[तीन किताब] त्यो आदिम साधु

- सुनील पोखरेल

सिद्धार्थले मलाई बहुलाउनबाट दुईचोटि बचाएको छ । मलाई बेलाबखत डिप्रेसन आउँछ । कलेजमा मनोविज्ञान पढेकाले म त्यो चाल पाइहाल्छु । पहिलोचोटि डिप्रेसन भएका बेला नाटकमा सिद्धार्थको भूमिका गर्नुपरेकाले बचायो । पछिल्लोचोटि डिप्रेसनमा गएको थाहा भएपछि फेरि दराजबाट निकालेँ र आधाउधिमा पुर्‍याएर छाडेँ । कुन दिन छिचोल्छु, थाहा छैन ।

सिद्धार्थ अर्थात् जर्मन लेखक हर्मन हेसको दुब्लो–पातलो किताबमा चित्रित पात्र । यसमा एक आदिम साधुको आत्मखोज–यात्रा छ । कहिले व्यापारीको भेषमा, कहिले प्रेमीको त कहिले साधुको । ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ जीवनका तीन चरण र चार आर्य सत्यमाथि लेखिएको यो आख्यान बडो काव्यिक छ ।

सिद्धार्थले दुनियाँदारी भोग्यो । आखिर फर्कियो त त्यही प्रकृतिमा । नदीको किनारामा । माझी भएर डुंगा तारेर बस्यो । त्यही पो रहेछ जीवन ! नगरकी प्रख्यात गणिका कमला सोध्छे, ‘ओ साधु ! तिमी प्रेमका निम्ति के गर्न सक्छौ ?’ साधु निर्दोष जवाफ फर्काउँछ, ‘म विचार गर्न सक्छु । प्रतीक्षा गर्न सक्छु । निराहार बस्न सक्छु । र, काव्य–वाचन गर्न सक्छु ।’

पहाड घर (खोटाङ) को छेउछाउमा दलित बस्ती थियो । म त्यहाँ गएर खेल्न पाइनँ । साथी बनाउन पाइनँ । धन्न बाबुले केही हिन्दी किताब जम्मा गरेका रहेछन् र कनिकुथि पढ्न थालेँ । आधाउधि त गलत अर्थ लगाउँदो रहेछु, त्यो पनि विराटनगर आएपछि थाहा पाएँ । तसर्थ, मेरो पठन यात्रामा त्यो दलित बस्तीको गुन छ ।

यसो किन भनिरहेको छु भने, बिहान ‘ज्ञ’मा क्लास लिएपछि म घर जान्छु । र, दिनभरिमा चार–पाँचवटा किताब पढ्छु । एकदमै फास्ट रिडिङ छ मेरो । पढ्न थालेपछि नसिध्याई छाड्दिनँ । बकाइदा सम्झन्छु पनि । पटक–पटक तोर्पे, खोया र झूर किताबको फेला परेको छु । कहिलेकाहीँ त रनभुल्लमा पर्छु, कुन राम्रो र कुन नराम्रो ? बिकेको आधारमा किताब घर ल्याउनु हुँदोरहेनछ । यद्यपि, कतिपय किताबले मलाई बहुलाउनबाट बचाएका छन् ।

पहिले म वेदप्रकाश शर्मा, ओमप्रकाश शर्मा, कर्नल रन्जित, गुलसन नन्दा आदिका सस्पेन्स र थ्रिलर उपन्यास पढ्थेँ । मलाई साहित्य पढ्न सिकाउनेचाहिँ गिरिराजमणि पोखरेल (शिक्षामन्त्री) हुन् । मेरो मामाघरका छिमेकी ती दाजु विद्यार्थी राजनीति गर्थे । उनले मलाई रुसी साहित्य आमा पढाए सायद । उनलाई पनि धन्यवाद छ ।

मेरा अर्का प्रिय लेखक हुन्, शंकर लामिछाने । धेरैले मदन पुरस्कार पाएको एब्स्ट्रयाक्ट चिन्तन प्याज भन्छन् । तर, मलाई मन पर्छ, गौंथलीको गुँड । त्यो कथासंग्रह किन मन पर्छ भने जीवनको पाठशालाबाट उतारेका ज्ञान, अनुभव र चिन्तन छन् । कतिपय त उनकै आत्मकथाजस्ता छन् । ‘अद्र्धमुदित नयन र डुब्न लागेको घाम’ मेरो प्रिय कथा हो । काव्यात्मक, दार्शनिक अनि अस्तित्वगत चेतना छ यसमा । ‘माया नं ६५३’ पनि गजब छ । सरल र स्टाइलिस ।

शंकर लामिछाने आफ्नो समयभन्दा धेरै पहिले जन्मेछन् । मैले उनलाई भेट्न पाइनँ । उनको कथामा सरलता छ, निबन्धमा बौद्धिकता । मलाई उनको सरलता र जटिलता दुवै मन पर्छ । म त्यो अवतार अहिले कुमार नगरकोटीमा देख्छु । साहित्यिक पुनर्जन्म पो हो कि ?

शंकरलाई जस्तै भेट्न नपाइएला भनेर मैले कुमार नगरकोटीलाई आफैँले सम्पर्क गरिहालेँ । मोक्षान्त : काठमान्डु फिभर पढेपछि ‘तिम्रो मृत्युको समाचार’को नाटक बनाउने खबर सुनाएँ । तर, उनको मन परेको कथासंग्रहचाहिँ फोसिल हो । गिद्धहरूको नाच, बरफ, श्लोक, विनिर्वाण, कथार्सिस, पाण्डुलिपि, रिभोल्भर र फोसिलमध्ये शीर्षकथाले बेस्सरी हल्लायो । आठै कथा गजबसँग लेखिएका छन् । साधुपन र बौलाहापनको मिसावट छ । भाषा, शब्द र भूगोलको सीमा छैन । अघोरी टाइपको नगरकोटीयन कथा ।

मेरो अनुभव– आत्मकथा पढ्दा इतिहास थाहा हुन्छ, आख्यान पढ्दा कल्पना शक्ति बढ्छ । म बबाल मात्र होइन, बाल–पुस्तकको पनि पारखी हुँ । ह्यारी पोर्टर शृंखला ११ पटक पढेछु । दुनियाँमा दु:ख छ, दु:खको कारण छ, त्यसको निवारण पनि छ । ती आर्य सत्य बिर्सेर म फेन्टासीमा रमाउँछु । मलाई किताब धेरै चाहिन्छ । स्टक सकिनासाथ उधारो किताब लिन कुदिहाल्छु ।

प्रकाशित: वैशाख ११, २०७५