‘मेरो सफलतामा नेपालीको माया’

- गोकर्ण गौतम

प्रतिष्ठित ‘जोन बेट्स क्लार्क मेडल–२०१८’ पाएपछि अमेरिका र अर्थशास्त्रको दुनियाँमा मात्र होइन, नेपाल र नेपालीभाषीमाझ समेत चर्चामा छन्, पराग पाठक, ३७ । नेपाली मूलका अमेरिकी अर्थशास्त्री पाठकलाई अनुसन्धानको माध्यमबाट बजार डिजाइन र शिक्षा नीतिको क्षेत्रमा योगदान गरेबापत ‘मिनी नोबेल’ प्रदान गरिएको हो । उनले सन् २०१६ मा सोसल च्वाइस एन्ड वेलफेयर प्राइज पाएका थिए भने सन् २०१४ मा अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को ४५ वर्षमुनिका विश्वका उत्कृष्ट २५ अर्थशास्त्रीको सूचीमा परे । ’७० को दशक सुरुआततिर पाठक परिवार अमेरिका गएको थियो । उनी त्यहीँ जन्मिए । बोस्टनस्थित म्यासचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा माइक्रो इकोनोमीका प्राध्यापकसमेत रहेका पाठकसँग गरिएको इमेल कुराकानीको सम्पादित अंश :

४० वर्ष नबित्दै यतिविघ्न सफलता पाउनुको कारण के होला जस्तो लाग्छ ?

म अविश्वसनीय भाग्यमानी रहेँ । शिक्षाको महत्त्व बुझ्नुभएका अभिभावक र परिवार पाएँ, जसले मलाई धेरै अवसर उपलब्ध गराउनुभयो ।

अर्थशास्त्र नै छान्ने प्रेरणाचाहिँ कसरी मिल्यो ?

महत्त्वपूर्ण सामाजिक र सार्वजनिक विषयमा केन्द्रित हुन गहन गणित र विज्ञानको मिश्रण हुन सक्छ भन्ने थाहा पाएपछि एक्कासि अर्थशास्त्रमा आकर्षित भएँ । केही कोर्स पढेपछि यस्तो महसुस भएको थियो । त्यसपछि त आफूलाई रोक्नै सकिनँ ।

तपाईंको हाई स्कुल शिक्षा सुधारसम्बन्धी अनुसन्धान नेपालजस्ता अविकसित देशको नीति निर्माणमा फलदायी हुन सक्छ ?

पक्कै पनि । सार्वजनिक क्षेत्रको उत्पादकत्वमा सुधार ल्याउन अर्थशास्त्रले धेरै गर्नुपर्छ । त्यसैले मलाई लाग्छ, हाम्रो अनुसन्धान जहाँ पनि उपयोगी हुन्छ ।

नेपाल कत्तिको घुम्नुभएको छ ?

नेपाल घुम्न मन पराउँछु । प्रत्येक पटकको भ्रमणमा धेरै परिवर्तन भएको हुन्छ । बच्चा बेला घुम्दा काठमाडौँ भीडभाड भए पनि व्यवस्थित थियो । पछिल्लो भ्रमणमा बाटो पहिल्याउनै कठिन भयो, अझ धेरै भीड र होहल्ला, सवारीसाधन अनि प्रदूषण । जताततै ध्वस्त संरचना भएकाले भूकम्पपछि घुम्दा त नमज्जा लाग्यो । वसन्तपुर क्षेत्र देख्दा ज्यादै दु:खी भएँ । तर, मैले धेरै पटक काठमाडौँबाहिर पनि घुम्ने मौका पाएको छु । त्यसमध्ये पनि अन्नपूर्ण पदमार्गमा पत्नी र उनका बुबासँग हाइकिङ गएको मिठो सम्झना छ । मलाई त्यहाँ फेरि जान मन छ । अन्तिम पटक दुई वर्षअगाडि एक पारिवारिक जमघटमा गएको थिएँ, जुन फरक र रमाइलो यात्रा थियो ।

तपाईंले ‘जोन बेट्स क्लार्क मेडल–२०१८’ पाएपछि नेपाली र गैरआवासीय नेपाली असाध्यै हर्षित छन् । यस्तो अपेक्षा थियो ?

म असाध्यै हर्षित छु । मलाई संसारभर रहेका नेपालीले फोन गरेर बधाई दिनुभएको छ, मप्रति चासो राख्नुभएको छ । उहाँहरूको मायाले धन्य छु । अवार्डले नेपालीमाझ यस्तो खुसी छाउला भन्ने सोचेकै थिइनँ ।

नेपालको शैक्षिक प्रणाली र अर्थतन्त्रलाई केही सुझाव छ ?

यसबारे मैले विस्तृत अध्ययन गरेको छैन । त्यसैले सल्लाह–सुझाव दिन अप्ठ्यारो लाग्छ ।

नेपालको शैक्षिक प्रणाली उकास्न तपाईंबाट अपेक्षा राख्न सक्छौँ ?

यदि म स्रोत–साधन जुटाउन सक्ने ‘ पोजिसन’मा पुगेँ भने नेपालमा शैक्षिक अवस्था सुधारमा सघाउनेछु ।

यदि नेपालले अनुरोध गर्‍यो भने तपाईं आफ्नो विज्ञतामार्फत नेपालमा योगदान पुर्‍याउन चाहनुहुन्छ ?

म सहयोगी हुन पाउँदा खुसी हुनेछु ।

नेपालको दक्ष जनशक्ति अवसरको खोजीमा विदेश पलायन भएको छ । प्रतिभा पलायन रोक्न के गर्न सकिएला ?

यो चुनौतीपूर्ण सवाल हो । यसको साधारण उत्तर छैन । आफ्नो परिस्थितिका कारण देश छाड्न चाहनेलाई त्यस्तो अवसरबाट वञ्चित गर्न गाह्रो हुन्छ । अर्कातिर, मलाई आशा छ, स्थायित्व र संरचना विकासमा प्रगति हुँदा बाहिर गएकाहरू स्वदेश फर्कने छन् ।

तपाईं नेपाली साहित्य कत्तिको पढ्नुहुन्छ ?

मैले सम्राट उपाध्याय, मञ्जुश्री थापाजस्ता नेपाली लेखकका पुस्तक पढेको छु । पछिल्लो पटक प्रशान्त झाको किताब पढेँ । दुर्भाग्य ! मलाई नेपाली पढ्न असाध्यै असजिलो हुन्छ, त्यसैले अंग्रेजी भर्सनमा सीमित हुनुपर्छ ।

जोन बेट्स क्लार्क मेडल–२०१८’ पाएका तीनमध्ये एक जनाले नोबेल पुरस्कार पाएका छन् । तपाईं कत्तिको आशावादी हुनुहुन्छ ?

म अहिलेको कुरामा बढी चासो राख्छु, पछि के हुन्छ भन्दा पनि । प्राय: अनुसन्धान एकल प्रयास हो, जसको मुख्य उद्देश्य खोज हो । भौतिकशास्त्री रिचार्ड फेम्यानका शब्दमा भन्दा ‘नयाँ खोजको आनन्दपन हो’ । र, अहिलेको मेरो मुख्य ध्यान यसमै केन्द्रित छ, भविष्यमा पनि यही हुने अपेक्षा राख्छु । अन्य क्लार्क मेडल विजेतासँगै नाम हुनु भनेको गाह्रो हो ।

प्रकाशित: वैशाख १६, २०७५

ट्याग: अचानक