[झटारो] ड्याम्मै एकता

- लक्ष्मण गाम्नागे

कम्युनिस्ट पार्टी स्थापना दिवस र लेनिन जयन्ती भनेर मनाइएको कार्यक्रमले एमाले र माओवादी केन्द्रको एकतालाई टुंगोमा पुर्‍याउने देखियो । त्यो कार्यक्रमको ब्यानर काण्डले ड्याम्मै पार्टी एकता गर्न उनीहरूलाई थप प्रेरणा मिलेको छ ।

त्यो दिन हलमा हंगामा हुनु स्वाभाविकै थियो । किनभने, त्यो कार्यक्रमको ब्यानर नै पक्षपाती थियो । लेनिन जयन्तीको ब्यानरमा लेनिनको ठाउँमा मदन भण्डारी र माक्र्सको ठाउँमा मनमोहनको तस्बिर छापिएको थियो । एउटा पार्टीका आधा दर्जन दिवंगत आत्माहरूका तस्बिर टाँसिएको ब्यानरमा अर्को पार्टीका एउटैको तस्बिर थिएन । एकता गर्न लागेका दुई पार्टीका नेताहरूको तस्बिरमा पनि एक जनाको तस्बिर झन्डै आधा इन्ची सानो थियो । तस्बिर पनि एउटा उज्यालो, हँसिलो अर्को अँध्यारो, रुन्चे थियो ।

यस्तो पक्षपात भएपछि कार्यकर्ताले हंगामा गर्नु स्वाभाविक थियो । हंगामापछि नयाँ ब्यानर त ल्याइयो । तर, त्यसमा पनि असमानता कायमै थियो । एउटा ब्यानर सोझो, चिल्लो र आकर्षक थियो, अर्को बांगोटिंगो, खुम्चिएको र लुत्रुक्क परेको । कार्यकर्ताले भइगो मरोस् भनेर छाडेका अरू पनि थुप्रै असमानता ब्यानरमा थिए । हुँदाहुँदा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनि पक्षपात प्रस्टै देखियो । प्रचण्डलाई पहिला बोल्न लगाएर ओलीलाई पछि बोल्न दिइयो । मानौँ, ओलीचाहिँ प्रमुख अतिथि हुन् र प्रचण्डचाहिँ दोस्रो तहका अतिथि । दुवै नेतालाई सँगसँगै बोल्न दिनुपर्ने थियो अथवा चिट्ठा गरेर पालो मिलाउन सकिन्थ्यो । भाषण गर्ने क्रममा पनि घडी हेरी–हेरी ओलीले प्रचण्डको भन्दा १५ मिनेट बढी बोलेर पेले । दाह्रा किट्दै भए पनि कार्यकर्ताले खपे, थप उपद्रो गरेनन् ।

एकताका लागि दुवै पार्टीका नेता–कार्यकर्ता अब तयार भएछन् भन्ने ब्यानर काण्डले प्रमाणित गर्‍यो । त्यत्रो हंगामा हुँदा पनि कुटाकुट, मारामार केही भएन । अनेकौँ असमानताका बाबजुद पनि दुइटा ब्यानर टाँगेर मजाले कार्यक्रम गर्न सकिने रहेछ भन्ने छर्लंग भयो । नेताहरूले दुइटा ब्यानरमुन्तिर उभिएर एकता नगरी नछाड्ने भाषण गरे । दुवै नेताले दृढतापूर्वक भने, ‘अब पछि फर्किने ठाउँ छैन । फर्किने खोलाको पुल उडाइसकिएको छ । एकताबाट तल झर्ने भर्‍याङ लडाइसकिएको छ । खुट्टा काटेर भए पनि एकताको जुत्ता नलगाई सुखै छैन ।’

अब पार्टी एकता हुन कुनै समस्या बाँकी रहेन । पार्टीमा दुई जना अध्यक्ष राख्ने निर्णय भइसकेकै छ । अब पार्टीका सबै कमिटीमा दुई जना अध्यक्ष, दुई जना उपाध्यक्ष, दुई जना सचिव र दुई जना कोषाध्यक्ष राखेर कमिटी बनाउँदा सहजै एकता हुने देखियो । सदस्यहरू पनि दुवैतिरबाट बराबरी राखेर कमिटीहरू बनाउँदा सबैले काम पनि, सम्मान पनि पाउनेछन् । यसो गर्दा बेलाबेला कुटाकुटै गर्नुपर्‍यो भने पनि समानतामा आधारित कुटाकुट हुनेछ । कार्यालयहरू पनि दुइटा र परिचयपाटी पनि अलग–अलग राखिराख्नु उपयुक्त हुनेछ । यो अत्यन्तै दूरदर्शी निर्णय हुनेछ । एकता भएको केही महिना वा वर्षमा आखिर फुट्नु नै छ । यसप्रकार गरेका एकताले फुटेपछिलाई साह्रै काइदा हुनेछ । फेरि नयाँ कमिटीहरू गठन गरिरहने झन्झट हुने छैन । कार्यालय खोजिरहने झमेला हुने छैन । फुटेको घोषणा मात्र गरे पुग्छ । कुनै दिन फेरि ड्याम्मै फुट्नु छँदैछ भने एकता गर्न किन ढिलो गर्नु कमरेडहरू ! ड्याम्मै एकताको घोषणा गर्दिनोस्, अब दुइटा ब्यानर टाँगेर ।

प्रकाशित: वैशाख १६, २०७५

ट्याग: व्यंग्य