बौद्ध इतिहासको उपेक्षा

- हिमेश

जति बेला पनि लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति नरेशमान बज्राचार्य निराश भेटिन्छन् । उनको आशय एउटै हुने गर्छ– नेपालमा हामीले गर्नुपर्ने धेरै बाँकी छ । यस्तै अवस्था दुण्डबहादुर बज्राचार्यको पनि छ । उनी बौद्ध धर्मको आधिकारिक ग्रन्थ त्रिपिटकका जानकार हुन् । उनी पनि कहिलेकाहीँ निराश सुनिन्छन् । भन्छन्, “नेपालमा बौद्ध धर्मका लागि जे हुनुपर्ने हो, त्यो भइरहेको छैन । जे हुनु नपर्ने हो, खालि त्यो भइरहेको छ । जसले बौद्ध धर्म र नेपालमा त्यसको स्थितिबारे बुझ्ने गम्भीर प्रयास गरेका छन्, तिनका लागि बुद्ध वाज बर्न इन नेपालको नारा चर्काउने प्रयास हुँदा चित्त बुझ्दैन । दु:ख लाग्छ । उनीहरूलाई खासै सतही काम लाग्छ, यो ।”

पछिल्लो पटक यही नारा दिएर कीर्तिमानी संख्यामा भीड जम्मा गर्ने प्रयास भयो, केहीले यसलाई के–के न भयोजस्तो माने । तर, जसले यो धर्मको अध्ययन गरिरहेका छन्, तिनका लागि यसको कुनै अर्थ छैन । त्रिवि केन्द्रीय इतिहास विभागका प्रमुख शंकर थापा पनि बौद्ध धर्मका जानकार हुन् । उनको विदेशी बौद्ध विद्वान्सँग बाक्लो सम्बन्ध छ । भन्छन्, “सिद्धार्थ गौतम लुम्बिनीमा जन्मेका हुन् । उनको जन्मभूमि अहिलेको आधुनिक नेपालको सीमाभित्र पर्छ, यो धर्म अध्ययन गर्ने सबैलाई थाहा छ । उनीहरू यसलाई ठूलो मुद्दा बनाउनुपर्ने आवश्यकता ठान्दैनन् ।” उनको प्रश्न छ, “नेपालले अहिलेसम्म बौद्ध धर्मका लागि के गर्‍यो ? साँच्चै बुद्ध वाज बर्न इन नेपाल मात्र भनिरहँदा के नै हुन्छ र ? उत्तिकै ठूलो दु:ख के पनि हुने गरेको छ भने बुद्धको वास्तविक शिक्षा के थियो ?” त्यसबारे नेपालमै धेरैले कम बुझेका छन् । अनित्य, अनात्मा र दु:ख बौद्ध धर्मको सिद्धान्तका आधार हुन् । यसमै टिकेर ठूलठूला दार्शनिक चिन्तन र सिद्धान्त तयार छन् । यसबारे साँच्चै धेरैलाई कम थाहा छ, थाहा पाउन प्रयास गर्ने हो भने स्रोत पनि कम छ ।

बौद्ध धर्मको साँच्चै गम्भीर अध्ययन गर्ने हो भने कि त भारतीय प्रकाशनलाई नै आधार मान्नुपर्छ, होइन भने पश्चिमेली प्रकाशन र अरू बौद्ध एसियाली देशका स्रोतमा । यसपटक १७ वैशाखमा बुद्ध जयन्ती परेको छ । सिद्धार्थ गौतमको जन्म भएको र ज्ञान प्राप्त गरेको दिन पनि यही हो । अनि, परिनिर्वाण हासिल गरेको दिन पनि । त्यसैले यो दिनको ठूलो महत्त्व छ । यसै सेरोफेरोमा फेरि एकपल्ट दोहोर्‍याएर इतिहास पल्टाउनु ठीक हुन्छ, वर्तमानको विश्लेषण गर्नु जायज हुन्छ ।

खासमा नेपालमा बौद्ध धर्मको आधुनिक इतिहास भनेकै दमन, विद्रोह, द्वन्द्व र पुन:निर्माण हो । यसलाई बुझेपछि मात्र कसैले ‘यस्तो थियो, यस्तो हुनुपर्ने रहेछ’ भन्न सक्छन् । खासमा बौद्ध धर्मको समग्र आधुनिक इतिहास पनि यही हो, यस धर्ममाथि भएको दमन, त्यसविरुद्ध विद्रोह । यही धर्म मान्नेबीच द्वन्द्व अनि त्यसको पुन: निर्माण । लिच्छवि र मल्लकालमा नेपालमा बौद्ध धर्मको स्थिति के–कस्तो थियो, त्यो धेरै लेखियो । आधुनिक समयमा के भयो ? त्यसबारे कम लेखिएका छन्, धेरैले यसबारे झन् कम बुझेका छन् ।

लुम्बिनीको खोज

केही सय वर्षअगाडि मात्र हो, बौद्ध धर्मबारे गम्भीर अध्ययन सुरु गरेको, विशेषत: पश्चिमेली विद्वान्बाट । पश्चिमेली विद्वान्ले बौद्ध धर्म र साहित्यको अध्ययन अनि त्यसको प्रकाशनले यो धर्मप्रति अन्तर्राष्ट्रिय रुचि बढेको हो । ठीक यही बेला बौद्ध धर्म मान्ने एसियाली देशहरूमा पनि पुन:जागरण सुरु भयो, विशेषत: श्रीलंकामा । बौद्ध धर्ममा श्रीलंकाको ठूलो देन छ । र, त्यहाँ चलेको धर्मको पुन:उत्थानले अरू देशलाई उत्तिकै प्रभाव पारेको इतिहास छ ।

यसै क्रममा पहिलो पल्ट सिद्धार्थ गौतमको जन्म कहाँ भयो भनेर खोज सुरु भएको हो । सन् १८९६ डिसेम्बरमा, सिद्धार्थ गौतमको जन्मस्थान लुम्बिनी हो भनेर फेरि पत्ता लाग्यो । त्यसअगाडि के भयो त ? इतिहासका लागि निकै महत्त्वपूर्ण हुन्छ, यो विषय । सन् १८०० तिर युरोपमा बौद्ध धर्म लोकप्रिय हुन थालेको थियो । केही युरोपेली भाषामा प्रमुख बौद्ध साहित्य पनि अनुवाद भए । यसबाट युरोपेली विद्वान् यसतर्फ आकर्षित भए । बौद्ध धर्मबारे थप खोजी हुने क्रम सुरु भयो ।

त्यतिबेला भारतमा बेलायतको उपनिवेश थियो । त्यसै क्रममा भारतीय पुरातात्त्विक सर्वेक्षण विभाग स्थापना भयो । अनि, रोयल एसियाटिक सोसाइटीजस्तो संस्था अस्तित्वमा आयो । ब्राह्मी लिपिबारे धेरै अनुसन्धान भयो र पढ्न सकिने भयो । बौद्ध साहित्यका रूपमा पालिको अपार भण्डार थियो नै । यस्तोमा लुम्बिनीसँगै बुद्धगया, सारनाथ र कुशीनगरबारे खोजी सुरु भएको थियो । यसमध्ये लुम्बिनीबारे धेरै पछि मात्र जानकारी आएको हो ।

पालि साहित्यसँगै फाहियान र युआन च्वाङको यात्रा–विवरणका आधारमा लुम्बिनीको खोजी भएको हो । सुरुमा लुम्बिनी अहिलेको भारतको उत्तरप्रदेशमा रहेको अनुमान थियो । त्यसका लागि पुष्टि गर्ने आधार भने थिएन । तैपनि, त्यतिबेला केहीले सिद्धार्थ गौतम भारतमा जन्मेका हुन् भनेर लेखे । नेपालमा राणा शासन चलिरहेको थियो । र, तराईको चारकोशे जंगल फँडानी पनि सुरु भइसकेको थियो । त्यहाँका बडाहाकिम थिए, खड्गशमशेर । काठमाडौँमा भने वीरशमशेरको शासन थियो ।

त्यसैबेला हो, कामदारले जंगलभित्र ढुंगाको स्तम्भ भेट्टाएको । पछि खड्गशमशेरले पनि यसबारे जानकारी पाए । सन् १८९६ डिसेम्बरमा जर्मन पुरातत्त्वविद् फुहरर त्यहाँसम्म पुगे । प्राप्त अशोक स्तम्भको शिलालेखमा लेखिएको उतारिएपछि ब्राह्मी लिपि विशेषज्ञ हुल्जले लुम्बिनी नै गौतम बुद्धको जन्मस्थल रहेको पुष्टि गरे, जुन वास्तवमै ऐतिहासिक उपलब्धि थियो । फुहरर भारतीय पुरातत्त्व विभाग अन्तर्गतका पुरातत्त्वविद् हुन् । उनीपछि पीसी मुखर्जी आए र अनुसन्धान अगाडि बढाए ।

खस राजा रिपु मल्लले लुम्बिनी भ्रमण गरेयता यो क्षेत्र ओझेलमा पर्न सुरु भयो । आठ सय वर्ष लुम्बिनीको स्थिति अज्ञातजस्तै रह्यो । त्यसबीचमा के भयो भनेर अनुमान मात्र गर्न सकिन्छ । त्यस समयमा त्यहाँ ठूलो भोकमरी चलेको हुन सक्छ । बाढीपहिरो गएको हुन सक्छ अथवा भयानक आगलागी भएको हुन सक्छ । यस्तै कुनै प्राकृतिक प्रकोपका कारण लुम्बिनी त्यति लामो समय जानकारीबाहिर रहेको हुनुपर्छ । जेहोस्, लुम्बिनीको खोजपछि पनि यसको विकास र विस्तारमा धेरै समय खर्चियो ।

संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ–थान्तले लुम्बिनी भ्रमण गरेयता यसले केही गति लिएको हो । सन् १९६७ तिर लुम्बिनी पुग्दा त्यसको दयनीय स्थिति देखेर बर्मेली बौद्ध धर्मका अनुयायी उनी रोएका थिए भनिन्छ । अहिले लुम्बिनीमा धेरै विकास भएको छ, अझै धेरै विकास गर्नुपर्ने बाँकी छ । अझै लुम्बिनी पुग्नुपर्छ, विशेषत: त्यहाँ भइरहेको सुस्त विकास र वरिपरिको प्रदूषणले धेरैको मन रुन्छ । यस्तोमा बुद्ध लुम्बिनीमा मात्र जन्मेको भनिरहनुको के अर्थ ?

त्रिपिटक र नेपाल

बुद्धले बुद्धत्व प्राप्तिदेखि महापरिनिर्वाणसम्म धर्मसम्बन्धी उपदेश लगातार दिइरहे । बुद्धले उपदेश न कुनै एक खास व्यक्तिलाई मात्र दिएका थिए, न त एक खास स्थानमा । उनले आफूद्वारा स्थापित संघका लागि आवश्यकता अनुसार नियम पनि बनाए । बुद्धको समयसम्म यी सबै उपदेश मौखिक थिए । उनका शिष्यले त्यसलाई कण्ठस्थ पार्थे । भिक्षुहरूमा सबैसँगै मिलेर कण्ठस्थ पार्ने चलन थियो । बुद्धको महापरिनिर्वाणपछि उनका मुख्य–मुख्य शिष्यले माने, सबै उपदेशको संग्रह गर्नुपर्छ ।

भिक्षु महाकश्यपले बुद्धको उपदेश संग्रह गर्न सम्मेलन गर्ने निर्णय गरे । त्यतिबेला उनले लगभग संघको नेतृत्व गरिरहेका थिए । बौद्ध धर्मको इतिहासमा यस्ता सम्मेलन संगायनाका नामले प्रख्यात छन् । बुद्ध महापरिनिर्वाणको तीन महिनापछि पहिलो संगायना भएको थियो । सात महिना चलेको यस संगायनामा पाँच सय भिक्षुले सहभागिता जनाए । यसै क्रममा धर्म र विनयसम्बन्धी उपदेश संकलन गरिए । बुद्ध वचनलाई स–साना भागमा विभाजन गरियो ।

त्यसलाई मौखिक परम्परा अनुसार सुरक्षित राख्न फरक–फरक भिक्षुका संघलाई जिम्मा दिइयो । आफ्नो भागमा परेको अंशलाई भिक्षु संघले पाठ गर्ने काम सुरु गरे । यसरी सुदीर्घ परम्परा सुरु भयो र सुरु भयो, बुद्ध वचन सुरक्षित गर्ने काम । ईसापूर्व २९ तिर भिक्षुहरूले फेरि अनुभव गरे, मौखिक परम्पराले बुद्ध वचन सधैँका लागि चिरस्थायी हुने छैन । यसलाई लिपिबद्ध गर्न आवश्यक छ । त्यतिबेला श्रीलंकामा राजा बट्टगामिणीको शासन थियो ।

उनले बुद्ध वचन लिपिबद्ध गर्ने व्यवस्था मिलाए । यसका लागि एक अर्को संगायन भयो । यो टिपिटक संगायनाका नामले प्रख्यात छ । टिपिटक अर्थात् त्रिपिटक । अर्थात्, तीन थैलीको समूह । यी हुन्, सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक । सुत्तपिटकमा बुद्ध उपदेश संकलित छन् । विनय पिटकमा भिक्षुका नियम छन् । अभिधम्मपिटकमा बुद्ध दर्शन । “त्रिपिटक अध्ययन नगरेर कसैले बौद्ध धर्म बुझे भन्छ भने त्यो सरासर गलत हो,” दुण्डबहादुर बज्राचार्य भन्छन् ।

यिनै दुण्डबहादुरले नेपाल भाषामा त्रिपिटकका धेरै ग्रन्थ प्रकाशित गरिरहेका छन् । केही समयमै सम्पूर्ण त्रिपिटक नेपाल भाषामा उपलब्ध हुनेछ । तर, नेपाली भाषामा ? एकाधभन्दा बढी ग्रन्थ नेपालीमा अनुवाद भएको छैन । नेपाली छाडेर नेपालका राष्ट्रिय भाषामा त्रिपिटकको उपस्थिति लगभग शून्यजस्तै छ । सिद्धार्थ गौतम नेपालमा जन्मेका हुन् भनेर दाबी गरिरहनु र बौद्ध धर्मको मुख्य आधार नै नेपालका भाषाहरूमा नहुनु विडम्बना होइन ?

बौद्ध धर्मको स्रोत संस्कृत

बौद्ध धर्मलाई पालि र संस्कृत भाषामा लेखिएका ग्रन्थका आधारमा पनि विभाजन गर्ने गरिन्छ । यहाँनेर उल्लेख गर्नैपर्ने हुन्छ, नेपाल बौद्ध धर्मका लागि सबैभन्दा ठूलो स्रोत हो । अझ भनौँ– काठमाडौँ उपत्यका । यहाँ धेरै संख्यामा महायानी बौद्ध ग्रन्थ सुरक्षित छन् भन्ने तथ्य बाहिर आएको पनि केही सय वर्ष मात्र भयो । यसअघि यसबारे थाहा थिएन । यसको श्रेय राणा शासनमा नेपाल आएका बेलायती ब्रायन हड्सनलाई जान्छ । उनले नै पहिलो पल्ट यसबारे पश्चिममा जानकारीमा ल्याए ।

त्यतिबेला यसले बौद्ध धर्मको इतिहासमै क्रान्ति ल्याएको थियो । काठमाडौँका नेवारले महायानी बौद्ध–साहित्यका लगभग सम्पूर्ण साहित्य हस्तलिखित ग्रन्थका रूपमा सुरक्षित राख्नुलाई ठूलो उपलब्धि मानिन्छ । यसमा सबैभन्दा प्रमुख रहेको छ, नवग्रन्थ । यसमा प्रज्ञापारमिता, ललितविस्तर, लंकावतार, सुवर्ण प्रभास, गण्डव्युह, सद्धर्मपुण्डरिक, दशभूमि, तथागत गुह्यक र समाधिराज पर्छन् । यी सबै अहिले नेपाल भाषामा उपलब्ध छन् । तर, नेपालीमा छैन भने हुन्छ, केहीलाई छाडेर ।

जबकि, यी ग्रन्थ तिब्बती, चिनियाँ, जापानी र कोरियाली भाषामा भने उपलब्ध छन् । काठमाडौँ उपत्यकामा मान्ने बौद्ध धर्मलाई पछिल्लो समय नेपालमण्डलको बौद्ध धर्म पनि भन्ने गरिन्छ । केहीले यसलाई नेवार बौद्ध धर्म पनि भन्ने गरेका छन् । पालि बौद्ध–साहित्यलाई अहिलेसम्म जीवन्त राख्न श्रीलंकाको जति योगदान छ, त्यस्तै संस्कृत बौद्ध धर्ममा नेपालको योगदान छ । बुझ्नैपर्ने के हो भने पालि र संस्कृत बौद्ध–साहित्य एकआपसमा फरक छन् ।

बौद्ध धर्मको पुन:निर्माण

शाहकालमा नेपालमा बौद्ध धर्म कमजोर हुन थालेको र राज्यका तर्फबाट विभेद तथा दमन सुरु भएको मानिन्छ । विशेषत: राणाकालमा बौद्ध धर्ममाथि चरम दमन सुरु भएको थियो । एकातर्फ बौद्ध धर्मप्रति विभेदपूर्ण कानुन बने भने अर्कोतर्फ राज्यबाटै यसलाई फरक व्यवहार गरियो । राणा शासनमा बौद्ध धर्मलाई विदेशी धर्म मानिन्थ्यो । अझ स्पष्ट रूपमा भोटे धर्म भनिएको इतिहास छ । स्थिति कतिसम्म भने राणा शासकले चिवर लगाएका भिक्षुहरूलाई समेत देश निकाला गरेका थिए । बुद्ध जन्मेको देशमा उनकै अनुयायीलाई देश निकाला ?

इतिहासमा कारुणिक स्थिति बनेको छ, यो । राणा शासनको समाप्तिको सुरुआती केही समय देश बौद्ध धर्मप्रति उदार देखिए पनि पछि फेरि यो अनुदार बन्यो, पञ्चायत कालमा । पश्चिमेली विश्लेषकले भनेका छन्, नेपालमा बौद्ध धर्मको स्थिति राम्रो हुन नसकेको एउटा कारण सरकारी बेवास्ता त हो नै, यसभन्दा ठूलो कारण विभेद हो । सरकारको यो नीतिविरुद्ध विद्रोह भएको इतिहास पनि छ । बौद्ध मार्गीबीच नै लामो द्वन्द्व चलेको पनि धेरै पुरानो भइसकेको छैन ।

अहिले नेपालमा बौद्ध धर्मको जुन स्थिति छ, त्यो त्यही दमन, विद्रोह र द्वन्द्वको सामाजिक रूपान्तरण हो । अझ भनौँ, नेपालमा बौद्ध धर्मले एकखाले पुन:निर्माणको बाटो लिएको छ । यहाँनेर ठ्याक्कै छुटाउन नहुने हिमाली क्षेत्रमा मानिने बौद्ध धर्म पनि हो । यसमा तिब्बती प्रभाव देखिन्छ । मौलिकपन पनि छ । यस सम्बन्धमा पनि खासै अनुसन्धान र अध्ययन कहाँ भएको छ र ? यी सबै पृष्ठभूमिमा बुद्ध नेपालमा जन्मेका हुन् भनेर मात्र दोहोर्‍याउनुमा के अर्थ छ, केही ठोस गर्दैनौँ भने ।

प्रकाशित: वैशाख १७, २०७५

ट्याग: संस्कृति