नोटबुक

- माधव बस्नेत

बन्दुकप्रिय मनोविज्ञान

फागुन तेस्रो साता गाउँ पुगेको भोलिपल्ट दूधकौशिका गाउँपालिका–२ मा पर्ने ढुंगेबाट साबिक कांगेल र नेलेलाई लक्षित गरेर निकाल्न लागिएको लघु जलविद्युत् आयोजना अवलोकनका लागि उपभोक्ता समितिका अध्यक्ष हुत्तराज बस्नेतलगायतले आग्रह गरे । शरीर थाकेकै भए पनि उहाँहरुको आग्रहलाई टार्न सकिनँ । किनभने, गाउँमा विकासका लागि हुँदै गरेको पहल हेर्नु थियो । आयोजनास्थल जाँदै गर्दा पञ्चनभन्ज्याङभन्दा केही तल सडक छेउमा अनौठा दृश्य देखिए । ती दृश्य द्वन्द्वकालीन झल्को दिने खालका थिए । ५ मंसिर ०६३ मा माओवादीका लडाकूहरु शिविरमा बस्नुपूर्व ग्रामीण क्षेत्रमा यस्ता दृश्य सामान्य लाग्थे । त्यसबेला छापामारका हातमा लामा–छोटा हतियार हुन्थे । तर, यसबेला न औपचारिक रुपमा कुनै युद्ध भइरहेको थियो, न त सेना–प्रहरीको तालिमस्थल नै थियो त्यो ठाउँ ।

गाडी रोक्न लगाएर हेर्दा थाहा भयो, १२–१४ वर्ष नकाटेका बालबालिका नक्कली एके–४७, एसएलआर बोकेर खेलेका रहेछन् । सन्तानले खेलौना–बन्दुकको चर्को माग गरेपछि उनीहरुका अभिभावकले काठमाडौँ–विराटनगरलगायत सहरबाट ती ‘नक्कली हतियार’ आपूिर्त गर्दा रहेछन् । त्यो घटना मेरो मानसपटलबाट हटिसकेको थियो । तर, त्यसको चार दिनपछि सदरमुकाम नजिकको गार्मामा पनि उस्तै दृश्य देखियो । सीमान्त बस्तीमा रहेका बाबु–नानीहरुमा देखिएको बन्दुक मोहले दुई प्रश्न उठाउँछ । पहिलो, बन्दुकसँग खेल्ने लत कसरी पस्यो ? दोस्रो, यो लतले समाजलाई कता धकेल्दै छ ? यसको मनोविज्ञान बुझ्न एकपटक सशस्त्र द्वन्द्वतिर फर्कनुपर्ने हुन्छ । माओवादी द्वन्द्व त सकियो । तर, त्यसले निम्त्याएको हतियार–मोह, मनोवैज्ञानिक, सामाजिक, आर्थिक प्रभावहरु अझै सेलाइसकेका छैनन् । त्यसैको परिणाम कलिला बालबालिका बन्दुक मोहमा छन् । यसले बालबालिकालाई कता धकेल्ला ? गाउँ–गाउँमा परामर्शको खाँचो देखिँदैछ ।

प्याकेजवाला प्यार

पछिल्ला वर्षमा मुलुकमा शिक्षित प्रतिशत बढेको छ । शैक्षिक स्तर बढेसँगै चेतना स्तर पनि बढ्नुपर्ने हो । गाउँ–गाउँमा बालविवाह, घर भाँड्ने विवाहको मात्रा घट्नुपर्ने थियो । तर, प्रमाणपत्र हातमा बोकेको शिक्षाले मात्र चेतना, संस्कृति, संस्कारको बढोत्तरी नगर्दो रहेछ । शैक्षिक स्तरसँगै सञ्चार प्रविधिको समेत विकास भएकाले पनि हुन सक्छ, गाउँमा उल्टो संस्कृति विकास भइरहेको । शिक्षा र सञ्चारको अवस्था कमजोर रहेका बेलामा बाबु–आमाकै सहमतिमा बालविवाह हुने गरेकामा अहिले केटाकेटीकै ‘मगनी–भगनी’मा यस्तो विवाह हुने क्रम बढ्दैछ ।

मोबाइल सेवाप्रदायक कम्पनीले राती ८ बजेपछि कल संवाद, भ्वाइस म्यासेज, इन्टरनेट प्याकेजमा भारी छुट दिएका छन् । मानवीय लोभ वा स्वभाव नै हो, पाएको फाइदा लिएरै छाड्ने । फाइदा उठाउने क्रममा अनियन्त्रित प्रवृत्तिले बढोत्तरी पाउँदा प्राय: परिवारमा कलह बढिरहेको छ । गाउँघरमा मानिसहरु ८ बजेभित्र ओछ्यानमा पुगिसक्छन् । बूढाबूढी त निदाउने नै भए । तर, तन्नेरीहरुलाई यस्तो प्याकेजले लोभ्याएको रहेछ ।

फाइदा उठाउने क्रममा चिनेका हुन् वा नचिनेका– युवक/युवतीबीच रातभर संवाद हुने रहेछ । यही संवाद बढोत्तरी हुँदै जाँदा १८–२० नपुग्दै विद्यालय, उद्देश्य सबै लथालिंग छाडेर उनीहरु घरजममा जुट्दा रहेछन् । विवाह त गर्छन् । तर, जब यथार्थको धरातल टेक्न पुग्छन्, उनीहरुसँग पश्चात्तापबाहेक विकल्प केही हुँदैन । वैदेशिक रोजगारीमा जानेहरुको परिवारमा पनि उही समस्या रहेछ । ‘ प्याकेज उपहार’ले गाउँ–गाउँमा घरबार बिग्रिएको गुनासो सेवाप्रदायक कम्पनीलाई आएको छ कि छैन कुन्नि ! आएको छैन भने पनि अनुगमन गरेर सम्बन्धित निकायले यस्ता प्याकेज रोक्ने हो कि !

यता पनि ठेक्का

राजमार्गमा च्याउसरी खुलेका होटल/रेस्टुराँले बासी, गुणस्तरहीन र प्रदूषित खाजा/खाना खुवाउँछन् भनेर लाग्ने गरेको आरोप पुरानै हो । यस्तै आरोपको चाङ बढेपछि ०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मुग्लिनका होटलको अनुगमन गरेर गुणस्तर बढाउन निर्देशन नै दिएका थिए । त्यो निर्देशन कति कार्यान्वयन भयो ? आफ्नै ठाउँमा होला । यो आरोपबाट बनेपा–सिन्धुली–घुर्मी–ओखलढुंगा ‘रुट’ भने एक हदसम्म मुक्त थियो । ताजा र स्वच्छ खाजा/खाना त्यस रुटको चिनारी बन्दै गएको थियो । तर, पछिल्लो पटकको यात्राबाट के प्रमाणित भयो भने रुटमा पनि खाजा/खाना खुवाउन ठेक्का सुरु भइसकेछ ।

ठेक्का अनुसार त्यस सडकमा टाटा सुमो, गाडी चलाउने चालकलाई आकर्षक योजना दिने र यात्रुलाई निश्चित होटल/ रेस्टुराँहरुमा उतारेर खाजा/खाना खान बाध्य बनाइने रहेछ । आफ्ना होटलमा यात्रुलाई झारेर खाजा/खाना खुवाइदिएबापत चालकलाई मासिक ‘टिप्स’ दिनेदेखि नयाँ वर्ष र दसैँमा खसी–रक्सी उपहार पाउने रहेछन् । चालक रिझाएर ठेक्कामा खाजा/खाना खुवाउने भएपछि होटलवालालाई यात्रुको स्वास्थ्य र गुणस्तरसँग के मतलब ! चालकलाई खुसी बनायो, पुग्यो । राजधानी फर्कने क्रममा यात्रुहरुले चालकलाई खानाका लागि उदयपुरको घुर्मीमा रोक्न आग्रह गरे । तर, चालकले त्यहाँभन्दा स्वादिष्ट खाना पाइने स्थानमा लैजान्छु भन्दै रोकेनन् । स्वादिष्ट खाना पाइने ठाउँमा लैजाने आश्वासन दिएपछि यात्रुहरु पनि चुप नै भए ।

चालकले सिन्धुलीको ग्वालाटार छेउमा ल्याएर एउटा सामान्य होटलमा गोडी रोके, जहाँ खानाको गुणस्तर एकदमै कमजोर थियो । पछि ती चालक आफैँले त्यहाँ ल्याउनुको भेद खोले, “सबैले यसै गर्न थालेका छन् ।”

प्रकाशित: वैशाख १९, २०७५

ट्याग: नोटबुक