विकासको बौलाहा मोडेल

- सुरेन्द्र लाभ

‘हत्तेरी ! यस्तो पनि विकास हुन्छ ?’ नाकमा  रुमाल लिएर छोप्दै एक जना बटुवा जनकपुरको सडकमा रिसाउँदै थिए ।’ ‘काठमाडाँैमा पनि त यस्तै विकास भइरहेको छ,’ नेताजस्तै देखिने अर्कोले रिसलाई न्यून गर्न तर्क बढाए । जनकपुरमा हाल एकीकृत सहरी परियोजना सञ्चालित छ । मुख्य मार्गहरू तोडिँदैछन् । सडक विस्तारको कार्य जारी छ । दुवैतिर बटुवा हिँड्ने पेटी पनि बनाउने रे ! सडक साँघुरो भो, दुवैतिर घरहरू भत्काइँदैछन् । मुख्य व्यापारिक सडकहरू अवरुद्ध छन् । व्यापार ठप्प छ । ठूलै विध्वंश भएको अनुभूति हुन्छ । धूलैधूलो चारैतिर व्याप्त छ । दृश्य भयावह बनेको छ, यस सुन्दर नगरीको । जो–कोहीको मुखबाट निस्कने वाक्य एउटै छ, ‘जनकपुर सिरिया बन्यो ।’ उता भारतसँग जोडिने जनकपुर–भिठ्ठामोड सडक वर्षाैंदेखि निर्माणाधीन नै छ । थोरै वर्षा हुँदा पनि सडकभरि हिलैहिलो हुन्छ । वर्षा नहुँदा धूलैधूलो । भारतसँग जोडिने अर्को मार्ग जनकपुरदेखि जटही खण्डको स्थिति पनि यस्तै छ, हिलाम्ये र धुलाम्ये । जनकपुरदेखि जयनगर रेलमार्ग ब्रोडगेजमा वर्षौंदेखि परिणत हुँदैछ र त्यो मार्ग पनि धूलो आच्छादित बनेको छ ।

विकासको यस्तो क्रम जनकपुरमा मात्र होइन, पूरै नेपालमा अपनाइएको छ । वर्षांैदेखि काठमाडाँैवासीले भोग्दै आएको पीडा हो यो । जनकपुरले आज भोग्दैछ । अन्य नगर पनि आक्रान्त छन् । प्रश्नहरू उठ्न  थाले, के विकास भनेको यही हो ? यो विकास हो कि विनास हो ? प्रश्नहरू उठाउन पनि सक्नुपर्छ । सुरक्षित विकास हुन सक्छ कि सक्दैन ? यस पद्धतिको कुनै विकल्प छ कि छैन ? विकासको यो पद्धतिलाई पञ्चायती व्यवस्थाभैँm निर्विकल्प बनाइँदैछ । विकास चाहिन्छ, सबैलाई चाहिन्छ । सबैलाई आफ्नो नगर सुन्दर र व्यवस्थित  चाहिन्छ । तरिकाको प्रश्न मात्र छ, यहाँ । यो धर्तीमा बाँचुन्जेल सास लिनैपर्छ । र, प्रत्येक सासमा धूलोलाई फोक्सोभित्र लिएर जाँदा पक्कै पनि स्वास्थ्यलाई राम्रो गर्दैन । नगरका बच्चा, युवा, वृद्ध सबैले लिने अक्सिजनलाई दूषित बनाउनु के न्यायोचित छ ? मास्क लगाउने विकल्प देखिन्छ । तर, यो पनि पूर्ण सुरक्षित नरहेको विचार चिकित्सकले बताइसकेका छन् ।

घर, सडक आदि तोड्ने बेलामा जति गति तीव्र हुन्छ, पुन:निर्माणमा त्यति हुँदैन । समयको कुनै महत्त्व छ कि छैन ? पुन:निर्माणको अवधि लम्बिँदा सास्तीको अवधि पनि लम्बिन्छ । ठेकेदारहरूको कुनै समय–तालिका हुन्छ कि हुँदैन ? त्यसलाई अनुगमन गर्ने कि नगर्ने ?  सडक निर्माण एउटा पद्धतिबाट गर्ने कि जथाभावी ? आधा सडक बनाएर आधा तोड्ने कि एकैचोटि तोड्ने र एकैचोटि बनाउने ? पैदल यात्रु, साइकल, मोटरसाइकल, यातायातका अन्य साधन सबैलाई अप्ठ्यारो छ अहिले । कताबाट जाने र कताबाट आउने ? गुणस्तरको प्रश्न छँदैछ । भ्रष्टाचार ‘प्रवृत्ति’ बन्दै गएको छ । निर्माण कार्यमा सहोदरको सम्बन्ध स्थापित हँुदैछ ।

क्षतिपूर्तिको प्रश्न पनि उठ्ने गरेको छ । जग्गाधनी प्रमाणपुर्जा सरकारले दिने गरेको छ । जग्गामा जिन्दगीभरको आर्जन लगाएर व्यक्तिले घर बनाउँछ । र, सडक विस्तारको नाममा  घर तोडिन्छ । आधा पेट खाएर घर बनाएकाहरूलाई पीडा थाहा हुन्छ । घर तोड्दा कतिपय व्यक्तिहरू डिप्रेसनको सिकार हुन्छन् र कतिपयको मृत्यु नै हुन्छ । जनकपुरमै एक जनाको घर तोड्न यता डोजर भिडाइयो, उता उनलाई हृदयाघात नै भयो । जसको लालपुर्जा छ, उसलाई समुचित क्षतिपूर्ति दिनु उचित छ । ‘समुचित’ शब्दको यहाँ विशेष अर्थ छ । जग्गाको सरकारी दस्तुर थोरै र बजार भाउ धेरै हुने गर्छ । तसर्थ, बजार भाउमा पनि थपेर क्षतिपूर्ति दिइँदैन भने विचरा घरधनी राज्यलाई जग्गा दिन कसरी प्रोत्साहित हुन्छन् ? यस्तो अभ्यास धेरै देशमा पनि रहेको छ । तर, यहाँ सबै मौन छन् । र, मौनताभित्र उकुसमुकुस छ । अर्को वैकल्पिक बाटो पनि  छ, पुरानो नगरलाई यथावत् राखेर नयाँ योजनाबद्ध नगर बसाल्नु । पुरानै नगरलाई तोड्दा काठमाडौँमा प्रश्न उठ्छ, पुरानो सांस्कृतिक सम्पदाको विनास गर्ने ? जनकपुरमा घर तोडेर सामाजिक सन्जाल चलाइन्छ, अब ‘मिथिला हेरिटेज स्ट्रिट’ बनाऔँ । प्रश्न उठिहाल्यो, लगानी कसले गर्ने ? मिथिला हेरिटेजको नमुना के–कस्तो हो ? सामाजिक सन्जालमा सूचना दिने  नगरपालिका आफ्नो निर्णयमा अडिग रहन्छ कि रहँदैन ? जनताको विश्वास पनि त जित्नुपर्‍यो ।

विकासविरोधी भइएला भनेर सशक्त रूपमा आवाज उठिरहेको छैन । किनभने, विकासको यस्तै मोडेल अहिलेसम्म सिकाइएको छ, देखाइएको छ र पढाइएको छ । सरकारलाई कर तिर्ने जनताले विकासको मोडेलप्रति आवाज उठाएनन् भने विकास यस्तै बौलाहा हुन्छ ।

प्रकाशित: वैशाख ११, २०७५