मौलिक कथा, छिपछिपे प्रस्तुति [फिल्म समीक्षा : डमरुको डन्डीबियो]

अघिल्ला दुई फिल्ममा खगेन्द्रको स्क्रिप्टभन्दा निर्देशन कमजोर लाग्थ्यो, यसपटक उल्टो । कथावाचनमा सिर्जनशीलताको ह्रास र पुनरुक्ति भएको छ ।

- गोकर्ण गौतम

लोकल कथालाई मन छुने ढंगबाट पस्कने ‘ब्रान्ड’ बनेको छ, खगेन्द्र लामिछानेको । त्यसको सबभन्दा बलियो उदाहरण हो, पशुपतिप्रसाद । त्यसअगाडि टलकजंग भर्सेज टुल्केको लेखन र अभिनयबाट प्रशंसा कमाए । धनपतिमा जेनतेन साख जोगियो । नयाँ फिल्म डमरुको डन्डीबियोमा पनि खगेन्द्र कथा छनोटमा आफ्नो ‘ट्रयाक’भन्दा बाहिर गएका छैनन् । नामबाटै प्रस्ट हुन्छ, फिल्म डन्डीबियोमा केन्द्रित छ । ग्रामीण भेगमा कुनै समय औधी लोकप्रिय यो खेल अहिले करिब लोप भएको छ । नयाँ पुस्तालाई त डन्डीबियो किस्सा नै लाग्ला । तर, बिर्सिएको खेलप्रति लेखक/अभिनेता खगेन्द्र र निर्देशक छेतन गुरुङले प्रेम जो दर्शाए ।

भन्नै परेन, फिल्ममा स्थानीयपनको सुगन्ध छ । त्यसमाथि हामीकहाँ ‘स्पोर्ट्स ड्रामा’ असाध्यै कम बन्छन् । तर, यत्ति गुणले मात्र फिल्मलाई जीवन्त नबनाउँदो रहेछ । डमरुको डन्डीबियो त्यसको प्रमाण हो । पात्रबीचको द्वन्द्व र संघर्षको चरम अभाव छ । डन्डीबियोप्रति मूल पात्रकै आशक्ति स्थापित छैन । पर्दामा देखाउन खोजिएको ‘इमोसन’ दर्शकसम्म प्रवाह हुन्न । भलै, विषयको उठानले फिल्मप्रति नम्रभाव पैदा हुन्छ ।

हेडमास्टर योगेन्द्र (अनुप बराल)को छोरो डम्बर (खगेन्द्र) स्नातकोत्तर सकेर गाउँ फर्कन्छ, डन्डीबियोलाई ‘रिभाइभ’ गर्ने उद्देश्य बोकेर । तर, योगेन्द्रलाई फिटिक्कै मन पर्दैन । न त उसकी प्रेमिका माला (मेनुका प्रधान) र अन्य गाउँलेलाई नै । तैपनि, डन्डीबियो खेल्न र अरूलाई खेलाउन मरिमेटेर लाग्छ । कुनै ‘ग्ल्यामर’ नभएको यस खेललाई पुन:स्थापित गर्ने डम्बरको अभिलाषा पूरा होला ? कति ठक्कर खानु पर्ला ? यस्तै सवालका जवाफसँगै फिल्म तमाम हुन्छ ।

फिल्ममा डन्डीबियो राष्ट्रिय खेल थियो भनेर चित्रित गरिएको छ । तर, औपचारिक रूपमा कहिल्यै घोषणा गरिएको थिएन । जनमानसमा चाहिँ राष्ट्रिय खेल नै हो भन्ने छाप जरुर थियो । त्यसैले लेखकले यति ‘लिबर्टी’ लिन सक्छन् । गाउँ फर्किएपछि टिम बनाउन डम्बरले गर्ने कसरत, बाबु–छोराको सुरुआती रस्साकसी र योगेन्द्रको डन्डीबियोप्रतिको वितृष्णा विश्वसनीय लाग्छ । तर, बिस्तारै अविश्सनीय घटनाहरूको दबदबा बढ्दै जान्छ, खासगरी बाबु र छोराको ‘म्याच’पछि ।

यद्यपि, कथामा नयाँपन छ, पात्र पनि हाम्रै वरपरका छन् तर फिल्मको समग्र संरचना भने परम्परागत हो । मुख्य पात्रको समीकरण, खेलप्रतिको प्रेम र घृणाको कारण, खेलाडीको मनोविज्ञानजस्ता पक्ष ‘स्पोर्ट्स ड्रामा’का पारखीलाई रत्तिभर नवीन लाग्दैन । डन्डीबियो खेल बुझ्न चाहनेका लागि गतिलो दस्तावेज हुन सक्ने सुखद सम्भावनाबाट फिल्म विमुख छ ।

मध्यान्तरपछि फिल्म अझ खुकुलो हुँदै जान्छ । भनिन्छ, पात्रहरूबीच जति टकराव र समस्या हुन सक्यो, फिल्मप्रति त्यति उत्साह पैदा हुन्छ तर यस फिल्ममा पात्रलाई विशिष्ट अर्थ राख्ने घटनाहरू पनि सजिलै घट्छन् । युट्युबको प्रसंग त्यस्तैमध्ये एक हो । डम्बरको टिमलाई माया गर्नुपर्ने अनि अन्य टिमको विपक्षमा हुनुपर्ने माहौल बन्दैन । मध्यान्तरपछि लगातार आधा घन्टा डन्डीबियोको प्रतिस्पर्धा देखाइन्छ तर त्यस अवधिमा ‘ड्रामा’ थोरै मात्र छ । नघुमाई भन्दा, अघिल्ला दुई फिल्ममा खगेन्द्रको पटकथाभन्दा निर्देशन कमजोर लाग्थ्यो, यसपटक उल्टो । कथावाचनमा सिर्जनशीलताको ह्रास र पुनरुक्ति देखिएको छ । बरू, प्राप्त पटकथालाई दृश्यांकन गर्न निर्देशक छेतनले सक्दो जोडबल गरेका छन् । खेलको विशेषता अनुसार जुरुक्क उठाउने कोरियोग्राफी चाहिँ खट्कन्छ ।

पछिल्लो समय सस्ता जोक्स र ट्रोलमा निर्भर रहेर फिल्म बनाउने प्रवृत्ति मौलाइरहेको छ । डमरुको डन्डीबियो यो हुलमा पर्दैन । कमेडी छ तर कथा, पात्र र सन्दर्भ सुहाउँदो । कतिपय संवाद चोटिला र झर्रा छन् । कथा भन्नुको पछाडिको नियत बिकाउ छैन । पात्रको हुलिया, बोल्ने शैली, गाउँको परिवेशमा सजकता अपनाइएको छ । अर्को प्रशंसनीय पक्ष, सिनेमाटोग्राफी हो । हरि हुमागार्इंको खिचाइले दृश्यको भावलाई बलियो बनाएको छ । गाउँको सुन्दरता मनोरम ढंगले कैद गरिएको छ । पाश्र्व संगीतले पनि ध्यान तान्छ ।

खगेन्द्रको चरित्रको सार अघिल्ला फिल्मभन्दा अलग र विशेष नभए पनि पट्यार लागिहाल्दैन । तर, उनले आफ्नो चरित्रको प्रकृति, अभिनय र लेखनशैलीमा आत्मविश्लेषण गर्नुपर्ने बेला आइसकेको छ । अनुप बराल स्वाभाविक नै लाग्छन् । आशान्त शर्मा फरक छन्, सँगै ‘लाउड’ पनि । मेनुका प्रधान, लक्ष्मी बर्देवा, अंकित खड्कालगायतका कलाकार पनि आफ्नो भूमिकामा फिट छन् । खगेन्द्र र छेतनले डन्डीबियो खेल्न त खेले तर आलोकाँचो हिसाबले, अभ्यास पुगेन । परिणाम, यो फिल्मले हराइसकेको खेल डन्डीबियोलाई सम्झाउँछ तर उतिविघ्न प्रेम जगाउँदैन ।

रसिलो र कसिलो फिल्मको प्यास डमरुको डन्डीबियोले छिपछिपे मात्र बनाउँछ, आँत भरिँदैन । उही क्या, हेर्दा नबिग्रने, नहेर्दा नछुट्ने ।

प्रकाशित: वैशाख २१, २०७५