आवेगमा अपराध

सुन्दा पनि आङ सिरिंग हुने यस्ता आततायी घटना हाम्रो समाजका कठोर यथार्थ बनिरहेका छन् । आमबुझाइ छ– तीव्र यौन चाहना पूरा गर्न बलात्कार हुन्छ भने ठूलो रिसइवी, प्रतिशोध र स्वार्थपूर्तिका लागि हत्या । हरेक अपराधका पछाडि खास उद्देश्य अर्थात् ‘मोटिभ फ्याक्टर’ हुन्छ । तर, आठ महिनाकी आफ्नै छोरी वा ७७ वर्षकी अशक्त वृद्धालाई बलात्कार गरेर यौन सन्तुष्टि मिल्छ ? अनि, सहोदर छोरी र कलिला नातिनी, दाजुका निर्दोष सन्तान मारेर के मिल्छ ? उनीहरूको ज्यानै लिनुपर्ने त्यत्रो भयंकर प्रतिशोध के थियो ?

- गोकर्ण गौतम

  • दक्षिणीपूर्वी इलामस्थित रोङ गाउँपालिका–१, कटहरेकी ७७ वर्षीया वृद्धालाई बाथको समस्या थियो । १६ वैशाखमा साँझ खाना खाएर उनका पति र छोरा घरमा गएर सुते । वृद्धा भान्साघरमै सुतिन् । राती ११ बजे छोराले आमा चिच्याएको आवाज सुने । दौडिँदै भान्साघर पुग्दा अशक्त आमा बलात्कारीको पञ्जामा थिइन् । ओछ्यान रगतले लत्पतिएको थियो । छोराले ढोका खोल्नासाथ बलात्कारमा संलग्न मान्छे भाग्यो । उसले चिच्याउन थालेपछि वृद्धाको जिब्रोसमेत चुडेर फाल्ने प्रयास गरेछ । बलात्कृत वृद्धाको झापामा उपचार भइरहेको छ । दोषीको अत्तोपत्तो छैन ।
  •  चैत पहिलो साता नवलपरासी, बर्दघाट सुस्तापूर्व गैँडाकोट नगरपालिकामा आठमहिने छोरी घरमा छाडेर आमा ज्यामी काम गर्न गएकी थिइन् । घरमा फर्कंदा शिशुको शरीरभरि रगतै–रगत । बोली पनि नफुटेकी अबोध छोरीलाई बलात्कार गरेको आरोपमा ३० वर्षीय बाबु पक्राउ परेका छन् । त्यतिबेला उनी रक्सीले मातेका थिए ।
  •  रोल्पा त्रिवेणी–२, नुवागाउँका २१ वर्षीय खर्कबहादुर विश्वकर्माका दाइ नाता पर्ने गणेश विकसँग घरायसी विवाद थियो । गणेशका ५ वर्षीय छोरा प्रेम र ३ वर्षकी छोरी वसन्ती आँगनमा खेलिरहेका थिए । चैत तेस्रो साता एक्कासि खर्कबहादुरले प्रेम र वसन्तीमाथि बन्चरो प्रहार गरे, दुवैको ज्यान गयो ।
  •  रोल्पा नगरपालिका–७, गोरबोटका ४३ वर्षीय लीलबहादुर पुन बिरामी थिए । उनलाई भेट्न २५ वर्षीया छोरी पार्वती केसी माइत आइन् । पार्वतीसँगै मावल आएका थिए, दुई छोरी दीया र नीया । घरभित्र बसिरहेका बेला लीलबहादुरले एक्कासि बन्चरोले हाने । घरभित्रै छोरी र दुई नातिनीको ज्यान गयो । हत्या हुँदा दीया दुई वर्ष र नीया सात महिनाकी थिइन् । गत वर्ष कात्तिकको घटना हो यो ।

सुन्दा पनि आङ सिरिंग हुने यस्ता आततायी घटना हाम्रो समाजका कठोर यथार्थ बनिरहेका छन् । आमबुझाइ छ– तीव्र यौन चाहना पूरा गर्न बलात्कार हुन्छ भने ठूलो रिसइवी, प्रतिशोध र स्वार्थपूर्तिका लागि हत्या । हरेक अपराधका पछाडि खास उद्देश्य अर्थात् ‘मोटिभ फ्याक्टर’ हुन्छ । तर, आठ महिनाकी आफ्नै छोरी वा ७७ वर्षकी अशक्त वृद्धालाई बलात्कार गरेर यौन सन्तुष्टि मिल्छ ? अनि, सहोदर छोरी र कलिला नातिनी, दाजुका निर्दोष सन्तान मारेर के मिल्छ ? उनीहरूको ज्यानै लिनुपर्ने त्यत्रो भयंकर प्रतिशोध के थियो ?

परम्परागत दृष्टिबाट हेर्दा न बलात्कारीको चाह पूरा भयो, न त त्यस्तो जघन्य हत्या गर्नुपर्ने खास कारण नै थियो । अर्थात्, हामी सजिलैसँग भनिदिन्छौँ, तुफानी आवेग र आक्रोशले यस्ता घटना हुन्छन् । मनोविद् करुणा कुँवर भन्छिन्, “हाम्रो यो बुझाइमै समस्या छ । त्यहाँ बलात्कार गर्नेको पनि चाह पूरा भएको छ । हत्या पनि आवेगमा मात्र भएको होइन । हत्या गर्ने अवस्थासम्म आइपुग्न लामो पृष्ठभूमिले काम गरेको हुन्छ । हत्या त देखिएको परिणाम मात्र हो ।”

कम प्राथमिकता

जब योजनाबद्ध ढंगले कसैको हत्या हुन्छ, प्रहरी प्रशासनदेखि समाजका हरेक तहले गम्भीरतापूर्वक लिन्छन् । दोषीलाई पक्रन प्रहरी संयन्त्र नै परिचालित हुन्छ । छानबिन समिति गठन हुन्छ । कतिपय घटनालाई ‘ग्ल्यामराइज’ नै गरिन्छ । तर, उल्लिखित प्रकृतिका हत्यालाई प्रशासनले मात्र होइन, समाजले नै हल्का ढंगले लिन्छ । एक–दुई दिन चर्चामा आउँछ, त्यत्तिकै सेलाउँछ । घटनाले समुदायमा पारेको दीर्घकालीन असर, पीडकको मनोविज्ञान, सजायजस्ता पक्षले प्राथमिकता पाउँदैन । संगठित अपराधभन्दा सूक्ष्म तहमा रहेका यस्ता घटना र आपराधिक मनोवृत्ति अझ घातक हुन्छन् । नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, “संगठित अपराध रोक्न सकिन्छ । अनुसन्धानबाट अपराधी किटान गर्न सकिन्छ । तर, घर–घरमा हुने अपराध नियन्त्रण गर्न मुस्किल छ । कसले, कहाँ, कतिबेला के गर्छ भन्ने नै टुंगो हुन्न ।”

मल्ल सुरक्षा निकायले मात्र यस्ता घटना रोक्न नसक्ने बताउँछन् । कारण, व्यावसायिक अपराधी औँलामा गन्न सकिन्छ तर बिनाउद्देश्य आवेगात्मक अपराध गर्नेलाई निगरानीमा राख्ने कुनै संयन्त्र नभएको बताउँछन् उनी ।

अबोध बालिका कतै आफ्नै बाबु वा नातेदारबाट सामूहिक बलात्कारको सिकार हुन्छन्, ओछ्यानमा थलिएका वृद्धा, सुस्त मनस्थिति वा मानसिक सन्तुलन गुमाएकालाई बलात्कार गरिएका घटना सार्वजनिक भइरहेका छन् । यस्ता अति घृणित स्वरूप देखिन थालेकाले वयस्कले वयस्कलाई गर्ने बलात्कारले आममानिसलाई घोच्न छाडेको मनोविद् कुँवरको अनुभव छ । बलात्कारको सिकार भएका युवतीलाई परामर्श दिँदै आएकी कुँवर भन्छिन्, “यसले समाजमा नजानिँदो पाराले मौलाइरहेको क्रूर र हिंस्रक मनोवृत्तिलाई संकेत गर्छ ।”

अझ पछिल्ला घटनाले त बलात्कारका लागि बच्चा, सुस्त मनस्थिति, बिरामी र वृद्धालाई रोज्ने प्रवृत्तिले तीव्रता पाएको छ । नेपाल प्रहरीको महिला बालबालिका निर्देशनालयकी प्रहरी नायब उपरीक्षक (डीएसपी) तारा थापाका अनुसार यस्ता व्यक्तिले प्रत्याक्रमण र होहल्ला गर्न सक्दैनन् । अनि, अपराधीले प्रमाण मेटाउन पर्याप्त समय पाउँछन् । थापा भन्छिन्, “बुबा विदेश जाँदा आमालाई, माया गरेझैँ गरेर बच्चालाई, बोल्न नसक्ने र सडकमा बस्न बाध्य अबला महिलामाथि बलात्कार गरिएका देखिन्छन् ।”

हत्याका घटना त जति लुकाउन खोजे पनि बाहिर आउँछन्, दोषीले सजाय पाउँछन्, पीडितले न्याय । तर, बलात्कारका घटना भित्रभित्रै दबाइन्छन् । अझ परिवार वा आफन्तबाट हुने बलात्कार र यौन दुव्र्यवहार पीडित पक्षले नै बाहिर ल्याउन चाहँदैनन् । थापा भन्छिन्, “इज्जतको डरले बलात्कारीलाई ढाकछोप गरिन्छ । जसबाट उसलाई फेरि अपराध गर्न प्रश्रय मिल्छ ।”

मान्छेको सबैभन्दा ठूलो संरक्षक परिवार हो । त्यसपछि समाज र समुदाय । तर, परिवारभित्रै बलात्कार हुन्छ, हत्या गरिन्छ । समाजसम्म त्यो कुरा आइपुग्दैन, आए पनि ढाकछोप गरिन्छ वा समाजबाटै असुरक्षा हुन्छ । यस्ता घटनालाई सामान्यीकरण गरेर निष्कर्षमा पुग्न सकिन्न । मानवशास्त्री सुरेश ढकाल यसलाई असामान्य व्यक्तिको असामान्य व्यवहार मान्छन् । भन्छन्, “मानवशास्त्रको भाषामा डेभियन्ट केस हो । दिमागी रसायन नमिलेपछि वा दमित इच्छाहरू अभिव्यक्त गर्न नसकेपछि यस्ता विकृत व्यवहार देखा पर्छन् ।” ढकालकै शब्दमा, बरू आत्महत्याको कारण पत्ता लगाउन सकिन्छ । तर, यस्तो आपराधिक पागलपनसम्म मान्छे कसरी पुग्छ, ठम्याउन गाह्रो पर्छ ।

गत वर्षको फागुन तेस्रो साता मोरङबाट नमीठो खबर बाहिरियो । मिक्लाजुङ–७ मा सुस्त मनस्थितिकी ४५ वर्षीया शान्तिकुमारी तामाङको बलात्कारपछि हत्या भयो । शारीरिक सम्पर्क गर्न राजी नभएपछि ढुंगाले हानिएको, मादक पदार्थ खुवाइएको र पैनीमा लछारपछार गरेर फालिएको प्रहरी अनुसन्धानमा खुल्यो । तीन महिनाअगाडि मोरङ उर्लाबारी–४, बक्राहामा एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा चार युवक पक्राउ परे । १३ चैतमा खोटाङ, दिक्तेल ससुराली घरमा बस्दै आएका हलेसी, तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले पत्नी आइसरीको हत्या गरे, सामान्य घरायसी विवादमा । अपराधशास्त्री माधवप्रसाद आचार्य भन्छन्, “चारैतिर अनेक प्रकृतिका यस्ता आपराधिक प्रवृत्ति बढिरहेका छन् । तर, त्यस्तो कुकर्म गर्ने अवस्थामा व्यक्ति किन पुग्छ, कहिल्यै अध्ययन–अनुसन्धान हुँदैन । हामी घटनाबाट पाठ सिक्दैनौँ, बेवास्ता मात्र गर्छौं ।”

किन बढ्दै छ ?

संक्रमणकालीन समाजमा क्षणिक आवेगमा गम्भीर प्रकृतिका अपराध हुन्छन् । चाहे त्यो हत्या होस् वा बलात्कार । कारण, संक्रमणकालीन समाजमा स्रोत–साधन सीमित हुन्छ, प्रतिस्पर्धाचाहिँ अस्वस्थ । मान्छेका आवश्यकता पूर्ति हुँदैनन् । तनाव बढेसँगै त्यसको सीधा असर व्यवहारमा पर्छ । ठ्याक्कै यही नियति भोगिरहेको छ, नेपाली समाजले । मनोविज्ञका अनुसार माओवादी सशस्त्र द्वन्द्वअगाडि यस्ता घटना कम हुन्थे । द्वन्द्वले आपराधिक मनोवृत्ति बढायो । जस्तो : माथि उद्धृत रोल्पाका दुई हत्याकाण्डका अभियुक्तलाई नियालौँ । एक छोरी र दुई नातिनीको हत्या गर्ने लीलबहादुर ‘अयोग्य’ लडाकू हुन् । त्यसयता उनी ‘डिप्रेसन’मा थिए, स–सानो निहुँमा पनि आक्रोशित हुन्थे । त्यस्तै, नातेदार पर्ने दुई बच्चाको ज्यान लिने खर्कबहादुर केही समयअघि राजधानीमा चोरी काण्डमा पक्राउ परे । छुटेपछि मादक पदार्थको लतमा भासिए । उनमा पनि आवेग अत्यधिक थियो । पूर्वडीआईजी मल्ल भन्छन्, “अपराध सामान्य हो, अपराध गरे पनि उन्मुक्ति पाइन्छ भन्ने गलत सोच मौलायो । सहनशीलता घट्दाको परिणाम हाम्रै सामु छ ।”

उचित अभिभावकत्व र प्रेम नपाउनु नकारात्मक सोच र व्यवहार विकास हुनुको अर्को कारण हो । धेरै अभिभावक पैसा कमाउने लालसामा परदेसिएका छन् । परिवारको आत्मीयता खुकुलो भएको छ । सामाजिकीकरणमा अनेक उल्झन भोग्नुपरेको हुन्छ । त्यसको प्रत्यक्ष असर व्यक्तिको व्यवहारमा पर्छ । मनोविद् कुँवर भन्छिन्, “जो आफैँ दमित छ, सम्मान पाएको हुँदैन । उसमा अधिक आक्रोश मात्र होइन, बदला र प्रतिशोधको भाव जन्मिने हुँदा पत्तै नपाई अपराधमा धकेलिन्छ ।”

तीव्र सामाजिक, राजनीतिक, वातावरणीय र प्रविधिकै परिवर्तनले पनि मानिसलाई अलमलमा पारेको छ । जीवनमा ‘कन्फ्युजन’ बढेको छ, समाजमा अस्तव्यस्तता । जसको दीर्घकालीन असर व्यवहारमा देखिन थालेको छ । अर्थात्, अति झिनो कारणले डरलाग्दा अपराध हुन थालेका छन् । कतिपयले घटनापछि पश्चात्ताप त गर्छन् तर समय घर्किसकेको हुन्छ ।

परामर्श र सचेतनाको खाँचो

अपराध कसरी रोक्न सकिन्छ ? अधिकांशको जवाफ एउटै हुन्छ, सजाय । तर, सजायले मात्र सूक्ष्म तहका अवरोध र मनोवृत्ति रोक्न/निमिट्यान्न पार्न सम्भव छ ? यही प्रश्न विज्ञलाई सोध्दा एउटै जवाफ आउँछ, छैन । त्यसो भए, उत्तम विकल्प के त ? मानवशास्त्री, अपराधशास्त्री, मनोविज्ञ र प्रहरी अधिकारीसम्मको साझा उत्तर आउँछ, परामर्श । सजाय त छँदैछ । दुर्भाग्य † हामीकहाँ मनोवैज्ञानिक परामर्श र सचेतनामूलक कार्यक्रम शून्यजस्तै छन् ।

सजायले मात्र बलात्कार रोक्न र व्यक्तिलाई सुधार्न सम्भव नहुने कुँवरको जिकिर छ ।

यसका लागि एउटा घटना सुनाउँछिन् । झन्डै एक वर्षअगाडि काठमाडौँको सिनामंगलमा ‘मर्निङ वाक’ हिँड्नेले एउटी बच्चीलाई रगतपच्छे अवस्थामा भेटे । अस्पताल लगेपछि थाहा भयो, उनलाई बलात्कार गरेर फालिएको रहेछ ।

बच्चीकी आमा यौनकर्मी रहिछिन्, पक्राउ परेका पुरुषचाहिँ उनका नियमित ग्राहक । एक दिन महिलाको घर गए, आमा थिइनन्, बच्ची मात्र । त्यही मौकामा बच्चीलाई यौन शोषण गरे । मरेको ठानेर फालेर हिँडे । अनुसन्धानका क्रममा यति मात्र पत्ता लागेन, ती पुरुष बलात्कारकै मुद्दामा ६ वर्ष जेल बसेर छुटेको महिना दिन पनि बितेको रहेनछ । कुँवरको प्रश्न छ, “सजाय पर्याप्त हुँदो त त्यति लामो समय जेल बसेको मान्छे फर्किनासाथ उही कुकर्म किन दोहोर्‍याउँथ्यो ?” अर्थात्, सतहमा आवेग र आक्रोश देखिए पनि खासमा मानसिक समस्याकै परिणाम हुन्, बर्बर बलात्कार र निर्मम हत्या । त्यसैले निदानका लागि पनि मनोवैज्ञानिक उपचार विधि नै अपनाउनुपर्छ ।

हामीकहाँ नयाँ किसिमका डरलाग्दा र आवेशजन्य अपराधका बारेमा बृहत् अध्ययन गर्ने न जनशक्ति छ, न त स्रोत–साधन । यस प्रकृतिका अपराधलाई पनि सामान्य र परम्परागत ढंगले ‘ट्रिट’ गरिन्छ । दोषीलाई पक्रने, उसलाई गर्ने व्यवहार र सजायमा केही भिन्नता हुन्न । जबकि, उसको आपराधिक पृष्ठभूमि र कारण अलग हुन्छ । पूर्वडीआईजी मल्ल भन्छन्, “यस्ता व्यक्तिलाई जेलमा रहुन्जेल मात्र होइन, निस्केपछि पनि राज्यले निगरानीमा राख्नुपर्छ । परामर्शको व्यवस्था गर्नुपर्छ ।”

विकसित मुलुकमा अपराधीलाई सत्मार्गमा हिँडाउन सरकारले प्रभावकारी परामर्श दिए पनि हामीकहाँ यस्तो अभ्यास छैन । सोही कारण पटके अपराधीहरूको बाहुल्य छ । अपराधीमाथिको निगरानी नै फितलो छ भने अपराध गर्नुअघिका उसका व्यवहार कसले नियालोस् ?

अपराधशास्त्री आचार्य भन्छन्, “हरेक व्यक्तिले एकैपटक अपराध गर्ने होइन । त्यसका लागि विगतदेखि नै माहोल बनेको हुन्छ । पटक–पटक त्यस्ता व्यवहार गरिरहेको हुन्छ । तर, अरूले ख्यालै गर्दैनन् ।”

सार्वजनिक लज्जाबोध पनि अपराधतिर लम्कन नदिने अस्त्र बन्ने मानवशास्त्री ढकाल बताउँछन् । तर, हामीकहाँ असामान्य वा नकारात्मक व्यवहार देखेपछि नजिकका व्यक्तिले मनोपरामर्शदाताकहाँ पुर्‍याउने संस्कारको पनि अभाव छ ।

(साथमा, काशीराम डाँगी/रोल्पा)

सजाय हदै होइन, छिटै

माधवप्रसाद आचार्य, अपराधशास्त्री

हरेक व्यक्तिको आचरणमा शिक्षा, सामाजिकीकरण, धर्म–संस्कृति अनि राष्ट्रिय/अन्तर्राष्ट्रिय घटनाक्रमको प्रभाव हुन्छ । द्वन्द्वका कारण ०५२ देखि ०६२ सम्म सामाजिक विशृंखलता देखापर्‍यो । लहलहैमा हजारौँको ज्यान गुम्यो । छाडापन र महत्त्वाकांक्षा बढ्यो । नैतिकता र सदाचार हरायो । बलात्कार र हत्या यसैको परिणाम हो ।

द्वन्द्व बिसाइए पनि सपना पूरा भएनन् । हिंसा गर्नै नहुने काम होइन रहेछ, बरू हिंसा गर्दा संरक्षण मिल्छ भन्ने सोचको विकास भयो । अहिले हरेक बलात्कारी र हत्यारालाई कहीँ न कहीँबाट संरक्षण छ । घरघरमा हुने अपराध अझ डरलाग्दो हुन्छ । बाहिर ल्याउँदा समस्या हुने भएकाले भित्रै विकृति बढ्छ । तर, मिडियामा आउने खबर र वास्तविक अपराधमा धेरै अन्तर हुन्छ । प्रहरीसम्म नआएका अपराध त समुद्रमा तैरिएको हिमशिलाजस्तै हो, थोरै मात्र देखिने । हत्या त जसोतसो बाहिर आउला, यौन हिंसा र बलात्कार भित्रभित्रै दन्किरहेको हुन्छ ।

पहिले–पहिले पनि छाडापन नभएको होइन तर मास मिडिया थिएन । समाजमा दबाइन्थ्यो । कुना–कन्दरामा भएको घटना थाहा हुँदैनथ्यो । अहिले रिपोर्ट गर्नुपर्छ भन्ने सजगता आउनु सकारात्मक हो । अपराध फेरि हुन नदिन घर–घरमा सचेतना बढाउनुपर्छ । ग्रामीण समाजमा बालबालिकामाथि यौन सजायको सचेतना हुनुपर्छ । सजाय कम भयो, त्यसैले अपराध बढ्यो भन्छन् मान्छे । यो त ‘ले म्यान थिङकिङ’ हो । वास्तवमा सजाय थोरै भएर अपराध बढेको होइन । एक त, अपराध नहुने माहोल बनाउनुपर्छ । भइहाले पनि छिटो कारबाही गर्ने प्रणाली विकास गर्नुपर्छ । छिटो–छरितो अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउँदा थोरै सजाय भए पनि प्रभावकारी हुन्छ ।

बलात्कारको केसलाई ‘फास्ट ट्रयाक’बाट किनारा लगाउनुपर्छ । घुम्ती अदालतको व्यवस्था गर्नुपर्छ, जहाँ घटना भयो, त्यहीँ अस्थायी मुकाम बनाएर अनुसन्धान गर्ने अनि दोषीलाई सजाय दिने । कसुर गर्दा दण्ड हुन्छ भन्ने छाप बस्नुपर्छ । जे होस्, उन्मुक्ति दिनुभएन ।

प्रकाशित: वैशाख २३, २०७५