गृहमन्त्री बादललाई विप्लवको हैरानी

माओवादी, एमाओवादी, नेकपा–माओवादी जहाँ हुन्, एकदमै मिल्थे थापा र चन्द । थापा गृहमन्त्री हुनुअघिसम्म पनि उनीहरूको भेटघाट चलिरहेकै थियो । तर, थापा गृहमन्त्री भएयता उनीहरूबीच पानी बाराबार छ ।

- माधव बस्नेत

सशस्त्र युद्ध तयारीका लागि माओवादीले नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा रोल्पा–रुकुममा ‘सिज’ (सिस्ने/जलजला हिमाल) अभियान चलायो । यो ०५१–०५२ तिरको कुरा हो । त्यो अभियानलाई रोल्पामा साथ दिने एक झर्झराउँदा युवा थिए, नेत्रविक्रम चन्द ‘विप्लव’ । त्यसबेला उनी अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत थिए ।

वर्ग–संघर्ष अभियान चलाउने भन्दै तत्कालीन माओवादीले सामन्त, सुदखोर र सुराकीको आरोप लगाउँदै दर्जनौँ नागरिकमाथि भौतिक–मानसिक कारबाही गरेको थियो । माओवादीको यस कदमविरुद्ध सरकारले रोल्पा–रुकुममा ठूलै ‘अप्रेसन’ गर्‍यो । त्यही अप्रेसनले माओवादीका पक्षमा माहोल सिर्जना गर्‍यो । त्यसबेला सिज अभियानको अगुवाइ गर्ने थापा शान्ति–सुरक्षा कायम राख्ने गृहमन्त्रीको कुर्सीमा पदासीन छन् यसबेला । उनलाई सिज अभियानमा सक्रियतापूर्वक साथ दिने चन्द आफ्नै ‘गुरु’को कुर्सीलाई हाँक दिइरहेका छन् ।

यति मात्र होइन, ५ असार ०६९ मा तत्कालीन एमाओवादी विभाजनका खास डिजाइनर थिए, चन्द । माओवादी विवाद उत्कर्षमा पुग्नुअघिसम्म थापा मौन थिए । उनै चन्दले त्यसबेला थापालाई वैद्य ‘क्याम्प’मा तानेका थिए । तर, विभाजनको दुई वर्ष आसपासमै कात्तिक ०७१ मा वैद्य–थापाले गरिनखाने निष्कर्षसहित चन्द अलग भए ।

माओवादी, एमाओवादी, नेकपा–माओवादी जहाँ हुन्, एकदमै मिल्थे थापा र चन्द । थापा गृहमन्त्री हुनुअघिसम्म पनि उनीहरूको भेटघाट चलिरहेकै थियो । तर, थापा गृहमन्त्री भएयता उनीहरूबीच पानी बाराबार छ । “चन्दले प्रभाव पारेका हुने थिएनन् भने थापा पार्टी विभाजन हुँदा वैद्य समूहमा लाग्ने नै थिएनन्,” माओवादी केन्द्रका एक सचिवालय सदस्य भन्छन्, “अहिले यी दुईबीच को शक्तिशाली भन्ने टक्कर देखिँदैछ ।”

जस्तालाई तस्तै

९ वैशाख साँझ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको धापाखेल निवासमा बम विस्फोट भयो । घरको पर्खाल भत्कियो भने झ्यालका सिसा फुटे । विस्फोट हुन बाँकी दुइटा बमलाई सेनाको ‘डिस्पोजल’ टोलीले निष्क्रिय बनायो ।

त्यसको भोलिपल्ट प्रमुख आयुक्त यादवले पत्रकार सम्मेलन गरी सरकारमाथि आफूलाई सुरक्षा दिन नसकेको दोष लगाए भने गृहमन्त्री थापा, सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल यादव निवास निरीक्षणमा पुगे ।

त्यस क्रममा गृहमन्त्री थापाले विस्फोट कसले गराएको भन्ने अनुसन्धानको नजिक पुगेकाले दोषी चाँडै पक्राउ पर्ने बताएका थिए । संयोगवश, १२ वैशाख बिहान ललितपुरको झरुवारासीबाट प्रहरीले नेकपाका ललितपुर सेक्रेटरी विपिनलाई नियन्त्रणमा लियो भने भक्तपुर सेक्रेटरी कुशलको कोठामा छापा मार्‍यो ।

त्यसै दिन राजधानीको प्रदर्शनीमार्गबाट प्रकाश शाही र भोलिपल्ट कपनबाट बाबुराम राई उर्फ विवश समातिए । राई विप्लव नेतृत्वको नेकपा अन्तर्गत योङ रेड फोर्सका अध्यक्ष हुन् भने शाही भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव ।

३ वैशाख साँझ, विराटनगर महानगरपालिका–१३ स्थित भारतीय दूतावास सम्पर्क कार्यालयको पश्चिमतर्फ रहेको चौरमा बम विस्फोट भयो । विस्फोटबाट सम्पर्क कार्यालयको पर्खाल तथा स्थानीय देवकान्त झाको घरका झ्यालका सिसा फुटेका छन् । घटनामा संलग्न भएको आरोपमा १० वैशाखमा प्रहरीले नेकपाका मोरङ जिल्ला सेक्रेटरी युगेन छद्म नामका उदय राई र कार्यकर्ता भीम लिम्बूलाई समात्यो ।

७ वैशाखमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६, कोवाडाँडाबाट प्रहरीद्वारा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य राजन बस्नेत र जिल्ला अध्यक्ष पूर्णबहादुर भुजेल जिलेटिन ९०, नियोजेल ५७ थान, डेटकर्ड तार अन्दाजी दुई मिटर, डिजिटल मल्टिमिटर दुई थान, कैची एक थान, डेटोनेटर तीन पिस, मोबाइल दुई थान, ३ हजार ८ सय नगद, बा३८प ४२८६ नम्बरको मोटरसाइकलसहित समातिए । हरिहरपुरगढीमा नेकपाले पूर्वी कमान्डको ‘बेस क्याम्प’ बनाउन लागेको र पहिलो चरणको तालिम पूरा गरेको सूचनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

यी प्रतिनिधि घटनाले संघीय संसद् र प्रदेशसभाको निर्वाचनदेखि नै उम्मेदवारमाथि आक्रमण र बुथ कब्जाको प्रयास गरेर आक्रामक रूपमा प्रस्तुत हुँदै आएको चन्द नेतृत्वको पार्टी ठूलै सुरक्षा चुनौती बनिरहेको देखाउँछ । नयाँ सरकार गठन भएपछि उसले विस्फोटक गतिविधिलाई थप प्राथमिकता दिएको छ । उसको एक मात्र उद्देश्य देखिन्छ– सरकारलाई खरो चुनौती दिनु ।

नेकपाका अधिकांश नेता/कार्यकर्ता भूमिगत वा अर्धभूमिगत छन् यतिबेला । नेकपाको सञ्चार क्षेत्र हेरिरहेका नेता गुणराज लोहनी प्रहरीले एक सयभन्दा बढी नेता/कार्यकर्तालाई गिरफ्तार गरेको र एक दर्जनभन्दा बढीलाई बेपत्ता बनाएपछि सुरक्षा सावधानी अपनाएर मात्र पाइला चाल्ने रणनीति बनाएको बताउँछन् । भन्छन्, “सरकारले श्वेत आतंक लादेको छ । यसर्थ, हामीसँग प्रतिरोध गर्नुको विकल्प छैन ।”

द्वन्द्वकालीन हतियारको त्रास

सरकार र नेकपा दुवै एक–अर्काको सूचना र रणनीति संकलन गरिरहेका छन् पछिल्ला दिनमा । सुरक्षा निकाय चन्दले सशस्त्र संघर्ष नै सुरु गर्ने हुन् वा सरकारको नाडी छाम्न मात्र खोजेका हुन् भन्ने निष्कर्षमा पुगिसकेको छैन । तर पनि त्यस समूहसँग सचेतचाहिँ छ । किनभने, माओवादी शीर्ष नेताहरूलाई राम्रै जानकारी छ, माघ ०६३ मा संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको रोहवरमा सरकारलाई बुझाउनअघि केही हतियार बाहिरै राखिएका छन् । र, तीमध्ये केही आधुनिक हतियार चन्दको पकडमा पुगेको जानकारी माओवादी नेताहरूले सुरक्षा निकायलाई गराइसकेका छन् ।

त्यसैले माओवादी नेताहरूको सुझाव अनुसार नै चन्द नेतृत्वको गतिविधिप्रति सूक्ष्म निगरानी गरिरहेको नेपाल प्रहरीका एक डीआईजी बताउँछन् । भन्छन्, “चन्दका नेता/कार्यकर्ताले गर्ने हरेक गतिविधिलाई नजिकबाट निगरानी गरिरहेका छौँ ।” आवश्यक परे महामन्त्री चन्ददेखि सबै तहका नेता/कार्यकर्तालाई दिनभरमा पक्राउ गरिसक्ने गरी निगरानी गरिरहेको उनको दाबी छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज पोखरेल जुनसुकै पार्टी, समूह वा व्यक्तिले गरेको होस्, अराजक, विस्फोटक गतिविधि नियन्त्रणमा लिनु सरकारको दायित्व भएको बताउँछन् । भन्छन्, “शान्ति–सुरक्षामा खलल पार्ने गतिविधि बढोत्तरी भए थप कारबाही हुनेछ ।”

माओवादी भर्सेज माओवादी

नेत्रविक्रम चन्दको पार्टीका सूचना माओवादी केन्द्रका नेताहरूबाटै आउनेमा प्रहरी विश्वस्त छ । किनभने, चन्दको पार्टीका प्राय: नेता–कार्यकर्ता सशस्त्र संघर्ष (०५२–०६३) ताका सँगै थिए । माओवादी ‘स्कुलिङ’ कस्तो छ भने नेतृत्वलाई मानुन्जेल अन्धभक्तले जसरी देवत्वकरण गर्छन् । नेतृत्व पनि मानिस नै हो, उसले पनि गल्ती गर्न सक्छ भन्ने नै भुल्छन् । जब शंका वा विरोध गर्न थाल्छन्, अति घृणा गर्छन् ।

त्यही प्रेम र घृणाको सिद्धान्त अनुसार माओवादी–केन्द्र–नेकपा एक–अर्कालाई ‘साइज’मा ल्याउने ध्याउन्नमा छन् । त्यसैको परिणाम– नेकपाका नेता/कार्यकर्ता माओवादी केन्द्रका शीर्ष नेताहरूको नाम लिन पनि रुचाउँदैनन् भने माओवादी केन्द्रका नेता/कार्यकर्ता ‘जनयुद्धकालीन परिवर्तनवाहक शक्ति’लाई पहिलो निसानामा राखेको भन्दै नेकपालाई ठेगान लगाउन चाहन्छन् । नेकपाका नेताहरू सरकार नै दमनमा उत्रियोस् भन्ने मनसायमा छन् । दमनबाटै थप ऊर्जा र शक्ति आर्जन गर्न सकिने उनीहरूको ठम्याइ छ ।

यता गृह मन्त्रालयको नेतृत्व गरिरहेको माओवादी केन्द्रको पनि झुक्ने ‘स्कुलिङ’ छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चन्दले आफूलाई गलाउन खोजेको बुझाइमा छन् । त्यसैले यो घृणाको सम्बन्ध भौतिक हमलामा समेत पुग्न सक्ने संकेत देखिएको माओवादी केन्द्रका एक कार्यालय सदस्य बताउँछन् ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको अभिव्यक्तिले समेत दुवै एक–अर्काको सुरक्षा चुनौती बनिरहेको संकेत गर्छ । भन्छन्, “हामी पछि हट्ने कुरै छैन । सशक्त संघर्षमा जान्छौँ । बलिदानको कोटा चुक्ता गर्न तयार छौँ । तर, सरकारसँग झुक्दैनौँ ।”

प्रकाशित: वैशाख २५, २०७५