स्वीट्जरल्यान्डमा वीरेन्द्र बियर

- नेपाल संवाददाता

स्वीस कम्पनी टर्बिननब्राउले राजा वीरेन्द्रको नाममा ‘वीरेन्द्र’ बियर उत्पादन थालेको छ । बोतलमा ढाका टोपीमा सजिएका राजा वीरेन्द्र हातमा बियरको ग्लास समाती मुस्कुराइरहेको तस्बिर अंकित छ । पृष्ठभूमिमा हिमाल र भक्तपुरको पाँचतले न्यातपोल मन्दिर पनि रहेको देख्न सकिन्छ ।

यस बियरको नारा दिस बियर इज किंग रहेको छ । उपभोक्ताका अनुसार यसको स्वाद टिमुरजस्तो छ । बियर रेटिङ वेबसाइट अनट्याप्डमा धेरैले यसको तस्बिर पोस्ट गर्दै मूल्यांकन पनि गरिसकेका छन् । यसको ३३ सेन्टिलिटरको एक बोतलको मूल्य १.८५ स्वीस फ्रयांक छ । यो दुई सय नेपाली रुपियाँजति पर्न आउँछ । स्वीस वेबसाइट इन्टरकमेस्टिबल्सले ग्राहकको मागअनुसार स्वीट्जरल्यान्डको जुनसुकै ठाउँमा पुर्‍याइदिने गरेको छ । हाललाई भने यो बियर अन्य देशमा उपलब्ध छैन ।

सामाजिक सञ्जालमा नेपालीहरूबाट यस बियरबारे मिश्रित टीकाटिप्पणी आइरहेका छन् । केहीले यसलाई दिवंगत नेपाली राजाको सम्मानका रुपमा लिएका छन् भने कतिपयले दाह्री नपाल्ने राजालाई दाह्री लगाइदिएको भन्दै आलोचनासमेत गरेका छन् ।

प्रकाशित: वैशाख ९, २०७५

ट्याग: विदेश