[स्मरण] भारु ९३६ ले पुर्‍याएको सास्ती

- विहारीकृष्ण श्रेष्ठ

विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर जेनेभाबाट फर्किएको केही समय मात्र भएको थियो, दरबारबाट बोलावट आयो । सामान्यत: दरबारबाट बोलाइनु राम्रै मानिन्थ्यो । बोलावट रानी ऐश्वर्यका निजी सचिव गेहेन्द्रमान सिंहबाट आएको थियो । उनीसित भेट हुनेबित्तिकै ‘ल टिप्नूस् त !’ भन्न थाले । म त्यस्तो टिप्नुपर्ने मनस्थितिबाट गएको थिइनँ । तैपनि, आफ्नो सानो डायरी झिकेँ र टिप्न थालेँ । सोधिएका प्रत्येक प्रश्न चकित पार्ने खालका थिए ।

त्यसबेला मेरो सार्वजनिक परिचय दरबारको मान्छेकै रूपमा थियो । केही वर्ष पहिला म राजाकै हुकुमबाट उपसचिव भएको ६ महिनामै सहसचिवमा पदोन्नति भएको थिएँ । फेरि, राजाका सबैजसो महत्त्वपूर्ण भाषण लेख्ने जिम्मा पनि मलाई नै दिइन्थ्यो ।

जब म सिंहले टिपाएका प्रश्नहरूमा घोत्लिन थालेँ, तत्कालीन स्वास्थ्यमन्त्री सुशीला थापाले मेराउपर दरबारमा उजुरी दिएकाले स्पष्टीकरण सोधिएको बुझ्न मलाई समय लागेन । त्यतिबेला मन्त्री थापाको विशेष पहिचान रानीको चाकरीदारका रूपमा थियो । त्यसैले उनले प्रधानमन्त्री र राजा होइन, सीधै रानीकहाँ मेराविरुद्ध उजुरी दिएकी थिइन् । त्यतिबेलाको व्यवस्था एक किसिमले द्वैध शासनजस्तो थियो, रानीको पनि हुकुम चल्ने ।

जम्मा ११ बुँदामा मलाई स्पष्टीकरण सोधिएको थियो । र, ती सबै नै आधारहीन र केटाकेटी खालका प्रश्न थिए । त्यतिबेला मेरा दुइटी छोरी झन्डै एक महिनाको अन्तरालमा फ्रान्स र अमेरिका पढ्न गएका थिए । त्यस कुरालाई फरक ढंगले उजुरी गरिएको रहेछ । ‘ एकातिर तिनलाई पठाउन आर्थिक जोहो कसरी गर्‍यो, थाहा भएन’ भनिएको थियो भने अर्कोतिर ‘यूएनएफपीएबाट सरकारको खातामा जम्मा हुनुपर्ने यूएनको चार लाख डलर थोरै मात्र जम्मा गरिएको छ’ भन्ने हास्यास्पद दोषारोपण लगाइएको रहेछ ।

मन्त्री थापा साहै्र लोभी र भ्रष्ट थिइन् । उनले विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिन सरकारबाट १० दिनको दैनिक भत्ता र नेता भत्ता बुझेकी थिइन् । तर, युनिसेफसित भनसुन गरेर बेलायतमा क्यान्सर रोगको उपचार व्यवस्था अवलोकन गर्न भनी उनीहरूसँग पनि आर्थिक सहयोग लिई बेलायत भ्रमणको चाँजोपाँजो मिलाएकी थिइन् । जेनेभा बैठक बीचमै छाडी बेलायत गइन् । बेलायतमा झन्डै दुई साता बसेर नेपाल फर्किंदा त्रिभुवन विमानस्थलमा उनलाई ‘रिसिभ’ गर्न पुग्दा काठमाडौँस्थित बेलायती दूतावासका प्रथम सचिव माइकल हिल्टन पनि उनको स्वागतार्थ पुगेका थिए । उनलाई मैले सोध्दा थाहा भयो, मन्त्रीले ब्रिटिस काउन्सिलबाट पनि त्यस भ्रमणका निम्ति भनेर आर्थिक सहयोग लिएकी रहिछन् ।

वास्तवमा मन्त्री थापा आफ्नो स्वार्थका निम्ति मुलुक र आफ्नै पनि इज्जतको ख्याल गर्दैन थिइन् । जेनेभा जाँदा विश्व स्वास्थ्य संघमा जागिर खुवाउन छोरालाई पनि सँगै लिएर गएकी थिइन् । साथै, जेनेभाका पदाधिकारीलाई रिझाउन एक बोरा उपहार बोकेर पुगेकी थिइन् । १ सय ७६ मुलुक सहभागी विश्व स्वास्थ्य संघको त्यो वार्षिक साधारणसभामा हाम्री मात्रै त्यस्ती मन्त्री थिइन्, जसले डब्लूएचओ मुख्य अफिसका प्रत्येक कोठा चहारेर उपहार टक्र्याउँदै हिँडेकी थिइन् । त्यही चाकरीका भरमा उनले केही क्षणका लागि एउटा ‘प्लेनरी बैठक’को अध्यक्षता गर्ने मौका पाइन् । तर, उनलाई अंग्रेजी नआउने । त्यसैले हामीले उनलाई अध्यक्षको हैसियतले वक्तालाई निम्त्याउने र धन्यवाद दिन बोल्नुपर्ने सीमित अंग्रेजी वाक्य देवनागरी लिपिमा लेखेर दिएका थियौँ । एकैचोटि दिँदा तलमाथि पर्ला भन्ने डरले छुट्टाछुट्टै कागजका टुक्राको व्यवस्था पनि गरेका थियौँ ।

मलाई सोधिएको स्पष्टीकरणको लिखित उत्तर दिने क्रममा मैले मन्त्री थापाले चारैतिरबाट पैसा लिएका प्रमाणहरू बटुलेर राख्नुका साथै उनको नेतृत्वमा प्रतिनिधिमण्डल जेनेभा जाँदा मुलुकलाई कति नोक्सान भयो भन्नेसमेत ११ पृष्ठको लिखित प्रत्युत्तर दरबारमा बुझाएँ । र, नेपालको संविधानले यस्तै अधिकारको दुरुपयोग रोक्न अख्तियार दुरुपयोग निवारण आयोगको व्यवस्था गरेकाले यो मुद्दा पनि उक्त आयोगमा उठाई पाऊँ भनी निवेदन दिएँ । तत्पश्चात् त्यो घटना त्यसै सेलाएर गयो । मलाई भने स्वास्थ्य मन्त्रालयबाट आवास मन्त्रालयमा सरुवा गरियो ।

मेरो विचारमा मन्त्री तत्कालीन स्वास्थ्यमन्त्री सुशीला थापा थापा मसँग रिसाउनुको कारण जेनेभा जानुअघि मैले उनीसँग लिनुपर्ने ९ सय ३६ भारु नै हो । म क्यानडाको एउटा संस्थाको व्यक्तिगत निम्तोमा भारतको नयाँदिल्लीमा आयोजित दक्षिण एसियास्तरीय विज्ञहरूको दुईदिने गोष्ठीमा भाग लिन जाँदै थिएँ । त्यतिबेला मन्त्री थापाले मलाई दिल्लीबाट एउटा औषधि ल्याइदिन भनेकी थिइन् । औषधिको मूल्य थियो, ९ सय ३६ भारु । फर्केर आएपछि औषधि र बिल मन्त्री थापालाई दिएँ । तर, महिनौँ बित्दा पनि उनले मेरो पैसा फर्काइनन् । त्यसपछि मैले जेनेभा जाने समय नजिकिएपछि डलर साट्ने निहुँमा उनको पीएमार्फत स्मरण गराएँ । तर, केही लागेन । त्यसपछि मन्त्रीको निवासको पीएलाई फोन गरेर सम्झाएको भोलिपल्ट मन्त्रीको कार्यकक्षमा मिटिङ थियो । त्यहाँ जाँदा मन्त्रीले ‘लिनूस् तपाईंको पैसा’ भनेर झर्किंदै एउटा प्लास्टिकको झोला थमाइदिइन् । त्यहाँ नौ सय भारु मात्र थियो । त्यतिबेला मन्त्रीलाई राम्रोसँग चिनेकी एक मित्रले भनेकी थिइन्, ‘तपाईंले मन्त्रीसँग आफ्नो पैसा मागेर राम्रो गर्नुभएन ।’ अन्य केही नराम्रो त भएन तर मेराविरुद्ध दरबारमा उजुरी दिनुमा यही एउटा कारण महत्त्वपूर्ण भइदियो ।

प्रकाशित: वैशाख १२, २०७५

ट्याग: सस्मरण