कोहलपुर होइन, मुम्बई एक्सप्रेस

- गोकर्ण गौतम

आधा शताब्दीसम्म बलिउडको दबदबाबाट प्रताडित भयो, नेपाली फिल्म । उताका फिल्म कपी गर्दै यता बनाइन्थ्यो, थोरै तलमाथि थपथाप गरेर । सोही कारण स्वदेशी फिल्मको स्वतन्त्र र मौलिक छवि बन्नै सकेन । पछिल्लो केही वर्षयताचाहिँ हिन्दी फिल्मको ‘ह्याङ’भन्दा माथि उठ्ने प्रयत्न जारी छ । आफ्नै परिवेशका कथा र पात्र रोज्न थालिएको छ । तर, कहिलेकाहीँ यस्ता फिल्म पनि प्रदर्शन हुन्छन्, जुन विदेशी फिल्मबाट पूरापूर चोरिएको हुन्छ । कोहलपुर एक्सप्रेस ज्वलन्त उदाहरण हो । यो सन् २००५ मा प्रदर्शित तमिल फिल्म मुम्बई एक्सप्रेस (यही नाममा हिन्दी भाषामा पनि बनाइएको छ) को हुबहु कपी हो । अझ मन कुँडिने सत्य यो फिल्मकी निर्मात्री स्नातकोत्तर हिरोइन केकी अधिकारी हुन् । अनि अभिनय गरेका छन्, केकीजस्तै बुझक्कड भनिएका अन्य दुई अभिनेत्री ऋचा शर्मा र प्रियंका कार्कीले । तर, चोरीको अपजसको मुख्य भागिदारचाहिँ पटकथाकार शान बस्न्यात र निर्देशक विशाल भण्डारी हुन् । मौलिक चलचित्र निर्माणमा अग्रसर भइरहेका बेला यसरी चोर्नु सम्बन्धित फिल्ममेकर मात्र होइन, समग्र नेपाली फिल्मवृत्तकै छवि धुमिलिने दुर्दशा हो, लाजमर्दो पनि ।

गर्भवती चम्पा (प्रियंका), उनीसँग निकै डराउने उनका पति (बुद्धि तामाङ), अड्किएर बोल्ने (विनोद न्यौपाने) र चम्पाका भाइ मिलेर  कसैको छोरा अपहरण गर्ने योजना बुन्छन्, पैसाका लागि । परिस्थितिवश उनीहरूको समूहमा स्कुटरमा सामान ओसार्ने युवती कोहलपुर एक्सप्रेस (केकी) भित्रिन्छिन् । तर, सबै अपरिपक्व । कसैलाई पनि अपहरणको असली तौरतरिका थाहा छैन । त्यसो भए उनीहरू बच्चा अपहरण गरेर पैसा असुल्न सफल होलान् ? फिल्म यही प्रश्नवरिपरि घुमेको छ ।

भनिहालौँ, कोहलपुर एक्सप्रेसलाई मुम्बई एक्स्प्रेसबाट टाढा राखेर हेर्नै सकिन्न । किनभने, कथा, पात्र र कथा भन्ने शैली जस्ताको तस्तै हो । सिर्फ केही पात्र र सम्बन्ध यताउता पारिएको छ । जस्तो, केकी र कमल हसनको चरित्र शतप्रतिशत उही हो । हसनले पनि कान सुन्दैनन्, मेसिन घुसार्नुपर्छ । सोझा छन्, बाध्यताले अपहरण गर्नुपरेको हुन्छ । केकी ठ्याक्कै यस्तै छिन् । मनीषा कोइरालाको भूमिकाचाहिँ ऋचालाई दिइएको रहेछ, डान्स बारमा काम गर्ने, बिहे नगरी आमा हुने, पैसाका लागि आफ्नै छोराको बाबुलाई ‘ब्ल्याकमेल’ गर्ने । फरक भन्नु मनीषाभन्दा ऋचाको चरित्र ‘लाउड’ छ । रवीन्द्र झाको चरित्रमा हिन्दी मुम्बई एक्सप्रेसका सौरभ शुक्ला, ओम पुरी र विजय राजको मिश्रण छ । छुच्ची आइमाई बनेकी प्रियंकामा चाहिँ कमल हसनको दिदी–चरित्रको दरिलो प्रभाव छ । त्यसमा घोडा छ, यसमा भैँसी । त्यसो त, पात्र मात्र होइन, घटनाक्रम पनि मिल्छ । बच्चा अपहरण गर्ने तरिका, एकपछि अर्को अपहरणकारी घाइते हुँदै अस्पताल पुग्ने, फिरौती रकम माग्ने शैली सबै उस्तै । क्लाइमेक्स केही भिन्न लाग्छ । पटकथाकार बस्न्यात, निर्देशक भण्डारी र निर्मात्री केकीको क्षमता र नियतमाथि शंका गर्ने अनेकौँ कारण छन् फिल्ममा ।

एकछिनलाई मुम्बई एक्सप्रेस चटक्क बिर्सने हो भने पनि कोहलपुर एक्सप्रेस अब्बल लाग्दैन । कलाकारको अभिनयबाहेक दिल खोलेर प्रशंसा गर्न सकिने अर्को कुनै पक्ष छैन । सुरुआती दृश्यमै प्राविधिक कमजोरी छ । कतै कतै डबिङ छुटेको छ । मध्यान्तरअगाडि जसोतसो दर्शक ‘होल्ड’ हुन्छन् । पात्र अनुरूपका केही ‘पञ्चलाइन’ छन् । तर, मध्यान्तरपछि मोहभंग हुँदै जान्छ । सामान्यतया कमेडी फिल्म चुस्त हुनुपर्छ । तर, यसको ‘पेसिङ’ खुकुलो छ । चोर्दा पनि ढंग पुर्‍याएको भए या नेपाली परिवेश सुहाउँदो बनाएको भए तैबिसेक मान्न सकिन्थ्यो । तर, त्यो मौका पनि दिएका छैनन्, पटकथाकार र निर्देशकले । त्यसमाथि मुम्बई एक्सप्रेस आफैँमा उच्च कोटीको फिल्म होइन । त्यसैलाई चोर्नेको हालत के होला ?

चोथाले चरित्रमा प्रियंकाले दर्शकको मन जित्छिन् । केकी आफ्नो चरित्रको लयभन्दा बाहिर गएकी छैनन् । विनोदले आफूसँग थप आशा राख्ने ठाउँ छाडेका छन् । रवीन्द्र झाको ‘कमिक टाइमिङ’ अनि बालकलाकार कुशाग्र भट्टराईको विन्दासपन गज्जब छ । पत्नीपीडित बुद्धि तामाङ हसाइरहन्छन् । ऋचाको प्रस्तुति अलि अतिरञ्जित आभास हुन्छ । कालीप्रसाद बाँस्कोटाको शीर्ष–गीत रमाइलो त छ नै, त्यसले कथाको बहावलाई मजबुत बनाउँछ पनि । बाँकी दुई गीतको खास अर्थ छैन । खिचाइ, सम्पादन, पृष्ठभूमि–संगीत पनि औसत मात्र । दर्जनाँै म्युजिक भिडियो बनाएर फिल्ममा पाइला राखेका निर्देशक भण्डारीले एउटै कुरा दिएका छन्, निराशा ।

फिल्म बौद्धिक सम्पत्ति हो । बौद्धिक सम्पत्ति चोर्नु अनैतिक मात्र होइन, अपराध नै मानिन्छ । हल्काफुल्का प्रभावित हुनु अलग कुरा । तर, बिनाअनुमति हुबहु उतार्नु यस्तै अपराध हो । नेपाली फिल्मको समृद्धि र साखका लागि कोहलपुर एक्सप्रेस मार्काका चोरिएका फिल्म र फिल्मकर्मीलाई धाप मार्न सक्दै सकिन्न ।

प्रकाशित: वैशाख १४, २०७५