निर्मल वर्माको डायरी

- कुमार नगरकोटी

आइतबार

मानिसहरू मलाई निर्मल वर्मा भन्छन् । उनीहरू ठीकै भन्छन्, क्योँ कि मेरो नाम निर्मल वर्मा नै हो । सिनेप्रेमीहरूले रामगोपाल वर्मालाई रुचाएझैँ  साहित्यप्रेमीहरूले मलाई रुचाउँदा हुन् । हामी दुवै वर्मा कुलघरानाका हौँ । दरअसल बर्मा नामक देशसित भने हाम्रो कुनै साइनो छैन ।

म कहिले जन्मेँ र कहिले मरेँ भन्ने कुरा गुलजार सा’बलाई थाहा होला । मैले त बिर्सिसकेको छु । साहित्यमा हामीले चलाएको ‘नयी कहानी’ आन्दोलनका सबै साथीहरू अब त मझैँ दिवंगत भइसकेका छन् । मृत्युलोकका क्याफेज र मदिरालयजमा राजेन्द्र यादव, कमलेश्वर, अमरकान्त, भीष्म साहनी र मोहन राकेशहरूसित म प्राय: प्राग सहरका चर्च, गल्ली र अलिखित प्रेमिकाहरूबारे चर्चा गरी बस्छु ।

भनिन्छ, मृत्युपश्चात् पनि लेखकहरू किताबका पानाहरूमा जीवित रहन्छन् । म पानाहरूमा बाँचेको छु कि नाइँ ? यज्ञश, अनुप बराल र नगरकोटीजस्ता मेरा असल प्रेमी एवं पाठकहरूलाई थाहा होला ।

सोमबार

अजित बरालले हाँकेको गाडीमा नगरकोटी, यज्ञश र उदयप्रकाश थिए । पोखराको लेक डिस्ट्रिक्टमा आज उनीहरूको सन्ध्या–ड्राइभ रमाइलो भयो । उदयप्रकाश र  नगरकोटीबीचको संवाद प्रेमिल लाग्यो ।

उदयप्रकाश : आपकी पसंदिदा राइटर कौन है ?

नगरकोटी : आप, बोर्गेस और निर्मल वर्मा । उदयप्रकाश : बोर्गेस और निर्मल वर्मा तो मेरी भी

फेभरेट है ।

नगरकोटी : तो हमे दोस्ती कर लेनी चाहिए ।

उदयप्रकाश : जरुर जरुर ! जिसे बोर्गेस और निर्मल वर्मा से प्यार है, वे जरुर दोस्त हो गए ।

नगरकोटी : मुझे लगता है– निर्मल वर्मा आपसे भी बेहतरिन राइटर है ।

उदयप्रकाश : मेरा भी यही खयाल है ।

ये हुई न बात ! उदयप्रकाश र नगरकोटीबीचको वार्तालापलाई साक्षीद्वय यज्ञश र अजित बरालले चाखपूर्वक सुने । उदयप्रकाश समकालीन भारतीय साहित्यका एक असल लेखक हुन् । मलाई यिनी अझै प्रेम गर्दा रहेछन् । खुसी लाग्यो । अनि नगरकोटी नि ! बाई द वे, हू केयर्स नगरकोटी ?

मंगलबार

आज ‘थिएटर भिलेज’मा अनुप बराल निर्देशित तीन एकान्त नाटक हेरेँ । मैले कुनै जमानामा लेखेका तीन कहानीहरूलाई नेपाली भाषामा मञ्चन गरिएको देख्दा औधि हर्षित भइगएँ । दिया मास्के, आशान्त शर्मा, मेनुका र सुरज मल्लका अभिनय आत्मस्पर्शी लाग्यो ।

अनुप बरालसित मेरो उहिल्यै भेट भएको थियो । दिल्ली प्रगति मैदानको थिएटरमा हामीले सँगसँगै हंगेरियन फिल्म थ्री मेजाई हेरेका थियौँ । नेसनल स्कुल अफ ड्रामामा पढ्ने यिनी निकै लज्जालु स्वभावका थिए । आज यिनले मेरा कथाहरूलाई रंगमञ्चमा जीवन दिए । कस्तो गर्विलो आनन्द ! थ्यांक यू मिस्टर बराल ।

बुधबार

नगरकोटीले मलाई पहिलो पटक ‘डेढ इन्च उपर’ नामक कथामा पढेको हो । त्यो कथा उसको फेभरेट पनि हो । पाटनको दारुमहलमा कथा पढेपछि तान्त्रिक गल्लीहरूमा राती अबेरसम्म ऊ भट्किएको हो । शंखमूलघाटको ढुंगेधारामा नांगै नुहाएको हो । यही कथापश्चात् नै रक्सी पिएर मध्यरातमा नग्नस्नान गर्ने नगरकोटीको बानी बसेको हो । यो कथाको न्यारेसन शैली ऊ सदा अल्वेयर कामुको उपन्यास द फलसित मिलेको ठान्छ । केही हदसम्म ठीकै पनि हो ।

बिहीबार

एजुकेसन बुक हाउस, जमलबाट नगरकोटीले आज मेरो उपन्यास लाल टीनकी छत उठायो । यो उपन्यास उसलाई पहिलो पटक मोमिलाले उपहार दिएकी थिइन् । तर, आत्मीय मान्छेले उपहार दिएको आत्मीय लेखकको किताब स्वाँठ नगरकोटीले अर्कै आत्मीय मान्छेलाई उपहार दिएको थियो । वर्षौंपश्चात् त्यो किताब पुन: उसले फेला पार्‍यो । यो पनि कसैलाई उपहारै त दिने होला नि ! यस्तो बैगुनी मान्छेको के भर ! यो उपन्यास मैले नगरकोटी जन्मेकै वर्ष सन् १९७४ मा लेखेको चाल पाएर ऊ आज चकित–ओ–चकित पर्‍यो ।

शुक्रबार

म जन्मेको सहर सिमलामा आज हिउँ परेको छ । मलाई लन्डन, प्राग र पेरिसका हिमाद्री गल्लीहरूको खुब याद आइरा’छ । मनका ती उजाड, उदास र एकान्त गल्लीहरू जहाँ मेरो जवानीका निर्वासित दिनहरू बितेका थिए । यादहरू हिउँका पोथ्राझैँ हुँदा रहेछन्, जो मनैमा पग्लिइजान्छन् । विचरो नगरकोटी ! उसको काठमान्डुमा हिउँ पर्दैन । हिउँ पर्दो हो त ऊलगायत नेपाली लेखकहरूको साहित्यमा यादहरूको नूतन सौन्दर्य देखापर्दो हो ।

शनिबार

नगरकोटी अचेल मेरो डायरी लेखिरा’छ । युवाकालदेखि नै ऊ शायरीभन्दा डायरीमै मरिहत्ते गथ्र्यो । मजस्तो दिवंगत लेखकको डायरी अर्कै जीवित लेखकले लेख्नु रोचकै हुँदो हो । मेराबारे नगरकोटीले के लेखेको छ, पढ्ने इच्छा छ । मेरो डायरीमा उसैको नगरकोटीयन फ्लेभर आओस् ! यही सदिच्छा छ ।

प्रकाशित: वैशाख ९, २०७५