टेक्नो–स्याभी सौरभ

- विभु लुइटेल

नेपाली बजारमा होन्डा, फिलिप्सजस्ता अन्तर्राष्ट्रिय कम्पनीका उत्पादनको आधिकारिक बिक्रेता ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिका रोजाइका ग्याजेट अन्यका भन्दा पृथक् हुने गर्छन् । जमिनबाट सयौँ मिटर माथि रही लोभलाग्दा तस्बिर खिच्न उनी डीजेआई र स्पार्कका ड्रोन प्रयोग गर्छन् । अन्तर्राष्ट्रिय बजारमा अहिलेसम्मकै सबैभन्दा राम्रो मानिएको डीजेआईको मेभिक एयर मोडलको ड्रोन खरिद गर्न चाहन्छन् उनी । स्लो मोसनका भिडियो, उच्च रिजोलुसनका तस्बिर आदि खिच्न उम्दा मानिन्छ, यो ड्रोन ।

सौरभका रोजाइमा वान प्लसका फोन पर्ने गरेका छन् । बजारमा पाइने राम्रा ब्रान्डका अन्य फोनका तुलनामा वान प्लस निकै सस्तो पनि छ । यसमा दिशासूचक यन्त्र, गाडीका गति आदिका सेन्सरसमेत हुने भएकाले नाम चलेका ठूला ब्रान्डका निम्ति यो ठूलो प्रतिस्पर्धी साबित हुन सक्ने उनी बताउँछन् । एउटा फोन चलाएको ६ महिना नपुग्दै नयाँ किनिहाल्ने उनको बानी छ । त्यसैले नयाँ तथा पछिल्लो अत्याधुनिक प्रविधिमा आफू जानकार रहेको उनको भनाइ छ । 

ज्योति ग्रुपको कार्यालयमा अटोमेसन पद्धति जडान गरिएको छ । घरबाट कार्यालय जाँदै गर्दा बाटोमा उनी मोबाइल एप्लिकेसनका मद्दतले कार्यालयको विद्युतीय प्रणाली सुचारु गरिदिन्छन् । कार्यकक्षमा पुग्दा एसी चल्न थालिसकेको हुन्छ, बत्ती बलिसकेका हुन्छन् । 

मोटरसाइकल चलाइरहेका बेला रोकेर फोन उठाउन नपरोस् भनी उनी सार्कटुथ नामक ब्लुटुथजडित हेल्मेट प्रयोग गर्छन् । यो हेल्मेट लगाई यात्रा गरिरहेका बेला गीत पनि सुन्न मिल्ने हुनाले उनको रोजाइमा परेको हो । 

बेरिङ कम्पनीको एयर ब्याग पनि उनको रोजाइमा पर्ने अर्को ग्याजेट हो । दुर्घटनामा परेका खण्डमा यो एयर ब्याग फुलेर शरीरमा घाउचोट लाग्नबाट जोगाउँछ । युवा पुस्ताले यस्ता कुरामा ध्यान दिनुपर्ने उनको सुझाव हुने गर्छ ।

 

प्रकाशित: वैशाख १९, २०७५