिएको फोटो सम्झिएँ ।

- अजय दीक्षित

बर्दिया राष्ट्रिय निकुञ्ज कटेपछि कर्णाली नदी हुँदै घुमेर पूर्व–पश्चिम राजमार्ग वनवासा लाग्छ । कर्णाली खोँचको केही दक्षिणपट्टि राजमार्गमा नेपालको पहिलो केबल स्टेड सिंगल टावर पुल निर्माण गरिएको छ ।

अप्रिल ११ तारिख बिहान त्यहाँ पुग्दा कर्णालीको पानी तल्लो फाँटतर्फ बग्दै थियो, माथिल्लो भेगमा परेको वर्षाले बगाएको माटोसहित । म एकछिन नदीको मिठासमा डुबेँ । त्यस क्षण मैले भेटेको पानी नेपालको सिमाना काटेर उत्तर प्रदेश, घाघरा, गंगा र तत्पश्चात् बंगालको खाडीमा पुग्छ । गर्मी लागेपछि बादल भई नयाँ वर्षाका रूपमा जमिनमा आइपुग्छ, मूल, खोल्सी, नदी हुँदै फेरि बंगालको खाडी पुग्छ । हजारौँ वर्षदेखिको यो निरन्तरता हिजोआज फेरिँदैछ ।

कर्णाली नदी किनारामा पार्वती गुरुङ र सहयोगी तुला टमटा नदीको पानीको तह नाप्ने गर्छन्, तल्लो भेगमा समुदायले छानेको प्रतिनिधिलाई फोनद्वारा खबर गर्छन् । सन् २०१४ मा कर्णाली नदीमा बाढी आउँदै गरेको सूचना तल्लो भेगमा समयमै पुगेको हुँदा ज्यान जान पाएन । राजमार्गको केही पर चिसापानीमा ठूलो बाँध निर्माण गर्ने प्रस्ताव छ । गुड्दै गरेको गाडीबाटै नदीको फोटो खिचेँ । गाडी पुलको बीचतिर पुग्यो । “रोक्न मिल्दैन है सर !” चालक भाइले बताए ।

फोटो खिचेको देखेपछि सायद यसले गाडी रोक भन्छ, बाहिर निस्कन्छ र फोटो खिच्न समय लिन्छ भन्ने ठानेका थिए । मलाई भने छिट्टै पारि पुगियोस् भन्ने भइरहेको थियो । सन् २००९ को एउटा दुर्घटनाका कारण पुलको दक्षिणतर्फ हेर्ने आँट गर्न सकेको थिइनँ । त्यस दुर्घटनामा कर्णाली नदीको भँगालोमा नेपालगन्ज मेडिकल कलेजमा अध्ययनरत मालश्री र उसकी संगिनीले आफ्नो जीवन बिसाएका थिए । बहिनी नीलिमा र डा ऋषिकुमार काफ्लेकी सुपुत्री मालश्री, मेरी भान्जी । मालश्रीका बाआमाले चित्त बुझाइसकेका छन्, छोरीको सम्झनामा समाज सेवा गर्छन् । मनले नमाने पनि दिमागले टाउको बिस्तारै त्यतै फर्काइदियो । गुड्दै गरेको गाडीबाट तस्बिर खिच्दै मनमनै शान्तिको प्रार्थना गरेँ ।

कर्णाली वारिपारि बर्दिया र कैलालीका गाउँ–बस्तीका बासिन्दा र चुनिएका प्रतिनिधिसित भेटघाट गरियो । उनीहरूले भने– बाढीले दु:ख दिन्छ, बाढी आउँदैछ भन्ने सूचना पाएपछि तीन घन्टापछि बाढी गाउँमा आइपुग्छ । सो अवधिभित्र सुरक्षित स्थानमा पुग्न सकिन्छ । तर, जेथा बचाउन गाह्रो छ । बीउ–बिजनको गुण, रोप्ने र फल्ने समय ऋतुसित मिल्न छाडेको छ, औषधिमूलो उपलब्ध छैनन्, सामाजिक कुरीतिहरू व्याप्त छन्, जनजीविकाका विकल्प छैनन् आदि–इत्यादि । बाटा, धारा, बिजुली, पानी, टेलिफोन इत्यादि आइपुगेका छन्, पुग्दैछन् तर युवा पंक्ति गाउँतिर बस्न इच्छुक छैन । एक गाउँपालिका अध्यक्षले बताए, “करिब ६ हजार भोटले जितेको छु, मेरो कार्यकालमा त्यति नै रूख रोप्छु, संरक्षण गर्छु । स्मार्ट बस्ती बनाउँछु ।”

पश्चिमा मुलुकबाट डेभलपमेन्ट, सस्टेनिविलिटी, एडाप्टटेसन, रिसिलियन्स, ट्रान्सफरमेटिभजस्ता शब्द आएका छन् । हामीले तिनलाई चलनचल्तीमा ल्याएका छौँ, विकास, दिगोपन, अनुकूलन, उत्थानशीलता र रूपान्तरित । अब स्मार्ट शब्द आइपुगेको छ । के भयो भने स्मार्ट हुन्छ ? सडक, घर, भौतिक संरचना वा प्राकृतिक प्रणाली कसरी स्मार्ट बन्छन् ? स्मार्टलाई नेपालीमा के भन्ने ?

फर्किने क्रममा बर्दिया निकुञ्जको चौकी पुग्नुअघि गाडी रोकियो । नम्बर लेखाउन चालक चौकीतर्फ लागे । म लर्खराउँदै निकुञ्जको सूचनापाटी अगाडि पुगेँ र पढ्न लागेँ : प्लास्टिक कप गल्न २ सय ५० वर्ष लाग्छ । केही दिनअघि नेपाल र भारतका प्रधानमन्त्रीहरूले आ–आफ्ना सहयोगीसहित गरेको द्विपक्षीय वार्ताकक्षमा प्लास्टिक पानीको बोतल राखिएको फोटो सम्झिएँ ।

म प्लास्टिकको संसारतिर बरालिन पुगेछु । केही दशकयता प्लास्टिकका ट्यांकी, पाइप, भाडाकुँडा, बाल्टिनहरूले जनजीवन सजिलो पारेको छ । अर्बौं डलरको यो उद्योग–व्यवसायले रोजगारी पनि सिर्जना गरेको छ । तर, प्रयोगपछि फालिने प्लास्टिकको उचित व्यवस्थापन हुन सकेको छैन । उपभोक्ताहरू एक वर्षमा एकपल्ट मात्रै प्रयोग हुने पाँच खर्ब प्लास्टिक ब्याग प्रयोग गर्छन्, जसको उपयोगी जीवन करिब १५ मिनेटको हुन्छ । यी फालिन्छन्, अन्ततोगत्वा समुद्रमा पुग्छन् ।

प्लास्टिक प्रदूषण कम गरौँ भन्ने अभियन्ता सर रिचार्ड एटेनवोरो भन्छन्, यही क्रम चल्ने हो भने एक दिन हाम्रो समुद्र प्लास्टिकले भरिनेछ । उनको तर्कबाट प्रभावित भएर बेलायती महारानीले आफ्नो दरबारमा प्लास्टिक प्रयोग कम गर्ने प्रण गरेकी छन् । फालिएका प्लास्टिकका कारण नेपालका नदी, बाटोघाटो, वनपाखा, निकुञ्ज, हिमाल, घरबस्ती आक्रान्त छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीलाई एकैसाथ भेट्न पाइस् भने के भन्छस् ? आफैँलाई सोधेँ र जवाफ दिएँ । ‘प्लास्टिक प्रदूषण कम गर्न प्रधानमन्त्रीज्यूबाट अगुवाइ होस् ।’ र, प्रधानमन्त्री मोदीलाई भन्नेछु, ‘महोदय तपाईंको मनकी बात संवादमा प्लास्टिक प्रदूषण कम गरौँ भन्ने सन्देश परोस् ।’

“सर किन टोलाएर उभिइराख्या ?” चालकको आवाजले झसंग भएँ । गाडीको झ्यालपट्टि बसेँ । केही पर पुगेपछि हावाको वेग बढ्यो । ह्यान्डल घुमाएर झ्याल बन्द गरेँ । अनायास कर्णाली नदीमाथिको आकाशमा रुमल्लिँदै गरेको बादलतिर दृष्टि पुग्यो । मुसुक्क हाँस्दै मालश्री देखिई र भनी, “ठूलो मामा  ! प्रधानमन्त्रीहरूलाई भेट्नुभए त्यस्तै भनम् है ।” छिनमै मालश्री बादलमा बिलाई, मेरा कानमा मालश्रीका धुन बज्न थाले ।

प्रकाशित: वैशाख २५, २०७५

ट्याग: विचार