नोटबुक

- मनबहादुर बस्नेत

यस्तो पनि आशक्ति

गत चैतको अन्तिम साता । नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुइटा सुरक्षा निकायमा नयाँ नेतृत्व कसले सम्हाल्छ भन्ने चासो चुलिएको थियो । यही बेला भाइबर म्यासेजको घन्टी बज्यो । संयोग ! प्रहरीसम्बन्धी नै सूचना रहेछ । परिचित पूर्वएआइजीले पठाएका, केही थान फोटा । स्कर्पियो जीपको चारै दिशामा लेखिएको छ, नेपाल पूर्वप्रहरी संगठन । नामैले चिनिन्छ, अवकाशप्राप्त प्रहरी संगठनका पदाधिकारी चढ्ने सवारी साधन हो, यो । तर, निजी नम्बर प्लेटधारी सवारीमा नेपाल प्रहरीको झन्डा फहराइरहेको छ, मानौँ वहालवाला आईजीपी नै सवार हुने गाडी हो यो ।

‘संगठनको मायाले होला नि ?,’ फोटो हेरेपछि म्यासेज पठाएँ ।

‘माया होइन आशक्ति हो,’ उनले फ्याट्ट लेखिहाले ।

हुन पनि प्रहरीको झन्डा फरफराउँदै सवार हुँदा सडकमा उभिएका कति ट्राफिकले बुट बजार्दै सलाम ठोक्दा हुन् । चेकिङमा परिने भय पनि भएन । उस्तै परे ट्राफिक जाम छलेर जान साइत पर्न सक्छ । यी जम्मै कुराले आफू ‘पूर्व’ भइसकेको मनोविज्ञानबाट टाढा राख्ला नै, उनीहरूलाई ।

नक्कली प्रहरी बनेर ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको समाचार थुप्रै सुनिएकै हो । गाडीमा प्रहरीको झन्डा फरफराउँदै हुइँकिने यी पूर्व प्रहरीलाई चाहिँ प्रहरीले नक्कली मान्ला कि सक्कली ? कानुन कार्यान्वयनकारी निकायकै झन्डा यही जिम्मेवारीमा लामो समय व्यतीत गरेकाहरूले दुरुपयोग गरेको हो कि होइन ? नवनियुक्त प्रहरी महानिरीक्षकको दृष्टिगोचर परेमा मेरा यी खुल्दुलीले बाटो पाउने थिए कि !

र, त राजधानी

‘पोखरा–लेखनाथ महानगरपालिकामा हार्दिक स्वागत ।’ यस्तो लेखिएको गेटबाट छिर्नेबित्तिकै साझा बस घ्याच्चघ्याच्च रोकिन थाल्यो । आधा घन्टासम्म पनि ताल उही थियो । ‘के विधि जाम हो ?’ यात्रीले दिक्दारी मान्न थाले । अनि गुरुजी बोले, “हजुर यो अब पोखरा मात्रै होइन । राजधानी पनि हो ।” प्रदेश नम्बर–४ को राजधानी भएपछि नै काठमाडौँ–दमौली हुँदै पोखरा छिर्ने यो नाकामा सवारी साधनको लाम लाग्न थालेको गुरुजीले सुनाए । पृथ्वीचोकसम्म थामिनसक्नु जाम हुने रहेछ । राजधानी बनेपछि नै यस्तो नियमित अचाक्ली जाम हुँदोरहेछ । “जाम नभए केको राजधानी ?,” गुरुजी भनिरहेका थिए ।

पोखरा प्रदेश राजधानी बनेपछि साँच्चै यो क्षेत्रमा काठमाडौँमा जस्तै मानिस थुप्रिन थालेका हुन् त ? यसबारे कसैले अध्ययन गरेको छैन । तर, ट्राफिक जाम राजधानीको अनिवार्य सर्त रहेछ !

राजधानीको सर्त अर्को पनि देखिन थालेछ पोखरामा । मुख्यमन्त्री, मन्त्रीका सवारी साधनहरू साइरन बजाउँदै सुन्दर नगरीको परिक्रमा खुबै गर्ने रहेछन् । “काम बिग्रिएर म सडकमा हिँडिरहेको थिएँ,” पोखरामा घरजग्गा कारोबार गर्ने एक जना बाग्लुङेले सुनाए, “साइरन बजाउँदै गाडी आयो । मेरै अगाडि घ्याच्च रोकियो । मुख्यमन्त्रीका श्रीमती र छोराछोरी तरकारी किन्न पो आएका रहेछन् ।” त्यसपछि उनले रिस थाम्न सकेनछन् र सडकमै ठूलो स्वरमा कराए रे, ‘मन्त्रीका स्वास्नी, छोराछोरीलाई साइरन बजाउँदै बोक्न संघीयता ल्याएको हो हामीले ?’ मुख्यमन्त्रीकी श्रीमतीले आँखा फुकालेर हेरिन् मात्र रे ! संघीयतासँगै सिंहरदबारबार मात्रै गाउँ–गाउँमा पुगेनछ भीआईपी संस्कार पनि गएछ । जेहोस्, पोखरामा साइरन र जाम राजधानीका सूचक रहेछन् ।

के यो साँचो हो ?

मार्दी हिमाल बेस क्याम्प ताकेर अगाडि बढ्दा २७ चैतमा बास बस्न कास्कीको पोथना पुगियो । भन्ज्याङमा बसेको यो गुरुङ बस्ती अन्नपूर्ण र मार्दी हिमाल क्षेत्र छिर्ने एउटा द्वार हो । अन्नपूर्ण गेस्ट हाउस एन्ड रेस्टुराँका सञ्चालक थमबहादुर गुरुङले गफगाफकै क्रममा हिमाली क्षेत्रमा जाँदा नराम्रो सोच बनाउँदा, उच्छृंखल व्यवहार गर्दा, दुर्वचन, फोहोर बात बोल्दा मानवीय दुर्घटना हुने गरेको सुनाए । गुरुङको कुराले मलाई विगततिर फर्किन बाध्य तुल्यायो ।

यसअघि सगरमाथा क्षेत्रको गोक्यो–रि जाँदासमेत उक्त भेगका मानिसले हिमाललाई देवता मान्ने र क्षमापूजा नगरी उसमाथि पाउ राख्न नहुने सुनाएका थिए । सगरमाथा चढ्न जाने सबैले बेस क्याम्पमा पूजा गर्ने चलन छ । यो रीत नमान्नेहरूको भलो नहुने विश्वास छ । केही समयपछि अन्तर्राष्ट्रिय पर्वतारोहण गाइडको लाइसेन्स पाउने पहिलो दक्षिण एसियाली महिला गाइड दाबा याङ्जुम शेर्पासँग भेट हुँदा पनि यस्तै अनुभव सुनाएकी थिइन् । उनीसँग भेट्नु केही दिनपहिले मात्रै आरोही सञ्जय पण्डितको अमेरिकामा हिमाल चढ्ने क्रममा मृत्यु भएको थियो । पण्डितले युरोपको सर्वोच्च माउन्ट एबु्रल्स चढ्दा माइनस ६० डिग्रीको चिसोमा ६ मिनेट ३ सेकेन्ड कम्मरमाथिको भाग नांगै बसेर कीर्तिमान् बनाएका थिए । यही प्रसंगमा उनले भनेकी थिइन्, “हिमालमा त्यसरी फोटो खिचाउनु राम्रो मानिँदैन । अनुशासनमा बस्नुपर्छ ।”

अहिले मार्दी पदयात्रामा पनि उही भावको कुरा आयो । अनि सकेसम्म सदाचारी बनेर अघि बढियो । महिना दिनअघि मात्रै पोखराको मणिपाल मेडिकल कलेजमा एमबीबीएस पढ्ने एक जना छात्रा मार्दीको पहिलो भ्यू प्वाइन्टबाट लडेर बितेको, एक जना मलेसियनको घाँटी छिनाइदिएको, नेदरल्यान्डकी नागरिक कोरी भान भेगाल बाटैदेखि हराइरहेको कथाका व्याख्या सुनिन्थ्यो । भेगाललाई फेला पार्नेलाई ५ हजार डलर दिने सूचना बाटैभरि टाँसिएका थिए । यी कुराले मनमा चिसो पस्थ्यो । अन्तत: अन्नपूर्ण, माछापुच्छ्रे, हिउँचुली हिमालहरू नजिकैदेखि हेरेर सकुशल फर्कियो । तर, थाहा छैन, भगवान् (हिमाल)को अपमान गरेर मानिस दुर्घटनामा परिरहेका छन् अथवा आफ्नै असावधानी, उच्छृंखलपन र प्रकृतिसँग जुध्न खोजेर !  

प्रकाशित: वैशाख १२, २०७५

ट्याग: नोटबुक