चहक हराएको सहर

- अजित तिवारी

जनकपुर–विं स २०३४ तिर । अर्थशास्त्री भोगेन्द्र झा र सुरेन्द्र लाभ मद्रासको एकविश्वविद्यालय पुगेका थिए  । जनकपुरबाट आएको भनेपछि एक जना उनीहरूलाई धकेल्दै अगाडि आए । झा त्यतिबेलाको घटना सुनाउँछन्, “धक्का दिएपछि रिस पनि उठ्यो तर ती मानिसले हामी उभिएको ठाउँबाट माटो उठाए र ढोगे  ।” मुम्बई युनिभर्सिटीका ती अर्थशास्त्री विभाग प्रमुखको यस्तो व्यवहारले जनकपुरप्रतिको उनको आस्था झल्किन्थ्यो ।

धार्मिक एवं ऐतिहासिक सहर जनकपुरको आस्था र विश्वासको संसारभर महत्त्व छ । तर, त्यही सहर फोहोर, दुर्गन्धित, अव्यवस्थित बसोबास, सार्वजनिक तथा गुठीको जग्गा अतिक्रमण र पोखरी–तलाउ पुरेर निजी घर बनाउने क्रमले कुरूप र साँघुरो बनेको छ ।

क्षेत्रफलमा नेपालकै सबैभन्दा ठूलो मन्दिर र हिन्दुको पवित्र धर्मस्थल जानकी मन्दिरकै कारण जनकपुरले सहरिया स्वरूप लियो । प्राध्यापक सुरेन्द्र लाभका अनुसार जानकी मन्दिरको निर्माणपछि धार्मिक नगरीमा एउटा घरको चाहना राख्नेको संख्या बढ्यो । अनि, खुले स्कुल–कलेज । थपिए– सरकारी कार्यालय । साधु–सन्तको सानो बस्ती बाक्लिँदै जनकपुर सहर बन्यो ।

जानकी मन्दिरका कारण जनकपुरले सहरी रूप लिए पनि यसलाई विस्तार गर्ने काम गर्‍यो, रेल्वे र चुरोट कारखानाले । प्राध्यापक झाका अनुसार जानकी मन्दिर धार्मिक गन्तव्य बने पनि समाज र विश्वसँग रेल्वे र चुरोट कारखानाले जनकपुरलाई जोड्यो । “रेल्वेले जनकपुरलाई भारतसँग जोड्यो, चुरोट कारखानाले रोजगार दिँदा देशभरका मानिस यहाँ थुप्रिए,” झा सुुनाउँछन् ।

जानकी मन्दिर, रेल्वे र जनकपुर चुरोट कारखानाले विकसित बनेको जनकपुर सहरका यी तीनवटै कडी अहिले कमजोर बनेका छन् । जानकी र राम मन्दिरकै गुठीको जग्गामा बसालिएको जनकपुर सहरमा मठ–मन्दिरको जग्गा अतिक्रमण बढेको छ । जानकी मन्दिर बनेपछि त्यसलाई बीचमा राखेर चारैतिर जनकपुरमा बस्ती विस्तार भयो । अहिले जानकी मन्दिरले मात्रै जनकपुरको वैभव धानेको छ ।

“जानकी मन्दिर मात्रै देखाएर जनकपुरको वैभव र सहरीकरण टिकाउन सकिन्न,” राजनीतिकर्मी रोशन जनकपुरी भन्छन्, “सहरलाई बाँध्ने एउटा कडी मात्रै हो, धार्मिक स्थल । त्यसैमा मात्र निर्भर हुँदा सहर एकलकाँटे हुन्छ ।” उनका अनुसार जनकपुरलाई विकसित र विशाल बनाउन ऐतिहासिक र धार्मिक पाटोसँगै व्यापारिक र सबैले रुचाउने समाजको विकास जरुरी छ । जानकी मन्दिरमा धार्मिक पर्यटक बढे पनि त्यसलाई व्यवस्थित गर्न सकिएको छैन । मठ–मन्दिर र पोखरीको जग्गा च्यापेर घर बनाउने प्रवृत्तिले सहरको साख गिराएको छ । “भोटको राजनीति र सरकारी निकायको कमजोर उपस्थितिले जनकपुरको अतिक्रमण रोकिएन,” प्राध्यापक लाभ भन्छन्, “त्यसले पनि जनकपुरमा सम्बन्धको डोरी टुट्यो ।”

संसारभर जनकपुरको गरिमा बढाएको जानकी मन्दिर र यहाँका अन्य मठ–मन्दिरको संरक्षण र सौन्दर्यकरण आवश्यक रहेको प्राध्यापक झाको बुझाइ छ । बृहत् विष्णु पुराणको मिथिला महात्म्यमा पनि जनकपुरका मठ–मन्दिर र तलाउको चर्चा गरिएको छ । “यतिविघ्न महत्त्व बोकेको सहर धार्मिक र सामाजिक हिसाबले पछि परेको छ,” सुन्दर सदन अग्निकुण्डका महन्थ नवलकिशोर यादव दुखेसो पोख्छन्, “फोहोर बढेको छ । मन्दिरको स्वरूप बिग्रेको छ । मूर्ति र जग्गा बेचेर गुठी संस्थानका हाकिम–कर्मचारी कमाउन मात्र आए ।”

फेरि रेलमार्ग

जनकपुर सहरलाई रेल्वेले पनि चलायमान बनाएको हो । भारतको तत्कालीन ब्रिटिस कम्पनीले सन् १९२७ मा जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरा जंगलसम्म रेलमार्ग ओछ्यायो । भारतमा रेल्वेको ठूलो सन्जाल बनाउन स्लिपरका लागि सखुवाको काठ ब्रिटिस कम्पनीलाई चाहिएको थियो । नेपालको काठ ओसार्ने स्वार्थमा कुदाइएको रेलले जनकपुरलाई भारतसँग जोड्यो ।

जानकी मन्दिर हेर्न र पूजापाठ गर्न त्यही रेलमार्गबाट ठूलो संख्यामा भारतीय जनकपुर आउन थाले । डिजेल इन्जिनबाट चल्ने ५२ किलोमिटरको न्यारोगेजको रेलमार्ग खर्चिलो भएपछि बन्द भयो । भारत सरकारकै सहयोगमा जयनगरदेखि बर्दिवाससम्म ब्रोडगेज रेल्वे लाइन बिछ्याउन फेरि थालिएको छ ।

जयनगर–जनकपुर–बर्दिवास ६९ किलोमिटर रेलमार्गको दुई खण्डको काम ८० प्रतिशत सकिएको छ । भारतीय रेल्वेको ठूलो जक्सन जयनगरसँग जोड्न नेपालमा निर्माण भइरहेको ६९ किलोमिटर रेलमार्ग अन्तर्गत ५२ किलोमिटरमा स्लिपर र ट्रयाक बिछ्याइँदै छ । “रेलमार्गले जनकपुरलाई भारतसँग जोडेको थियो,” प्राध्यापक लाभ भन्छन्, “जनकपुरको आर्थिक विकासमा रेलमार्गको ठूलो हिस्सा थियो ।” जनकपुरमा मात्रै रहेको रेल सेवा, धार्मिक स्थल जानकी मन्दिर र विमानस्थलमा जहाज उडेको हेर्न आउनेको संख्या बढ्दो थियो ।

जचुकालिको नियति

२९ पुस ०२१ देखि व्यावसायिक उत्पादन थालेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)को स्थापनाले पनि जनकपुर सहरलाई फराकिलो बनायो । तत्कालीन सोभियत संघको सहयोगमा स्थापना भएको जचुकालि दुई दशकअघिसम्म मुलुकलाई सबैभन्दा बढी राजस्व तिर्ने उद्योग थियो ।

कारखानामा काम गर्ने देशभरका धेरै कर्मचारीले जनकपुरमा बसोवासका लागि घर बनाए । जचुकालिले जनकपुरको आर्थिक अवस्थामा सुधार ल्यायो । “जनकपुरको विस्तारमा जचुकालिको पनि ठूलो भूमिका छ,” झा भन्छन्, “जनकपुरमा ट्ेरडिङ, प्रचेजिङ र हाउजिङ बढ्नुको कारण जचुकालि नै हो ।” उनका अनुसार जनकपुर सहरमा बिजुलीको प्रबन्ध पनि जचुकालिबाटै भएको हो ।

निजी कम्पनी सूर्य टोबाकोसँग प्रतिस्पर्धा गर्न नसक्नु, राजनीतिक हस्तक्षेप र ट्रेड युनियनमा बढ्दो राजनीतीकरणले जचुकालि धराशयी बन्यो । अन्तत: उत्पादन महँगो हुन थालेपछि सरकारले २० असार ०७० मा जचुकालि बन्द गर्ने निर्णय गर्‍यो । माओवादी जनयुद्ध, मधेस आन्दोलन र सशस्त्र समूहको गतिविधिका कारण बाँकी रहेका पहाडी समुदाय जनकपुरबाट पलायन भए । 

जचुकालिको आवास परिसरमा प्रदेश सरकारको प्रशासनिक कार्यालय स्थापनापछि रौनक थपिए पनि कारखानाभित्रका उपकरण र मेसिन कबाडी बन्दै छन् । कारखानालाई चुरोट उत्पादनकै लागि फेरि सञ्चालनमा ल्याउने ‘राजनीतिक गफ’मा भने दम छैन । कारखाना सञ्चालनलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले उसकै परिसरमा प्रशासनिक र आवास क्षेत्र बनाएको छ । “जचुकालिको परिसरलाई उद्योगकै रूपमा विकास गर्नुपर्छ,” प्राध्यापक झाको सुझाव छ, “परिसरमा प्रादेशिक कार्यालय राख्दा अन्याय हुन्छ । कृषिमा आधारित उद्योग खोलेर जनकपुर सहरलाई औद्योगिक वातावरणमा ढाल्नुपर्छ ।”

विकासको आधार धार्मिक पर्यटन

अग्निकुण्डका महन्थ यादवका अनुसार यातायातको पूर्वाधार बनेपछि जनकपुर सहरलाई विकसित र सुन्दर बनाउन धार्मिक नगरी नै बनाउनुपर्छ । “मठ–मन्दिरको साजसज्जा, कुण्ड–तलाउ संरक्षण र सौन्दर्यकरण तथा जनकपुरलाई मासु–मदिरा निषेधित क्षेत्र बनाएर धार्मिक सहरका लागि हुनुपर्ने सबै मान्यता कायम गरिए विश्वभरका पर्यटक यहाँ तान्न सकिन्छ,” महन्थ यादव भन्छन् ।

यहाँ हुने ठूला धार्मिक उत्सव विवाह पञ्चमी, राम नवमी, मिथिला माध्यमिकी परिक्रमा, झुला महोत्सवलाई मात्रै व्यवस्थित गरिए जनकपुरमा थाम्नै नसक्ने पर्यटकको चाप बढ्छ । “यति धेरै पोखरी भएको जनकपुर नै संसारको पहिलो सहर हो,” प्राध्यापक लाभ भन्छन्, “जनकपुरलाई ‘सिटी अफ पोन्ड’ बनाउन सकिन्छ ।” उनका अनुसार पोखरीमा पानीको फोहोरा, डिलमा वृक्षारोपण र शान्तिवाटिका बनाउँदा जानकी मन्दिर दर्शन गर्न आउने पर्यटकलाई जनकपुरमा रोक्न सकिन्छ ।

प्रादेशिक राजधानी बनेपछि जनकपुरप्रति अपनत्व बढ्ने गतिविधि हुनुपर्ने उनको तर्क छ । जनयुद्ध, मधेस आन्दोलन र सशस्त्र समूहको गतिविधिले मानिसको पलायन बढ्दा जनकपुरप्रति जुन लगाव थियो, त्यो भंग भएको बताउँदै प्राध्यापक लाभ भन्छन्, “प्रादेशिक सरकारले जनकपुर मेरो पनि सहर हो भन्ने भावना देशभर फिँजाउन सक्नुपर्छ ।”

प्रकाशित: वैशाख १६, २०७५

ट्याग: सहर