रामचन्द्र पौडेल : एक्ला, निरीह

के अब पौडेलले देशभरका कांग्रेसीहरूको नेताका रूपमा आफूलाई स्थापित गर्न सक्लान् ? कि आफूलाई मध्यमार्गी पनि भन्ने अनि अवसर पाउँदा त्यो धार छाड्ने पुरानै प्रवृत्तिले निरन्तरता पाउला ?

- सन्तोष आचार्य

पोखरा पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्ना कार्यकर्तासँग धुरुधुरु रोए, ४ वैशाखमा । पार्टी नेतृत्वको कार्यशैलीका कारण विरक्तिएका पौडेलले कार्यकर्तासँग भने, “पार्टीभित्र झांगिएको बेथिति देख्दा कहिलेकाहीँ मलाई आत्महत्या गरूँझैँ लाग्छ ।”

चुनावी हारको जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने अडानमा थिए, पौडेल । कांग्रेस केन्द्रीय समिति बैठकको प्रारम्भदेखि नै प्रमुख रूपमा यही मुद्दा उठाए पनि त्यसको सुनुवाइ नहुने संकेत उनले पाइसकेका थिए । त्यही निराशाको परिणाम थियो, पोखराको भावुक अभिव्यक्ति ।

आखिर भयो पनि त्यही । चुनावमा पार्टी पराजयको जिम्मा सभापतिले मात्र होइन, सिंगो केन्द्रीय समितिले लिनुपर्ने प्रस्ताव पारित भयो । निर्वाचन परिणामलाई लिएर देउवालाई घेराबन्दी गर्ने पौडेलको रणनीति असफल भयो । र, उनको रणनीति असफल बनाउने भूमिका रह्यो महामन्त्री शशांक कोइरालाको ।

आफ्नो भएर पनि पराइ

प्रमुख प्रतिपक्षी कांग्रेसको यसपटकको केन्द्रीय समितिको म्याराथन बैठकमा क्रुद्घ देखिए, पौडेल । ९ चैत ०७४ देखि १६ वैशाख ०७५ सम्म चलेको बैठकमा पौडेलको आवेगलाई थुमथुम्याउन महामन्त्री कोइराला नै अघि सर्नुपर्‍यो । उनले पौडेललाई थुमथुम्याएनन् मात्र, पार्टी पराजयको दोष सभापतिको थाप्लोमा हाल्न नहुने बताए । लिखित प्रस्ताव नै पेस गरेर सभापतिको झाँको झार्ने सुरमा रहेका पौडेललाई महामन्त्रीको उक्त भनाइले असहज बनाइदियो । आखिर पौडेल जे चाहन्थे, त्यो भएन । देउवा जे चाहन्थे, त्यही भयो, त्यो पनि पौडेल पक्षका भनिएका महामन्त्रीका कारण ।

१६ वैशाखमा बैठक टुंग्याउँदै कांग्रेसले चुनावी परिणाम सम्बन्धमा आफ्नो निर्णय सुनायो, ‘जे–जस्ता कारणहरूले निर्वाचन परिणाम प्रतिकूल भयो, नेपाली कांग्रेस केन्द्रीय समितिले त्यसको जिम्मेवारी लिन्छ ।’

पार्टीको गत १३औँ महाधिवेशनमा पौडेलले आफ्नो समूहबाट महामन्त्रीमा उठाएर शशांकलाई जिताएका थिए । तर, पनि पार्टी पराजयको दोषीको खोजी भइरहेको मुद्दामा आफूलाई होइन, सभापतिलाई साथ दिएपछि उनको चित्त दुखाइ हुनु अस्वाभाविक होइन ।

उक्त महाधिवेशनमा पौडेल समूहबाट शेखर कोइराला महामन्त्रीमा उठ्ने निश्चित थियो । तर, अन्तिम समयमा आएर पौडेलले ‘मलाई बीपी–पुत्र नै चाहिन्छ’ भनेर शशांकलाई उम्मेदवार बनाए । एक केन्द्रीय सदस्य भन्छन्, “शशांकले पनि महामन्त्री हुनका लागि मात्र पौडेललाई उपयोग गरे । तर, निर्वाचित भएको दिनदेखि नै संस्थापन हुन पुगे ।”

यो दाबीमा किन पनि दम छ भने महामन्त्री शशांकबाट पौडेलले साथ नपाएको यो पहिलो घटना होइन । संसदीय दलको नेताको निर्वाचनमा पनि पौडेलले उनको साथ पाउन सकेनन् । २१ फागुन ०७४ मा भएको उक्त निर्वाचनमा एकातिर पार्टी सभापति देउवा नै उम्मेदवार थिए भने अर्कोतर्फ पौडेल समूहका प्रकाशमान सिंह ।

पौडेलले शशांकलाई प्रकाशमानको समर्थक बस्न आग्रह गरेका थिए । बीपी–पुत्र शशांक समर्थक र गणेशमान–पुत्र प्रकाशमान उम्मेदवार बन्दा राम्रो सन्देश जाने र उस्तै परे जित्न पनि सकिने उनको आकलन थियो । तर, न शशांक नै समर्थक बस्न माने, न त प्रकाशमानले देउवालाई जित्न नै सके । देउवालाई सहज जितका लागि बाटो छाडिदिने काम शशांकले गरे ।

त्यसो त शशांक आफैँ उक्त पदका आकांक्षी थिए । उनले देउवालाई मनाउने प्रयास पनि गरे । तर, देउवा आफैँले चाहना देखाएपछि शशांकले सहयोग गरिदिए । यहीँनेर पौडेल झस्किएको हुनुपर्छ ।

आफूलाई रामचन्द्र वा अरू कुनै गुटको मान्छेका रूपमा नलिइदिन आग्रह गर्छन् शशांक । “मैले मुद्दाका आधारमा आफ्नो पोजिसन क्लियर गर्ने हो, देउवा वा पौडेलभन्दा मेरा लागि पार्टी ठूलो हो, को कसको व्यक्तिभन्दा पनि पार्टी प्रधान हुन्छ,” उनी भन्छन्, “पार्टी बलियो बनाउनेतिर लागेनौँ भने फेरि पनि नराम्रो नियति भोग्नुपर्ने हुन्छ ।”

गत महाधिवेशनमा आफ्नो समूहबाट निर्वाचित भएका महामन्त्री शशांक र कोषाध्यक्ष सीतादेवी यादवबाट कुनै काम लिन नसकेका पौडेल आफ्ना तर्फबाट कोही एक जनालाई सह–महामन्त्री बनाइदिन देउवासमक्ष हारगुहार गरे पनि पाएनन् । उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा प्रकाशशरण महत मनोनीत भए । तर, यहाँ पनि महामन्त्री कोइरालाले पौडेललाई साथ दिएनन् । २१ वैशाखमा पौडेल पक्षले बहिष्कार गरेको पदाधिकारी मनोनयन बैठकको निर्वाचन प्रक्रियामा महामन्त्री कोइराला अन्तिमसम्म सहभागी मात्र थिएनन्, देउवाको पदाधिकारी मनोनयनमा पनि मौन समर्थन गर्न पुगे ।

नपत्याइएका नेता

कता–कता पुरातन कांग्रेसको विम्बझैँ लाग्छन्, रामचन्द्र । कांग्रेसभित्रका यस्तै पुरातन मूल्य–मान्यता र आदर्शको कुरा गर्ने कार्यकर्ता उनलाई नेता मान्न तयार छन् । तर, उनले देउवा समूहमा नअटाएका, कृष्णप्रसाद सिटौलातिर पनि पाखा परेका, खुमबहादुर खड्काको निधनपछि एक्लिएकाहरूको समूह कसैलाई पनि आफ्नो पक्षमा पार्न सकेका छैनन् ।

गत महाधिवेशनमा त सिटौलाले देउवा र पौडेल दुवैलाई सभापति मान्न सकिन्न भन्दै आफैँ उम्मेदवारी दिएका थिए । कमला पन्त र मधु आचार्यबाहेक निरन्तर साथ दिनेहरू पौडेलको समूहमा कम छन् ।

पौडेल समूहका भनिएका मिनेन्द्र रिजाल कतिबेला देउवाको दैलोमा पुग्छन्, टुंगो छैन । उनीसँगै रहेका भनिएका नवीन्द्रराज जोशीले परेका बेलामा पौडेललाई साथ दिन्छन् कि काठमाडौँ कांग्रेसभित्र आफ्नो राजनीति जोगाउन प्रकाशमान सिंहको कित्तामा पुग्छन्, थाहा छैन । यसर्थ, पौडेल एक्ला छन् र पार्टीभित्र निरीह ।

पार्टीभित्र आफूलाई बलियो रूपमा प्रस्तुत गर्न महामन्त्री मात्र होइन, अन्य प्रभावशाली नेताहरूको खास साथ नपाइरहेका पौडेललाई जति कमजोर पारिन्छ, प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेस त्यति नै कमजोर हुनेछ । मनमौजी शैलीले पार्टी सञ्चालन गर्ने देउवाका लागि पार्टीभित्रको प्रतिपक्षी कमजोर हुनेछ, जसको परिणाम आगामी निर्वाचनमा देखिनेछ ।

पौडेल पार्टीभित्र कमजोर हुनुमा आफूले लिएको अडानमा बसिरहनुभन्दा आफू र आफ्नाका लागि पद खोज्दै हिँड्ने प्रवृत्ति पनि प्रमुख कारण हो । विधानले तोकेको संख्याभन्दा बढी राखेर विधानविपरीत गठन गरिएको संसदीय बोर्डमा पौडेल आफू पनि बसे । केन्द्रीय कार्य सम्पादन समितिमा पनि त्यही नियति दोहोरियो ।

उसो त पौडेलमा लोभको अंश मात्रै बढी छ भन्न पनि सकिँदैन । उनी पार्टीपंक्तिलाई ऊर्जा दिने क्षमता पनि राख्छन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा देशभर प्रभावशाली ढंगले प्रशिक्षण अभियान चलाएर मुर्झाएको कांग्रेसलाई पहिलो बनाउन उनको भूमिका महत्त्वपूर्ण थियो । तर, त्यसको जस पार्टीभित्र उनले कहिल्यै पाएनन् ।

भेट महाधिवेशनमा

पार्टी पराजित गराएको, पदाधिकारी मनोनयनका लागि दुई वर्षभन्दा बढी समय लगाएको, विभागहरू गठन गर्न नसकेको, आफ्नो गुटको संरक्षण गरेर अरूलाई तेजोबध गरेको, विगतमा आफैँले सारेको एक व्यक्ति एक पदको अवधारणालाई स्वीकार नगरेको, पार्टीलाई कमजोर बनाएको जस्ता आरोप पौडेलले देउवामाथि लगाउँदै आएका छन् ।

आगामी महाधिवेशनमा पार्टी नेतृत्व लिनका लागि पौडेलका हतियार यिनै हुन सक्छन् । जेठमा हुने भनिएको कांग्रेस जिल्ला सभापतिहरूको भेलादेखि भदौमा हुने भनिएको महासमिति बैठक र त्यसपछि हुने महाधिवेशनसम्म पौडेलले यिनै आरोप तेस्र्याएर देउवालाई खुइल्याउने रणनीति बनाउनेछन् ।

अर्को महाधिवेशनमा पनि उनको भिडन्त देउवासँगै हुने लक्षण देखिन्छ । अर्थात्, एकपटक फेरि पौडेलले देउवालाई अक्षमको आरोप लगाउँदै पार्टी नेतृत्वका लागि आफ्नो दाबी पेस गर्नेछन् । तर, के उनले देउवाको कार्यशैली नरुचाएका कांग्रेसजनको विश्वास आर्जन गर्न सक्लान् ? उनले आफैँलाई सोध्नुपर्ने प्रश्न हो यो ।

आफूले पटक–पटक गुट संरक्षक नेताभन्दा पार्टी नेता बन्न आग्रह गरे पनि देउवाले आफ्नो कुरालाई कहिल्यै गम्भीरतापूर्वक नलिएको पौडेलको आरोप छ । “मैले गुटको राजनीति गरेको छैन, म त गुटबन्दी र भागबन्डाको अवस्थाको समग्र अन्त्य चाहन्छु, यही भएर पनि मकहाँ अवसरवादीहरू टिक्दैनन्,” उनी भन्छन्, “तर, सभापतिले नै केहीलाई मात्र काखी च्याप्दा अरू कहाँ जाने ? उनीहरू मकहाँ आउने हुन् । यतिबेला मैले संरक्षण दिएको जस्तो देखिएको मात्र हो ।”

कांग्रेसको परम्परा कस्तो छ भने सुवर्णशमशेर राणा र सूर्यप्रसाद उपाध्यायले बीपी कोइरालाको कार्यशैलीको आलोचना गरेर आफूलाई स्थापित गर्न खोजे, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले गिरिजाप्रसाद कोइरालासँगको राजनीतिक व्यवहार त्यसैगरी गरे । अब पौडेलसँग त्यही शैलीको विकल्प छैन ।

बीपी, गणेशमान, कृष्णप्रसादको सानिध्यमा हुर्केका पौडेललाई देख्दा सुस्ताएका, मुर्झाएका र लखतरान परेका कांग्रेसजनमा ऊर्जा प्राप्त हुनुपर्ने हो । पार्टी फुटालेर हिँडेका देउवा फर्किएर सभापतिदेखि प्रधानमन्त्रीसम्म हुन भ्याए । तर, पौडेल न सभापतिमा जित्न सके, न त १७ पटकसम्म उम्मेदवार हुँदा पनि प्रधानमन्त्री नै हुन पाए ।

उनले युवा पुस्ताको नेतृत्व गर्ने आँट पनि देखाउन सकेनन् । कुलीन कांग्रेस उनको साथमा देखिएन । कोइराला परिवारका लागि त्याग गरे पनि उनी उपयोग मात्र भए, न त कसी लागेका कांग्रेसी बुद्घिजीवी नै उनको साथमा देखिए ।

के अब पौडेलले देशभरका कांग्रेसीहरूको नेताका रूपमा आफूलाई स्थापित गर्न सक्लान् ?  कि आफूलाई मध्यमार्गी पनि भन्ने अनि अवसर पाउँदा त्यो धार छाड्ने पुरानै प्रवृत्तिले निरन्तरता पाउला ?

प्रकाशित: वैशाख २३, २०७५

ट्याग: कांग्रेस