[टिप्पणी : किशोरी आमा] जोखिम पनि उत्तिकै

- डा सुमनराज ताम्राकार

मोफसलको एक शिक्षण अस्पतालमा एक साताभित्र दुइटा टिनएज प्रेग्नेन्सीको केस आयो । त्यसमध्ये एक जना १७ वर्ष र अर्की १८ वर्षका । उनीहरू दुवै ग्रामीण क्षेत्रका अनि एउटी ५ र अर्की ७ कक्षासम्म पढेका ।

पहिलो केस, प्रसव व्यथामा आएकी उनी अविवाहिता थिइन् । डेलिभरी राम्रोसँग भयो । तर, बच्चाको बाबु को हो भन्ने विवाद उठ्यो । किशोरीको आफन्तले डीएनए परीक्षण गराएर बाबुको पहिचान भएपछि मात्र अस्पतालबाट डिस्चार्ज गरेर लैजाने बखेडा झिके ।

दोस्रो केस, प्रसव व्यथा नै भन्ने थाहा थिएन । किनकि, उनी पनि अविवाहिता नै थिइन् । डेलिभरीपछि बच्चाको बाबुबारे बोल्दै बोलिरहेकी थिइनन् । बाबु पत्ता लगाएर छोरी जिम्मा लगाउने सोचमा थिए, अभिभावक ।

►[विभु लुइटेलको रिपोर्ट पढ्नुहोस् : बढ्दैछन् किशोरी आमा]

यी केवल प्रतिनिधि घटना मात्र हुन् । किशोरीवयमै गर्भवती हुनु वा कानुनी रूपमा वयस्क नभई गर्भधारण गर्नुलाई टिनएज प्रेग्नेन्सी मानिन्छ । स्वास्थ्यको दृष्टिले २० वर्षको उमेरपछि मात्र बच्चा पाउनु राम्रो मानिन्छ । तर, विश्वमा वर्षेनि करिब एक करोड तीस लाख बच्चाको जन्म टिनएजर आमाबाट भइरहेको छ । यसमध्ये ९० प्रतिशतभन्दा बढीजसो घटना विकासोन्मुख देशमा हुने गरेका छन् । तर, विकसित देशमै पनि अनपेक्षित रूपमा टिनएज प्रेग्नेन्सीका कारण गर्भ तुहाउनेको संख्या मनग्गे छ ।

‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०१६’ को रिपोर्ट अनुसार नेपालमा पनि टिनएज प्रेग्नेन्सीको संख्या मनग्गे देखिएको छ । १५ देखि १९ वर्ष उमेरका १७ प्रतिशत नेपाली किशोरी आमा बन्ने गरेका छन् । यो संख्या सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी र प्रदेश अनुसार पनि फरक पाइएको छ । सहरी क्षेत्रमा १३ र ग्रामीण भेगमा २२ प्रतिशत किशोरीवस्थामै गर्भवती हुने गरेका छन् भने प्रादेशिक संरचना अनुसार प्रदेश ३ मा सबैभन्दा कम १० र प्रदेश २ मा सबैभन्दा बढी २७ प्रतिशत किशोरीवस्थामै गर्भवती हुने गरेको पाइएको छ । सोही सर्वेक्षण अनुसार धेरैजसो नेपाली किशोरीले विवाहपछि मात्र यौनसम्पर्क कायम राख्ने र गर्भधारण गर्ने गरेको पाइए पनि नेपाली किशोरले भने आफ्नो विवाहको एक वर्षअगाडि नै यौनसम्पर्कको अनुभव लिने गरेको पाइएको छ ।

कारण

विकासोन्मुख देशमा बालविवाह वा कलिलै उमेरमा विवाह गरिदिने सामाजिक संस्कारका कारण सानै उमेरमा यौनसम्पर्क स्थापित हुनु तथा परिवार नियोजनका साधनको उचित प्रयोग नगरिनु टिनएज प्रेग्नेन्सीको प्रमुख कारण हो । यसमा न्यून साक्षरता, उच्च गरिबी र प्रतिकूल सामाजिक वातावरणको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । सहरी परिवेशमा मद्यपान तथा नसालु पदार्थको सेवन एवं सहपाठीको करकाप नै कलिलो उमेरमै यौन गतिविधिमा लाग्ने कारणले यो समस्या निम्तिन्छ ।

बाल्यावस्थामा यौन दुव्र्यवहार, घरेलु हिंसा, पारिवारिक बेमेल, अनेकखाले दुव्र्यवहार भोगेका बालिका सानै उमेरमा आमा बन्ने सम्भावना बढी हुन्छ । सौतेनी आमाको छत्रछायाँमा हुर्केकाहरू, निरक्षर तथा कम साक्षर किशोरीहरू पनि चाँडै आमा बन्ने गरेको पाइएको छ । नेपालको पछिल्लो सर्वेक्षण अनुसार शिक्षाको स्तरसँगै कलिलो उमेरमा विवाह गर्नेको संख्या घट्दै जान थालेको छ । अर्कोतिर अशिक्षित किशोरीमध्ये ३३ प्रतिशतको तुलनामा एसइईभन्दा माथि पढेका केवल ७ प्रतिशत मात्र किशोरीवस्थामै गर्भवती भएको पाइयो ।

प्रतिकूल असर

विश्व स्वास्थ्य संगठनका अनुसार १५ देखि १९ वर्षमा गर्भवती बन्ने किशोरीको मृत्यु हुने सम्भावना दोब्बर छ । गर्भको जटिलताका कारण विकासोन्मुख देशहरूमा मात्र वर्षेनि एक लाख किशोरीको अकालमा मृत्यु भइरहेको छ । गर्भपतन गैरकानुनी ठहरिने देशमा मृत्युदर अझ बढी हुन सक्छ । ढिलो गरी र समस्या उत्पन्न भएपछि मात्र गर्भ जाँचका लागि आउने हुनाले गुणस्तरीय मातृ सेवा पुग्दैन । यसले गर्दा कम्पन छुट्ने समस्या, पिसाब चुहिने समस्या, उच्च शिशु मृत्युदर तथा मातृ मृत्युदर पनि बढ्छ । कलिलो उमेरमा विवाह गर्नेमा पाठेघरको क्यान्सर तथा आङ खस्ने समस्याको जोखिम बढी हुन्छ । सानो उमेरमा विवाह गर्नेहरूलाई बच्चा जन्माउने र हुर्काउने सीप नै हुँदैन ।

टिनएजर आमाले उनका शिशुलाई स्पर्श, मुस्कान, तोतेबोलीबाट संवेगात्मक विकासमा जोड दिन सक्दैनन् । शिशुप्रतिको दायित्व, संवेदनशीलता, अपनत्व देखाउनुको सट्टा शिशुप्रति बढ्ता रिस पोख्ने, पिट्ने, सताउने, दु:ख दिने गर्छन् । कालान्तरमा यस्ता शिशुको मानसिक तथा सामाजिक विकास र वृद्धि विकासमा नकारात्मक असर पुग्छ ।

समाधान

सन् ७० को दशकको तुलनामा परिवार नियोजनका साधनको उपयोगसँगै कुल प्रजनन दरमा आएको कमीसँगै टिनएज प्रेग्नेन्सीको समस्या पनि घटेको छ । तर, विडम्बना पछिल्लो सर्वेक्षण अनुसार सहरी क्षेत्र नै र शिक्षितमाझ परिवार नियोजनका साधन प्रयोगमा कमी आएको छ, जसले गर्भपतनको मात्रा बढाएको छ । ढिलो बिहे गर्ने, लामो समयसम्म काम लाग्ने तथा एकैपटक एकभन्दा बढी नियोजनका अस्थायी साधनको प्रयोगले यो समस्या घटाएको पाइयो । समयसापेक्ष यौनशिक्षा, परिवार नियोजनका साधनसम्बन्धी सेवा तथा परामर्शमा जोड दिनुपर्छ । यौन तथा शारीरिक सम्बन्धका विषयमा निर्धक्क भलाकुसारी गर्ने, जोखिममा रहेकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने र यस्ता घटनाबाट प्रताडित व्यक्तिलाई सघाउने वातावरण हुनुपर्दछ । 

प्रकाशित: वैशाख १०, २०७५