‘सगरमाथामा आमाको तस्बिर राख्छु’

- मनबहादुर बस्नेत

यतिबेला सगरमाथा बेस क्याम्पभन्दा माथि बेग्लै दृश्य छ– हाँसिरहेको हिमालको माझमा मुस्कुराइरहेका नेपाली महिला । यो हो, फोटो पत्रकार पूर्णिमा श्रेष्ठको फोटो प्रदर्शनी । क्याम्प १ देखि ३ सम्म प्रदर्शनी गरिसकेकी उनको चुचुरोमा समेत फोटो प्रदर्शनी गर्ने योजना छ । सगरमाथा क्षेत्रमै रहेकी श्रेष्ठसँग गरिएको भाइबर–संवाद :

कस्तो चलिरहेको छ प्रदर्शनी ?

क्याम्प १, २ र ३ मा प्रदर्शनी गरिसकेँ । जति माथि गयो, उति कठिन भइरहेको छ । तर, भिन्दै रमाइलो ।

कस्तो कठिन ?

यहाँ हावा बेस्सरी लाग्छ । हिउँ पनि पर्छ, कहिले त । हावा आएका बेला यहाँ कोही पनि हिँड्दैनन् । टेन्टभित्र बस्छन् । यस्तो मौसमलाई छलेर प्रदर्शनी भइरहेको छ । हिमाल चढ्नु आपैँmमा गाह्रो काम हो । मैले यस्तो इभेन्ट पूरा गर्ने उद्देश्य लिएकी छु ।

सबैभन्दा कठिन कहाँ भयो ?

क्याम्प ३ छेउमा । क्याम्प ३ एकदमै भिरालो छ । डोरी टाँग्ने ठाउँ नै छैन । त्यसैले केही तल मुस्किलले प्रदर्शनी गरिएको हो । तलका दुइटा क्याम्पमा २५ वटा फोटो प्रदर्शनीमा राखेकी थिएँ । यहाँ त १५ मिनेटजति आधा दर्जन फोटो मात्रै राखेँ । हावा यति जोडले चल्यो, फोटो नै उडाइदियो । डोरीमा झुन्ड्याएका फोटा समातेर बस्नुपर्‍यो । यति छोटो अवधिमा माथिबाट झरिरहेका केही आरोहीले अडिएर फोटो नियाले ।

प्रतिक्रियाचाहिँ कस्तो रह्यो ?

नेपाली शेर्पाहरूले यस्तो जोखिमपूर्ण ठाउँमा के गरेको होला भन्थे । विदेशी आरोही भने एकछिन अडिएर उत्सुक बन्दै हेर्थे । म भने जोगिएर बस्नुपर्ने ठाउँमा जोखिमपूर्ण काम गरिरहेकी थिएँ ।

खुसीको क्षण कतिखेर रह्यो ?

क्याम्प ३ छेउमा हुरी आइरहेको थियो, हामीचाहिँ फोटा समातेर प्रदर्शन गरिरहेका थियौँ । त्यही बेला फोटो देखेर एक क्यानाडेली आरोहीले आफूलाई ‘महिला दिवस’जस्तै लागेको बताए । अनि, मलाई केही गरेकी रहेछु जस्तो लाग्यो । एकदमै उत्साहित भएँ ।

सबैभन्दा कठिन नि !

कठिन पनि यहीँ भयो । सबैले यस्तो ठाउँमा खेलाँची गर्नुहुँदैन भन्दै प्रदर्शनी नगर्न सुझाव दिइरहे । तर, मेरा लागि यो सपना थियो । आफ्नो कामको अभिलेखका लागि फोटो खिच्न खोज्दा चिसोले क्यामेरा चल्दै चलेन । त्यतिबेला मलाई नमज्जा लाग्यो । अहोभाग्य ! फोटो खिचियो र फेसबुकमा लाइभ पनि गरियो ।

त्यस्तो ठाउँमा फोटो प्रदर्शनीको चाँजोपाँजो मिलाउन धेरै गार्‍हो हुन्छ नै । टिम नै छ यसका लागि ?

शेर्पा गाइड छन् । अनि, आरोहण दलका चिनियाँ साथीहरूले पनि सहयोग गरेका छन् ।

कस्तो अनुभव भइरहेछ ?

कठिन काम पूरा गर्दै जाँदा छुट्टै साहस भरिँदो रहेछ । जति माथि गयो, उति कठिन हुन्छ । आफूलाई जोसिलो महसुस गरिरहेकी छु ।

सगरमाथाको चुली र फेदीमा गरिने प्रदर्शनीमा केही फरकपन छ ?

तलतिर मैले नचिनेका मानिसको फोटो प्रदर्शनी गर्दैछु । टुप्पोमा भने आमाको तस्बिर । यो तस्बिरबारे आमालाई थाहै छैन । काम गर्दागर्दै झुक्याएर खिचेकी हुँ ।

फोटो बिक्री पनि भइरहेको छ ?

मैले फोटो बेच्न प्रदर्शनी गरेकी होइन । तर, तीनवटा फोटो बुक भइसके । प्रदर्शनी सकिएर काठमाडौँ फर्किएपछि दिने भनेकी छु । खासमा फोटोको मूल्य नै अंकित छैन ।

त्यसो भए प्रदर्शनीको उद्देश्य के हो ?

नेपाली गरिब र दु:खी छन् भन्ने प्रचार छ । तर, त्यस्तो होइन भनेर मैले मुस्कुराइरहेका महिलाको तस्बिर प्रदर्शनीमा राखेकी हुँ । सगरमाथा चढ्न थुप्रै विदेशी आउँछन् । उनीहरूलाई जस्तोसुकै परिस्थितिमा पनि नेपाली खुसी हुन सक्छन् भन्ने सन्देश दिने प्रयास हो ।

महिला छान्नुको कारणचाहिँ ?

नेपाली महिला सबैभन्दा बढी पाठेघरको मुखमा लाग्ने क्यान्सर रोगबाट पीडित छन् । खुसी रहे स्वस्थ भइने चेतना जगाउन पनि यो थिम छानेकी हुँ ।

सगरमाथामा फोटो प्रदर्शनीको सोच कसरी आयो ?

गोरखाको आरुघाटमा जन्मिए पनि हिमालबारे चासो कम थियो ममा । एक वर्षअघि एभरेस्ट म्याराथनको फोटो खिच्न खुम्बु क्षेत्र पुगेकी थिएँ । हिमाल देखेर मेरो सोच नै बदलियो । हिमाल बुझ्न र अनुभव गर्न चढ्नैपर्छ भनेर सन् २०१७ सेप्टेम्बरमा मनास्लु चढेँ । त्यसपछि सगरमाथा चढ्ने मेरो लक्ष्य थियो । सर्वोच्च शिखरमा चढ्दा केही गर्नुपर्छ भन्ने सोचले तस्बिर प्रदर्शनी गरेकी हुँ ।

प्रकाशित: वैशाख २४, २०७५

ट्याग: समसामयिक