घाटा दयाहाङलाई नै

- नेपाल संवाददाता

दुई साताको अन्तरालमा दयाहाङ राईका दुई फिल्म प्रदर्शन भए, नेप्टे र ह्याप्पी डेज । दुवै फिल्ममा मुख्य भूमिका दयाहाङकै । प्रमुख कलाकार हुनुको नाताले प्रमोसनमा सक्रिय हुनु उनको दायित्व पनि हो । तर, अचम्मलाग्दो कुरा, दुवै फिल्मका प्रचारमूलक कार्यक्रमलाई पूरापूर बेवास्ता गरे । त्यसो त अन्य फिल्मको प्रचार–प्रसारमा पनि उनी उदार हुने होइनन्, आक्कल–झुक्कल मात्र साथ दिन्थे । यसपटकचाहिँ पूर्ण अनुदार रहे । नेप्टे रिलिजताका मण्डला थिएटरमा नाटक रिहर्सलमा मस्त थिए भने ह्याप्पी डेज प्रदर्शनको मुखैमा आप्पा नामक फिल्मको सुटिङका लागि सिक्किम हानिए । उनी नजिकका एक निर्देशक भन्छन्, ‘निर्माण युनिटसँग सुमधुर सम्बन्ध पनि थिएन । त्यसमाथि यी फिल्मसँग दयाहाङ आफँै सन्तुष्ट थिएनन् । त्यसैले वास्तै नगरेको हुनुपर्छ ।’ तर, यस्तो रवैयाले घाटा कसलाई होला, दयाहाङजी ?

 

प्रकाशित: वैशाख १९, २०७५