अमेजनको पनि ब्राउजर

- नेपाल संवाददाता

इलेक्ट्रोनिक कमर्स कम्पनी हो, अमेजन । केही वर्षयता अमेजनले प्रविधि क्षेत्रमा पनि लगानी गरिरहेको छ । अलेक्सा नामक भर्चुअल एसिस्टेन्ट प्रविधिमा अमेजनको पहिचान बनिरहेको छ । अलेक्सा यस्तो भर्चुअल एसिस्टेन्ट हो, जसको सहयोगबाट हामी धेरै इलेक्ट्रोनिक ग्याजेट वा घरायसी सामान उपयोग गर्न सक्छौँ, त्यो पनि भ्वाइस कमान्डका माध्यमबाट । त्यस्तै प्रविधिमै अमेजन अहिले गुगलको प्रतिस्पर्धी हुन सक्ने संकेत पनि देखाएको छ ।

यसैको एउटा उदाहरण हो अमेजनले बनाएको इन्टरनेट ब्राउजर  कम एप साइज र कमजोर इन्टरनेट कनेक्सनलाई ध्यानमा राखेर बनाइनु यो ब्राउजरको मुख्य विशेषता हो । यो ब्राउजरको साइज दुई एमबीभन्दा पनि कम छ, जुन प्रतिस्पर्धी अन्य एन्ड्रोइड ब्राउजरका तुलनामा निकै कम हो । यति सानो साइजको भए पनि यसमा प्राइभेट ब्राउजिङको सुविधा रहेको छ । जहाँ प्रयोगकर्ताका कुनै गतिविधि सेभ हुँदैनन् ।

गुगल, फेसबुकलगायतले जस्तै अमेजनले पनि उदाउँदो इन्टरनेट बजारमा पकड जमाउने प्रयास गरिरहेको छ । त्यसैले यो ब्राउजर भारतमा मात्रै प्ले स्टोरमा उपलब्ध छ । दुई एमबीभन्दा कम साइज हुनु र एन्ड्रोइडको ५.० भन्दा माथिका जुनसुकै अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा चल्ने हुनाले यो नेपाली प्रयोगकर्ताका लागि पनि उत्तिकै उपयोगी हुन सक्छ । तर, नेपाली प्रयोगकर्ताले यो उपयोग गर्न अझै केही समय कुर्नुपर्नेछ ।

प्रकाशित: वैशाख ९, २०७५

ट्याग: प्रविधि