बढ्दैछन् किशोरी आमा

- विभु लुइटेल

अर्घाखाँचीकी पार्वती सामन्त, १५, ले एक वर्षअघि भागेर विवाह गरिन् । गाउँकै १८ वर्षीय अनुप सामन्तसँग भेट भएको छोटो समयमा पार्वतीको प्रेम बस्यो । बिहेका लागि घरपरिवारले मान्छन्–मान्दैनन्, थाहा थिएन । त्यसैले दुवैले भागेर काठमाडौँ आउने निश्चय गरे । विवाह हँुदा उनी कक्षा ५ मा मात्र पढ्थिन् ।

१६ चैतमा पार्वतीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा छोरालाई जन्म दिइन् । कलिलो उमेरमा आमा बन्दा उनको स्वास्थ्यमा समस्या भने छैन । तर, जन्मनेबित्तिकै छोरा जन्डिसको सिकार भएका छन् । शरीरको तौल पनि सामान्यभन्दा कम छ । छोरालाई आईसीयूमा राखिएको छ । आमा र छोराको अहिलेसम्म भेट हुन पाएको छैन । घरका कोही भेट्नसमेत आएका छैनन् । “श्रीमान् मात्रै हुनुहुन्छ यहाँ । तर, उहाँलाई केही कुराको जानकारी छैन,” उनले दु:खेसो पोखिन् ।

►[डा सुमनराज ताम्राकारको टिप्पणी पढ्नुहोस् : जोखिम पनि उत्तिकै]

काठमाडौँको एक कुखुरापालन फार्ममा सरसफाइको काम गर्छिन् पार्वती । उनका पति अनुप ज्यामीको काम गर्छन् । यति सानै उमेरमा उनीहरूका काँधमा ठूलो जिम्मेवारी थपिएको छ, छोरा जन्मिएर । “पढाइलाई निरन्तरता दिन मन थियो तर अब सकिँदैन होला । छोराको जिम्मेवारी आइलाग्यो,” उनले भनिन् ।

परिवार सँगै नहुँदा पार्वतीले पर्याप्त स्याहार र पोषणयुक्त खानेकुराहरू खान पाएकी छैनन् । यो समयमा थुप्रै शारीरिक तथा मानसिक परिवर्तन आउने हुँदा आफ्नाको साथ अपरिहार्य हुन्छ । गर्भधारण गरिसकेपछि दैनिक रूपमा हरेक आमाले २ हजारदेखि २५ सय क्यालोरीभन्दा बढी खानुपर्ने स्वास्थ्यविज्ञहरू बताउँछन् । तर, यी सबैबाट वञ्चित छन्, पार्वती ।

गत फागुनमा मात्रै थापाथली प्रसूतिगृहमा १ हजार ६ सय ७६ बच्चा जन्मिए । तीमध्ये दुई सयभन्दा बढी बच्चा किशोरी आमाबाट जन्मिएका हुन् । शारीरिक रूपमा अपरिपक्व आमाबाट जन्मेका बच्चाहरू धेरैजसो रोगको सिकार बन्ने गरेका छन् । “आमाको रगतमा आइरनको कमी हुने, सोचेभन्दा धेरै रक्तचाप भइदिने, कम तौलका बच्चा जन्मिनेजस्ता समस्या धेरै देखापर्छन्,” प्रसूतिगृहका निर्देशक प्रा डा जागेश्वर गौतम भन्छन् ।

भरतपुर अस्पताल, चितवनमा २० वर्षमुनिका गर्भवती महिला दैनिक औसतमा पाँच जना भर्ना हुने गरेका छन् । “२० वर्षमाथिका आमाभन्दा किशोर आमाहरू निकै अपरिपक्व हुन्छन् । कतिलाई त नियमित परामर्श दिइरहनुपर्छ,” अस्पतालकी नर्स उषा न्यौपाने भन्छिन् । आर्थिक रूपमा आत्मनिर्भर भएर मात्रै सन्तान जन्माउँदा उचित स्याहार–सुसार दिन सकिने किशोरावस्थाका हरेक व्यक्तिलाई सुझाब दिन्छिन् उनी ।

गोलढुंगा, काठमाडौँकी राधा कटुवाल, १७, को कथा पनि उस्तै छ । कक्षा ५ मा पढ्दै गर्दा उनले आफूभन्दा ठूलो उमेरका केटासँग भागेर बिहे गरिन् । उनी बेरोजगार छन् भने पति वेल्डिङको काम गर्छन् । “घरमा उसै त खान धौ–धौ पथ्र्यो । अब के हुने हो, थाहा छैन,” उनले भनिन् । सानै उमेरमा गर्भवती हुनुपर्दा बच्चा र आफ्नो स्वास्थ्यमा सामान्य समस्या देखिएको बताउँछिन् उनी ।

पार्वतीजस्तै राधा पनि पढाइलाई निरन्तरता दिन चाहन्छिन् । हतारमा बिहे गरेकामा र उमेर नपुगी सन्तान जन्माएकामा पनि पछुतो छ, उनलाई । भाग्यलाई सम्झेर चित्त बुझाउनुबाहेक उनीसँग अन्य विकल्प छैनन् ।

१० वर्षअघि बर्मझिया, सप्तरीकी संगीता साहको विवाह १७ वर्षको उमेरमा आफ्नै गाउँका गोपाल साहसँग भयो । त्यतिबेला उनी कक्षा ११ पढ्न फारम भरेर बसेकी थिइन् । परिवारको करकापमा विवाह गरिन् । विवाहको वर्ष दिन नबित्दै छोरी जन्माइन् उनले । छोरीलाई जन्म दिने बेला उनमा गर्भाशय उल्टिने समस्या (युटेरस इन्भर्सन) देखियो । निकै दिनसम्म उनी बेहोश भइन् । बच्चाको गर्भनाल आमाको शरीरबाट आपैँm नछुट्टिए डाक्टरले केही विधि अपनाई त्यो निकाल्न मद्दत गर्छन् । यस्तो अवस्थामा गर्भाशय उल्टिन सक्छ । करिब तीन हजार महिलामध्ये एक जनामा यो समस्या देखिने गरेको छ ।

अध्ययन पुन: सुरु गर्ने चाहना भए पनि पतिले मानेनन् । पढेर धेरै ठूलो मान्छे बन्ने संगीताको सपना सपनामै सीमित भयो । त्यसको रिस उनी छोरीमा पोख्थिन् । चौबीसै घन्टा छोरीलाई गालीदेखि कुटपिटसम्म गर्थिन् उनी । केही वर्षपछि उनी छोराकी आमा बनिन् । त्यसपछि श्रीमानसँग उनको मनमुटाव भयो । उनले इलेक्ट्रोनिक सामानको एउटा सानो पसल चलाएर दैनिक गुजारा गर्दै आएकी छन् । तर, त्यहाँबाट आउने पैसा दुई बच्चाको शिक्षा र स्याहार–सुसारका निम्ति पर्याप्त भने छैन । परिवारका अन्य सदस्यसँग समय–समयमा सहयोग माग्न बाध्य छन् उनी ।

नेपालमा महिलाले १८ वर्ष र पुरुषले २१ वर्ष नपुगी विवाह गर्नु गैरकानुनी मानिन्छ । तर, उमेर नपुग्दै विवाह गर्नेहरूलाई कानुनी कारबाही भएका घटना बिरलै भेटिन्छन् । कति स्वेच्छाले बिहे गर्छन् भने कति सामाजिक परिवेशका कारण बाध्य भएर । प्रजनन् स्वास्थ्यबारे घर तथा विद्यालयमा आवश्यक सचेतना र शिक्षा पर्याप्त दिइँदैन । अनि, कलिलो उमेरमा नै किशोरीहरू सन्तान जन्माउँछन् । एक सर्वेक्षण अनुसार नेपालमा बर्सेनि प्रतिहजारमा करिब ८१ किशोरी आमा बन्ने गर्छन् । त्यसमध्ये १२ प्रतिशत विवाहपूर्व आमा बन्नेमा पर्छन् । गर्भपतन गराउनेको संख्या भने न्यून छ । त्यसमा पनि अधिकांश सहरका किशोरी पर्छन् । सहरभन्दा गाउँमा यो संख्या दोब्बर छ । यस्तो अनुपात हरेक वर्ष घट्ने गरेको छ ।

सिल्भर माउन्टेन स्कुलमा फ्रेन्च भाषाकी शिक्षिका सगुना शाहको भने अन्यको भन्दा बेग्लै भोगाइ रहेको छ । १७ वर्षको कलिलै उमेरमा बाध्यात्मक परिस्थितिका कारण उनले विवाह गर्नुपर्‍यो । विवाह भएको २ वर्षपछि उनी पहिलो सन्तानकी आमा बनिन् । गर्भनालले बच्चाको गर्धन कसेका कारण श्वास–प्रश्वासमा केही समय समस्या देखियो । तर, उचित स्वास्थ्य सेवा पाएका कारण सबै ठीक हुँदै गयो । उनले आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइरहिन् ।

सगुनाको अनुभव छ, मातृत्वजस्तो  सुन्दर वस्तु संसारमै अरू केही छैन । “आफूभित्रै अर्को एउटा जीवनलाई आश्रय दिन सक्नु र त्यो जीवन संसारमा आइसकेपछि त्यसको उचित पालनपोषण गर्न पाउनु भाग्यको कुरा हो,” उनले भनिन् । एक बच्चा जन्मेपछि आमाको जीवनमा धेरै परिवर्तन आउँछन् । तर, नकारात्मक परिवर्तनलाई नकार्दै सकारात्मक पक्षलाई आत्मसात् गर्नुपर्ने धारणाको उनको छ । जीवनमा दु:ख भोगाइका अनगिन्ती चरण पार गरेकी छन्, उनले । किशोरावस्थामा पहिलो सन्तान जन्माइन्, केही समयपछि  अर्को । श्रीमान्सँग छोडपत्र भयो । दुई छोरा एक्लै हुर्काउनु सजिलो काम पक्कै थिएन । तर, कहिल्यै गुनासो गरिनन् ।

विकसित मुलुकमा किशोरावस्थामा आमा हुन लागेका तथा भइसकेका महिलाका लागि छुट्टै परामर्श केन्द्र हुन्छन् । यस्ता केन्द्रले सानै उमेरमा गर्भधारण गर्ने कार्यलाई प्रोत्साहन भने गर्दैनन् । किशोरी आमालाई बच्चाको पालनपोषण गर्ने कार्यविधिका साथै व्यक्तिगत विकास कसरी गर्ने भन्ने कुरा सिकाउँछन् । तर, हामीकहाँ किशोरी आमा हिजोजस्तै आज पनि परित्यक्त छन् । राधा, सगुना, पार्वती र संगीता यसका उदाहरण मात्र हुन् ।

प्रकाशित: वैशाख १०, २०७५

ट्याग: समाज