स्वास्थ्य सेवामा मेडिकल ड्रोन

- नेपाल संवाददाता

महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रले बनाएका मेडिकल ड्रोनलाई नेपालका विकट गाउँमा औषधि तथा अन्य चिकित्सा सामग्री ओसारपसार गर्न प्रयोगमा ल्याइसकिएको छ । अहिले प्रारम्भिक चरणमा यी ड्रोन दुई किलोमिटरसम्म एक किलो सामान लिएर उड्न सक्छन् । आविष्कार केन्द्र यिनको क्षमता बढाउने कार्यमा लागेको छ ।

नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पर्याप्त छैन । रोग लागेका बेला त्यहाँका मानिस घन्टौँ हिँडेर स्वास्थ्य–केन्द्र जान बाध्य छन् । यस्तो अवस्थामा मेडिकल ड्रोन अत्यन्तै उपयोगी हुने महावीर पुन बताउँछन् । दक्ष जनशक्ति देशमै बसेर केही गर्न सके यहाँका प्रत्येक दुर्गम गाउँका मुहार फेरिने उनी बताउँछन् ।

नेपालका कति ठाउँमा त्यहाँका सुरक्षालाई ध्यानमा राखी ड्रोन प्रयोगमा प्रतिबन्ध लगाइएको छ । त्यसैले आवश्यक परेका कति स्थानमा मेडिकल ड्रोन पुग्न सकेका छैनन् । जापान टाइम्सले उल्लेख गरेको छ, ‘राष्ट्रिय आविष्कार केन्द्रले सरकारसँग अनुमति लिई देशका सबै दुर्गम ठाउँमा मेडिकल ड्रोन उडाउन सके अझ धेरै जनता यसबाट लाभान्वित हुनेछन् ।’

प्रकाशित: वैशाख २३, २०७५

ट्याग: विदेशबाट