[स्मरण] प्यालेस्टाइनीद्वारा बन्धक बनाइँदा...

- विहारीकृष्ण श्रेष्ठ

विसं २०३० मा विशेष अधिकृतका रूपमा जाँचबुझ केन्द्रमा काज–सरुवा भएको थिएँ । युनेस्कोले नर्वेमा आयोजना गरेको ‘ म्यान एन्ड बायस्पेयर’ कार्यक्रमका लागि निम्तो पाएँ । राजधानी ओस्लोबाट उत्तरतर्फको लिलेहामरमा पुग्दा हिउँले पूरै ढाकिएको थियो । झन्डै ५० देशका प्रतिनिधि सहभागी सातदिने उक्त गोष्ठी एउटा होटलमा गरिएको थियो । एकैपटक सात दिनपछि हामी होटलबाट बाहिरियौँ । हिउँका कारण हामीलाई होटलबाट सीधै एयरपोर्ट लगियो ।

ओस्लोबाट केएलएम कम्पनीको जहाजमा नेदरल्यान्ड्सको आम्सट्रडम ट्रान्जिट भएर नयाँदिल्ली फर्किंदै थियौँ । जम्मा दुई घन्टा ट्रान्जिट थियो । त्यसैले जहाज कम्पनीका व्यक्तिलाई चार–पाँच घन्टापछि अर्को जहाजमा पठाइदिन अनुरोध गरेँ । चिडियाखानाका जनावरको वैज्ञानिक तरिकाले हेरचाह गर्ने सामग्री लैजाने सर्तमा चार घन्टा होइन, दुई दिन नै बस्ने प्रबन्ध मिलाइदिए, त्यो पनि कम्पनीको खर्चमा ।

दुई दिन त्यहाँ घुमेँ, केही सपिङ गरेँ । त्यसपछि दिल्ली उडेँ । केएलएमको ७४७ बोइङमा रात परेपछि ठूलो पर्दामा चलचित्र देखाउने चलन रहेछ । बेरुतको ट्रान्जिटपछि हामी फिल्म हेर्ने मुडमा थियौँ । फस्र्ट क्लास नजिकैको झ्यालतर्फको सिटमा थिएँ म ।  ढोकामा टाँगिएको पर्दा ध्वार्र च्यातेर अन्दाजी २० वर्षको एक युवक ग्रिनेड बोकेर बाहिर निस्कियो ।

अपहरणमा परेजस्तो लाग्यो । अनि सोचेँ, अपहरणको अनुभव बटुल्न पाइने भयो । जहाजमा २ सय १० जापानी यात्रुबाहेक अन्य ३७ जना थियौँ । नेपाली म एक्लो । हवाईजहाजको स्पिकरमा पाइलटले ‘दिस इज योअर क्याप्टेन स्पिकिङ...’ भन्न मात्र के पाएको थियो, अर्को अपहरणकारीले माइक लिएर ‘प्यालेस्टाइन अर्गनाइजेसन ...’ भन्दै लामो नाम भट्यायो । उसले ‘नेदरल्यान्ड्स सरकारले इजरायलको पक्षमा लागेर केएलएम कम्पनीका जहाजमार्फत हातहतियार ओसार–पसार गरिरहेको र डच सरकार पनि इजरायलको पक्षमा लागेकाले जहाजलाई अपहरण गर्न बाध्य भएको’ बतायो । टुटे–फुटेको अंग्रेजीमा तुरुन्तै दुवै हात शिरमाथि राख्न धम्की दियो । त्यसपछि ‘सिट बेल्ट’ बाँध्न लगाइयो । सबै उभिएका छौँ, कहाँ सिटबेल्ट बाँध्ने ? त्यो ठाउँ रहेछ, सिरियाको दमास्कस एयरपोर्ट ।

झन्डै एक घन्टापछि साइप्रसको निकोसिया अनि राती २ बजेतिर लिबियाको ट्रिपोलीमा जहाज उतारियो । हामीलाई निद्राले ग्रस्त बनाइसकेको थियो । तर, अपहरणकारीलाई के वास्ता ? यसबेलासम्म एयरपोर्टको धावन मार्गमा लिबियाका शासक कर्णेल गद्दाफीका सेनाका गाडीले अवरोध गरिरहेका थिए । दिउँसो २ बजे एक्कासि रनवेभन्दा विपरीत दिशाबाट जहाज उड्यो ।

त्यतिन्जेलसम्ममा डच सरकारले अपहरणकर्ताका माग पूरा गरिसकेको थियो, प्रो–इजरायली नीति लिएको छैन र लिने पनि छैन, साथै केएलएमले इजरालयका हातहतियार ढुवानी गरेको छैन र गर्ने पनि छैन भनेर । सोही कारण अपहरणकर्तालाई सुरक्षित अवतरणको आवश्यकता थियो । दिनको ४ बजेसम्ममा गद्दाफीसँग कुरा नमिलेपछि निर्माणाधीन धावन मार्गबाट एउटा टापु देशमाथि पुगियो । त्यो रहेछ, युरोपको माल्टा ।

माल्टामाथि नौ पटक चक्कर लगाएर जहाज अवतरण गर्‍यो । प्रधानमन्त्री मिन्टफसितै वार्ता भएको रहेछ । त्यतिबेला माल्टाको एयरपोर्टमा बोइङ अवतरण हुन मुस्किल थियो । त्यसैले उनी चाहन्थे, अन्तै जाऊन् । तर, त्यतिन्जेलसम्म जहाजमा तेल सकिएकाले यात्रुलाई समुद्रमा खसालेर रित्तो जहाज अवतरण गराउने अपहरणकर्ताको प्रस्ताव रहेछ । त्यही क्रममा बेलुकातिर बालबालिकाले ‘लाइफ ज्याकेट’ लगाएका थिए । हामीलाई पनि ज्याकेट प्रयोगबारे एयर होस्टेसहरूले दोहोर्‍याई–दोहोर्‍याई जानकारी दिइरहेका थिए । तर, पछि प्रधानमन्त्री मिन्टफले यात्रुसहित अवतरण गर्न अनुमति दिएछन् । र, हामी ठूलो संकटबाट जोगियौँ । ती अपहरणकर्ता त्यहाँ तेल भरेर अन्त कतै जाने दाउमा रहेछन् । त्यसका लागि मिल्टफले सबै यात्रुलाई छाड्नुपर्ने सर्त राखेछन् । त्यसपछि आधा तेल भरेर आधा यात्रु छाड्ने र अरू आधा तेल भरेपछि सबै यात्रु मुक्त गर्ने सहमति भएपछि तेल भर्न थालिएको रहेछ । झन्डै ७० हजार लिटर फ्युल लाग्दो रहेछ । ३५ हजार लिटर तेल भर्दा झन्डै तीन घन्टा लागेको थियो ।

आधा यात्रु मुक्त भए । मेरो नामै आएन । तीन घन्टापछि पुन: तेल भर्न थालियो र बाँकी यात्रुहरू पनि मुक्त हुन थाले । मेरो त नामै आएन । त्यसपछि सँगैको यात्रुलाई सोध्दा थाहा भयो कि अपहरणकर्ताले हिजै सबैको राहदानी लिइसकेका रहेछन् । तर, मेरो राहदानी मसँगै थियो । मैले पनि उक्त राहदानी झिकेर अपहरणकर्तालाई दिन पुगेँ । एकछिन त मसँग रिसाए । केहीबेरपछि म पनि मुक्त भएँ । तर, जहाजले हाम्रो सबै सामान बोकेर अन्तै लग्यो । साँझ केएलएमले दुइटा जहाज माल्टामा उतार्‍यो । एउटाले जापानी यात्रुलाई बोकेर जापानतिरै लग्यो, अर्कोले हामीलाई लिएर आम्सट्रडम फर्कियो । त्यसको दुई दिनपछि म काठमाडौँ उत्रिएँ ।

काठमाडौँ आएको दुई सातापछि एक दिन केएलएमका काठमाडौँ, दिल्ली र बंगलादेशका प्रतिनिधि आएर मलाई कम्पनीका मालिक ओर्लान्डोको हस्ताक्षरित चिट्ठी दिए । पत्रमा जापानी कानुन अनुसार बन्धकमा परेका यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने भएकाले मलाई पनि उपलब्ध गराइएको उल्लेख थियो । १ हजार १ सय २० डलरको चेक पाएँ । राष्ट्र बैंकबाट चेक साट्दा ११ हजार २ सय रुपियाँ बुझेँ । वास्तवमा ३३ घन्टाको त्यो बन्धक प्रकरणले मेरो बाँकी जीवनमा बहार ल्यायो ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: वैशाख १९, २०७५

ट्याग: सस्मरण