ज्ञानेन्द्रको एकालाप

एक्लो दूधे–बालक त्यहीँ छाडी हजुरबुबा त्रिभुवन सपरिवार जवाहरलाल नेहरूको देशमा निर्वासन गइबक्स्यो र म राजा बनाइएँ । दाजु वीरेन्द्र पनि मलाई छाडी सपरिवार मृत्युको देशमा निर्वासन गइबक्स्यो र म राजा बनाइएँ । पटक–पटक यस्तो काकताली किन भयो ? सबैले छाडिगएपछि म रोजिन्छु र राजा बनाइन्छु ।

- कुमार नगरकोटी

उफ, दैया रे दैया ! कस्तो अलच्छिनी झरी ? ननस्टप बर्सिरहेछ । नागार्जुनको जंगलमा एकनासले न्याउली रोइरहेछ । चरीले मेरो व्यथा बुझेकी छे सायद । साँच्चि, न्याउलीको सुकुटी कस्तो स्वादिलो हुँदो हो ! यस्तो झरिलो मौसममा मदिरासितै न्याउलीको सितन चपाउनु काइदाको हुने थियो । स्वास्थ्यका लागि फाइदाको हुने थियो ।

कुन्नि किन हो ! अचेल मन भट्की मात्र रहन्छ । अनेक तर्कनाहरु मनको बुइँगलमा चुरोटको धूवाँझँै उडिरहन्छन् । एस्ट्रे कहाँ छ ? यो ह्विस्कीको गिलास किन रित्तो छ ? जीवनका भोजहरुमा राजकीय मोजहरु गरियो । इनफ ह्विस्की, सिग्रेट र गाँजासमेत खाइयो । आज आएर श्रीपेच, राजदण्ड र सिंहासनबिनाको अभागी राजा भइयो । उफ ! यो पानी किन यस्तो बेइमानी ?

यो झरीमा आज फेरि पुराना घाउहरु बल्झेर दुख्न थाल्या छन् । त्यो श्रापित शुक्रबार सम्झन्छु : द्याट ब्ल्याक फ्राइडे । त्यो रात त्रिभुवन सदनको बिलियर्ड हलमा भतिज दीपेन्द्रले चलाएको सुट–आउट सम्झिल्याउँदा आङै सिरिङ्ग हुन्छ । रगतको आहालमा डुबेका आफन्तहरुको लास सम्झन्छु, दाजु वीरेन्द्रको मृत मुहार सम्झन्छु, बगैँचामा ढलेकी भाउजू ऐश्वर्यको गोलीले क्षतविक्षत डेडबडी सम्झन्छु । बुद्धको मूर्तिसामु क्राउन प्रिन्सले आफ्नै आमामाथि कसरी गोली दाग्न सकेको होला ? मन–मस्तिष्कमा यस्ता कहालीलाग्दा यादहरुको बिस्कुन फिँजाई म कतिन्जेल बाँचू ? हे पशुपतिनाथ ! रक्षा गर !

परका रुखहरुमुनि निथ्रुक्क भिजी ओत लागेका मान्छेहरु को रहेछन्  ? रामबहादुर, ए रामबहादुर ! काँ गएछ यो पनि ? कोमल नातिलाई भेट्न गइछे । सुट–आउटमा उसको कोमल छातीमा गोलीले प्वाल पारेको थियो । अहिले पनि ऊ बेला–बेला ऐया–आत्थु गर्छे । त्यही प्वालबाट म छर्लङ्ग देखिरहेको छु, ती मान्छेहरु । को हुन् ती भिजेका मान्छेहरु ? के ती सुटआउटमा मारिएका मेरा आफन्तहरु हुन् ?

ज्यू योर म्याजेस्टी ! मलाई बोलाइबक्सेको हो ?

हो रामबहादुर । रुखमुनि उभिएका ती मान्छेहरु को हुन् ?

मौसुफलाई फेरि दृष्टिभ्रम भयो । त्यहाँ त कोही पनि छैनन् । हजुर त्यसै बर्बराइबक्सेको छ । गाथमा सञ्चो छैनजस्तो छ । सुकला होस् महाराज ।

जंगलको प्रेत–महलमा म कसरी सुत्न सक्छु ? नेपाल सरकारलाई जिम्मा लगाएको श्रीपेच, सिंहासन र राजदण्डको घरीघरी झझल्को आइबस्छ । बडामहाराज पृथ्वी सपनामा आइबक्सिन्छ र मलाई बारम्बार भनिबसिन्छ, ‘मैले त्यत्रो दु:खले आज्र्याको राजतन्त्र तैँले ढालिस् ।’ सपना–विपना कहीँ–कतै चैन छैन, मेरो चैन कहाँ छ रामबहादुर ?

‘आई थिंक आई एम अ किङ अफ ब्याड टाइम्स ।’ इतिहासले मलाई गलत टाइमिङको कैदी बनायो । समयले मलाई छल गरेको छ । दुई पटक राजा भएँ । र, दुवै पटक ढलेँ । तर, बडामहाराज भनिबक्सिन्छ, तैँले ढालिस् । पहिलो पटक राजा बन्दा केवल तीन वर्षको थिएँ । मोहनशमशेरले मलाई राजा बनाए । राणातन्त्र ढल्यो । दोस्रो पटक नेपाल सरकारले राजा बनायो । राजतन्त्र नै ढल्यो । यो केवल काकताली हो कि मेरो नियति नै यस्तो ?

राजगद्दीमा एक पटक बसिसकेको त्यो बालकको अवचेतन मनको साइकोलोजी कस्तो हुन्छ ? मबाहेक सिग्मन्ड फ्रायड या सीजी युङलाई मात्र थाहा होला । एक्लो दूधे–बालक त्यहीँ छाडी हजुरबुबा त्रिभुवन सपरिवार जवाहरलाल नेहरूको देशमा निर्वासन गइबक्स्यो र म राजा बनाइएँ । दाजु वीरेन्द्र पनि मलाई छाडी सपरिवार मृत्युको देशमा निर्वासन गइबक्स्यो र म राजा बनाइएँ । पटक–पटक यस्तो काकताली किन भयो ? सबैले छाडिगएपछि म रोजिन्छु र राजा बनाइन्छु । आई एम इन्डिङ अ किङ अफ ब्याड टाइम्स ! रामबहादुर, त्यो न्याउली किन रोइरहेछ ? यो गिलास किन रित्तो छ ?

हजुर पनि अचेल के–के सुनिबक्सिन्छ । जंगलमा न्याउली छैन महाराज ।

अनि, यो गिलास किन रित्तो छ ?

गिलास पनि रित्तो छैन योर म्याजेस्टी ! राम्रोसँग हेरिबक्सियोस् त ! गिलास हजुरको आँसुले भरिएको छ । आँसु पिइबक्सियोस् महाराज !

रामबहादुर पनि के–के भनिबस्छ ? के यो झरीमा मेरो आँसु मिसिएको छ ? या मैले अन्यायमा पारेका निमुखा जनताको आँसु मिसिएको छ ? यसरी अभिशप्त बाँच्नुमा के मलाई ती आँसुको श्राप लागेको हो ? मेरो देश वस्तुत: राजाहरुको कहिल्यै थिएन सायद । यो मुलुक जनताको साझा हुनुपर्छ । म ढलेर यदि राजसंस्था ढलेको हो भने मैले बुझ्नुपर्छ, यो राजसंस्था मक्किसकेको थियो । र, मक्किसकेको संस्था ढलेकै राम्रो ।

के ढल्यो महाराज ?

केही होइन रामबहादुर । गिलास ढल्यो । ढलेको गिलास नउठाऊ । त्यसको नियति ढल्नु नै थियो ।

मलाई लाग्छ, अबका फुर्सदिला दिनहरुमा मैले बायोग्राफी लेख्नुपर्नेछ । मेरो कलम कहाँ छ ? एस्ट्रे कहाँ छ ? कागज कहाँ छ ? रामबहादुर, मेरो पुरानो टाइपराइटर कहाँ छ ?

अन्तिम चिनियाँ सम्राट पुयीको बायोग्राफीमाथि बर्नाडो बर्टोलुसीले द लास्ट एम्पेरर बनाएझैँ कुनै निर्देशकले नेपालको अन्तिम राजामाथि पनि सम्भवत: चलचित्र बनाउनेछ । त्यो चलचित्रको प्रिमियर–सोमा उनीहरुले सायद मलाई पनि निम्तो पठाउनेछन् । मलाई लाग्छ, त्यो दिन आजको जस्तो झरी पर्ने छैन ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् !

प्रकाशित: वैशाख २३, २०७५

ट्याग: पर्सोनाज