[पुस्तक समीक्षा] औसत महिलाको साझा संघर्ष

- जनकराज सापकोटा

लालटिनको उज्यालोमा

लेखक : सरस्वती ज्ञवाली

प्रकाशक : अक्षर क्रियशन 

पृष्ठ : २४४

मूल्य : ३२० रुपियाँ

नेपाली ग्रामीण महिलाका दु:ख के हुन् ? ‘अघि बढ्न’का निम्ति महिलाले के–कस्ता अप्ठ्यारा घुम्तीहरू छिचोल्नुपर्छ ? नेता–पत्नीका सुख–दु:ख के हामीले सोचेजस्तै हुन्छन् ? सरस्वती ज्ञवालीको आत्मकथा लालटिनको उज्यालोमा यिनै प्रश्नहरूको उत्तर खोजिएको छ । उनले सरल भाषामा आफ्नो पढाइदेखि बिहेसम्म र राजनीतिदेखि जागिर र परिवार सम्हाल्दाको दु:ख पस्केकी छिन्, जहाँ आफ्नो बढप्पन देखिएला कि भनेर उनी सतर्क देखिन्छन्, पतिको तारिफ होला कि भनेर सजग देखिन्छिन् । यो नै पुस्तकको सौन्दर्य हो । त्यसैले भन्नैपर्छ, एमाले नेता प्रदीप ज्ञवालीपत्नीका रूपमा मात्रै उनलाई बुझ्नु अन्याय हुन्छ । आफ्ना कैयन् सपनाहरूलाई एकातिर पन्छाएर, आफ्नै दु:ख र संघर्षको पहाडमा उभिएर परिवार धानिरहेकी सरस्वतीको जीवनयात्राको कथा हो, लालटिनको उज्यालोमा ।

बालखैमा बिहे गरिदिने परिवारको निर्णयसँग विद्रोह गरेकी, पढाइ पूरा गरेरै छाड्ने अठोट बोकेकी, पढाइ र राजनीतिलाई सँगसँगै अघि बढाएकी र बुहारी, आमा र राजनीतिक कार्यकर्ताको भूमिका सँगसँगै निभाउँदाका जटिलता झेलेकी सरस्वतीको उतारचढावले भरिएको जिन्दगी नै पुस्तकको सार हो । आफ्नो कथा भन्ने क्रममा उनले समकालीन महिलाका संंघर्षलाई पनि स्थान दिएकी छिन् । तर, त्यो पर्याप्त भने देखिँदैन । आफूसँग जोडिन आउने बग्रेल्ती पात्रको नाम यथेष्ट विशेषणबिना थोपर्नु पुस्तकको कमजोरी हो भने गुल्मी, पाल्पा र अर्घाखाँचीको भौगोलिक ज्ञान नभएका र उक्त भेगभन्दा बाहिरका पाठकले पढ्दा ठाउँ–ठाउँमा प्रस्टताको अभाव झल्किनु पुस्तकको खोट हो ।

स–साना घरेलु सन्दर्भ र व्यवहारको वर्णनबाट कुनै समयको ग्रामीण नेपाल बुझ्न सघाउँछ । साथै, एउटै समाजमा पुरुषका निम्ति राजनीति सजिलो र महिलाका निम्ति दुरुह हुनुको कारण देखाउँछ पुस्तकले । तर, राजनीतिक यात्रामा महिला र पुरुषलाई समाज व्यवस्था, परिवार र संस्कारले कसरी फरक पार्छ भन्ने देखाउन पर्याप्त तुलना गरिएको छैन । सरस्वतीले यस्तो तुलना गर्ने अवसरलाई छाडे पनि विभेदकारी पछौटे नेपाली समाजको चरित्र भने प्रस्ट बताएकी छन् ।

विभिन्न पात्र र प्रवृत्तिमाथि सरस्वतीले सतर्क भएर आलोचना गरेकी छिन् । पारिवारिक असली भूमिकाबाट टाढिएका आफ्नै श्रीमान्माथि उनले प्रश्न तेस्र्याएकी छिन् । तर, प्रश्नमा पनि धारभन्दा धेरै प्रेम मिसिएको छ ।

एक प्रसंगमा सरस्वतीलाई घरबेटीले भन्छिन्, ‘नानी लोग्नेमान्छेको मन त ढुंगाको हुँदो रहेछ । बच्चा यस्तो बिरामी हुँदा नआएको बाउ अरू बेला किन चाहियो ?’ घरबेटी आमैको तीखो भनाइ र श्रीमान्बारे समाजमा फैलिने अनेकन् अफवाह सुनेका बेला उनी लेख्छिन्, ‘मेरो त्यस्तो असल लोग्ने भएर पनि यिनीहरूले हेपे । बहुदल आएको यत्रा वर्षमा पनि मेरो लोग्ने यो हो भनेर कुनै दिन सँगै हिँड्ने मौका पाइएन ।’

३२ वर्षेे वैवाहिक सहयात्रा, एक्लै बिताएको ६ वर्ष, आठ वर्षदेखिको गृिहणी यात्रा–अनुभूति हो, यो पुस्तक । सरस्वतीको जागिरे हन्डरले औसत नेपाली महिलाको साझा संघर्ष बताउँछ । राजनीतिक फेरबदलले जागिरे जीवनमा पारेको अप्ठ्यारो, बौद्धिक अपांगता भएकी छोरी हुर्काउनुको जटिलता र  संवेदित आमाको संवेदना/पीडा पुस्तकमा छाम्न सकिन्छ ।

आफैँ राजनीतिमा होमिएको र निरन्तर राजनीतिमा सक्रिय श्रीमान् भएकाले पनि सरस्वतीले राजनीति र खासगरी कम्युनिस्ट राजनीतिको चरित्रलाई केही हदसम्म उद्घाटित गरेकी छिन् । राजनीति कति क्रूर खेल हो भन्ने पुस्तकमा खुलाइएको छ । पार्टी विभाजनपछि प्रदीप ज्ञवालीमाथिको आक्रमण र  उपचारका क्रममा देखाइएका व्यवहार र स्वास्थ्य–लाभको कामना गर्नसमेत कन्जुस्याइँ गर्ने कामरेडहरूको चरित्र पढ्दा राजनीति संवेदनहीन या दयाहीन रहेको भान हुन्छ । सरस्वतीले राजनीतिका साना घटनाहरूलाई पुस्तकमा ठाउँ दिएर नेपाली राजनीतिको चरित्र र यसमा अन्तरनिहित तत्त्वबारे आमपाठकलाई बुझ्ने मौका दिएकी छिन् ।

बदख्वाइँ गर्न समाचारको सहारा लिने प्रवृत्तिले कति दु:ख दिन्छ भन्नेबारे लेखेकी छिन् । तर, त्यस्ता पत्रिका कुन–कुन थिए भन्नेबारे भने उनले खुलाएकी छैनन् । अनेक सन्दर्भमा जोडिन आउने सबै पात्रको नाम खुलाउने लोभमा पुस्तकका केही पाठ कमजोर बनेका छन् ।

विविध सन्दर्भहरूको सिलसिलेबार वर्णनमा पुस्तक कैयन् ठाउँमा चिप्लिएको छ । कहीँ–कतै सन्दर्भहरू नदोहोरिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

जब आमा सरस्वतीको अनुभूति आउँछ, त्यतिबेला उनका शब्द कपासजस्ता हलुंगा र संवेदनशील बन्छन् । तर, राजनीतिज्ञ सरस्वतीको भाषा खस्रो छ । जब उनी प्रदीपकी श्रीमतीका रूपमा प्रस्तुत हुन्छिन्, उनको भाषा जिम्मेवारीको भारी बोकेर उभिएको महिलाको जस्तो देखिन्छ । आँसुको घुट्कासँगै अपमान पिएको, मुटु घोच्ने तीखा शब्दवाण पचाएको, दु:खका अनेकौं घुम्ती आइरहँदा पनि गतिवान् बनेकी सरस्वती आफ्ना विचारमा प्रस्ट छिन् । आफ्नो बुझाइको सत्यतामा अडिग देखिन्छिन् । उनीसँग भावनाको सघनता मात्रै छैन, विचारको प्रस्टता पनि छ । उनीसँग कर्तव्यको पहाड मात्रै छैन, त्याग गर्ने साहस पनि छ । उनी लेख्छिन्, ‘हाम्रो यात्राको डुंगाले हामीलाई कहिले पनि भावनाको छालमा बग्न दिएन ।’

प्रकाशित: वैशाख १२, २०७५

ट्याग: समीक्षा