[कथा] दुर्गा मिसको साइकल

- राजेन्द्र पराजुली

हल्का भिरालो कालोपत्रे सडकमा दुर्गा मिसको फिनिक्स साइकल सरर कुँदिरहेको थियो । बिहानको कलिलो घाम साइकलको पांग्रामा रहेका तारलाई छिचोल्दै चौतर्फी फैलिरहेको थियो । पांग्राका तारहरूमा घाम ठोक्किँदा त्यो पूर्णिमाको ताराजस्तै चम्किरहेको थियो । सडकको दायाँबायाँ हिँड्ने बटुवाहरू टक्क अडिएर दुर्गा मिस र उनको साइकलतिर आँखा लगाइरहेका हुन्थे ।

दुर्गा मिसलाई भने दुनियाँका यी कुनै पनि क्रियासँग सरोकार थिएन । जब उनी साइकलको पाउदानीमा आफ्ना खुट्टा राख्थिन्, जिन्दगी सन्तुलनमा मज्जाले चलिरहेको महसुस गर्थिन् ।

ज्याकेट, सर्ट र पाइन्टमा सजिएकी दुर्गा मिसको साइकल यात्रा धेरै वर्ष त्यस समाजको गफको ‘हटकेक’ विषय बनिरह्यो । चिया पसल, विद्यालय, वरपरका कार्यालय, घर–आँगन र गोठालासमेतका विषय त्यही हुने गर्थे । उनको पहिरन, चढ्ने साइकल, उनको ठाँटबाट कुनै पनि कुरामा कोही सकारात्मक प्रतिक्रिया दिँदैनथे । तर, दुर्गा मिसका अघिल्तिर बोल्ने आँट कसैको थिएन ।

विंस २०४६ । मुलुकमा पञ्चायती निरंकुशता थप आक्रामक बन्दै थियो । देशभरका विद्यार्थी–शिक्षक आन्दोलित थिए । नारा–जुलुस हुन्थे, पञ्चायतविरुद्ध । विद्यार्थी हरेक दिन जुलुसमा सहभागी हुन कक्षा वहिष्कार गर्थे । अधिकांश जनता बहुदल चाहन्थे । भित्रभित्र राजनीतिक दलहरू सक्रिय हुन थालिसकेका थिए, ती बलिया बन्दै जान थालेका थिए । तर, देशमा व्याप्त थियो, एकदलीय पञ्चायतको दबदबा ।

त्यही पञ्चायती व्यवस्थाका चरम समर्थक दुर्गा मिसका बाबु गंगाराम थापा गाउँ पञ्चायतका प्रधानपञ्च थिए । गाउँमा उनको रवाफ थियो । गाउँका मान्छे उनीसँग डराउँथे । कुनै पनि नयाँ काम गर्नुपर्दा उनीसँग सल्लाह लिन जानेहरूको संख्या ठूलै हुन्थ्यो । जनताको मत पाएरै उनी तीनपटक प्रधानपञ्च पनि बनेका थिए । एक प्रकारले उनी कहिल्यै चुनाव नहार्ने प्रधानपञ्चमा गनिन्थे । तर, उनी आफ्नै छोरीको व्यवहारबाट निकै दु:खी थिए । उनलाई आफ्नै छोरीसँग धेरै पटक हारेको महसुस भइरहेको थियो ।

छोरीले साइकल चढेको र पाइन्ट लगाएको पटक्कै मन परेको थिएन, उनलाई । छोरी शिक्षिका भएकामा पनि गंगाराम खुसी थिएनन् । पाँच वर्ष भयो उनले छोरीको बिहा गरिदिन खोजेको । तर, सफलता पाइरहेका थिएनन् । दुर्गा मिस बाबुको कुनै पनि सल्लाह मानिरहेकी थिइनन् । २५ वर्ष पुगेकी उनको विवाह गरिदिन तीन जना केटा पनि बाबुले देखाइसकेका थिए । तर, उनलाई कुनै पनि मन परेनन् । भनौँ, उनले ती पुरुषलाई अस्वीकार गरिदिएकी थिइन् ।

“मलाई मेरो इच्छामा चल्न दिनूस् बुबा । म मेरै कमाइले आफूलाई मन लागेको काम गरिरहेकी छु,” उनी भन्थिन्, “मलाई तपाईंले देखाएका कुनै पनि केटा मन परेनन् । जीवनमा विवाह गर्नैपर्छ भन्ने पनि छैन जस्तो लाग्छ मलाई । म केही नयाँ काम गर्न चाहन्छु ।”

छोरीको जवाफपछि गंगारामको तनाव झनै बढ्थ्यो । बिहान घरबाट ३० मिनेटको दूरीमा रहेको विद्यालय जानु, पाँच पिरियड साना बच्चालाई पढाउनु अनि साँझ ६ बजेतिर घर फर्कनु उनको नियमित तालिका थियो । विद्यालयमा उनी साढे ३ बजेसम्म बस्थिन् । त्यसपछिको समय उनी साइकल चढेर कतै जान्थिन् । र, प्राय: ६ बजे घर फर्कन्थिन् । विद्यालय सकिएपछि उनी कहाँ जान्थिन्, त्यो कसैलाई थाहा थिएन ।

पञ्चायतविरोधी आन्दोलन चर्किंदै गएको थियो । विद्यालयमा कोही पनि पढ्ने जाँगर देखाइरहेका थिएनन् । अधिकांश विद्यालय बन्दजस्तै हुन पुगेका थिए ।

गंगारामलाई बहुदल नामसँगै घृणा थियो । बहुदल चाहिन्छ भन्ने सबै मान्छे खराब लाग्थे उनलाई । उनका नजरमा राजा भनेका देवता हुन् । कुनै समारोहमा उनले मञ्चबाटै भनेका थिए, “देवताको विरोध गर्नु भनेको सीधा नर्कमा जानु हो । यस्तो काम पापिस्टहरूले मात्र गर्न सक्छन् ।”

आन्दोलनले उग्र रूप लिन थाल्यो । यस्तो लाग्थ्यो, आन्दोलनमा सहभागी नहुने कोही पनि थिएन । हरेक दिन आन्दोलनमा जनसागर उर्लिन थाल्यो । सरकारी सुरक्षाकर्मी हार मान्न थालिसकेका थिए ।

अन्तत: राजाले बहुदल नदिई सुखै पाएनन् । आन्दोलन सफल भयो । पञ्चायती सरकार भंग भयो । देशले बहुदल पायो, जनता सार्वभौम भए । नयाँ संविधान बन्ने भयो । राजा संवैधानिक हुने कुरामा सहमति बन्यो । अन्तरिम सरकार गठन हुने भयो ।

राजाले बहुदल घोषणा गरेको कुरामा गंगारामलाई रत्तिभर चित्त बुझेको थिएन । देशमा बहुदल आएपछिका कैयौ रात गंगारामलाई झिमिक्कै निद्रा परेन । उनको पहिलो चिन्ता मुलुकबाट पञ्चायत मासिनु थियो । अर्को ठूलो चिन्ता, आफ्नी छोरी बेपत्ता भएकामा थियो ।

जुन दिन राजाले देशमा निर्दलीय पञ्चायती व्यवस्था अन्त्य भएको घोषणा गरे, सोही दिन दुर्गा मिस बेपत्ता भइन् ।

कहाँ गइन् दुर्गा मिस ? बहुदल र पञ्चायतसँग उनको के सम्बन्ध थियो ? राजाले बहुदल घोषणा गरेकै दिन उनी घर छाडेर किन हिँडिन् ?

यी प्रश्न उनले काम गर्ने विद्यालयका शिक्षक र गाउँका केही पढे–गुनेका वर्गका थिए । प्रश्नहरू यत्तिमै सीमित थिएनन् । अर्को एउटा वर्ग पनि थियो, गाउँमा ।

त्यो वर्गको बुझाइ यस्ता थिए–

पोइला गई दुर्गा ?

बाइफाले थिई, कलियुगको प्रतिमूर्ति । केटी भएर साइकल चढ्ने  ? पाइन्ट लगाउने ? केटाको जस्तो कपाल काट्ने ? नाकमा फुली र कानमा मुन्द्री नलगाउने ? दाहिने हातमा घडी बाँध्ने ?

गाउँको इज्जत माटोमा मिलाएकी थिई ।

गंगारामलाई हाइसन्चो भो अब !

छोरीका कारण निकै चिन्तित थिए बूढा ।

गाउँमा दोहोरिएर भइरहने केही गफमध्ये प्रमुख गफ बनेका थिए, दुर्गा मिसबारेका यस्ता टिप्पणी ।

तर, टिप्पणी गंगारामको अनुपस्थितिमा मात्रै हुन्थे । देशमा बहुदल आइसके पनि उनका अघिल्तिर कहाँ गइन् दुर्गा भनी सोध्ने हिम्मत कसैको पनि थिएन ।

बहुदल बहालीपछिको पहिलो स्थानीय निर्वाचनमा गंगारामले पनि गाविस अध्यक्षमा उम्मेदवारी दिए । तर, उनले ठूलो मतान्तरले हारे । गंगाराम प्रधानपञ्च हुँदा उप–प्रधानपञ्च रहेका व्यक्तिले चुनाव जिते । देशमा बहुदल आएपछि उनी नेपाली कांग्रेस प्रवेश गरेका थिए । उप–प्रधानपञ्चलाई गंगाराम पटक्कै मन पराउँदैनथे । प्रधानपञ्च हुँदा उनलाई कुनै जिम्मेवारी दिँदैनथे गंगाराम ।

जिन्दगीमा पहिलो पटक चुनाव हारेका थिए, गंगारामले । उनलाई यो चोट सहन निकै गाह्रो परिरहेको थियो । अर्कोतिर झन्डै तीन वर्षदेखि बेपत्ता छोरीका बारे जति खोजखबर गरे पनि पत्ता लाग्न सकिरहेको थिएन । दोहोरो चिन्ताले उनलाई निकै गलाएको थियो ।

विस्तारै गंगारामलाई जगत् मिथ्या र ईश्वर सत्य लाग्न थाल्यो । उनी धार्मिक कार्यक्रम र भजनकीर्तनमा ध्यान लगाउन थाले । राजनीतिप्रति चरम वितृष्णा जाग्न थाल्यो । यतिसम्म कि उनले त्यसपछिका कुनै पनि निर्वाचनमा मतदान गरेनन् ।

बोलेर नथाक्ने उनी कम बोल्न थाले । बढी समय घरमै बस्न थाले । टेलिभिजनमा पाएसम्म धार्मिक कार्यक्रम र भजन अनि समाचार सुन्नु उनको दैनिकी हुन थाल्यो । विदेशी च्यानलहरू उनलाई बिलकुलै मन पर्दैनथे । विदेशी च्यानल उनलाई बहुदलवादीको मतियार लाग्थे । नेपाल टेलिभिजन उनको प्रिय च्यानल थियो ।

साँझको ८ बज्न लागेको थियो । गंगारामले नेपाल टेलिभिजन खोले । उनी ८ बजेको समाचार हेर्न प्राय: छुटाउँदैनथे । समाचार वाचिकाले प्रमुख समाचार प्रस्तुत गर्दै थिइन् । दुर्गा मिसले सञ्चालन गरेको विद्यालयबारे समाचार आइरहेको थियो ।

गंगारामले दुर्गाकी आमालाई बोलाए । “ए दुर्गीकी आमा यता

आऊ त,” उनी ठूलो स्वरमा चिच्चाए । के त्यो आफ्नै छोरी दुर्गा नै हो त भन्ने कुरामा गंगारामलाई निश्चित गर्न गाह्रो परिरहेको थियो । 

‘राजधानीदेखि साइकल चढेर पाँच सय किलोमिटर टाढा रहेको तराईको दुर्गम गाउँ रामधुनी पुगेकी शिक्षिका दुर्गा थापाले दुई वर्षदेखि विद्यालय सञ्चालन गरिरहेकी छन् । गरिबी तथा भोकमरीग्रस्त रामधुनी गाउँमा दुई सय विद्यार्थीलाई नि:शुल्क शिक्षा र युवालाई सीपमूलक तालिम प्रदान गर्न सुरु । दुर्गाले विशेषगरी किसानका लागि उन्नत कृषि प्रणाली, गृहिणीका लागि स्वरोजगारी र साना–साना नानीलाई प्रारम्भिक शिक्षा तथा निरक्षर महिलाका निम्ति प्रौढशिक्षा दिन कक्षा सञ्चालन । विद्यालयलाई विभिन्न संघ–संगठन तथा व्यक्तिबाट सहयोग आउने क्रम जारी ।’

समाचारमा दुर्गाका साथै अन्य पाँच शिक्षिकाले कक्षामा पढाइरहेका दृश्य पनि टेलिभिजनले प्रसारण गरेको थियो ।

पढाइरहँदा दुर्गाको मुहारमा एक प्रकारको चमक देखिन्थ्यो । अनुहारमा स्पष्ट रूपमा सफलताको खुसी र कान्ति छाएको देखिन्थ्यो । त्यहाँ एक प्रकारको जितको खुसी झल्किरहेको थियो ।

टेलिभिजनको समाचारले गंगारामलाई खुसी र विस्मय एकैसाथ उत्पन्न गरायो । खुसी यस अर्थमा थियो कि, आफ्नी छोरी सन्चै छिन् र खुसीसाथ आफ्नो जिन्दगी अघि बढाइरहेकी छन् । एउटा महान् कार्य सुरु गरेकी छन् । विस्मय यसकारण कि, छोरीको यस्तो महान् कार्यमा आफूले साथ दिन सक्ने अवस्था छैन । र, छोरीलाई देख्न नपाएको लामो समय भइसकेको छ ।

दुर्गा मिसले सञ्चालन गरेको विद्यालय देखाउने क्रममा टेलिभिजनले उनको साइकलसमेत पटक–पटक देखाएको थियो । त्यसपछि भने गंगाराम र उनकी पत्नीलाई विद्यालय सञ्चालन गर्ने आफ्नै छोरी हो भन्ने पक्का भएको थियो ।

गंगाराम आफूले गरेको राजनीति र समाजसेवा अनि छोरी दुर्गाले सुरु गरेको कार्यको तुलना गर्न थाले । आफ्नी छोरीले गर्न थालेको काम बढी महत्त्वपूर्ण लाग्यो उनलाई । आफ्नी छोरीले लिएको उद्देश्य चिन्न नसकेकामा उनलाई ग्लानि पनि भयो । र, आफ्नो विगतप्रति एक प्रकारको असन्तुष्टि महसुस गर्न थाले उनी ।

“मैले पनि आफ्नो जिन्दगीमा यसैगरी गरिबका बच्चा पढ्ने विद्यालय सञ्चालन गर्न सकेको भए कति पुण्य कमाउँथेँ होला,” उनी आफैँसँग घोत्लिए ।

गंगारामले चुरोट सल्काए । तर, पूरा खान सकेनन् । एक चौथाइ खाएर फ्याँकिदिए झ्यालबाट बाहिर ।

दुर्गाले सञ्चालन गरेको विद्यालयबारे समाचार सकिएर टेलिभिजनमा कुनै एउटा दलको नेताको अन्तर्वार्ता आउन थालेको थियो । उसले पञ्चायतलाई बेस्सरी गाली गर्न थाल्यो । “यो मुलुक यत्तिको पछि पर्नु र जनता यत्तिको गरिब हुनुको प्रमुख कारण भनेको निरंकुश पञ्चायती व्यवस्थाको चंगुलमा तीन दशक मुलुक पर्नु हो,” नेताले भने ।

गंगारामले टेलिभिजन बन्द गरे ।

र, पत्नीतर्फ हेर्दै प्रश्न गरे, “के हाम्री दुर्गी अब साइकल चढेरै घर फर्केली ?”

प्रकाशित: वैशाख १९, २०७५

ट्याग: कथा